टिकटकः अवसर, दुरुपयोग र अप्रिय घटना

सज्जन कुमार सिंह
सञ्चार र प्रविधिको विकासले धेरै कुरामा सहज बनाएको छ । इन्टरनेटको पँहुचले नयाँ नयाँ प्लाटफर्महरु सिर्जना गरिदिएको छ । जसका कारण मान्छेमा लुकेर रहेका क्षमताहरु बाहिर ल्याउन धेरै सजिलो अवस्था अहिले तयार भएको छ ।

मनोरञ्जन लिन ज्ञानगुन र नयाँ कुरा थाहा पाउन मात्र नभई भौतिक उपस्थिति बिनै संगठन निर्माण गर्न विभिन्न व्यवसायको प्रवद्र्धन गर्न पनि यस्ता माध्यमले महत्वपूर्ण भुमिका अवश्य खेलिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युव लगायतको प्रयोग दिनानुदिन बढिरहेको छ । यी मध्ये अहिले विश्वभरका युवायुवतीमा चर्चित बनेको छ–‘टिकटक’ कमेडी, डान्स र शिक्षाका लागि भनेर बनाइएको टिकटक २०१६ मा चीनको बजारमा आएको थियो । टिकटकमा १५ सेकेन्ड देखि ३ मिनेट सम्मका भिडियोहरु अपलोड गर्न सकिने र यसमा अभिनय पनि गर्न सकिने ‘एप्स डोयूइन’ भनेर चिनमा चिनिने सामाजिक नेटवर्किङ प्लाट फर्म नेपाल लगायत विश्वमा छोटो समयमै निकै चर्चामा आयो । २०२० सम्ममा ३ विलियन भन्दा बढी पटक टिकटक डाउनलोड भएको छ ।

अमेरिकाका चर्चित कलाकारले समेत यो एप्स डाउनलोड गरी प्रयोग गर्न सुरु गरे । जिम्मी फालान, टोनी वाक, जेनिफर लोपेज, जेसिका आल्बा,जस्टिन बाइबर लगायतका चर्चित सेलिब्रेटीले समेत एप्स प्रयोग गरी भिडियो हाल्न सुरु गरेपछि यसको उचाइ र महत्व चुलियो । आजभोलि हरेक कुराहरु हेर्न टिकटक चाहार्ने संख्या बढिरहेको छ ।

टिकटक बनाउने बाइटिडान्स कम्पनीले म्युजिकल्ली एप्सको चल्ती भएको बेला त्यसैलाई आधार मानेर टिकटक बनाएको थियो । टिकटकमा ७५ भन्दा बढी भाषा उपलब्ध गराइएको थियो ।

यो एप्सको बढ्दो क्रेज र अन्य कारण देखाएर अमेरिकामा टिकटक बन्द गर्न ट्रम्प प्रशासनले धेरै जोडबल समेत गरेको थियो । केही देशमा यो एप्सलाई चलाउन प्रतिबन्ध नै लगाई सकिएको छ ।

टिकटकमा परिवारका अभिभावकलाई बच्चाहरुको शिक्षा सम्बन्धी फिचर्स पनि राखेको छ । तर, यो शिक्षा आदान प्रदान भन्दा बेसी मनोरञ्जनका रुपमा स्थापित भएको छ ।

टिकटक एप्स चलाउन १६ वर्ष पुग्नुपर्ने उल्लेख छ तर, साना बच्चाहरुका पनि टिकटक अकाउण्ट खोली टिकटक हालिदिने क्रम बढिरहेको छ । साना बच्चा देखि युवायुवती,विवाहित महिला प्रायः सबै आजकाल टिकटकमा झुमेको देखिन्छ ।

नेपालमा पनि यसको प्रयोग निकै बढिरहेको छ । सेलिब्रेटीदेखि सामान्य मजदुर पनि यसको प्रयोगमा खुब सक्रिय देखिएका छन् । राति २/३ बजे सम्म लाइभमा बस्ने टिकटकेको संख्यमा बढ्दै छ । टिकटकबाट केही व्यक्तिले राम्रै कमाइ पनि गरिरहेका छन् ।

नाँचगान, कमेडी र अभिनय गर्नेहरु त टिकटकबाट सेलिब्रेटी नै बनेका छन् । केही टिकटकेहरु म्युजिक भिडियो र मोडलिङमा जमिसके । गाउँ गाउँमा रहेका सबैखाले प्रतिभालाइ चिन्न, निखार्न र बाहिर ल्याउन टिकटकले राम्रो अवसर दिएको छ । खाली समयमा जुम्रा हेर्ने र अरुका कुरा काटेर समय फाल्ने महिलाहरु अहिले टिकटकमा व्यस्त छन् ।

अफिस पुगेकाहरु अफिसबाटै टिकटक, व्यथा लागेका महिलाका टिकटक, अस्पतालका नर्सहरु सेतो कपडामै टिकटक, आइसियूमा पुगेका बिरामीले सम्म पनि टिकटक बनाएर अनौठा भिडियो हाल्ने गरेको पाइएको छ ।

बाटा, पुल र घरका छतमा युवतीहरु नाँचेका दृश्य देख्दा पनि आजकाल चकित परिन्छ । लाज, घिन, सरम केही नभए पछि उता चिता जलिरहदा ठिक अगाडि टिकटकेहरुको अशोभनीय चटक देखिन्छ । मानौ कि उनीहरुको मुख्य काम नै टिकटक चलाउने,नचरी गर्ने हो । उनीहरुमा कुनै मानवीय संवेदना, विवेक र चेतना छैन ।

जतिखेर पनि टिकटकमै ध्यान दिने युवायुवतीको सिर्जनशीलता मर्दै गएको छ । पढ्ने उमेरका युवा युवतीलाई समेत यसले प्रभावमा पारेको छ । टिकटकमा भाइरल हुने र भ्यूज बढाउने नाममा अश्लिल हर्कतहरु पनि बढ्दै गएका छन् ।

टिकटकमा व्यस्त हँुदा साना बच्चाहरुको हेरचाह र दुर्घटना समेत बढेका समाचार बाहिर आइरहेका छन् । टिकटक बनाउने क्रममा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा नवविवाहिता बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन् । उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेकी थिइन् । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेकाछ । यो त एक प्रतिनिधि घटना मात्र हो । यस्तै अप्रिय अरु पनि कैयन घटना टिकटक बनाउने क्रममै भइसकेको छ ।

टिकटक मार्फत् साथि बन्ने,लब पर्ने क्रम पनि बढिरहेको छ । विवाहित जोडीमा समेत यसको प्रयोगले खटपट बन्दै गएका छन् । टिकटकमा आउने कमेन्ट र यसको लतले मनोविज्ञानमा समेत असर पार्छ ।

टिकटक पनि झण्डै डेटिङ साइट जस्तो भएको छ । यसमा सिधै म्यासेज समेत गर्न मिल्छ । युवायुवतीहरु उत्पादन र सिर्जनशील कर्ममा भन्दा बढी यसैमा झुम्मिने, रातदिन लाइभमा बस्ने,विभिन्न व्यक्तिका ट्रोल ल्याउने, जिस्क्याउने जस्ता हर्कत पनि यसका गलत प्रभाव हुन् ।

त्यसैले यसको प्रयोग र यसले पार्ने नकरात्मक प्रभाव,यसको नियन्त्रण, सही प्रयोगबारे पनि सरकार, सरोकारवाला निकाय, प्रयोगकर्ता, अभिभावक सबै सबै सचेत हुन अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *