कोभिड त्रास र बजारमा सिटामोलको अभाव

सरोजराज पन्त
हाम्रो नानीदेखिको बानी हो आफनो आङको भैसी नदेख्ने र अर्काको आङको जुम्रो देख्ने । आफनो दोष नदेख्ने तर अरुको दोष देखि हाल्ने बानी कुनै पनि कर्मचारी, सरकारले केही सोच र योजना अगाडि बढाउन पाएको छैन त्यसप्रति अविश्वास र अवरोध गरी हाल्ने चलन बसिसकेको छ । हामीले बिगतदेखि कुनै पनि सरकारलाई सकारात्मकरुपले सोच्ने, हेर्ने, कार्यकर्तालाई सोही अनुरुप प्रशिक्षित गर्ने, नागरिकहरू सचेतना बढाउने र सहजीकरण गर्ने कुनै मनोविज्ञान काम गरेनौ । तर दोषारोपणको खेलमा सदैव सहभागी भै रहेको अवस्था छ । आज नेपालको विकास किन भएन, कसरी नेपालको समृद्धि हासिल हुन सक्छ भन्ने विषयमा बहस हुने गरेको छ । यस विषयमा मात्र होइन अहिले अति आवश्यक सिटामोलको अभावले गर्दा पनि यसको चर्चा बढेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग , नेपाल औषधि लिमिटेड, औषधि उत्पादकहरु वीच अहिले यस्तै दोषरोपणको श्रृखला जारी रहेको छ । यसबाट उपभोक्ताहरु मारमा परेका छन ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले बजारमा सिटामोलको अभाव छैन भनी जिकिर गरेको छ । तत्काल चाहिने औषधिको आवश्यकता परेमा नेपाल औषधि लिमिटेडसँग सम्झौता गरि खरिद गर्न समेत मन्त्रालयले सरकारी अस्पतालहरुसँग आग्रह गरेको छ । प्रदेशिक स्वास्थ्य आपूर्ति कार्यालय विराटनगरमा २७ लाख ६४ हजार, प्रदेशिक आपूर्ति केन्द्र धनुषामा २१ लाख ३० हजार, प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडामा १० लाख ९८ हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा १० लाख २० हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख गरी १ करोड ३३ लाख ४२ हजार ५०० एमजीका सिटामोल रहेको बताएको छ । तर पनि बजारमा सिटामोलको अभाव रहेको छ ।

औषधी उत्पादकहरुका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य रहेकोले समस्या आएको हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपैयाँ निर्धारण गरेको छ । तर उत्पादकहरुका अनुसार यसको उत्पादन लागत नै एक रुपैयाँ ४० पैसा पर्दछ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् । नेपाल औषधि उद्योग सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको छ । उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएको अबस्था छ ।

व्यवसायीहरुका अनुसार बजारमा सरकारी कम्पनीको सिटामोल अभाव भइरहे पनि अन्य निजी कम्पनीका प्यारासिटामोल ट्याब्लेट भने सहज रुपमै उपलब्ध भइरहेको छ । कोभिड संक्रमण बढेकाले एकैपटक सिटामोलको अत्यधिक मागका कारण बजारमा केही अभाव देखिएको छ । तर, सिटामोल अभाव भए पनि हाहाकारको अवस्था भने नरहेको उनीहरुको दाबी छ । सरकारी कम्पनीका अतिरिक्त स्वदेशी निजी कम्पनीहरुले प्यारासिटामोल उत्पादन गर्ने गरेको र पछिल्लो दिनमा ५० लाख ट्ब्यालेट प्यारासिटामोल बजारमा आएको छ ।

सरकारले निर्धारण गरेको मूल्यका कारण यसको पर्याप्त उत्पादन हुन नसकेको हो । निजी व्यवसायीहरुले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मात्रै सिटामोल उत्पादन गर्दै आएको उनको भनाइ थियो । “सिटामोलको मूल्य भारतमै एक चक्कीको २ रुपैयाँ १५ पैसासम्म पर्छ तर सरकारले नेपालमा यसलाई दशकभन्दा धेरै समयदेखि एक रुपैयाँ मूल्य तय गरेको छ ।

सरकारी स्वामित्वको नेपाल औषधि उद्योगले बजारमा सिटामोल अभाव भएपछि पछिल्लो दुई दिनमा ६ लाख ट्याब्लेट बजारमा पठाएको जनाएको छ । लामो समय बन्द भएर तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा पुनः सञ्चालनमा आएको यो उद्योगले सरकारले निःशुल्क वितरण गर्ने सिटामोल उत्पादन गर्दै आइरहेको छ । उद्योग पुनः सञ्चालनका लागि सरकारले ६ करोड रुपैयाँ अनुदान दिएको थियो । तर, उद्योगको वित्तीय अवस्था हेर्दा यो लामो समय सञ्चालन हुने देखिदैन ।

उद्योग पुनः सञ्चालनपछि यसले वार्षिक २३ लाख चक्की सिटामोलमात्र बिक्री गरेको तथ्यांक छ । नेपाल औषधि लिटिमेडले बढी बिरामीको चाप हुने अस्पतालका औषधि बिक्री कक्षमा सिधै सिटामोल पुयाइएकोे छ । अहिले सिटामोल अभाव हुनुमा सरकारी खरिद ऐन पनि हो । यसका कारण कच्चा पदार्थ आयातमा समस्या छ । औषधि लिमिटेडले झन्डै २ करोड ट्ब्यालेट माग आउने अनुमान गरी सोहि अनुसारको योजना बनाई ६ महिनामा ८० लाख ट्ब्यालेट बनाएको जनाएको छ । प्रतिट्ब्यालेट १ रुपैयाँ ३० पैसा लागत लागे पनि सरकारले १ रुपैयाँ मूल्य निर्धारण गरेकोले छ । लिमिटेडबाट उत्पादन हुने जीवनजल, स्यानिटाइजर लगायतको माग न्यून भएका कारण पनि खर्च धान्न कठिन छ ।

सरकारले यथाशिघ्र सिटामोलको आपूर्ति व्यवस्था सहज बनाउने बताए पनि बजारमा अभाव कायमै देखिएको छ । कोभिड संक्रमण भइरहँदा प्रधानमन्त्रीले सिटामोललगायत औषधि सहज आपूर्ति व्यवस्था मिलाउन गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका थिए । त्यसपछि मुख्यसचिवले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए । लगत्तै औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहितको छलफलपछि औषधि व्यवस्था विभागका महानिर्देशकले बजारमा सिटामोल सहज हुने बताएका थिए । तर, आजसम्म पनि बजारमा सिटामोल सहजै पाइँदैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिटामोल अझै सहज भइसकेको छैन ।

काठमाडौमा सातदोबाटोमा सिटामोल लुकाएको फेला पारेपछि १० हजार जरिवाना गरिएको अबस्था पनि छ । विभागको टोलीले १५ फार्मेसीमा अनुगमन गर्दा सिटामोल लुकाएको पाइएको छ । अहिलेको अबस्थामा सिटामोलको अभाव हटाउन ‘४० लाख ट्याब्लेट बजारमा आउनु पर्दछ । बजारमा सिटामोल लुकाएर राखेमा भने समस्या रहिरहने छ ।

यसैबीच बजारमा सिटामोल अभाव भएपछि सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल पुयाउन आदेश दिएको छ । बजारकोरोना संक्रमण बढेसँगै सिटामोलको माग अत्यधिक बढ्दा त्यसको असर बजारमा पर्न थालेको छ । कोभिड–१९ संक्रमणको तेस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो । बजारमा सिटामोल अभाव हुन थालेपछि यतिबेला उपभोक्ताहरू मेडिकल पसल चहार्न थालेका र घर घरमा धेरै सिटामोल थुपारेकोले अभाव भएको जनाइएको छ ।

पछिल्लो समय अस्पताल जानेभन्दा घरमा आइसोलेसनमा बस्ने संक्रमित धेरै भएको हुँदा सिटामोल खरिद उच्च हुन पुगेको व्यवसायीहरू बताउँछन् । जसले गर्दा आपूर्तिमा कमी आएको र अभाव सिर्जना भएको छ । औषधि व्यवसायी महासंघका अध्यक्षका अनुसार पनि उपभोक्ताले स्टकमा राख्दा बजारमा सिटामोल आपूर्तिमा कमी आएको पाइन्छ । बास्तवमा ‘सिटामोल अभाव भएको होइन, आपूर्तिमा कमी आएको हो भन्नेहरु पनि अहिले धेरै रहेका छन ।

यसैगरी बजारमा सिटामोल अभाव भएको र अभाव हुने हल्ला चलेसँगै उपभोक्ताले औषधिको जोहो गर्न थालेका कारण यसको असर बजारमा देखिएको हो । उपभोक्ताले हल्लामा लागेर सिटामोल स्टकमा राखेको मात्र नभएर बजारमा पनि कमै मात्रामा सिटामोल आएको छ । अहिले औषधि उत्पादकहरूले नै बजारमा थोरै सिटामोल पठाएकोले अघिल्लो महिनाको तुलनामा निकै थोरै मात्र सिटामोल बजारमा आएको अभाव भएको छ ।

यता औषधि उत्पादकहरूले औषधि व्यवसायीहरूको कुरा मान्न तयार छैनन् । औषधि उत्पादक संघले यो महिना मात्रै उद्योगले १ करोड संख्याको हाराहारीमा सिटामोल नेपाली बजारमा पठाएको दाबी गर्छन् । अहिले हामीले पर्याप्त मात्रामा सिटामोल पठाएका छौँ तर उपभोक्तासम्म नपुगेकोले देख्दा अचम्म लागेको छ, बजारमा पढाएको औषधि बीचमा हराइरहेको छ । भारततर्फ निकासी भइरहेकोले नेपालमा अभाव भएको छ कि भन्ने आशंका बढेको छ । यतिबेला भारतीय बजारमा भन्दा नेपाली बजारमा सिटामोलको मूल्य कम छ । नेपालमा एक रुपैयाँ पर्ने सिटामोल भारतीय बजारमा भारतीय २ रुपैयाँ पर्न जान्छ । खुला सीमाका कारण नेपाली बजारमा खरिद गरेर भारतमा बेच्ने गिरोह सक्रिय हुँदा नेपालमा उत्पादित सिटामोल व्यवसायीसम्म पुग्न नसकेको हुन सक्दछ । यसको नियन्त्रण गर्ने जिम्मेवारी पनि सरकारको हो तर दोषारोपण गर्ने श्रृखलाको अन्त्य हुन जरुरी छ ।

बजारमा अभाव भएको सिटामोललाई लिएर कालोबजारीको आशंका भइरहेको छ । घरमा बस्ने संक्रमितले स्टकमा सिटामोल थुपार्दा त्यसको असर बजारमा परेको छ भनेर बसी रहने कुरा जनताको हितमा छैन । नागरिक अधिकारसंगै सामाजिक न्याय सहितको आर्थिक विकास गरेर समृद्ध समाज निर्माण कार्यमा सबै सरकार, सबद्ध निकाय र राज्यबीच आपसी समन्वय, जवाफदेहीता, पारदर्शीता र प्रभावकारीता सहित देशको माटो सुहाँउदो मोडेल र शासनको अभ्यास गर्ने पर्ने समयमा सिटामोल पनि नपाइने चुनौतिको उचित समाधान र दीर्घकालीन व्यवस्थापन गर्ने नीति तथा कार्यक्रमहरू अगाडि बढाएर समृद्धि, सार्थकता र दीगो विकासमा ध्यान जान अति आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *