युवा विदेशमा : कसरी सम्भव हुन्छ समृद्धि र विकास ?

सरोजराज पन्त
विदेशीनु पक्कै पनि रहर न भै विवशता हो । आज देशका होनहार युवाहरु स्वदेशमा बेरोजगार भइ सामाजिक, सांस्कृतिक विकृति र विसङ्गतिको शिकार भएका छन् । कतिपय युवाहरु अहिले आफ्नो देशको मौलिक संस्कृति विर्सिएर छाडा संस्कृतिमा रमाएका छन । चेलिबेटी बेचविखन, दुव्यर्सनी लागु पदार्थ, हत्याहिंसा चोरी जस्ता सामाजिक अपराधमा जानेर वा अन्जानमा लागेका छन । फुर्सदको कारण नेपालका युवाहरुले बिभिन्न मानसिक, शारीरिक तनाव झेल्न विवश बनेको अवस्था छ । दुखजिलोमा पढेलेखेका युवाहरु पनि स्वदेशमा रोजगारको अबसर नपाएर खाडीमा पसिना बगाउन बाध्य भएका छन् । सामाजिक रुपान्तरणको अभियानमा युवावर्गले गहन भूमिका हुने हुँदा युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्ने अवसर नदिएमा समृद्धि र विकास कसरी सम्भव हुन्छ ? तर नेपालमा बिदेशी अभ्यासका ठिक विपरित छ युवा बिदेशमा बुढाले देशचलाउने ।

सबै नेपाली युवाहरुको चाहना स्वदेशमै रहेर केही गरौँ र स्वरोजगार बनौँ भन्ने हुन्छ । तर सबैको युवाहरुको चाहना स्वदेशमै रहेर काम गर्ने वातावरण नभएपछि विदेशीन विवश हुनु पर्ने युवाहरुको नियति बनेको छ । बिदेशमा गएर बगाएका पसिनाले भन्दा स्वदेशमा परिवारसँगै दुखजिलोमा बगाएका पसिनाको मुल्य बुझेर पछिल्ला समयमा युवा ससानो लगानी गरी उद्यम सुरुवात गरेर आफ्नै देशमा रहेर सुखी जीवन जिउने सपना सफल भएका देखिन्छन् । कतिपयका आफ्नै देशमा परिवारसँग बसेर स्बरोजगार भइ सुखी जीवन जिउने सपना घरको आर्थिक अवस्था कमजोर हुँदा घरपरिवार पाल्नका लागि आर्थिक जोहो गर्न बिदेसिएका युवाहरु विदेशमै ज्यान गुमाएर असफल भएका छन् ।

ऋण तिर्न बाँकी रहदैँ परिवारमा कमाउने व्यक्ति गुमाएको पिडा अति कारुणिक बनेको छ । विश्वभर फैलिएको कोभिड १९ को कारण हजारौँ कामदारहरूले प्रभावित भइ घर फर्कन बाध्य हुनु परेको छ । घरबार चलाउन र बालबच्चाहरूलाई पढाउन असहज भएको छ । हाम्रो समाजका युवाले सानो हौसला र साथ सहयोग पाएर ठुलो आर्थिक परिवर्तन र विकासको ढोका खोलेका उदाहरण पनि छन् । पछिल्ला दिनमा बिदेशमा गएर निरास बनि फर्केका नेपाली युवाको मुहारमा चमक ल्याउने केही काम भएका छन जसबाट समृद्धिका मुनाहरु पलाएका देखिन्छन । आफु र आफ्नो परिवारको सपना पूरा गर्ने, आशा र भरोसाको भरमा परिवारको मुखमा एकछाक माड र एकसरो कपडा लगाउने निस्बार्थ धोको पूरा गर्न खाडी पुगेका घरका खम्बा चालिस कटेसी रमाउने सपना बुन्दै जिन्दगीमा दुःखको भारी उठाउन विवस छन् ।

स्थानीय युवालाई स्वदेशमै बसेर उद्यमी र स्वरोजगार बनाइ कसरी लाभान्वित गराउने भन्ने आवश्यक छ । विदेशमा गएर अप्ठ्यारोमा परेका नेपाली युवाहरुलाई समृद्धिका लागि कृषि तथा गैर कृषि क्षेत्रमा आय आर्जन सम्बन्धी सम्भाव्यता खोजी लघु, घरेलु तथा साना उद्यम सन्चालन गर्न र ग्रामीण गरिब निराकरण गर्न कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक छ । जन्म थलो, बुढा बाआमा,कोही बिबाह गरी राम्रसँग मायाको कसीमा जाचिन नपाउदै, कोही काखे लालावाला र सुत्केरी छाडेर,कोही भविश्यको सुनौलो ससारका लागि दुई जिउकी मायालुलाई चटक्क छाडेर बिदेश जानु युवाहरूको रहर कसरी हुन्छ । समाजले स्वदेशमा बसेर केही गर्छु भन्नेलाई भन्दा विदेश गएर कमाउछु भन्नेलाई अहिलेसम्म पत्याउन छाडेको छैन । स्वदेशमा बसेर पढछु र केही गर्छु भन्ने युवाहरुलाई उत्साहित गर्ने काम समाजले गर्न सकेको छैन । अहिले स्वदेशमा बसेर स्बरोजगार बन्न चाहने युवाहरुलाई आबश्यक हौसला, सहयोग र साथको खाँचो रहेको छ ।

जिल्लाको भुगोल, वातावरण, स्रोत साधनको उपलधताको अध्ययनगरी सम्भावना र औचित्यको आधारमा उत्पादन पकेट क्षेत्रको रूपमा परिचित गराएर स्थानिय कृषक, वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई प्रेरित गरी ग्रामीण स्तरमा रहेका लाभग्राहीहरूलाई समान पहुँच पु¥याउने, क्षमता विकास गर्न कर्जा प्रवाह गर्ने, कृषक समूह, व्यापारी, सेवा प्रदायक र सरोकारवाला निकायहरूलाई जोडन,े कृषकसँग बजारीकरण, व्यापारी र उत्पादन जोडने तथा बचत गर्ने बानीको विकास गराउने, युवा युबतीहरुलाई कृषि तर्फ आकर्षित गर्ने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने, आधुनिक कृषिकार्यबाट थोरै जमिन भएका किसानहरूको आर्थिक क्रियाकलाप र जीविकोपार्जनको स्तर माथि उठाएर आर्कर्षित गर्ने किसिमका कार्यक्रम ल्याउन र अबिलम्ब कार्यान्वयन गर्न जरुरी छ ।

समाज विकासको काल खण्डलाई हेर्दा विभिन्न मानिसको निस्वार्थ, त्याग, बलिदान, सेवा आदि छलङ्ग देखिन्छन् । युवाहरुले समाज र राष्ट्रको मुहार फेरेका उदाहरण हामीसँग प्रसस्त छन् । विश्वको सन्दर्भमा हेर्दा मार्टिन लुथर किङ्ग जसको भूमिकाको कारण काला र गोरा मानिस बीचको अत्याचार अन्त्य भयो । मडर टेरेसा, माहात्मा गन्धी, नेल्सन मन्डेला, मेडम कियुरी, माहाविर पुन, अनुराधा कोइराला, पुष्पा बस्नेत आदि व्यक्तित्वको समाज विकासमा अतुलनीय योगदान रहेको छ । मानिसको जीवनमा गर्भदेखि चितासम्म आइपर्ने सम्पूर्ण समस्याहरु समाधान गर्न, प्राकृतिक प्रकोप जस्तै आगोलागी, भूकम्प, बाढी, पहिरोदेखि मानव निर्मित समस्याहरुको समाधानमा समेत यूवावर्गको अतुलनीय भूमिका रहेको छ । यूवाहरुलाई गुणस्तरीय शिक्षाको आवश्यकता हुन्छ । मानव जीवनलाई सही मार्गमा लैजानुमा स्तरीय ब्यवहारिक र गुणस्तरीय शिक्षाको महत्व हुन्छ । शिक्षालाई जनताको पहुँचमा पु¥याएर उनीहरुको आवश्यकता बुझेर राष्ट्रमा गरिबी र निरक्षरता उन्मूलनका लागि पनि शिक्षाको आवश्यकता पर्दछ ।

देशको समृद्धि र विकासको लागि युवावर्गको महत्वपुर्ण भुमिका हुने हुँदा युवावर्गलाई उपयुतm शिक्षा र स्वरोजगारको धेरै आवश्यक छ । राष्ट्रको समृद्धि र विकास निर्माणका लागि युवाहरुले हातेमालो र काँधमा काँध राखी नकारात्मक सोच, विसङ्गगति, विकृतिको अन्त्य गर्न युवाहरुको जोश, जाँगर, उत्साह, सिर्जनशिलताबाट सम्बृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ । युवाहरूलाई उन्नत कृषि तथा पशुपालन पद्धतिको अनुसरण, ज्ञान र सीप आदान प्रदान गर्न समय समयमा अध्ययन अवलोकन भ्रमण, आर्थिक सहयोग र प्राविधिक सहयोग, गुणात्मक परिवर्तन र सकारात्मक धारणाको विकासकालागि वित्तीय शिक्षा र व्यावसायिक तालिम, बजार व्यबस्थापनमा सहयोग र सहजीकरण गरी लाभान्वित गर्न आवश्यक भए पनि अपेक्षित काम हुन सकको छैन ।

समय परिवर्तनशील र गतिशील भएकोले परिवर्तनशील र गतिशील समयलाई पछाउन नसके मानिसको अस्तित्व रहन सक्दैन । त्यसैले अहिले नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामात्र ल्याएर पुग्दैन । युवाहरुलाई बिदेश पठाउनु र रेमिटान्स भित्राउनुलाई गौरव मान्ने मानसिकता तोड्नु पर्दछ । नारालाई चरितार्थ गर्न वैदेशिक रोजगारीका लागि जाने क्रममा ठग्ने, ठगीमा परेका, गन्तव्य मुलुकमा पुगेर समस्यामा परेका, बिभिन्न शोषणमा परेका, अङ्गभङ्ग, मृत्यु, भएका व्यक्ति तथा परिवारका लागि न्याय दिलाउन र राहत, क्षतिपूर्ति उपलब्ध गराउन समय, स्रोत साधन अब खर्चिन नपर्ने गरी सरकारले अबलम्बन गरेको नारालाई स्वदेशमा रमाएर कमाउने र राज्यलाई कर तिर्ने वातावरण सृजना गर्न नेपाल सरकारका विभिन्न निकायसँगको सहकार्य युवाहरु स्वरोजगारको लागि हुन जरुरी छ तवमात्र देश समृद्धिको आधार बन्न सक्दछ । यसको लागि ढिला नगरी परिणाममुखी, वैज्ञानिक योजना बनाएर हुबहु कार्यान्वयन हुन आवश्यक छ । नेपाली युवाहरुमा स्बदेशमा सीप सिकेर, घरमै बसेर थोरै लगानीबाट उद्यम गरेर सुखी र खुसी जीवन जिउन सकिन्छ भन्ने बिस्वास र आशा जगाउन जरुरी छ । युवाहरुले समाज र नेपाल आमालाई के दिन सक्छु भन्ने नविन सोच, उत्साह र चिन्तन बोकी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशील, लगनशील, कर्तव्यनिष्ट भई अगाडि बढ्नु अत्यन्त आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *