सरोजराज पन्त
सामाजिक विषयवस्तु उजागर गर्न कला र साहित्यका विभिन्न आयामहरू हुन्छन् । कला र साहित्य समाजको ऐना भएकोले एउटा कलाकारले आफ्नो सिर्जनामा समाजका व्यथा पिर मर्का र दैनिकीलाई चित्रित गर्नु उसको कला र सृजनाको मर्म र सर्जकको धर्म पनि हो । सर्जले समाजमा रहेका सामाजिक विषयवस्तुलाई टपक्क टिपेर आफनो सृजना जन्माउनु र यसले समाजलाई सकारात्मक परिवर्तन गराउने तथा भए गरेका नकारात्मक विषयवस्तुलाई सुधार्नलाई प्रेरित गर्दछ ।
यस्तै सृजना मार्फत समाजका विभिन्न विषयवस्तुलाई टपक्क टिपेर सबैको मन मन्दिमा बस्न सफल सर्जक हुन प्रकाश सपुत । सक्षम, सफल र लोकप्रिय लोक कलाकार सपुतका सिर्जनाले हरेक समाजका श्रोता तथा दर्शकका मनका पीडा र जीउमा काँडा निकाल्ने गर्दछन । अभिनय र दृश्य निर्माणको अवधारणाबाट सिर्जना पस्कन सफल सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला’, ‘दोहोरी ब्याटल’ लगायत सिर्जनाले समाज र मानका पीडाको उजनगरसँगै बजार तताइरहेको हुन्छन । अहिलेको सिर्जना ‘पिर’ले थप चर्चासँगै बजार तताएको छ ।
देशमा आमुल परिवर्तन ल्याई सुखका दिन देख्न पाइएला भनेर दिलो ज्यानको बाजÞी थापी युद्धमा होमिएका, शरीर भरि गोली बारूदका खÞत बोकि गल्ली गल्ली देखि मरुभूमिसम्म एक मुट्ठी अन्नको लागी लडिरहेका सच्चा योद्धाहरूको एकमुष्ट कथाको संगालो हो “पीर”। यस गीतमा अहिले व्यवस्था बदलिए तापनि मानवको अवस्था नबदलिएको कुरा गीत र अभिनयमार्फत व्यक्त गरिए पछि सकारात्मक र नकारात्मक टिप्पणी हुने गरेका छन । एकथरीले बिरोध गरेका छन भने अर्का थरिले सिर्जनाको खुलेर सम्मान र प्रशंसा गर्दै विरोध गर्नेको विरोध गरेर बजार तताइरहेका छन् । यसै बिच सपुतले विवादित अंश सम्पादन गरेर पुनः अपलोड गरेका छन ।
प्रकाश सपूत सृजनामा वैदेशिक रोजगारीबाट सिर्जित पीडाहरुलाई व्यक्त गर्ने एउटा ब्राण्ड बनि सकेका छन् । यसमा उनले जनयुद्धलाई विषयवस्तु बनाएर पस्केका कथा कारुणिक बनेको छ । समय समयमा यस्ता सृजानले ल्याएको तरङले केही समय बजार तात्ने गर्दछ । गत बर्ष पशुपति शर्माको लुट्न सके लुट कान्छाको गीतले खैलावैला मच्चाए जस्तै अहिले पनि राजनीति वृत्तमा खैलावैला पारेको छ । सामाजिक संजालहरुमा प्रकाश सपूतले पस्कको सृजनाले पुनजागरण ल्याएको छ । फ्रान्सको राज्यक्रान्ति हुनु भन्दा पहिले जनतालाई जागरुक वनाउन युरोप पुनर्जागरण युगका नायक जीनज्याक्स रुसोले आफ्ना दार्शनिक तथा साहित्यिक रचनाहरु मार्फत योगदान गरेका गरे जस्तै प्रकाश सपूतले पनि तरङ फैलाएका छन ।
अहिले जनयुद्धको बलमा देश र जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, स्वतन्त्रताका साथै विभिन्न मौलिक हकहरू प्राप्त गरेको अवस्था छ । व्यवस्था परिवर्तन गर्न हरपल लडेको योद्धाले अहिले दैनिकी चलाउन रोजगारी नपाएर विदेशिनुपर्ने, औषधि उपचार नपाएर अकालमा मर्नु र नारकिय जीवन विताउनु पर्ने, पशु चौपायाको खोरमा बन्धक बनेर बस्नुपर्ने र देहव्यापारमा समेत सम्लन भएर कष्ट भोग्नु दुखद अबस्था हो । यो अब सम्बन्धित पार्टीको मात्र जिम्मेवारी पक्कै पनि होइन, यो राज्यको साझा सरोकारको विषय हो र हुनु पर्दछ । माछा मिठा, काडा तिता जस्तो गरी गणतन्त्रका संवाहकलाई स्वार्थको आँखाले हेर्दा आज यो समस्या आयको कुरालाई नजर अन्दाज गर्न हुदैन । गणतन्त्र पश्चात धेरै सरकार परिवर्तन भए, सरकारसँगै नेतृत्व र तिनका आफन्त र आसेपासेको मात्र जीवनस्तर परिवर्तन भयो तर सर्वहारावर्गको उत्थान किन भएन यो विषयमा कहिले रोज्ने ?
अहिले हरेक सामाजिक क्रियाकलापलाई राजनीतिक रंग दिने संस्कार बनेको छ । यसलाई हल्का रूपमा लिनु भन्दा हामी कहाँ र कसरी चुक्यौं, किन हाम्रो नेतृत्वको श्रृंखला खण्डित भएको छ, हामीलाई कसले राजनीतिक दिशा परिवर्तन गरिदियो, कसरी हामीले यी सहयोद्धाबाट टाढा भयौ र भुल्यौं ? भन्ने कुरा किन सोचिदैन । देशमा सुशासन, रोजगारी, कानुनी राज्यको जिम्मा सरकारले लिनु पर्ने हो, तर हाम्रोमा यस्तो परिर्वन ल्याउने व्यतिmहरु विर्सिए अनि सरकार कमाउन र चुनाव जित्नमा मात्रै केन्द्रित भए ।
संविधान निर्माणसँगै संघीयतामा राज्यव्यवस्था अगाडि बढे तापनि पनि तल्लो स्तरका जनताको पीर मर्का र अवस्था बुझ्ने चेष्टा नगरिनुले आज यो सृजनाको जन्म भएको हो । पिर गीतमा धेरै सामाजिक यथार्थता जोडिएका विषय वस्तुहरु छन । ती धेरै विषयहरु उठान नगरी एउटा दृश्यलाई जोडेर माओवादीले विरोध गर्नु र माओवादीको विरोध गर्नु राम्रो पक्कै पनि होइन । अहिले योद्धा र सर्वसाधारणको जीवन स्तरमा परिवर्तन भएको छ ? यसमा राजनीतिक नेतृत्व गम्भिर छन ? राजनीतिक परिवर्तन पछि देशमा भएका कमी कमजोरीलाई आत्मसात् गर्दै सुध्रिने र सुधारिने काम भएको छ ? यसमा देखाइएको दृश्यलाई लिएर गरेको विवाद वास्तवमै विवाद होइन वा विवशता यसको वास्तविक र यथार्थ कसले बुभ्ने ?
राजनीतिक बेइमानी, अनियमितता र भ्रष्टाचारको आहालमा चुलुम्म डुबेको हाम्रो समाजलाई कसरी निकाल्ने भन्ने बिषयमा सोच्न बाध्य बनाउने सृजना पीर हो । अहिले विश्वव्यापीकरणसँगै साहित्य र सिर्जनामा आएको विचलन, पश्चिमा संस्कृतिको प्रवेश, धर्म संस्कृति र आधुनिकताको नाममा भएको धार्मिक र सांस्कृतिक क्षयिकरण हामी सबैको साझा सरोकारको विषय बनाइनु र बन्नु पर्नेमा सामाजिक यर्थाथतामा आधारित सृजनालाई विवादमा तान्नु झन ठुलो समस्या सृजना गर्नु होइन र ? हरेक विषयवस्तुलाई राजनीतिक रंग दिएर हेर्नु, राजनीतिलाई सेवामा भन्दा कमाउने धन्दा वा पेशा र प्रतिष्ठाको विषय बनाइनुले सिर्जेका समस्याहरुको संगालो पीर हो । राजनीतिमा कार्यकर्ता भन्दा नातावाद, कृपावाद र आफन्तबादले गालेको समाजको पीर हो । पीडा, कुण्ठा र निराशा शक्तिशालीले शक्तिहीनमाथि गरेको अन्याय र अत्याचारका प्रमाण पिर हो । शक्तिशालीहरूले आफूले गरेको अन्याय र अत्याचारको प्रमाण मेटाउन पीडा, कुण्ठा र निराशाजस्ता शब्दलाई नकारात्मक अर्थ दिने तथा सत्य लुकाउनु र असत्यको आडमा अगाडि बढनु पीर हो । मौलिक हक, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, आवास, पौष्टिक आहार नपाएर दैनिक जीवन कण्टकर हुनु हाम्रो समाजको वास्तविक पीर हो ।
पिर गीतमा एकात्मक राज्यव्यवस्था परिवर्तन गरी गणतन्त्र ल्याउन गहन भूमिका खेल्ने सशस्त्र युद्ध र तिनका लडाकुहरूको योगदानलाई राज्य र नेतृत्वबाट भए गरेको व्यवहार तथा सँगसँगै लडेकाहरू कोही उच्च ओहोदामा पुगेका, कोही भने विस्ताराबाट पनि उठ्न नसक्ने व्यवस्थामा रहेता पनि वेवास्ता गरिएका तथ्यलाई चित्रण गरिएको छ । यसैगरी यसमा सशस्त्र योद्धासँगै सामान्य जनताको दैनिकी जीवनस्तर, रोजगारी, व्यापार, व्यवसाय, ठगी, मानव तस्कर, समाजमा फैलिएको चरम सामाजिक र साँस्कृतिक विचलन, मानसिक विचलन नेतृत्वले कार्यकर्ता र जनतालाई गर्ने उपेक्षा, पीडा, कुण्ठा, निराशा र चित्कार आदिको यथार्थ चरित्र चित्रण भएको छ ।
साहित्य सृजनामा सत्यको अवलम्बन र असत्यको विरोध गर्ने असल संस्कृतिको अवलम्वन गर्नु पर्छ । कला र संस्कृतिलाई सभ्य बनाउन कलाकार र सर्जकले महत्वपूर्ण पहल र प्रयास गर्नु पर्दछ । कुनै पनि सृजनालाई एक पक्षिय रुपमा हेरिनु हुँदैन, सबै पक्षलाई उजागार गरेर समालोचनाको सिद्धान्तले विश्लेषण गर्नुपर्छ । एकातिर समाजले पचाउने खालका सिर्जना गर्नु हाम्रो आवश्यकता हो भने त्यस्ता सृजना मार्फत देशको विकास गर्ने सकल्प गर्ने नेतृत्व जन्माउनु अर्को आवश्यकता हो । हरेक विषयवस्तुमा राजनीति र सम्प्रदायमा प्रवेश गराइन महा भुल हो । हाम्रा हरेक विषयवस्तुमा केहि न केहि गल्ती हुन सक्दछन र गल्तीसँगै समयमा नै उपयुतm समाधानको विकल्प पनि खोजिनु पर्दछ ।
आज यस्ता समस्याहरु दिनहुँ थपिएका छन । यस्ता समस्यालाई नजर अन्दाज गर्न र जमिनमुनि दबाएर सृजना मार्न सम्भव हुँदैन । समस्या देख्न, सुन्नबाट भागेर वा पन्छिएर समाधानको विकल्प तथा बाटो खोज्न सकिन्न । यो कुनै अमुक पाटीका लागि मात्र होइन, सबै राजनीतिक दल र राज्यका लागि साझा समस्या भएकोले यसबाट भाग्न र पन्छिन खोज्नु वा विवाद झिक्नु भन्दा आफु र आफनो दललाई समयानुकुल सच्चाउन र सच्चिन जरुरी छ । यो राजनीतीकरण गर्ने मुद्दा र एक दलले अर्को दललाई सिध्याउने माध्यम बनाउने घृिणत राजनीति गर्नुभन्दा सबै दल र राज्य संयन्त्र सर्तक भएर काम गर्न जरुरी छ । खराव आचरण, असफलता र नालायकीपनले जन्माएका पात्रहरूको कारण सिर्जित दुःख कष्ट पिरको तिरले तिनैलाई घोच्न र सच्चाउन आवश्यक छ ।