जीवन शाक्य
महाभारतमा एउटा कथा छ , पाँच पाण्डवका श्रीमती द्रौपतीको । एकदिन तिनले एउटा शिद्ध ऋषिमुनी आएको थाहा पाएपछि आफ्नो भविष्यको बारेमा थाहा पाउन ऋषिमुनिकोमा जान्छिन । ऋषिमुनी वाल्मिकीले महाभारतको कथा लेख्न लागिरहेको हुन्छन् । कथाको महिला पात्र नजिकै उपस्थित भएको अनुभुति ऋषि वाल्मिकीलाई हुन्छ । द्रौपतीले आफनो परिचय र अभिवादन पछि वाल्मिकीलाई सोध्छिन्—मेरा भविश्य के कस्तो छ बताइदिनुस महर्षी ज्यू ।
ऋषिले उनको भविश्य बारे भनिदिनु हुन्छ—“तिम्रो कारण महाभारतको लडाई हुन्छ, लाखौ मान्छेको मृत्यु हुन्छ, लाखौ मान्छेहरु लडाईमा मर्छन” भनेर बताईदिनु हुन्छ । द्रौपतीलाई आश्चर्य र दुःख पनि लाग्छ । मेरो कारण त्यती धेरै मान्छेहरुको मृत्यु होस् भन्ने म चाहदिन, यदि साच्चै त्यस्तै हुन्छ भने मलाई त्यस्तो नहुने उपाय बताईदिनुुस् भनेर अनुनय गर्छिन । दया लागेर ऋषि वाल्मिकी भन्नुहुन्छ— हुनत घटना अवश्य घटछ, तर तै म उपाय भन्छु सुन भनेर “यदि साँच्चै तिम्रो कारणले त्यो डरलाग्डो पाप घटन नदिने हो भने तिमीले ३ चिज गर्र्नै पर्छ, एउटा कसैले तिम्रो अपमान गरेमा तिमी विल्कुलै रिसाउनु हुँदैन, दोस्रो तिमीलाई रिस उठेपनि क्रोध जागे पनि प्रतिक्रिया व्यक्त गर्नु हुँदैन, तेस्रो प्रतिक्रिया गरेपनि बदला लिने कार्य विल्कुलै गर्न हँुदैन”।
यो महाभारतको कथा मात्रै होइन, तपाई हामी सारा विश्वका मनुष्यको कथा हो, हामी सबै यसैका प्रतिनिधी पात्र हौ । कति मान्छे जन्मे पृथ्वीमा, कति मरेर गए, सबैको कथा हो यो । यो भनाई अन्जन टि.भि.को वेलकम जिन्दगी च्यानलमा कुनै जेलमा गएर दिनुभएको सन्त प्रेम रावतकोे प्रवचन हो । साँच्चैनै यो हामी सबैको जिन्दगीको दिनहँु प्रति क्षण घटने घटना हो भन्दा फरक पर्दैन । परिवार समुदाय संघ संथा समाजले मनुष्यहरुलाई एक आपसमा आवश्यक शान्ति प्रेम, स्वास्थ्य, सम्बन्ध विश्वास भन्दा धेरै गुणा बढी पैसा सम्पत्तिको मूल्य, सृजना गरेको अवस्था छ । जसले गर्दा पैसा सम्पत्ति प्राप्त गर्न लोभ मोह क्रोध अहंकार इष्र्या द्वेष, वासनाको राक्षस रुपी आकर्षणमा परेर अशान्त तनावपुर्ण र चिन्ता उदासको सोच चेतना र श्वास लिने गरेकोले दिमागको सन्तुलन बिग्रेर कसैले अलिकति नराम्रो शब्द व्यवहार गर्दा हामी अपमानित भएको महसुस गर्छौं, क्रोधको आगोमा जल्छौ र बोली वचन वा व्यवहारले भावले कति बदला लिन्छौ, घात गर्छौ, मर्छौ मार्छौ हामी संग हिसाब किताब छैन । कति आन्दोलन भए, कति युद्ध भए गराइए कति मान्छे मरे, मारिए, अन्धो अपांग भए, गराइए थाहा छैन, अझै पनि हुदैछ ।
बाल अवस्था देखि हामीलाई पढनु पर्छ, पढेर ठुलो मान्छे बन्नु पर्छ पैसा कमाउनु पर्छ भनि सिकाइन्छ, अर्थात बच्चै देखि महत्वकांक्षा सिकाइन्छ । राम्रो सुकिला मुकिला लगाएको मान्छेको संगत गर्न सिकाइन्छ, झुत्रे झाम्रेलाई हेला भेदभाव गर्न गाली गर्न सिकाइन्छ । हामी ठुला अग्ला भएका मान्छेहरु तल्लो जात, मैलो धमिलो पहिरन भएका र तल्ला जातका मान्छे भनेर हेला भेदभाव शोषण गर्छौं, बोली चालि गर्न हामीलाई लाज लाग्छ । एक आपसमा बच्चाको अगाडी यस्तै अमानविय व्यवहार गरिरहेका हुन्छौ । ठुला पढे लेखेका, हुने खानेका पहिरन, उनीहरुको बोली बचन रवाफले हामी यहि सिक्छौ । केहि गर्न सक्ने र कमाउन सक्ने भए पछि यहि गर्ने गछौं । विद्यालयमा सीप सिकने पढाई हँुदैन, न योग व्यायाम सचेतना होस बढने बढाउने प्रेरणा हौसला दिने पढाई हुन्छ । न प्रेम सेवा सम्बन्ध विश्वास बढाउने वातावरण र पढाई नै हुन्छ । यो भनेको जसरी हुन्छ, पैसा कमाउ भनेको होइन ? जसरी हुन्छ पास गरेको सर्टिफिकेट लेऊ भनेको होइन र ? फेरी पढेर या ठुलो भएर पनि काम रोजगार पाउने कमाउने ठाउँ नभए पछि हात मुख जोर्न विदेशिन बाध्य हुनु पर्ने अवस्था छ । हुने खाने पढेलेखेका नेता कार्यकर्ताहरु आफन्त नजिकका भएकालाई कामधाम छ, उद्योगधन्दा ब्यापार सबै छ, नभएका गरिव पढन नसकेकाले के कसरी हात मुख जोर्ने ? सामाजिक कार्य विवाह, क्रिया कर्म आदि सम्पन्न गर्न पढन पढाउन, स्वास्थ्यको लागि पैसा, नभई नहुने भएपछि पैसा हुने र नहुनेको वर्ग छुट्टिन्छ, उचनिचको भेदभाव हुन्छ । पैतृक सम्पत्ति नहुने, पैसा कमाउन सीप छैन, सीप भएपनि रोजगार पाउने ठाउँ छैन, कतै केहि बाटो नलाएपछि के गर्ने पेटको भोक पनि मार्नै परेपछि चोर्ने ढाटने गर्नै पर्ने बाध्यता आई लाग्छ । त्यसैले चोरी डकैती मान्छे मार्न पनि समाजले सिकाएको हो भन्दा फरक पर्दैन ? यस्तो अवस्थामा रिस उठने, चोर्ने ढाँटने, झगडा गर्ने पिटने मार्ने आत्महत्या गर्ने युद्ध द्वन्द्व हुने स्वाभाविक जस्तो पनि लाग्छ । सरकारबाट काम धाम पाउने वातावरण नहुने, किनेर सबै खानुपर्ने कर तिर्नु पर्ने, तर महंगी धेरै भएपछि कसरी चलाउने जीन्दगी ? यकातिर जनतालाई सुशासन दिनुपर्ने राज्य सरकारलेनै भ्रष्टाचार गरेका समाचार आएपछि के गर्ने जनताले ? यस्तो विभेद असमानता, शोषण उत्पीडन, भ्रष्टाचार, व्यभिचारको विद्यमान अवस्थामा रिस राग काम क्रोध लोभ मोह अहंकारको राक्षस नजागेर के जाग्छ ? यसको सम्बोधन र समाधान नभए सम्म समुदाय समाजको विकास हुन धेरै जुनि लाग्छ ।
तर परिवार समाज संघ संस्था जस्तो भएपनि हामी मनुष्य हौ, सामाजिक प्राणी हौ, भगवानले श्वास शक्ति, इन्द्रिय शक्ति दिमाग हात पाखुरा दिएको छ, बुझने, काम धाम गर्न सक्ने भएपछि आफूलाई सम्मान गर्र्दै धैर्यवान बन्नै पर्छ स्वास्थ्य शान्तिको लागि । श्वास शक्ति, शान्ति ज्ञान, सुख हामी सबैलाई हाम्रो आन्तरिक हृदय भित्र भगवानले दिएको छ मात्र थाहा पाउनु र यसलाई मलजल दिनु आवश्यक छ । परिवार समाज संघ संस्थाको वातावरण प्रतिकुल देखिए पनि यसबाट ग्रसित हुनु भन्दा पहिला आफैलाई बुझौ, आफनो आन्तरिक शान्ति, कमजोरी अवगुण, शक्ति साहसलाइ चिनौ । काम क्रोध, लोभ मोह, अहंकार, इष्र्या द्वेषको राक्षसी स्वभाव अगाल्नु भनेको हाम्रो होश चेतना सोच्ने विचार गर्ने शक्ति धेरै कमजोर बनाउनु हो ।
बरु शील सदाचार सचेतनालाई ध्यान साधौ । आफनो श्वास ढुकढुकी, धडकन, तरंग, गति चाप दवाव र दुखाइलाई हेर्ने, शाक्षिभावमा बसेर ध्यान दिने, अध्यायन गर्ने आँट गरौ, यसपछि शान्ति स्वास्थ्यको वास्तविक परिचय विस्तारै हुन्छ, यहि नै मुख्य मार्ग हो, आफनो ज्ञान शक्ति सचेत, शान्ति र स्वास्थ्य पाउने । आफुलाई जान्ने चिन्ने थाहा पाउने अवस्थाको परिचय पाउन सकिन्छ, धैर्यवान भई श्वास मुटुको धडकनलाई विषय वासना रहित निर्मल पार्दै लगौं, पारौ । स्कुलको पढाई भन्दा यो लाखौ गुणा अत्यावश्यक पहिलो जरुरी कुरो हो सिक्नै पर्ने । यसपछि पाइने सचेत सम्वेदनशिलता, होस र आत्मविश्वासले कुनै पनि समस्या समाधान गर्ने आँट जाग्छ, श्रम पसिना बगाउन सबैसंग व्यवहार गर्ने कला पनि आउँछ, गरिव अभाव भएपनि चिन्ता तनावमा बस्ने सोच विचारले ग्रसित पार्न सक्दैन ।ं । यहि सिकाउनु हुन्छ वुद्ध सन्तहरु, प्रेम रावतज्युले ।
भवतु सब्ब मंगलम ।