कोरोनाका नियन्त्रणको विकल्प लकडाउन हैन

लक्ष्मी जिसी कार्की
कोरोना महामारीको तेस्रो लहर आए संगै संक्रमितको संख्या दिन प्रतिदिन बढेको छ । बागलुङमा धेरै मानिसहरु संक्रमित भएको तथ्याङ्क दिन दिनै सर्वजनिक भएको समाचारमा पढ्न सुन्न पाइन्छ । यो समयमा स्वास्थ्य सुरक्षामा कडाई गर्नुपर्ने देखिन्छ । फेरी पनि बजारमा लकडाउनको हो हल्ला सुन्नमा आएको छ ।

कोरोना रोकथामको लागि सधै लकडाउनै गर्नुपर्ने यो कस्तो परम्परा बस्न थाल्यो ? यसको बिकल्प हामीसबै मिलेर किन नखोजेको र कोरोना आएको पनि लामो समय भयो अब मानिसहरुलाई सधै भरी माक्स, सेनिटाईजर प्रयोग कसरी गर्ने भनेर सिकाई राख्न परे मानिस चेतनशिल प्राणी हो भनेर नभन्दा हुन्छ । त्यसकारणले अब मानिसहरु स्वयम सचेत हुन आवश्यक देखिन्छ ।

कोरोनाले गर्दा देशमा आर्थिक समस्या मात्र नभएर धेरै थरी घटनाहरु बढेको तथ्याङ्का बाहिरिएका छन् । लकडाउनकै कारण महिला र बालबालिकामा धेरै खालका समस्याहरु आएका छन् । लकडाउनले गर्दा घरेलु हिंसा बढेका छन् । घरेलु हिंसाका मुद्दाहरु सम्बन्धीत ठाउँमा पुग्न सकेका छैनन् । आत्मा हत्या र बलात्कारका घटनाहरु लकडाउनको समयमा बढ्ने देखिन्छ । बिद्यालय जाने बालबालिकाको पठन– पाठनमा अबरोध भएको छ ।

अनलाइन कक्षा संचालन भनेर सरकारले भनेता पनि अनलाईन कक्षाको पहुँचमा कति बालबालिकाहरु छन् भन्ने कुरामा बिषेश ध्यान जानुपर्ने हुन्छ । दैनिक ज्याला मञ्जुरी गरेर घर चलाउने मजदुरको रोजगार गुम्छ । त्यसकारणले यस तर्फपनि सरकारको ध्यान जान जरुरी छ । नेपालका महिलाहरु धेरै जसो घरभित्र मात्र सिमित छन् अहिले पनि । कोही–कोही महिला दिदीबहिनीहरु घर बाहिर पनि काम गरेका छन् ।

तर, ति काम गर्ने महिला दिदीबहिनीहरु पनि असंगठित क्षेत्रमा काम गर्ने भएकाले लकडाउन गर्दा उनिहरुको काम रोकिने हुन्छ । त्यसकारणले उनिहरुको रोजिरोटी खोसिने हुन्छ तर सरकारले त्यस्ता महिलाहरुको लागि केही सोचेको हुँदैन् । अघिल्लो लकडाउनमा पनि क्वारेन्टाइन बस्नका लागि बिभिन्न स्थानमा क्वारेन्टाइन बनाइयो तर त्यो क्वारेन्टाइन बालबालिका र महिला मैत्री नभएका कारणले धेरै समस्याहरु बाहिरीएका थिए ।

नेपालीले धेरै कोरोनाका कारण लाकडाउन खेपेका छन् तर लकडाउन पनि सम्बन्धीत निकायले प्रभाबकारी बनाउन नसकेको हामीले महशुस गरेका छौं । त्यसकाणले आगामी दिनमा स्वयम मानिसहरु सचेत हुँन आवश्यक छ । प्रहरी, प्रशासनले पनि माक्स नलगाउने मानिसलाई बरु जरिवानाको व्यवस्था गर्ने, खोप लगाउन छुटेकालाई सरकारले खोपको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

अबका दिनमा कार्यक्रमहरु गर्न केही समय रोक लगाउनु पर्ने हुन्छ । कार्यक्रमबाट पनि कोरोना धेरै फैलिएको कारण केही समय कार्यक्रमहरु गर्न रोक लगाउनु पर्दछ । बजारमा व्यवसाय गर्ने मानिसहरुले दुई चार पैसाको लाभ नगरी माक्स सेनिटाईजर राख्ने र सवै ग्राहकहरुलाई प्रयोग गर्न लगाउने र सामाजिक दुरी कायम गर्न लगाउदा धेरै प्रभावकारी हुने देखिन्छ ।

अहिले धेरै जसो मानिसहरुले खोप लगाएका छन् । खोप नलगाएका मानिसहरुलाई पनि सहज रुपमा खोपको व्यवस्था गराउने र खोप लगाएका मानिसहरुले अनिवार्य रुपमा खोपकार्ड लिएर हिड्ने र खोप काड बीना सार्वजनिक स्थान होटल, रेष्टुरेन्टमा, सपिङ सेन्टरमा प्रवेश रोक लगाउदा मानिसहरु सचेत रहने मैले महशुस गरेको छु ।

प्रशासनले नियम मात्र बनाउने तर त्यसको सहि तरिकाले कार्यान्वयन भएको छ, छैन् भनेर अनुगमन नगर्ने हो भने नियम बनाउनु मात्र हुन्छ । प्रभावकारी रुपमा कोरोना रोकथाम गर्ने हो भने प्रहरी प्रशासनले नियम बनाएको मानिसहरुले पालन गरेको नगरेको भनेर कडाइका साथ अनुगम गर्न जरुरी छ । कोरोनाको रोकथामका लागि स्थानीय सरकारलाई अलि बढि जिम्मेबार बनाउनु पर्ने देखिन्छ ।

पहुँच भएकाले खोप पाउने पहुँच नहुँनेले खोप लगाउन नपाउने जस्तो पनि देखिन्छ सवैलाई समान व्यवहार गरेर खोप लगाउने वातावरण मिलाउनु पर्ने देखिन्छ । खोप लगाउने र राम्रो संग स्वास्थ्य मापदण्ड अपनाउने हो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *