सज्जन कुमार सिँह
ओम्नि समूहको चर्चा पछि देशभर अहिले बतास समूह चर्चामा आएको छ । बतास कता कता चल्छ, त्यसको ठेगान हुदैँन । किनकी बतासको आकार हुँदैन र बतासलाइ देख्न पनि सकिन्न । यस्तै भावको नाम टिपेर व्यवसायमा छिरेको बतास समुहको बतास देशभरी जताततै चलेको छ ।
बतास र बतासलाइ चलाउने भित्री पात्रहरको पनि विस्तारै बुर्का खोलिदै छ । कोरोनाको बेला ओम्नि र ओम्नी जस्तै पैसा कमाउन सरकारी कर्मचारी र नेतालाइ प्रयोग गरेको कम्पनीहरुको कैफियत पूर्ण धन्दामा गरेको सेटिङहरुले नागरिकलाई दुखित बनाएको छ ।
सार्वजनिक र सरकारी सम्पत्ती माथि मुख्य तहमा भएका व्यक्तिले कसरी कर्के नजर लगाउँछन् भन्ने कुराका नयाँ नयाँ रहस्यहरु सार्वजनिक हुदै गएका छन् । तनहुँ पोखरा हुँदै काठमाण्डौ पुगेको बतास समुहका अध्यक्ष आनन्दराज बतासको पछिल्लो एउटा भिडियो हेरेको थिए । उनले भनेका थिए “२ लाख रुपैँया तिरेर विदेश जानेहरुलाइ देख्दा मलाइ हाँसो लाग्छ । त्यति पैसा भयो भने त कुनै व्यवसाय गरे हुने । ३ जना बतास दाजुभाइबाट एक हजारको समुह बनाएकोे छु र यहि गतिमा गयो भने दश हजार बतास सदस्य केहि बर्ष मै गराउँछु ।”
उनको उक्त भिडियो धेरैलाई पैसा कमाउने, व्यवसायमा लाग्ने खुराक दिन्छ । तर के आजको बतास समुह सिधा र सहि तरिकाले चलेको भए यो स्थानमा आउन सम्भव थियो ? यी प्रश्नहरु आम जनमानसमा उठ्नु स्वभाविक हो । रविन्द्र अधिकारीलाइ भोट नदिएर नोट दिएको चर्चा चलेका बतासलाई पशुपतीको धर्मशाला हुँदै नारायणहिटी दरबार सम्म सुम्पने काम केपी शर्मा ओली प्रधानमन्त्री हुने समयमा भएका रहेछन् । रवीन्द्र अधिकारी र योगेश भट्टराईको साथ सहयोग र सोही मातहातका कर्मचारीको सेटिङ्मा बतासले सार्वजनिक सम्पत्ती माथी कर्के नजर लगायो ।
व्यावसायिक घरानाले आफूलाइ फाइदा पुग्ने ठाउँमा र क्षेत्रमा लगानी गर्ने कुरा सामान्य हो । किनकी उनीहरुको व्यवसायीक सोचले बढि फाइदा हुने ठाउँ खोज्नु पनि स्वभाविक हो तर नेपालका केहि कर्मचारी र नेताहरुले व्यापारीहरुलाइ आफ्नो फाईदा र कमिसनका लागि सार्वजनिक सम्पत्ती सुम्पने प्रवृत्ति निकै घातक छ । त्यस्ता व्यक्तिहरुको समयमै पहिचाान गरि नाँगेझार गराउनै पर्छ ।
पशुपती नाथको मन्दिर हिन्दुहरुको सबैभन्दा महत्वपूर्ण धार्मिक स्थल हो । उक्त ठाउँलाई सेटिङमा कुनै एक व्यापारीलाइ सुम्पने र मनपरी ढँगले संरचना खडा गर्ने, भाडा नै तिर्न नपर्ने, सम्झौता विपरीत जे पनि गर्ने तर उनीहरुलाइ कुनै पनि कारर्वाही नहुने ?
नारायणहिटी, सेती बगर, मणिपाल लगायतका धेरै ठाउँहरुमा बतासले कर्के नजर लगायो । पोखराको रामघाट नदी थुनेर ३५ बर्ष सम्म गिटी ढुँगा निकाल्न बतासलाइ जिम्मा दिन पोखरा महानगर लागि परेको छ । रामघाट बतासको हातमा परेपछि पोखराको काया पलट हुने ललिपपे कुरामा महानगर जिल्ल परेको छ या भित्री रुपमा महानगरले गोजी भरेको छ ? यी प्रश्नहरुले पोखरेली लगायत प्राकृतिक सम्पदाको सँरक्षणमा जुटेकालाइ चिन्ता बढेको छ ।
नदिहरु तीव्र दोहनले प्राकृति र पर्यावरणमा पारेको नकरात्मक प्रभावलाई रोक्न विभिन्न अभियान थालिएका बेला बगर नै कुनै एक व्यापारीलाई जिम्मा दिने तयारीमा रहेको महानगरको यो गम्भिर भूलले बर्षौ सम्म सताउने छ । यसप्रति महानगर सचेत र संयमित हुनै पर्छ ।
पुरातात्विक, सांस्कृतिक सम्पदाहरुलाइ विभिन्न कम्पनीहरुलाइ सत्ता र कर्मचारी मिलेर जिम्मा लगाइएका घटनाहरु धेरै पहिलेबाट हुदै आए । नयाँ ठाउँमा नयाँ नयाँ उत्पादन र निर्माणका काम सञ्चालनमा लगानी गर्नु, त्यसबाट केही व्यक्तिलाइ रोजगारी दिनु र प्राकृतिक तथा सार्वजनिक सम्पत्तीको उपयोग गर्नु जायज छ तर कुनै व्यक्तिलाइ दलका नेता र कर्मचारीको साठगाँठमा सुम्पिनु लज्जापद र अपराधिक काम हो ।
यस्ता गलत कदम, निर्णय र ठेक्का पट्टामा कमिसन खाने, भित्री नाटक गर्ने जोजो छन् त्यी नेता, कर्मचारी र मातहतका सबैलाई कारर्वाही हुनुपर्छ । चुनावका बेला नेतालाई नोट दिने, अप्रत्यक्ष रुपमा व्यवसायिक घराना सित व्यवसायिक साँठगाँठ गरेर देशमाथि दोहन गर्नेहरुलाई समयमै चिन्नु जरुरी छ । सँविधान,नियम र कानुनको आँखा छलेर गरिएका जे जति गद्दारी छन् । त्यी गद्दारी र गद्दार गर्ने व्यक्तिलाई छानबिन गरिनु पर्छ ।
अहिले चर्चामा आएका ठाउँको मात्र खोजी हुन्छ । केहि समय चर्चामा आउँछ । यस्ता धेरै सार्वजनक सम्पत्ती र प्राकृतिक स्रोतहरुमा देशैभर कुनै न कुनै व्यक्ति र समुहले हैकम जमाए कै छ । चाहे बालुवा निकाल्ने खोलाको दोहन, विभिन्न ऐतिहासिक ठाउँलाई सस्तोमा लिएर व्यवसायिक मनोकाँच्छा पुरा गर्ने किन नहोस् यस्ता ठाउँको पहिचान र त्यी ठाउँहरुमा एकाद व्यक्तिहरुको मनोमानीलाइ रोक्न जरुरी छ ।
व्यवसायमा फड्को मारेका र पैसा कमाएका धेरै व्यवसायिक घरानाहरु सरकार भन्दा माथि छन् । उनीहरु कानुन भन्दा माथि छन् किनकी उनीहरुलाइ राजनैतिक सँरक्षण कर्मचारी हरु कै पुरा साथ छ । त्यी समुहसँग साँठगाँठ भएका नेता, कर्मचारीहरु मुखमा पिडालु राखे जस्तै तै चुप मै चुप गर्छन् । उनीहरुलाई कारबाहि होला र आफू पनि तानिएला भनेर उनीहरुलाइ जोगाउन त्यीनै व्यक्तिहरु लाग्ने र सरकारी सम्पत्तीहरुलाइ जथाभावी प्रयोग गर्ने गरिएको छ । त्यसैले साना ठूला सबै सार्वजनिक सम्पत्तीको दुरुपयोग भए नभएको पहिलाउँदै दुरुपयोग भएको भए सबै सचेत नागरिकले खबरदारी गर्नु जरुरी छ ।
पर्यटनमन्त्री प्रेम आलेको सक्रियता
रुखले अक्सिजन लिन्छ भनेर बतासे कुराबाट चर्चामा आएका पर्यटन मन्त्री प्रेम आलले अहिले बतासका गैरकानुनी र सार्वजनिक सम्पत्ती माथीको गिद्धे नजरलाइ रोक्न सक्रिय बनेका छन् । उनले गलत प्रकृया र गैरकानुनी ढँगले बतासलाइ सुम्पिएका ठाउँका ठेक्का, रद्ध गर्न सक्रियता देखाएका छन् । त्यी ठाउँलाई कसकसले कसरी कुनै निश्चित व्यक्तिलाइ सुम्पिएका थिए त भन्ने बारे पनि विभिन्न खुलासा गरिरहेका छन् ।
आलेको यो सक्रियता केवल दुइ चार दिनका लागि चर्चाका लागि मात्र नहोस् । देशभरका यस्ता सबै घटनाहरु छानविन गर्न दोषीलाई कारबाहिको दायरामा ल्याउन पनि मन्त्री आलेले एउटा महत्वपूर्ण कदम चाले भने उनको वाहवाह सधै भरि र जताततै हुने छ ।