संघर्षमा अडेको जीवन र वर्षौको कोरोना कहर

सरोजराज पन्त
संसार आज कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी तेस्रो लहरको महामारीबाट आक्रान्त बनेको छ । यसले स्वास्थ्य क्षेत्रमामात्र नभइ सामाजिक, साँस्कृतिक, आर्थिक, मनोवैज्ञानिक पक्षमा दुरगामी असर परेको छ । कोभिड १९ महामारीसँगै कालो बजारी, शक्तिको दुरुपयोग, भष्ट्राचार, खाध्य सामग्री, यातायातको भाँडा, दुग्ध पदार्थ तथा पेट्रोलियम पर्दाथको मुल्य वृद्धिगर्ने मौका खोजियो र वृद्धि गरियो । लाखौ नागरिकमा आफ्ना तत्कालीन आवश्यकताहरु कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तनाव थपिदियो, जसले गर्दा मानिस जीवनबाट आजित भएर आत्महत्या गर्दैछन र यो बढ्दो क्रममा छ । कोरोना प्रभावित कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, यातायात, पशुपालन, मेनपावर, कन्सल्टेन्सी, फिल्महल, होटल व्यवसायीहरु लगायतका क्षेत्रमा संलग्न मानिसहरु अहिले कोरोनाको डरभन्दा सरकारको कर, बैंक, फाइनान्स, सहकारी लगायतका वित्तिय सस्थाहरुको ऋणको साँवा र व्याजको कारण मानिस मर्ने अवस्था छ ।

विगतदेखि हामीले सरकारबाट अनेकौ सपना नपाएका होइनौ जसमा काठमाडौँ उपत्यकामा मोनोरेल, लुम्बिनीदेखि काठमाडौँ रेल, तिब्बत काठमाडौँ रेल, पोखर देखि (बेनी तथा मेचीदेखि महाकालीसम्ममा रेल चढेर यात्रा गर्ने र नेपालबाट हिन्द महासागरमा पानीजहाज चढेर यात्रा गर्ने, स्वदेशमै रोजगाार गर्ने, पढदै कमाउदै गर्ने आदि कल्पना गर्नु अन्यथा हैन यद्यपि भनाइ र गराइमा तथा वास्तविकता र भोगाइमा भने धेरै फरक छ । कोरोना कहरमा यसबाट बच्न र सघर्ष गर्नु छ । मानिसलाई सधैँ घरभित्र बसेर पुग्दैन, सकिँदैन र घरमा बसेर जीउन सकिने अवस्था पनि हुँदैन । हाम्रा दैनिकीहरू चलानु पर्दछ । अब हामीहरूले सचेत ढंगले आफना आफना काम गर्नु र गर्ने वातावरण बनाउनुको विकल्प देखिदैन । त्यसैले कोरोना कहरमा व्यक्तिगत उत्तरदायित्वहरू झन बढेका र सावधानी तथा सुरक्षाकवचको असल वातावरण मिलाएर कोरोना संक्रमणबाट जोगिनुकासाथै अरुलाई पनि जोगिन सघाएर दैनिकी चलाउन अति आवश्यक छ ।

दैनिक ज्यालामा बाँच्ने मजदुरदेखि किस्तामा गाँस, बास र आस बोकेका मानिसहरुका लागि यो समय भोकको कहर बनेको छ । कमाएर जीविका चलाउने किस्तामा बाँचेको वर्ग फेरि पनि बिचल्लीमा पर्ने अवस्था छ । तर पनि यो बारेमा सम्बधित निकाय मौन रहेकोले यो अवस्था आफैंमा विडम्बना बनेको छ । दुःखजीलोमा जीवन यापन गरेका मानिसलाई फेरि घर, सटर भाडा, खानपान, पानी, बिजुली, टीभी, इन्टरनेट, मोबाइल, फोन आदिको खर्च कसरी जुटाउने र दैनिक गुजारा के गरी चलाउने ? यी कुरा मनमा खेलाउदै कोरोना महामारीको यो दिनचर्या आर्थिक संकटमा गुर्जिरहेको छ ।

स्वदेशमा बेरोजगार भइ रोजीरोटीको जोहो र धन कमाउन ऋण खोजेर विदेशीन बाध्य दाजुभाइ दिदी बहिनीहरु कोभिड कै कारण विदेशबाट बेरोजगार भएर फर्कन विवश छन तर देशमा रोजगारीको अवसर श्रृजना हुन सकेको छैन । विदेश जादा लिएको ऋणको मारमा परेकाको किस्तामा अडेको जीवन झनै कष्टकर बनेको छ ।

देशका सिमित रोजगारदातालाई पनि सरकारले जोगाउने कुनै नीति, रणनीति ल्याउन सकेको छैन । बिभिन्न उद्योग व्यवसाय, कलकारखाना सञ्चालन गर्न, बिदेश जान, घर जग्गा, गाडी, मोटर साइकल देखि घरेलु उपकरण किन्न ऋण लिएर किस्तामा जीवन यापन गरेका मानिसहरु अहिले बेरोजगार, तलव वा ज्याला नपाउँदा उद्योगी व्यवसायी, कलकारखाना सबै चौपट भएकाले बैंक, फाइनान्स, सहकारी र अन्य ऋणको व्याज र कर तिर्न नसकी मानसिक रोगी समेत भएका छन ।

देश युवाहरुले पठाएको रेमिट्यान्सले चलेको छ । युवाहरुले कमाएको पैसा नेपाल आएपनि फेरि खरिदको लागि अरबौं रुपया पलायन भएको छ । युवाहरुले पठाएको रेमिट्यान्सले चलेको देशको सरकार आफ्नो नागरिकलाई सुरक्षित ल्याउने, राख्ने, व्यवस्थित गर्ने, बिदेशमा हासिल गरेको सीप, ज्ञान, अनुभवलाई प्रयोगगरी उत्पादनमूलक काममा लाग्न र युवा केन्द्रित स्वरोजगारका लागि नीतिगत कार्यक्रम सहित आर्थिक प्याकेजको बन्दोबस्त गरी देशमा नै गरिखाने र बौद्धिक पलायन रोक्न नसकेको कारण कोरोनासँगै किस्तामा अडेको जीवन असहज बनेको छ ।

घर, घडेरी, गाडी, कार, मोटर साइकल मात्र होइन, मोबाईल, फ्रिज, टीभी वासीङ मेशीन आदि बस्तु तथा सामग्रीहरु मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना देखि बर्षो कायम गरि किस्तामा दुखजिलोमा बाँचेकाहरुको अबस्था थप दुखद बनेको छ । केही हुन्छ कि भनी व्यापार व्यवसाय गर्ने देखि सुविधाका लिनका लागि आफ्नो घर घडेरीको लालपुर्जा,नागरिकता समेत घरमा राख्न नपाएका किस्तामा जीउनेहरुको पीडा यो समय थप दर्दनाक र कष्टकर बनेको छ । राज्यले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा बोके पनि सम्पूर्ण नेपालीलाई यो कोरोनाको कहरमा सरकारको तर्फबाट कुनै राहत दिन नुपर्ने तर करका लागि कर गर्ने तर लकडाउनका यतिका दिनसम्म पनि जनता माथि भोका, नाङगा के छौ दुख बिमार भएको छ कि ? भनी कुनै अभिभावकत्व निर्वाह नगर्ने सरकार र नाफा कमाउन मरिहत्ते बिज्ञापन गरी ऋण दिएर तुरुन्त व्याज बढाउने वित्तिय सस्थाहरुले सेवामुखी होइन नाफाखोर भएको प्रमाणित भएन र ?

यो महामारीले मानिसहरुलाई जटिल अवस्था सृजना गरिदिएको छ । यो अवस्था सृजना हुनुमा सरकारको अदुरर्दिर्श कार्यर्शली, पढेकाले थलो, नपढेकाले हलो छोडनु र उपभोक्ता बादी सस्कार बढ्दै जानु हो । यसलाई आफ्नो अनुकूल बनाउन, नेपाल जस्तो विकासोन्मुख देशले आत्मनिर्भर हुने अवसरको खोजी गर्नु पर्दछ । यसको लागि किस्तामा अडिएर जीवन जीउन विवश मानिसहरुले समयलाई चिनेर आत्मालोचना गरी आत्मनिभर हुने प्रण गर्नु पर्ने देखिन्छ । यसमा तीनै तहका सरकारहरुले नीतिगत, कार्यगत र व्यवहारगत रणनीति बनाएर यस संकटलाई शक्तिमा रुपान्तरण गर्न तयार हुनु पर्दछ ।

देशको भौगोलिक अवस्था र स्रोत, साधन सम्भावना अनुसार कार्ययोजना बनाएर व्यवहारिक शिक्षा दिने, हिमालमा पर्यटन, जडीवुटी, पहाडमा पशुव्यवसाय र खानी, तराईमा कृषि पेशाबाट देशलाई आत्मनिर्भर बनाउने, देश विकास र समृद्धिको लागि युवा प्रधान रहेको हुँदा युवा पलायन रोक्ने र स्वदेशमा रहेका अबसरहरुको गहिरो अध्ययन, अनुसन्धान गर्नु आजको आवश्यकता बनेको छ । हिमाली क्षेत्रमा धान नफल्ला तर पशुपालन, स्याउ खेती र पर्यटन विकास जरुर हुन्छ । पहाडमा उब्जनी कम होला तर लटरम्म फलफूल खेती, पशुपालन, घरेलु तथा साना उद्योग चलाउन सकिन्छ र पर्यापयटन सम्भव छ । तराई क्षेत्रमा सुन खानी नपाइएला तर सुन रुपि अन्न फलाउन अवश्य सकिन्छ । पहाडी देश स्विजरल्याण्ड, मरुभूमिको देश इजरायल र प्राकृतिक स्रोत साधनले कमि हिजोको जापानबाट हाम्रो देशले विकास र दिगो विकासलाई आत्मसाथ गर्नुपर्दछ । योग्य जनशक्ति उत्पादनमा राज्य सदैव क्रियाशिल रहनु पर्दछ ।

विगतमा जस्तै अर्थात कोभिड पूर्वको हाम्रो दैनिक अवस्था जस्तै सामान्य बन्न हामीलाई अझै लामो समय लाग्न सक्ने भएकाले अवको समयमा कहाँ जाने, कहाँ नजाने, के गर्ने, के नगर्ने, के अति आवश्यक छ, कुन काम पछि गरे पनि हुन्छ भनी स्तरीकरण गरी दैनिकी चलाउन आवश्क छ । हामी सरकारको भरमा बसेर होइन आआफनै ढंगले लकडाउन आचार संहिता बनाएर अघि बढ्नुको विकल्प देखिदैन । अरुलाई छल्नका लागिमात्र नियम मानिदिएको झै गर्ने तर आँखा छलेर नियम मिच्ने गलत कार्य र प्रवृतिले हामीलाई कुनै फाइदा नभई नोक्सानी हुने भएकोले दैनिकी चलाउन र बच्न र बचाउन यो कठिन घडीमा हामी सबै सचेत हुनु जरुरी छ । हामीसँग ज्ञानमात्र भएर हुदैन आर्थिक अवस्था, सीपगत क्षमताले साथ दिएन भने जीवन गुजारा गर्न कठिन हुने हँुदा यसतर्फ ध्यान दिएर काम गर्न सक्नु आजको आवश्यकता हो ।

देशको नाम, दाम, सान र पहिचान कायम राख्न हिजोको शिक्षा, आजको इच्छा र भोलिको प्रतीक्षा बिच तादाम्यता रहनु पर्दछ । देशको भूगोल र माटोको गहन अध्ययन गरी माटो र भूगोल सुहाउँदो राजनीति सञ्चालन गर्नु पर्दछ जसबाट नागरिकले आफना दैनिकी सहज गर्न सकुन । सरकारले देशमा भएका स्रोत साधनको राम्रोसंग समुचित प्रयोग गरी जनअपेक्षा अनुसार काम गर्न सक्ने जनउत्तरदायी कामगर्न सकोस । यसको लागि हामी सबैले योग्य व्यक्तिको हातमा राजनीतिक बागडोर र शक्त्ति प्रदान गर्नु पर्दछ । यसका लागि पाखुरीमा वल, आत्म विश्वास, एकताको भावना र स्रोत साधनको पूर्ण प्रयोग गर्ने इच्छाशक्ति हुनुपर्दछ साथै योग्यता विनाको आकंक्षा, व्यवसायिकता बिनाको महत्वकांक्षा र काम विनाको माम खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *