सरोजराज पन्त
अहिलेका नयाँ पुस्तालाई सिस्नु के हो ? कहाँ पाइन्छ ? के का लागि प्रयोग हुन्छ ? भन्ने विषयमा सवैलाई थाहा नहुन पनि सक्दछ । यसका के कति फाइदा छन भन्ने बारेमा थाहा नहुन पनि सक्दछ । कुनै समय शत्रुलाई ‘तेरो घरमा सिस्नु उम्रियोस’ भनेर सराप्नेहरू चलन अहिले गलत साबित भएको छ । पहिले अरुलाई सराप्नेहरु नै अहिले आफ्नै घर वरपर सिस्नु उम्रान थालेका छन् । बिगतमा गरीवको भान्सामा सीमित सिस्नो अहिले धनिको औषधि बनेको र यसबाट जीबिको पार्जन पनि भएको छ । बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाउँ घरका वारीका कान्लामा पाइने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न गरिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट साग हो । यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउँछ भन्ने थाहा नहुँदा यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, घाँसको रुपमा प्रयोग गर्ने गरेको पनि पाइन्छ ।
यस्तै विगतमा अपराधी तथा भनेको नमान्ने बालबालिकालाई सिस्नुपानी लगाउने चलन रहेकोमा अहिले आयआर्जनको माध्यम बनाएका छन् । कुनै बेला गरिबको तरकारीको सिस्नु अहिले पाँचतारे होटेलमा अनिबार्य पाक्ने गरेको छ । बहुगुणी सिस्नुको पात र जराको तरकारी मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुने गरेको छ । सिस्नोको महत्व बुझेकै कारण अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुरेण्टहरूमा महँङ्गो र आकर्षक खानाको परिकार बनेको पाइन्छ । सिस्नुको मुन्टालाई दानाका रुपमा खुवाएका कुखुराले धेरै गुणस्तरीय अण्डा पार्ने र मासु पनि स्वादिष्ट हुने कुरा अध्ययनले प्रमाणित गरेको छ ।
परम्परागत मान्यता अनुरुप घरछेउमा सिस्नुको बोट राख्नु हुँदैन भन्ने प्रचलनका कारण सिस्नुको बोट फाँड्नेहरू अहिले त्यसको गुणको बयान र स्वादका कारण पारखी बन्दै गएका छन् । सिस्नो नेपालका मध्य पहाडका जमिन, पर्खाल, जङ्गलमा पाइन्छ । झारझैँ उब्जाउने परम्परागत तरकारीहरूमध्ये एक शताब्दीयौंदेखि दुखी गरिवले तरकारी खाइरहेको भएतापनि पछिल्लो समयमा धेरैले सिस्नो स्वास्थ्यका लागि महत्वपूर्ण औषधि र खाद्य स्रोत बनेको छ । अहिले गाउँघरमा आमा समूह, सहकारीहरु सिस्नु उत्पादन र प्रशोधनमा जुटेका छन् भने सहरका दर्जनौँ सङ्घसंस्था र कम्पनीहरुले सिस्नुको व्यापार गरिरहेका छन् । खेती गर्न र स्याहारसुसार गर्न नपर्ने, जङ्गल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नुको धूलो राम्रो मूल्यमा स्बदेशमा बिक्री र विदेशसम्म निर्यात हुन थालेको छ । सिस्नु उत्पादन र प्रशोधन पछि धूलोलाई दाल, ढिंडो, सुपका रुपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नुको मुन्टा तरकारीका रुपमा खाने गरिन्छ ।
सिस्नोको बारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित खण्डकाव्य मुनामदनका पंक्तिमा पनि गरीवले सिस्नो खाने चर्चा भएको छ– ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले‘’ सिस्नुलाई मानिसको गरिबीसँग दाँजिएको भएपनि अहिले गरिबले उपभोग गर्ने खाद्यान्न धनाढ्यको भान्छामा पाक्ने महत्बपूर्ण परिकार बनेको छ । सिस्नुको नियमित सेवनले उच्च रक्तचाप, मधुमेह, रक्तअल्पता, पिसाब र पेटसम्बन्धी रोग, हड्डी चर्केमर्केका बिरामी र गर्भवती महिलालाई समेत फाइदा पुग्ने भएकोले धनाढ्यको रोजाइमा परेको हो ।
समय परिवर्तशील छ र सोही अनुरुप मानिसका विचार, भावना र दृष्टिकोषमा पनि परिवर्तन हने गर्दछ सोही बमोजिम ब्याक टु नेचरको सिद्धान्तअनुरुप अर्गानिक खाद्यन्नका लागि धनाढ्यको घरमा सिस्नु अहिले औषधिको रूपमा र सुप वा दाल बनाउन प्रयोग गर्ने गरिएको छ । शरीरका अङ्गहरूमा भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ । महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग गर्दछ । यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्न सहयोग गर्दछ । महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट पनि रोक्छ । सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत गराउन सघाउँछ । डन्डीफोरको समस्या हटाउन र कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा सिस्नु उत्तिकै उपयोगी हुन्छ । पाचन प्रणालीलाई सक्रिय बनाउन सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्रो फुट्दा र मुख दुख्ने रोगमा सिस्नुको सेवन लाभदायक हुन्छ । मुत्रनलीमा हुने अवरोध हटाउन, बर्खे ज्वरोमा सिस्नोको सेवनले लाभदायक हुन्छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकार र अपचमा सहज बनाउँछ ।
पहिले गरिबले बाध्यताले सिस्नु खाए । उनीहरुले सिस्नुमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क जस्ता महत्बपूर्ण तत्व पाइन्छ भनेर र शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ भिडिरहन्छ भन्ने थाह पाएर नभइ बाँच्नकालागि बाध्यताबस खाए । अहिले भने सिस्नुमा हेमोग्लोबिनको मात्रा बढी पाइने हुनाले मानव शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ भन्ने थाह पाएर गरिवले भन्दा धनिले धेरै प्रयोग गदैआएका छन । अहिले शहरियाहरु सिस्नुलाई महत्बपूर्ण बुटी मान्दछन । ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । त्यसैगरी महिलाले महिनावारी अनियमीत हँुदा र पुरुषको शुक्रकिट उत्पादन गर्नमा, नपुसंकता, बाझोपन भएका बिरामीहरु सिस्नुलाई खोजी खोजी उपयोग गर्दछन ।
रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी पाइन्छ । भिटामिन पाइने अन्य तत्वहरुमा भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन पाइने भएको र पोषिलो हुनुका साथै शरीरका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने अचुक औषधि भएको हुनाले यसको माग बढिरहेको छ । मानिसलाईमात्र होइन पशुपक्षिका लागि पनि सिस्नु महत्वपूर्ण रहेको छ । दुहुना गाईभैंसीबाट दूध बढी उत्पादन गर्न सिस्नुलाई दानाको रूपमा खुवाउने सकिन्छ । गाउँघरमा पाइने सिस्नुलाई गाईवस्तुका लागि खोलेका रुपमा प्रयोग गरेको पाइन्छ ।
१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने गर्नु पर्दछ । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाएमा शरिरका भित्री अंग पनि सफा हुने बैज्ञानिकहरुले पत्ता लगाएका छन् । हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार र दिसाको थैलो सफा हुने भएकोले हप्तामा एकपटक सिस्नु खाएमा जुनसुकै रोगहरुसँग लड्ने क्षमता बढाउँछ ।
खाद्यान्नको अभावमा गरिवले प्रकृतिले दिएको सिस्नु प्रयोग गरेर बाँचेकोमा अहिले सिस्नुको गुणस्तरीय औषधीय गुणलाई स्वदेशी र बिदेशीले बुझिसकेका छन । यद्यपि बजारमा अरु चिनाउन मात्र सकेमा यसको उपयोगिता र महत्व बढेर जाने देखिन्छ । यसको विदेशमा हुने मागलाई मात्र पूर्ति गरी निकासी गरी आर्थिक लाभ लिन र नेपालले झेल्दै आइरहेको व्यापार घाटा कम गर्न सकिन्छ । देशको जुनसुकै ठाउँमा सहज पाइने र उत्पादन गर्न सकिने सिस्नुलाई आय आर्जका लागि प्रयोग गर्न सकेमा भनेमात्रै स्वरोजगार बन्ने र धन कमाउन सकिन्छ । विकासोन्मुख देशमा स्वदेशमै पाइने जडीबुटीबाट औषधिको उत्पादकका गरी स्वदेश उपयोगसँगै विदेशमा अमेरिका, बेलायत, जापान, हङ्कङ, कोरियालगायत अन्य मुलुकहरुमा पठाउन सकेको खण्डमा राम्रो आम्दानी गर्न सकिने देखिन्छ । विदेशको भर पर्नुपर्ने बाध्यताको अन्त्य गर्न बहुमूल्य जडीबुटी सिस्नुको सम्भावनाको सही सदुपयोग गर्नु आजको आवश्यकता हो ।
घरछेउ र वन जङ्गलहरुमा सजिलै पाइने ‘सिस्नु’ सबै जिवजन्तुका लागि अमुल्य प्रकृतिको वरदान हो । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरुले मात्र तुच्छ खानाको रुपमा खाने सिस्नो आज सहरका ठूला–ठूला डिपार्टमेन्ट स्टोर्स, तारे होटल, रेस्टुरेन्टहरुमा महँगो परिकार बन्नु नेपालका लागि सुखद कुरा हो । पहिले घरभित्र छिराउन मिल्दैन भन्ने सिस्नु अहिले डिपार्टमेन्टल स्टोर्सहरुमा सजिएर हजारौँ रूपियाँमा बिक्री हुने हुँदा यसबाट फाइदा लिन अब राज्य चुक्नु हुदैन ।