नजिर एक कानुनको महत्वपूर्ण स्वरुप

शुभेक्षा पन्त
वास्तवमा कानुन के हो भनेर किटान सहितको एकल परिभाषा गर्न सकिदैन । विभिन्न दृष्टिबाट हेर्ने हो भने कानुनले सामाजिक गतिविधिको एक विस्तृत विविधतालाई नियमितता गर्दछ । कानूनको परिभाषामा विभिन्न सम्प्रदायको अलग अलग धारणा भए जस्तै यसको श्रोतका सम्बन्धमा पनि अलग अलग मान्यता रहेका छन् । कानून बनाउने र कानून निर्माणका क्रममा लिइने आधारहरु नै कानूनको श्रोत हुन । प्रसिद्ध विधिशास्त्री साल्मण्डले कानुनको श्रोतलाई औपचारिक श्रोत र भौतिक श्रोत गरी दुई भागमा विभाजन गरेका छन् भने अर्का विधि शास्त्री किटानले कानूनका श्रोतलाई बाध्यात्मक र अनुनयात्मक गरी दुई भागमा विभाजन गरेका छन् । कानूनको उद्गम स्थल नै कानूनका स्रोत हुन् ।

संसारका कानून प्रणालीका आ–आफ्नै कानूनका स्रोत छन् । आ–आफ्नै कानूनका प्राथमिकता छन् । प्राकृतिक कानुन सम्प्रदायले नैतिक मूल्य मान्यता, दर्शन, कानूनी सिद्धान्तलाई स्रोत मान्दछन्, विश्लेषणात्मक सम्प्रदायले विधायनलाई कानूनको स्रोत मान्दछन्, समाजशास्त्रीय सम्प्रदायले सामाजिक मूल्यमान्यता र समामाजिक रितिस्थितिलाई कानुनको स्रोत मानेको छ भने यथार्थवादी सम्प्रदायले नजिरलाई कानूनको स्रोत मानेको छ । ऐतिहासिक सम्प्रदायले ऐतिहासिक रुपमा चली आएका प्रथा परम्परालाई कानूनको स्रोत मान्दछन् । अदालतको न्यायिक निर्णायबाट प्रतिपादित कानुन सरह व्यवहारमा उपयोगी सिद्धान्तहरुलाई नजिर भनिन्छ । कमन कानून प्रणाली अपनाएका र सोबाट प्रभावित देश जस्तै बेलायत , अमेरिका , नेपाल , भारत आदिमा नजीरलाई बाध्यात्मक मानिन्छ तर नागरिक कानूनी प्रणाली अवलम्बन गरेका मुलुकहरु जसमा फ्रान्स, इटाली, जर्मनमा भने नजिरलाई बाध्यात्मक मान्दैनन् ।

कानूनी रिक्तता, अस्पस्टता, तथा द्विविधामा सक्षम अदालतले कानुनको व्याख्या गरी प्रतिपादन गरेको सिद्धान्त नै नजिर हो । नजिरले कानूनलाई गतिशील बनाउँछ । न्यायका सिद्धान्तलाई प्रयोगमा ल्याउन सघाउँछ । नेपाल पनि यसै कानुन प्रणालीबाट प्रभावित मुलुक हो । नजिरलाई पूर्वनिर्णय पनि भनिन्छ । नजिर विधायिकाले निर्माण गरेका कानुनहरूलाई समसामयिक व्याख्या गरी समाजमा कानुनको अभाव हुन नदिनको लागि अदालतबाट कानुनको व्याख्या हुँदा स्थपित हुन्छ । कानुनको स्वेच्छाचारी व्याख्या गर्नबाट रोक लगाई न्यायिक स्वच्छता कायम गराउन, न्यायिक एकरूपता कायम गराउन, न्याय छिटो छरितो प्रदान गर्न नजिरलाई महत्वपूर्ण मानिन्छ । कानूनको निर्माण गर्ने अधिकार व्यवस्थापिकालाई भए पनि व्याख्याद्धारा कानूनलाई नयाँ रुप दिने अधिकार न्यायपालिकालाई हुन्छ । नजिरको सुरुवात बेलायतबाट भएको हो । नजिरलाई हुवहु लागु गर्न पनि सकिन्छ र त्यस्तो नजिर अध्ययन गरी नयाँ बनाउन पनि सकिन्छ । कुनै नजिर मान्न कर लाग्दछ भने कुनै मान्न कर नलाग्ने किसिमका नजिर पनि हुने गर्दछन् । नजिरलाई पनि विभिन्न भागमा विभाजन गरिएको छ । यसलाई आधिकारिक नजिर, अनुयात्मक नजिर, मौलिक नजिर, घोषात्मक नजिर गरी विभाजन गरिएको छ भने घोषात्मक नजिरलाई पूर्ण र अवस्थामूलक नजिर गरी दुई भागमा विभाजन गरिएको छ । नजिरका तत्वहरु भनेर निर्णयधार र फैसला स्थिरतालाई हेरिन्छ ।

नजिर कानुनको व्याख्यात्मक घोषणाका माध्यमबाट वा नयाँ कानुनी सिद्धान्तको प्रयोग गरी प्रतिपादन भएको हुन सक्छ । न्याय निरुपणमा एकरुपता कायम गर्न माथिल्लो तहको अदालतको निर्णय र समान प्रकृतिको तथ्य भएका मुद्दाहरुमा पनि पूर्व निर्णय अनुसार निर्णय दिनु पर्दछ भन्ने मान्यता नै नजिरको सिद्धान्त हो । प्रकाशित भएको तथ्यमा समानता रहेको र माथिल्लो अदालतको नजिर मात्र लागू हुन्छ । मुद्धा हेर्न र फैसला गर्ने सम्बन्धमा अदालतबाट व्याख्या गर्दा स्थापित भएका कानूनी सिद्धान्त नै नजिर हो । नजिरको अथवा कानूनी सिद्धान्तलाई ऐन, नियम वा निर्णय दिने अदालतले खारेज नगरेसम्म परिपालना अनिवार्य तथा बाध्यात्मक हुन्छ । नजिरको विरुद्धमा निर्णय गर्न पाइदैन र निर्णय भएमा सोही नजिरको आधारमा त्यस्तो निर्णय बदर तथा अमान्य हुन्छ । नजिर सम्बन्धी अवधारण अन्तर्राष्ट्रिय धारण बनिसकेको छ । न्यायिक सिद्धान्त प्रतिपादित भएका विषयलाई मात्र नजिरको रुपमा अगाडि लिइन्छ ।

नेपालको वर्तमान संविधानको धारा १२६ को उपधारा २ र धारा १२८ को उपधारा ४ मा यसको व्यवस्था गरिएको छ । मुद्धा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालन गर्नु पर्नेछ । नेपालमा नजिरको लामो इतिहास छैन । वि.सं २००७ भन्दा पहिला नेपालमा न्यायपालिका स्वतन्त्र नभएकाले नजिर अवधारण विकसित भएको थिएन । वि.सं २००८ मा प्रधान न्यायलयको स्थापनापछि नजिरको सुरुवात भएको थियो । विभिन्न कानूनविद्दले पनि नजिरका विषयमा आ–आफ्ना विचारहरु व्यक्त गरेका छन् । नजिरले व्यवहारमा महसुस भएका कुराहरुलाई समेट्ने भएकाले समाजको आवश्यकता पुरा गर्न र कानुनलाई समयानुकूल प्रगतिशील बनाउन यसको आवश्यकता हुन्छ । कानूनको व्याख्या हुने भएकाले यसको प्रयोग गरी फैसला गर्दा समयको व्यवस्थापन हुन्छ । नजिरका माध्यमबाट भौतिक त्रुटिहरुको पनि समाधान हुन सक्छ ।

नजिर कानुनको विकास नाप्ने मापदण्ड हो । नजिरबाट समयानुकुल कानुन प्राप्त गर्न सकिन्छ । नजिर व्यवस्थित तथा परिमार्जित कानुन हो । नजिर अदालतको त्यस्तो अन्तिम आदेश, निर्णय वा फैसला वा प्रतिपादित सिद्धान्त, जुन कानुन सरह लागू गर्नुपर्ने हुन्छ । नेपालको सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त मात्र नजिरको मान्यता प्राप्त गर्दछ । कुन मुद्धाको फैसलामा कस्तो नजिर कायम भएको छ भनेर सार्वजनिक जानकारीको लागि नेपाल कानून पत्रिकामा सर्वोच्च अदालतले नै नियमित प्रकाशित गर्दछ । न्याय सम्पादन प्रकृयालाई निरन्तरता दिन, निश्चितता कायम राख्न, साथै न्याय प्रणालीलाई अनुशासित र उत्तरदायी बनाउन तथा न्यायिक एकरुपता कायम गर्न र न्यायिक कामकारबाहीलाई समय सापेक्ष बनाउन नजिरको विशेष भूमिका रहेको हुन्छ ।

कानुन समाजलाई व्यवस्थित र निर्देशित गर्ने एउटा औजार हो । यसको अज्ञानता कसैलाई पनि क्षम्य नहुने हुनाले कानुनहरू परिष्कृत गर्दै समाजलाई सही दिशामा डोर्यााउने खालका हुनुपर्दछ । कानूनमा विभिन्न विधिशास्त्रीका अनुसार यहाँहरुले भनेको विभिन्न स्रोत अतुलनीय भूमिका रहेको छ । यिनै स्रोतलाई आत्मसाथ गर्दै विभिन्न किसिमका बढ्दो बेथिति र अपराध अनुसारका कानून बनाई अदालत वा न्यायिक निकायबाट छिटो छरितो निष्पक्ष तथा तर्कपूर्ण फैसला गरी समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *