बोलीको गलपासो

राम सुवेदी
कथन छ, ‘बन्दुकको गोली र फुत्केको बोली’ उस्तै हो । गोली फुत्के फर्कन्न, बोली फुस्के सम्हालिन्न । सामाजिक विकृति र विसंगतिका कुरा गर्छौ । मान्छेको भर विश्वास र इमान इज्जतको मापन गर्छौ । चित्र, चरित्र र फेहरिस्तको चर्चा गर्छौ । अन्ततः मान्छे यसकै बोलीको फन्दामा बेरिन्छ । जो जे बोल्छ, उसकै गलपासो बन्छ ।

समाज, समुदाय र मान्छेका बिचमा खास चर्चा नेताहरुको र तीनका बोलीको हुन्छ । मानवीय स्वभाव, आचरण, व्यवहारको परिपक्वताको हिसाव समेत उसको बोली बचनमा नापिन्छ । उसको चिन्ता, चिन्तन र अध्ययनको चर्चा समेत उसको बोली व्यवहारबाट हेरिन्छ । नैतिकता, अनुशासन र निष्ठाको पहिचान बोलीकै माध्यमबाट हुन्छ । वर्तमान, भविश्य र विगतका व्यवहारहरुको परीक्षा समेत मान्छेको बोलीको तुलनाबाट गरिएको देखिन्छ । समाजलाई न्याय गर्ने गरि बोली बचनको प्रभाव पर्छ । जसको न्यायधीस सुन्ने र ग्रहण गर्ने पर्दछन् ।

समय, काल र अवस्थाले मान्छेका बोलीहरु फेरिएका, बदलिएका वा फरक भएका देखिन्छन् । तर, परिस्थिति परिवर्तन भएर फेरिएको बोली शोभनीय हुन्छ । उही परिस्थिति र परिवेशमा फेरिएको वा बदलिएको बोली, आफ्नै लागि गोली सावित हुन्छ । हामीले मानेका, गनेका, भनेका, सुनेका र जानेका नेताहरु बोलीबाटै चिप्लिन्छन् र सामाजिक मूल्य मान्यताबाट तल झर्छन् । जसले विश्वसनीयता कायम राख्दैन । उसको इमान, जमान गुम्दै जान्छ । तर, अझै जर्बजस्ती आफूलाई जनमानसमा गुमेको विश्वसनीयता माथि भड्किलो दावी पेश गरिरहँदा हाम्रो संस्कार नै यस्तै हो भन्ने संशय उत्पन्न गरिदिन्छ ।

नेपालको राजनीतिमा नेताको बोली, उनीहरुको अडान, नीतिगत वा संस्थागत थियो । व्यक्तिगत थियो भन्नेमा प्रश्न उठेको छ । आफ्नो स्वार्थले नीति बन्ने, त्यस अनुसार बोल्ने र स्वार्थ टाढिए पछि बेथिति हो भन्ने कुतर्क नै बोलीको गलपासो हो । देशका ठूला भनिएका राजनीतिक दलका नेता, त्यसमा पनि प्रधानमन्त्रीको हैसियतले काम गरेका दुई नेताको बोली आफ्नै लागि गलपासो भइरहेको छ । जो आज चर्चाको विषय बनेको छ ।

हाम्रो संविधानसभाले घोषणा गरेको संविधान अनुसार खडा भएको संसदको पहिलो कार्यकालमा शक्तिशाली पार्टीका तर्फबाट दुई जना प्रधानमन्त्री भए । यिनैबाट एकै प्रकारले त्यस्तो दुरुपयोग भयो । जो आज आफ्नै लागि एक समय सत्य, अर्को समय असत्य सावित भइदिएको छ । बहालवाला र निवर्तमान प्रधानमन्त्रीका यस्तो नकचरोपनले यो पद आफैँ लज्जित भएको छ । आफ्नै बोली बचन र कथन मन्थन योग्य छ ।

विषय आज देशका नागरिकले मतदानबाट अनुमोदित गरेका सांसदहरु सत्ता बाहिर र भित्र हुँदा कस्तो व्यवहार देखाउँदा रहेछन् भन्ने नांगो चरित्र संसदमा पेश भइरहेको छ । सवाल नागरिकको शान्ति सुरक्षा, देश विकासका योजना, राष्ट्र खातिर योगदानका छैन । सवाल हिजो दुवै प्रधानमन्त्रीले हाताहात बनाएको दल विभाजन गर्ने अध्यादेशको हो । प्रतिनिधिसभा दोस्रो पटक पुर्नस्थापित पछि नियुक्त भएका प्रधानमन्त्रीले अघिल्लो मध्यरातमा अधिवेशन अन्त्य गराएर भोलिपल्ट विहान एउटा अध्यादेश जारी गर्छन् । त्यो करिब एक महिना केही बढी समय कायम रहेर संसद् चलिरहेकै बेला फेरि खारेज हुन्छ । यति बेलासम्म यसले दुई वटा दल विभाजन गरिसकेको छ । त्यसको सिकार हुने दल निवर्तमान प्रधानमन्त्रीको रहेको छ ।

आज संसद अवरुद्ध बनाएर यो कार्यको कडा विरोध गर्ने निवर्तमान प्रधानमन्त्रीकै पार्टी छ । त्यही संसदमा उभिएर उहाँ र उहाँका दलका नेताहरु भन्नुहुन्छ, ‘यो २० प्रतिशतमा झारेर ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश एमालेलाई ताकेर ल्याएको हो । यति प्रतिशत भनिकन कानुन निर्माण गरिँदैन । सिंगो ढोका छलेर झ्यालबाट यसरी अध्यादेश ल्याइँदैन । मध्यरातमा संसद् बन्द गरेर गर्न खाजेको के हो ? एकाएक मध्यरातमा अधिवेशन अन्त्य गर्ने र भोलिपल्ट विहानै जारी गर्ने अध्यादेश कपटपूर्ण हो, यो दूषित मनसायले आयोे ।’ तमाम कुराहरु आज तर्कका रुपमा पेश गरिरहेको देखिन्छ । हिजो सत्तामा हुँदा त्यही कर्म ठीक विपक्षीमा हुँदा त्यही बेठिक ? यो दुवै दलका नेताहरुको अपाच्य तर्क हो । यो घटनाले नेताहरुको आफ्नै बोलीले आफैलाई ठेगान लगाइसकेको आम नागरिकलाई पक्का थाहा छ । तर, कसैलाई थाहा नभएको जात्रा आज संसदमा छ ।

दल विभाजन सम्बन्धी मध्यरातको अभ्यास र कसरतबाट अध्यादेशको दूषित मनसाय प्रकट भएको भने यो दोस्रो पटक हो । पहिलो पटक २०७७ वैशाख ८ गते त्यस्तो अध्यादेश अहिलेकै संसद अवरोधक दलका प्रधानमन्त्रीले फेस गर्नुभएको हो । तत्काल १२ गते त्यो यसरी नै फिर्ता भयो । त्यसबेला अहिलेका प्रधानमन्त्री जो अहिले बहालवाला हुनुहुन्छ, उहाँ विपक्षमा हुनुहुन्थ्यो । वर्तमान प्रधानमन्त्रीले नै हो, त्यसबेलाका प्रधानमन्त्रीले शक्तिको दुरूपयोग गरेको भनी संसदमा घोर आपत्ति जनाएको । २०७७ वैशाखमा तत्कालीन जनता समाजवादी पार्टी विभाजनको नियत राखेर अध्यादेश जारी भएको भन्दै आफ्नो पार्टीको केन्द्रीय पदाधिकारीको बैठकपछि वक्तव्य जारी भएको थियो । आज उसैको समर्थनमा आफ्नै दल र एमाले विभाजन भएको छ ।

राजनीतिक दल सम्बन्धी व्यवस्थाको अध्यादेश ल्याउने र घचेट्ने तर्क वा कुतर्क के भनौं दुवै कुराका बोलक्कड यी दुई प्रधानमन्त्री हुन् र यीनका यी काम एउटै प्रकृतिका छन् । संसद्ले पारित गरेको ऐनमा भएको व्यवस्थालाई संसद बाहिर सरकारको आदेश मार्फत संशोधन गर्नु । अध्यादेश भनेको सरकारको आदेश हो । आदेशमा परेको दल विभाजनको संख्या केही तल माथि होला तर उद्देश्य एउटै थियो । आज वर्तमान प्रधानमन्त्री बोलेका छैनन् किनकि हिजो विपक्षमा हुँदा विरोध गरिएको कर्म आफ्नै हातबाट पारित भएको छ । अघिल्ला प्रधानमन्त्रीको सिको गरेर ल्याइएको विधेयकले दुई वटा दल त फुटाइदिनु भयो । त्यसपछि फेरि अरू पनि दल फुट्छ र आफ्नो सत्तालाई धक्का पुग्छ भन्ने ठानेर त्यो अध्यादेश संसद्को सम्पत्ति भइसकेको अवस्थामा पनि आफैँले मेटाइ दिनुभएको छ । यो भनेको प्रधानमन्त्रीहरूबाटै राज्यशक्तिको दुरूपयोग हो । संसदीय पद्धतिमा संसद्को अपमान गर्ने प्रधानमन्त्रीलाई पदमा बस्ने नैतिकताको जग हल्लिएको छ । विधिको पालना त भएन नै, यो थितिको समेत उल्लंघन हो । नेताहरु को के बोल्छ भन्ने सवालको गतिलो उदाहरण आजको राजनीतिमा छ । यो एउटा राजनैतिक नेताको अगतिलो कर्म मात्र नभनौं, तमाम दलका नेताहरुको बोलीको ठेगान छैन । बोली बचनकै ठाउँ ठेगान हिसाव नभए पनि यिनीहरुबाट सत्कर्मको कस्तो अपेक्षा गरौंला ।

राजनीतिमा यस्ता तमाम घटनाहरु छन् । नेताका आग्रह र दुराग्रहको चपेटामा देश पछि प¥यो । आफ्ना नेताले गलत नै भने र गरे पनि त्यसको प्रतिरक्षा गर्ने राजनैतिक कार्यकर्ताको अन्धभक्तपनले राजनैतिक संस्कार धमिलियो । तर्क र बहस गर्नु चेतनाको प्रचार हो । सचेत र विवेकशील मानसिकता भएका मान्छेले पिञ्जडामा मगज थुनेर राख्दैनन् । सत्य त्याग गरेर असत्यको अधिनायकत्व स्वीकार गर्दैनन् । के न्याय के अन्याय नजान्नेहरु सबै हुँदैनन् । तर, नबुझ्नेहरु अधिक हुन्छन् वा त्यस्तो अभिनय गर्दछन् । सामाजिक न्याय र समानताको अर्थपूर्ण कार्यान्वयन सबै राजनैतिक नेता र पार्टीमा आवश्यक छ । जहाँ नेताले सही नेतृत्व प्रदान गर्न सक्दैन । बुर्जुवापन र नेतृत्वको हैसियतले राजनैतिक सत्ताको अपचलन वा दुरुपयोग गर्छ । त्यसले राजनैतिक गति पनि दिन्न र राष्ट्र निर्माणमा बाटो पनि देखाउँदैन । यत्ति गर्न नसक्ने राजनीति औचित्यहीन खेती हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *