ठेकदार र बिचौलियाको हातमा राजनीति

सज्जन कुमार सिंह
देशको मुल नीति नै राजनीति हो । तर यसलाई कहिले काँही सम्भावनाहरुको खेल पनि भनिन्छ । लामो समयदेखि विभिन्न जात, वंश र धर्मको आधारमा अघि बढेको नेपालको राजनीति राजा हुँदै जनता मै आइपुगेको पनि दशक बढि भइसक्यो ।

एकात्मक राज्य व्यवस्थाका कारण देश पछि परेको भन्दै संघीय शासन व्यवस्था लागू भइ संघ देखि स्थानिय तहसम्म अधिकार सरेको छ । राजा फालेर गणतन्त्र आयो, संघिय शासन पद्धति आयो नयांँ संविधान पनि आएर कार्यान्वयन भएका र केही हुने क्रम पनि छ तर आम नागरिकले परिर्वतनको सहि प्रत्याभूति गर्नै पाएनन् ।

विभिन्न चोपिला नारा बाढेर युद्ध, आन्दोलनमा सहभागी बनेका दल र त्यसको नेतृत्व पनि पूरानै ढर्राले अघि बढेका छन् । अहिलेको राजनीति फेरि उनै पूँजीपति, दलाल, ठेकदारको हातमा सुम्पिदै गएका दृश्यहरु हामिले क्रमिक रुपमा देख्न थालेका छौ ।

नेपाली अर्थतन्त्रको स्वरूप पुरै दलाल र बिचौलियाको हातमा पुगेको छ । उनीहरु कै क्रियाकलाप इच्छा र प्रवृत्तिमा अधिनस्थ भएको छ । जमिन, खोला नाला र बजार पनि दलालहरु कै कब्जामा छ । जसको कारण देशको मुल राजनीति पनि उनिहरु कै हातमा पुग्दै छ ।

अहिले वडादेखि जिल्ला र प्रदेश तहसम्मका नेतृत्व गर्ने तिनै व्यक्तिले ओगट्दै गएका छन् । जोसँग प्रसस्त पैसा छ, जो बालुवा गिटी र नदी दोहन गरेर, ठेक्का पट्टा गरेर पैसा जम्मा गरेका छन् उनिहरु नै नेतृत्वको आँखामा परेका छन् ।

नियम र कानुन बमोजिम हुने सामान्य कामका लागि पनि भनसुन र विचौलीया हुनै पर्ने अवस्था छ । उदाहरणका लागि जग्गालाई हेरौ । जग्गा धनी एउटा हुन्छ , किन्ने अर्काे हुन्छ तर सबैभन्दा नाफा कमाउने चाहिँ दलाल हुन्छ ।

ठ्याक्कै त्यस्तै राजनीतिमा पनि विचार, सिद्धान्त र पार्टिको काममा दिलो ज्यान दिनेहरुको चौपरीमा बास भएको छ । अलि पैसा खर्च गर्न सक्ने, गोरखधन्दा चलाएरै भएपनि टन्न पैसा कमाएकालाई नेतृत्व सुम्पने जुन प्रवृत्ती देखिदै छ त्यो सबै भन्दा गम्भीर दृश्य हो ।

दलाल पूँजीवादी अर्थव्यवस्थाको मुल अनुहार नै यस्तो हुन्छ कि ,जो तलदेखि माथिसम्म दलाली र कमिसनको जगमा टिकेको हुन्छ  । आज ठ्याक्कै त्यस्तै छ । शत्ता भित्रका वा बाहिरका नेता, कार्यकर्ताहरु, उच्चपदस्थ कर्मचारीहरु ठुला ठेक्का र खरिदमा च्याप्प मिठो कमिसन खान मरिहत्ते गरिरहेका छन् ।

अहिलेका नेता र तिनका कार्यकर्ता अनि अधिकाशं कर्मचारीहरू कमिसन खेलोमा सबै कुरा भुलेर कमिसनका ठेकेदार, कमिसन एजेन्टहरूको फाइल बोक्दै कुदिरहेका हुन्छन् । दलाल पूँजीवादी व्यवस्थाले हाम्रो जस्तो सामन्ती समाजबाट सिकेको ज्ञान संरचनागत लाभको जोहो गर्नु हो । यहि संरचनागत लाभको चास्निमा डुब्न तछाड मछाड गर्नेहरुले देशलाई खोक्रो पारेका छन् ।

आफुलाई अति नै क्रान्तिकारी र कम्युनिष्ट भन्दै कुर्लनेहरु व्यवहारिक रुपमा दक्षिण पन्थि र जडसुत्रवादी बनिसकेका छन् तर उनिहरुलाई आफु जत्तिको कम्युनिष्ट र प्रगतिशील कसैलाई स्विकान तयार छैनन् । आफ्ना गरिब, उत्पिडीत तथा सर्वाहारा कार्यकर्ता र उनिहरुको दरिद्रतासँग भयानक त्रासदी छ । उनिहरुसंग कतै भेटघाट नहोस भन्नेमा सचेत बन्दै छन् । बरु उनिहरु उच्चतम र सम्पन्न व्यक्तिसँग झाँगिने भयानक मोह  बढ्दै गएका छन् ।

एमाले महाधिवेशन सम्पन्न गर्न पनि तिनै व्यापारी, पूँजी पति र काला धन सेतो बनाउने लाइनमा लागेकाले भित्री रुपमा ठुलो लगानी गरे । आज सबै पार्टिका सभा, समारोह, महाधिवेशनमा लगानी गर्ने नै उनीहरु भएका छन् । जसको कारण राजनीतिक विचार, सिद्धान्त व्यापारी र ठेकदारको पाउमा चढाइएको छ ।

पार्टीको साइनबोर्डमा ठुला परिवर्तनकारी, माक्र्सवादी र प्रगतिशिलको ट्याग झुण्डिए पनि त्यसमा सामेल पात्रहरुको चरित्र चरित्र हो । पार्टिको सभापति पदमा उम्मेदवारी दिन कै लागि १ लाख रुपैयाँ शुल्क काट्नुपर्ने प्रावधानले पनि यो पुष्टि गर्छ कि राजनीति दलाल पूँजी पतिको हातमा पुग्दै छ । टिकट पाउन सबैभन्दा बढि पैसाको खोलो बगाउनेले प्राथमिकता पाउने, चुनाव जित्न पैसावाला नै चाहिने जुन व्यवस्था अझै भयानक रुपमा विकास हुँदै गएको छ । यसले सर्वहारा वर्ग र कमजोर नागरिकको हक हितमा राजनीतिको उपलब्धि हुन्छ भन्ने सोच्न सकिदैन ।

राजनितिक स्वास्र्थसिद्ध गर्न चोरलाई बोक्ने, धर्मलाई बोक्ने र हुँदाहुँदै फेरि राजालाइ नै बोक्ने अवस्था आउनु नेपाली राजनीतिको सबैभन्दा ठुलो असफलता हो । त्यसैले अहिलेको यहि व्यवस्थाले वर्गिय,जातिय र सबैखाले विभेदलाई अन्त गर्ने सम्भावना क्षीण बन्दै गएको छ । यो व्यवस्था फेर्न जति ढिला हुन्छ त्यति नै समाज विकृत, भ्रष्ट र दलालीले भरिएको कुरुप बन्छ । अब व्यवस्था र यस्तो पद्धती फेर्न सचेत तप्का लाग्नै पर्छ ।

यो पनि पढ्नुहोस्