राम सुवेदी
दलीय प्रतिस्पर्धा मार्फत जनतामा राज्यव्यवस्था सञ्चालन हुने प्रणालीलाई उन्नत लोकतन्त्र मानिन्छ । देशमा बहुदलीय अभ्यास खुल्ला प्रजातान्त्रिक विधि प्रणाली मार्फत सरकार सञ्चालनको प्रक्रिया थालिएको तीन दशक बढी भयो । यसबिचमा संवैधानिक त्रुटी रहेको भन्दै २०७२ मा नयाँ संविधान मार्फत गणतन्त्र स्थापना भयो । गणतान्त्रिक राज्य व्यवस्थासँगै स्थिर सरकार बनेको र देश नयाँ सिढीमा चढेको प्रति नेपाली जनताको खुसी मनाउ उत्तिकै थियो । विडम्बना देशले त्यो अभ्यास समेत गर्न नपाउने अवस्था सिर्जना भयो ।
नेपाली जनताको चाहना र देशको आवश्यकता पनि त्यो हो कि ? देशमा स्थिर सरकार र त्यस सरकार मार्फत जनताले गरेको अपेक्षामा परिवर्तन हो । जब राजनीतिक स्थिरता नै नभइदिए पछि त्यसले पैदा गरेको पछिल्लो परिणामले देशको दलीय व्यवस्थामा समेत खोट देखाइरहेको छ । यसरी आफैमा खोट पैदा भएको व्यवस्थाबाट राष्ट्रले आर्थिक उन्नयन, दीगो विकास र अमनचयनको ढोका खोल्छ भन्ने विश्वास गुमेको छ । फेरि पनि मुलुकलाई राजनीतिक अस्थिरताले छोडेको छैन । फलतः विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढ्न सकेन । व्यवस्थामा ल्याइएको तमाम परिवर्तनहरु प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा त्यसको अनुभूति आम जनतामा नहुनु राम्रो सवाल होइन । यसखालको राजनैतिक अस्थिरता दल र त्यसका नेतृत्वमा समेत गैरजिम्मेवार कामकारबाही देखिरहेका छन् । सबै पार्टीमा आन्तरिक दलीय असन्तुष्टिहरु पैदा भएका छन् । सबै दलमा दलीय निरङ्कुशता एकपछि अर्को रुपमा विकसित भइरहेको छ । अराजकता, अनुसाशनहितना र गैर जिम्मेवारपनको विकास तीब्र रुपले अघि बढेको छ । जनतामा उनीहरु सन्तुष्ट छैनन् । यसकारण पनि देशमा राजनीतिक अस्थिरताको बाटो खनिरहेको छ । त्यसमा तल्लो स्तरका नेता र समर्थक पार्टीका कार्यकर्तामा चरम असन्तुलन पैदा गरिरहेको छ ।
राजनीतिक अस्थिरताका बनेका गठबन्धन सरकारले जनअपेक्षा सम्बोधन र अधिकारको संरक्षण गर्न सकेनन् । चाहे त्यो माओवादी र एमाले बनेर भएको बहुमतको सरकार होस् वा अहिले पछिल्लो परिस्थितिले बनाएको पाँच दलीय गठजोड किन नहोस् । देशमा गरिबी र बेरोजगारी बढ्नु, प्रतिस्पर्धी राजनीतिक दलहरू बिच द्वन्द्वात्मक अवस्था बन्दै जानु, अप्रत्याशित परिवर्तन हुँदा त्यसलाई सहज रूपमा लिने माहोल नहुनु, मतदाताको अनादर तथा करदाताको योगदानको अवमूल्यन गर्नु, राष्ट्रप्रमुख र सरकार प्रमुख संविधान मिच्न र अधिकारको दुरुपयोगमा अभ्यस्त हुनु, सरकारले नै संविधान विपरित काम गर्नु, संवैधानिक द्वन्द्वको अवस्थाका कारण लोकतान्त्रिक मूल्य र मान्यतामा ह्रास आउँदै जानु, अत्यधिक सत्तालिप्सा र सार्वजनिक जिम्मेवारीमा रहेकाहरू गलत आचरणमा अभ्यस्त हुनु राजनीतिक अस्थिरताका तमाम प्रमाणहरु हुन् । यसको परिणाम देशमा दलिय व्यवस्थाका खोटहरु पनि हुन् ।
दलीय व्यवस्था र यसले गर्न खोजेको बहुदलीय राजनीतिक प्रणालीमा दलहरूको संख्या, राजनीतिज्ञहरूले विकास गरेका राजनीतिक संस्कार, त्यसबाट बनेका सरकारको कामकारबाहीले आज देशमा राजनीतिक स्थिरता कायम गरेको छ । यति मात्र होइन, राजस्वको अनुचित व्यवस्थापन र परिचालन, आवधिक निर्वाचनको निष्पक्षतामा प्रश्न, विचार र अभिव्यक्ति स्वतन्त्रतामा संकुचन, आलोचना स्विकारेर सुध्रिने राजनीतिक संस्कारको अभाव, असहिष्णु र पूर्वाग्रही व्यवहार लगायतका कारण राजनीतिक अस्थिरतामा उल्लेख्य विकास भइरहेको देखिन्छ । यस्तो अवस्थामा आवश्यक सुधार नहुँदा राजनैतिक तित्तता र द्वन्द्व चर्किंदै गइरहेको छ ।
नेपालको राजनीतिमा भइरहेको एक अभ्यास यस्तो पनि छ, जहाँ दलहरु भागबिलोमा रमाउन चाहन्छन् । अस्थिरतामा एकले अर्कोलाई गाली गर्ने र केहीको मिलेमतोमा देश कंगाल बनाउने दलाली प्रवृत्तिको विकास भइरहेको छ । कुन राजनैतिक दल कस्को मित्र शक्ति हो वा प्रतिक्रियावादी शक्ति हो भन्ने स्वार्थले हिसाव नराखेको मुलुक पनि हो । कारण राजनैतिक संस्कारमा कमजोरी वा कठोर रुपमा राजनैतिक बद्मासीको परिणाम हो । यसले उसको खोट प्रष्ट पारिरहेको छ ।
नेपाल धेरै लामो समयदेखि राजनीतिक लगायत सबै प्रकारका अस्थिरताबाट प्रताडित देश बन्यो । तत्कालीन नेकपाको सरकारले दुई तिहाई नजिकको बहुमत प्राप्त गरी बनाएको सरकारबाट राजनीतिक स्थिरता कायम भई देश समृद्धिको दिशामा बढ्ने अपेक्षा नागरिकले गरेका थिए तर त्यो सपनाको खरानी उनीहरुबाटै पारियो । सत्तारूढ दलभित्रको अर्थहीन द्वन्द्वका कारण देशमा धेरै लामो समय पश्चात देखिएको बलियो सरकार कमजोर र निष्प्रभावी साबित भइदियो । सत्तामा टिक्ने अस्त्रका रूपमा संसद् निमोठेर अध्यादेशबाट शासन चलाइएको पनि नयाँ संविधान पश्चात तत्काल देख्न पाइयो । संसद् खुलेको अवस्थामा सरकारले कुनै ‘बिजनेस’ दिन नसकेर औडाहा होहल्ला, कचिंगलका बिच संसद सञ्चालनमा आएको पनि नेपाली जनताले भोग्न देख्न पाए । देश कोभिड–१९ संक्रमणबाट प्रभावित भई नागरिकहरूले अक्सिजन र भ्याक्सिन नपाइरहेको संकटपूर्ण अवस्थामा पनि दलहरू राजनीतिक खिचातानीमा लिप्त रहने आफैमा निकृष्ट अभ्यास थियो । त्यो सहन गर्नुपर्ने बाध्यता आइलाग्यो । यो स्वास्थ्य संकटको समयमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा राजनीतिले विकराल अवस्थालाई गौण बनाइदियो । मर्यादा मिचेर काँधेकुरी राजनीति त्यो पनि सत्ता स्वार्थको ताण्डव वर्तमान राजनीतिमा देखिदै आएको छ ।
देशमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्री नै भ्रष्टाचारी र विचौलियाको रक्षात्मक पंक्तिमा तत्काल खडा भएको आलोचनात्मक परिवेशले दलहरुलाई गिज्याइरहेको छ । तर, लाज शरम आफै लज्जित भइदिएको राजनैतिक परिवेशले घिन मान्ने कुरै छैन । आफ्नै दलभित्रको शक्ति समिकरणको द्वन्द्वमा सरकार कमजोर हुँदै प्रतिपक्षी आफ्ना बनाएको राजनीतिले यो व्यवस्थाको आयु, उमेर प्रति रेडलाइट बालिरहेको छ ।
नेपालमा राजनीतिक अस्थिरता बढाउन बाह्य पक्षहरू समेत जिम्मेवार देखिएका छन् । अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बिचको द्वन्द्वको शिकार नेपाल हुने सम्भावना उत्तिकै छ । छिमेकी मूलुक भारत र अमेरिकाबीच भएको सैन्य सम्झौताले यो सन्दर्भ अझै पेचिलो र संवेदनशील बनाएको छ ।
यी सबै घटनाक्रमको सूक्ष्म अध्ययन गरिरहेका जनता सरकारी रबैया प्रति असन्तुष्ट छन् । देशमा दलीय व्यवस्था कमजोर मात्र रहेन, आफ्नो अस्तित्व माथि संकटमोचन गरिरहेको छ । समुदाय, जातजाति, वर्ग, क्षेत्र, संस्कृति, धर्म आदिका आधारमा देखिएको पृथक्तालाई निराकरण गर्दै आपसी सौहार्दता कायम गर्नसक्ने गरी नेतृत्व प्रस्तुत नहुँदा देशको समृद्धि र राजनीतिक स्थिरतामा खोट कायम रहने पक्का भएको छ । आधुनिक विश्वमा अत्यधिक प्रतिस्पर्धा, सबल राज्य संयन्त्र, सक्षम कूटनीति, प्रभावकारी नीति निर्माण, सुदृढ अर्थतन्त्र बनाउनु सबै देशका लागि चुनौती हुन् । राजनीतिक अस्थिरताले यी सबै पक्षमा अस्तव्यस्तता सिर्जना गर्छ । आज त्यसको सिकार नेपाली राजनीति बन्दै गएको छ । यस्तै, राजनीतिक स्थिरताबाटै राष्ट्रको पहिचान नबन्नुका साथै समाजको एकीकरण र राष्ट्रिय एकतामा खलल पुग्छ ।
अन्ततः वर्तमान राजनैतिक संकटको ठोस आधार नेपाली जनमतको आधारमा टर्नुपर्ने अवस्था पनि छ । काँग्रेसलाई दल जस्तो बनाउन वर्तमानमा चलिरहेको उसको १४ औं महाधिवेशनले नेतृत्व गर्नुपर्दछ । एमालेलाई एमाले जस्तो बनाउन उसबाट चोइटिएको वा अलग्गिएको माधव नेपाल पक्षको कार्यशैलीबाट उत्पन्न समस्याको जडबाट सिक्नुपर्दछ । अन्य साना दलहरु समेत सामन्ती संस्कार र शैलीमा हुर्किएका र नाङ्लामा पसल गरिरहेका देखिन्छन् । गरीबीको घेरामूनी बसेर सामन्ती संस्कारको धर्को निधारमा नलगाए हुन्छ । यसको आफ्नै विखण्डन गर्नेछ । त्यसको परिणती गतिलो हुने छैन । राजनीति भनेको सिद्धान्त मिकाको पार्टी हो । विचार मिलेका साथी होलान्, सबै पार्टी हुन सक्दैनन् । नेताले ध्यान दिने यत्ति हो । आधुनिक विश्वमा अत्यधिक प्रतिस्पर्धा, सबल राज्य संयन्त्र, सक्षम कूटनीति, प्रभावकारी नीति निर्माण, सुदृढ अर्थतन्त्र बनाउनु सबै देशका लागि चुनौती हुन् । यी कुरा बारम्बार सरकारमा बस्नेहरुले बोल्नु हुँदैन । उनीहरुले त परिवर्तन गर्नुपर्दछ, होइन भने सत्ताको आडमा माड खिच्नु नैतिक हराम मात्र हो ।
देशमा मडारिएको राजनीतिक अस्थिरताले यी सबै पक्षमा अस्तव्यस्तता सिर्जना गरेको छ । वास्तवमा दलीय व्यवस्था प्रति समेत वितृष्णा पैदा गरेको छ । राजनीतिक अस्थिरता सबै प्रकारका अस्तव्यस्तताको जननी पनि हो । जनताको मनले यो खोटपूर्ण व्यवस्थाको विग्रह खोज्नु नयाँ कुरा होइन । जस्ले समाधान दिंदैन भने त्यसको भजन गाएर स्वर्ग पुगिदैन ।