शिवशरण ज्ञवाली
महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रसिद्ध निबन्धकार पनि हुन् । उनका लक्ष्मी निबन्ध सङ्ग्रह (२००२) र दाडिमको रुखनेर (२०३९) दुई निबन्ध सङ्ग्रह प्रकाशित छन् । एक प्रबन्ध सङ्ग्रह पनि प्रकाशित छ । देवकोटाले आफ्ना निबन्धहरुमा पूर्वीय र पाश्चात्य जगत्का विभिन्न पात्रहरुको प्रयोग गरेका छन् । त्यस्ता पात्रहरु मध्ये व्यास पनि एक हुन् । व्यासको नाम देवकोटाले फर्सीको झोल, मातृभाषाका लागि, कवि हुने धुनमा, भलाद्मी लगायतका निबन्धहरुमा गरेका छन् । उनले कतै व्यासलाई व्यासमात्रै भनेका छन् भने कतै व्यासजी भनेका छन् । त्यसो भए व्यास को हुन् त ?
पौराणिक साहित्यमा व्यासका बारेमा रोचक प्रसङ्गहरु पाइन्छन् । त्यहाँ उनका जीवनका बहुविध रङ्गहरु भेटिन्छन् । एकातिर उनी तपस्वी हुन् अर्कातिर विद्वान पनि हुन् । उनी वेदका बिस्तारक पनि हुन् । महाभारत जस्ता विशाल र सम्पूर्ण काव्यका रचयिता पनि हुन् । त्यतिमात्र नभएर उनी स्वयं त्यो काव्यका महत्वपूर्ण पात्र पनि हुन् ।
त्यसो त उनी गृहस्थी पनि हुन् । सन्यासी पनि हुन् । विरोधाभाष उनका जीवनको अभिन्न अङ्ग हो । एक पटक व्यासको जीवनमा एउटा यस्तो मोड आइपुग्छ त्यो मोडमा उनले आफ्ना विधवा बुहारीहरुलाई स्वीकारेर बच्चा जन्माउँछन् । उनकै कारण सकिन लागेको भरत वंशको कुलले पुनः निरन्रता पाउँछ । त्यसो त उनी कुमारी आमाका छोरा भएका कारणले सानैमा घर परिवारबाट त्यागिएका व्यक्ति पनि हुन् । उनको जन्ममा कुनै उत्सव मनाइदैनन् बरु उनलाई लुक्न बाध्य बनाइन्छ । आफू लुकेर उनले आमाको इज्जत बचाउँछन् । पछि आमालाई सङ्कट पर्दा व्यास आफ्नो तपस्यालाई तिलाञ्जली दिदैं आमाको आदेश मान्न पनि तयार हुन्छन् । यिनै व्यक्तिलाई महर्षि वेदव्यासका रुपमा चिनिन्छ ।
व्यासलाई पूर्वीय साहित्य तथा संस्कृतिमा वेदव्यास पनि भनिन्छ । वेदलाई चार भागमा बिस्तार गरेकाले उनको नाम वेदव्यास रहेको हो । ‘…त्यस्तै उनको वर्ण कालो र नदी द्वीपमा जन्मिएकाले कृष्णद्वैपायन र जन्मनासाथ बदरीमा गएर तपस्यारत भएकाले वादरायण पनि भनिन्छ’ (सेर्नाली, २०७७ ः १) । यसरी व्यासको जीवनका अनेक रुपहरु जस्तै व्यास, वेदव्यास, कृष्णद्वैपायन, वादरायण जस्ता विभिन्न नामहरु रहेका छन् ।
यी परासर क्रृषि र मत्स्यगन्धाका छोरा हुन् । यिनको जन्म अक्षतयोनी मानिएकी अविवाहित मत्स्यगन्धाबाट भएको हो । पौराणिक कथामा वर्णन गरिए अनुसार परासर क्रृषिलाई मत्स्यगन्धाले डुङ्गामा चढाएर नदी तार्न लागेकी हुन्छिन् । नदी तरिरहेका बेला क्रृषि मत्स्यगन्धाको रुप सौन्दर्यले मोहित हुन पुग्छन् र उनीसँग प्रणय निवेदन गर्छन् । तर मत्स्यगन्धाले आफू दास कुलकी र माछा जस्तो दुर्गन्ध भएकी नारी हुनुका साथै कुमारी पनि भएकोले क्रृषिको निवेदन स्वीकार गर्न नसक्ने बताउँछिन् । सँगसँगै उनले आफूहरु यात्रारत स्थान सार्वजनिक भएकाले प्रणयका लागि तयार नभएको बताउँछिन् ।
तर क्रृषिले आफूसँगको संसर्गबाट जन्मने पुत्र विद्वान र राजकुलको निरन्तरताको दिने व्यक्ति हुने, सम्पर्कपछि दुर्गन्धित मत्स्यगन्धा सुगन्धित सत्यवती हुने, त्यो ससंर्गबाट मत्यस्गन्धाको कुमारीत्व पनि भङ्ग पनि नहुने साथै सार्वजनिक स्थललाई आफ्नो योगबलले नितान्त व्यक्तिगत तुल्याइदिने बताएर मत्स्यगन्धालाई प्रणयका लागि तयार बनाउँछन् । क्रृषिका भनाइ र क्षमतालाई स्वीकारे पछि परासर र मत्स्यगन्धाका बीचमा डुंगामै संसर्ग हुन्छ ।
उनीहरुको संसर्गबाट व्यास जन्मछन् । व्यासको जन्म ब्रह्मचर्यबाट विचलित बाबु परासर र अविवाहित आमा सत्यवतीबाट हुन्छ । जन्मनासाथ छोरालाई तपस्याका लागि पठाएर सत्यवतीले आफ्नो इज्जत जोगाउँछिन् । तसर्थ व्यास जन्मिएको कसैले पनि थाहा पाउँदैनन् ।
महाभारतको कथामा वर्णन भए अनुसार पछि सत्यवतीको बिहे भारतवर्षका राजा शन्तनुसँग हुन्छ । सत्यवतीसँग बिहे हुनुभन्दा पहिला शन्तनुको बिहे गंगासँग भएको हुन्छ । गंगाले शन्तनुलाई बिहेका बेला आफूले गर्ने कुनै पनि क्रियाक्लापको राजाले विरोध गर्न नपाउने तर यदि विरोध गरेमा राजालाई त्याग्दिने शर्त राखेकी हुन्छिन् । सो शर्तलाई मानेर राजा शन्तनुले गंगासँग बिहे गरेका हुन्छन् ।
राजासँग बिहे गरेर गंगा रानीका रुपमा दरबार प्रवेश गरे पछि उनले सन्तान जन्माउन थाल्छिन् । तर जन्मिएका हरेक सन्तानलाई उनले जन्मने बित्तिकै नदीमा बगाउन थाल्छिन् । शर्तमा बाँधिएका विवश राजाले रानीको कदमको विराध गर्न सक्दैनन् । तर राजा शन्तनु एकातिर पुत्रवियोगले पीडित हुन्छन् भने अर्कोतिर उनको शासकीय कौशलमा समेत प्रश्न उठ्छ । तापनि उनी गंगाका गतिविधिहरु बोल्न सक्दैनन् । तर आठौँ छोरालाई बगाइदिन खोजेपछि राजाले असह्य भएर आफ्नो वचन तोड्दै रानीको कदमको विरोध गर्दछन् । उक्त विरोधपछि रानी राजासँग सम्बन्ध विच्छेद गरेर छोरालाई समय आए पछि फर्काइदिने वचन दिदैं नदीमा अलप हुन्छिन् । उक्त छोराको नाम देवव्रत हुन्छ । विद्या प्रदान गरेर वयस्क भए पछि रानीले उक्त छोरा राजालाई फर्काइदिन्छिन् । पछि ती देवव्रत नै महाभारतमा भीष्मका नामले प्रख्यात हुन्छन् ।
पत्नी वियोगमा परेका राजा शन्तनुले एक दिन शिकार खेल्न गएका बेला उनै मत्स्यगन्धा अर्थात सत्यवतीलाई देख्छन् । राजा उनीसँग आकर्षित हुन पुग्छन् र बिहेको प्रस्ताव राख्छन् । सत्यवतीले आफ्नो बाबुसँग अनुमति लिन आग्रह गर्छिन् । त्यसपछि राजा कन्या माग्ने प्रयोजनका लागि दासराजको घरमा पुग्छन् । दासराज राजालाई आफ्नी छोरी दिन त तयार हुन्छन् तर आफ्नी छोरीबाट जन्मिएको बालकलाई युवराज बनाउने शर्त राख्दछन् । तर राजाले गंगाबाट जन्मिएका छोरा देवव्रतलाई भारतवर्षको युवराज घोषणा गरिसकेका हुन्छन् । त्यसकारण दासराजको प्रस्ताव राजाले स्वीकार्न नसकी त्यतिकै फर्कन्छन् ।
राजा घर त फर्कन्छन् तर सत्यवतीको प्रेमका कारण उनी आकुलव्याकुल हुन पुगी निराश बन्दै जान्छन् । राजाको निराशाको कारण छोरा देवव्रतले सारथिबाट पत्तो पाउँछन् । त्यसपछि सत्यवती आफ्नो बाबुका लागि माग्न उनी स्वयं दासराजकहाँ पुग्छन् । देवव्रतले दासराजले भनेजस्तै सत्यवतीबाट जन्मिएको सन्तान नै राजा बन्ने आश्वासन दिन्छन् तर दासराजले देवव्रतबाट जन्मिने सन्तानले राजगद्दीको दाबी गर्न सक्ने आशंका गर्दछन् । दासराजको आशंका मेटाउने र बाबुको प्रेम मिलन गराउने उद्देश्यले देवव्रतले उतिखेरै आजीवन व्रह्मचर्य बस्ने भीष्म प्रतिज्ञा गर्दछन् । यही कठोर प्रतिज्ञा गरेकाले उनको नाम भीष्म रहन गयो । राजा शन्तनुले पनि छोराको त्यागको सम्मान गर्दै उनलाई इच्छामरणको वरदान दिए । देवव्रतकै कारण राजा शन्तनु र सत्यवतीको विवाह हुन्छ ।
सत्यवतीबाट राजा शन्तनुलाई चित्राङ्गद र विचित्रवीर्य दुई छोरा जन्मछन् । चित्राङ्गद अविवाहित अवस्थामा एउटा लडाईमा मारिन्छन् भने विचित्रवीर्यको विवाह काशीराजका दुई छोरीहरु अम्बालिका र अम्बिकासँग हुन्छ । तर यी विचित्रवीर्य पनि दुई रानीहरुबाट सन्तान नजन्मदै अचानक रोग लागेर मर्दछन् । भारत वर्षमा सङ्कट आइपर्छ । देवव्रत अर्थात भीष्म आफ्नो प्रतिज्ञामा अटल हुन्छन् । यसले गर्दा राज्यको गद्दीमा बस्ने राजकुमारको स्थान खाली हुन्छ । सत्यवतीले भीष्मलाई राज्यको भार थाम्न आग्रह गर्दै अम्बिका र अम्बालिकालाई अपनाएर वंश परम्परालाई निरन्तरता दिन आग्रह गर्दछिन् तर भीष्मले आफ्नो प्रतिज्ञा कुनै हालतमा पनि नतोड्ने अडान लिन्छन् । त्यसपछि सत्यवतीले आफूबाट अविवाहित अवस्थामा जन्मिएको व्यासको सम्झना गर्दछिन् ।
व्यासलाई लिनका लागि भीष्म जान्छन् । व्यास त्यतिबेला जङ्गलमा बसेर कठोर तपस्यामा गरिरहेका हुन्छन् । तर आमाले बोलाउन पठाए पछि उनले आमाको वचन काट्न सक्दैनन् । त्यहाँ नै व्यासले आफ्नो र सत्यवतीको सम्बन्ध पनि भीष्मलाई बताउँछन् । भीष्म व्यासलाई लिएर दरबार आउँछन् । सत्यवतीले व्यासलाई अम्बिका र अम्बालिकालाई वीर्यदान गरेर भारतवर्षको वंश परम्परा धानिदिन आग्रह गर्दछिन् । व्यासले आफू तपस्यारत रहेकाले स्वरुप राम्रो नभएको बताउँदै एक वर्ष पर्खन आग्रह गर्दछन् तर सत्यवतीले एक वर्ष पर्खन नसक्ने बताए पछि व्यासले अम्बिका, अम्बालिका र दरबारकी एक दासीसँग यौन सम्पर्क गर्दछन् ।
अम्बिका व्याससँग संसर्गका बेला उनको अनुहार देखेर डराइ आँखा बन्द गर्दछिन् । त्यसकारणले गर्दा उनीबाट आँखा नदेख्ने धृतराष्ट्रको जन्म हुन्छ । अम्बालिकाले आँखा बन्द त गर्दिनन् तर व्यासको स्वरुपले त्रसित भएर अनुहार फुङ्ग उडाउन पुग्छिन् । फलतः उनीबाट सेतो छाला भएका अस्वस्थ पाण्डु जन्मछन् । झुक्काएर पठाइएकी दासी भने व्याससँग निर्धक्क प्रस्तुत हुन्छिन् । फलतः उनीबाट विद्वान विदुरको जन्म हुन्छ । धृतराष्ट्र अन्धा भएकाले उनका भाइ पाण्डु नै भारतवर्षको राजा बन्न पुग्छन् । यसरी व्यासले भारतवर्षको वंशपरम्परालाई पनि धानिदिएको पौराणिक इतिहास पाइन्छ । यिनै विद्वान र प्रख्यात व्यक्ति व्यासको नाम महाकवि लक्ष्मीप्रसाद देवकोटाले विभिन्न निबन्धहरुमा सकारात्मक सन्दर्भमा प्रयोग गरेको पाइन्छ ।