कृषिता अधिकारी (निशा)
साँच्चै नै हरेक मानिसका फरक–फरक खालका विचार हुन्छन् । र त्यही विचारले नै मानिसलाई सही गलत, नकारात्मक र सकारात्मक सोँच्न र बन्न सिकाउँछ । बास्तवमा भन्ने हो भने मानिसलाई उसको विचारले नै महान् बनाउँछ र विचारले नै खराब बनाउन सक्छ । किनभने अनुभवी महात्माहरु भन्ने गर्दछन् कि जसरी आकार र रङ हुन्छ, त्यसरी नै विचारहरुको पनि रङ्ग र आकार हुन्छ । तर, त्यसको आकार प्रकार भने बाहिरी आँखाले देखिदैन । यो त केवल मन मष्तिकबाट उत्पन्न हुने कुरा हो । त्यही विचार भावनाबाट नै मानिसको सबल र दुर्वल पक्षलाई समेट्ने गर्दछन् । किनकि दृढ संकल्पद्वारा प्रत्येक मनुष्य आकाशमा परमाणुहरुको गतिलाई बदलिदिन्छ र यी रुपहरु फैलिदै जान्छन् । भनिन्छ नि मानिसले जस्तो संकल्प गर्छ, उसको सफलता उस्तै रुपमा अघि बढ्दै जान्छ अर्थात् मानिसले जस्तो विचार प्रकट ग¥र्याे, ऊ उस्तै हुन्छ । उदाहरणका लागि भक्ति विषयको विचारको रङ्ग आकाशवत् आसमानी हुन्छ त्यसको आकार विविध पुष्पहरु, सुन्दर लताहरु जस्तो बन्छ, जुन प्रकारको भक्ति छ, उस्तै प्रकारको पुष्पहरुको जस्तो आकार हुन्छ । त्यसैले, स्पष्ट रुपमा भन्ने हो भने मानिसले जस्तो विचार भावना राख्यो सोही अनुरुप नै मानिसको जिन्दगीको गति, लय र सफलता असफलता हासिल हँुदै जान्छ ।
हाम्रो मनमा अनेकौं विचार बनाउने हामीमा सामथ्र्य छ । केवल यति मात्र होइन कि यसलाई अझै दूरविनको जस्तो वस्तु हेर्ने सामथ्र्य पनि हाम्रो मनमा छ । यसै शक्तिको बलबाट धेरैजसो महात्माहरु आफ्नो तपस्या गरेर ब्रह्माण्ड जान्न योग्य बलबाट सबै कुराहरु र आफ्ना विचारहरु अन्यत्र पढाउन सक्थे रे । त्यही शक्ति हामी सबैभित्र छ । तर, त्यसका लागि त आफ्नो मनलाई शुद्व गरेर ती शक्तिहरुलाई विकास गर्नुपर्छ ।
किनकि मनमा उड्ने संकल्प विकल्पहरुलाई रोकेर स्थिर गरे पछि नै बाहिर उत्तम विचार उत्पन्न हुन्छ । जस्तो स्थिर पानीमा प्रतिबिम्ब पर्दछ, त्यो सफा देखिन्छ र बगिरहेको पानीमा प्रतिबिम्ब सफा देखिदैन । उस्तै नै हाम्रो चित्त वृत्ति स्थिर र मन एकाग्रता हुनुपर्छ, तब मात्र हामी अर्को विचार लिन सक्छौ । सामुन्ने मानिसको मन पनि एकाग्र होस्, तब आफ्नो विचार उसमा पु¥याउन सक्छौ । त्यस्तै मानिसले प्रत्येक क्षण आफूले विचार परिवर्तन गर्छ भने उसले आफ्नो लक्ष्यमा पुग्न सकिरहेको हँुदैन । भनिन्छ नि मानिसले बारम्बार एउटै विचार प्रकट ग¥र्याे, एउटै विचार, लक्ष्यमा तल्लीन हुन सक्यो भने गन्तव्यमा पुग्दछ । केवल मानिसले आफ्ना विचार, योजनालाई प्रयोगमा ल्याउन सकेन भने सोचेर मात्र केही हुँदैन । सोचाई अनुसारको योजना र कर्म पनि गर्नुपर्छ । जुन मानिसको मन चञ्चल छ, उसले दृढ संकल्प गर्न सक्दैन । मनमा जो संकल्प विकल्परुपी लहरहरु उठ्छन्, तीनलाई रोक्नुको नाम एकाग्रता हो । यदि कुनै पनि विषयमा मन जान्छ भने त्यसबाट मनलाई फर्काएर एउटा महान् उद्देश्यमा यसलाई लगाउन सकिन्छ र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ ।
त्यसैले त विचारको महिमा जति गाए पनि कमै हुन्छ । किनकि प्रत्येक विचार वृक्षको एउटा सानो बीउको समान हुन्छ, जसमा महान् बृक्षलाई उत्पन्न गर्ने शक्तिले भरिएको छ, चाहे सकारात्मक विचार गर, चाहे नकारात्मक, मानिसको जस्ता विचार उस्तै नै व्यवहार क्रियाकलाप र त्यस्तै फल मिल्ने त हो नि । उदाहरणका लागि यदि कुनै व्यक्ति सदा रोगी र दरिद्रताले पीडित छ, उसको मनमा यस जीवनबाट छुटकारा पाउनाका लागि आत्महत्या जस्तो निन्दित कर्म सम्म गर्ने इच्छा राख्छ, सदैव त्यही विचार गर्छ भने उसले बाँच्नु भन्दा देह त्याग्नु बेस ठान्छ र उसैको विचारले उसलाई मृत्युवरण गराउँछ । यसलाई सरल अर्थमा भन्ने हो भने मानिसले जस्तो सोच्यो, त्यस्तै हुन्छ रे । त्यसैले पनि सदा सकारात्मक बन्न सिक्ने हो भने हाम्रो मनमा राम्रो राम्रो विचार उत्पन्न हुन्छ । हामीलाई सबै कुरा राम्रो लाग्छ अर्थात् जीवनलाई बुझ्न र जिउन सजिलो हुन्छ । अर्कोतिर यदि हामी कुनै कुरामा सन्तुष्ट हुन सकेनौं भने हामीलाई जीवन दिक्क लाग्छ, खाली यो भएन, त्यो भएन, निराशा दुःख नकारात्मक मनमा भावहरु उत्पन्न हुन्छ । यसले हाम्रो जीवन र स्वास्थ्यमा पनि असर गर्दछ ।
तसर्थ, जीवनरुपी क्षेत्रमा विचार एक बिजको सदृश्य हो । यदि काँडाको बीउ छरियो भने गुलाफको फूल कसरी उत्पन्न होला त ? त्यसैले हामी सदा गुलाफको बीउ किन नछरौं । यदि कसैले कसरी सम्भव छ भन्छ भने हामीले सरल भाषामा भनौ कि हामी शुभ विचार नै गरौं र धैर्यवान बनौ । आफ्ना विचारहरुका रचयिता पनि हामी स्वंयम् हौ । यसलाई पालनकर्ता, संहारकर्ता पनि हामी नै हौ । जुन विचारलाई प्रकट गर्न चाहान्छौ, उसलाई बढाएर विकसित र पालना गर्न सक्छौ नि । एक नकारात्मक विचारले त्यसलाई नाश पनि गर्न सक्छौ, त्यसैले सकारात्मक विचारले आफ्नो जीवन सफल बनाउ र सुखी बनाउ ।