गठबन्धनको फरक धार राजमो : सहज छैन यात्रा

रामबहादुर जिसी

राजनीतिमा स्थायी सत्रु र स्थायी मित्र हुदैनन् भनिन्छ । कहिलेको प्रमुख दुश्मन कहिले आएर असाध्यै मिल्ने सारथी बन्छ भन्ने निश्चित हुदैन । विचार, सिद्धान्त, एजेण्डा भन्दा पनि सत्ता, स्वार्थ, सनक र दनकका भरमा नेपालको पछिल्लो राजनीति अगाडि बढिरहेको छ । यस्तो अवस्थामा त झन मित्र र सत्रुको परिभाषा नै फरक पर्दछ ।

२०४६ सालको परिवर्तनपछि मुलुकको प्रमुख शक्ति नेपाली कांग्रेस थियो । बामपन्थीहरु चुनावी तालमेल कांग्रेसका विरुद्ध गर्थे । धेरै पटक बामपन्थीहरु कांग्रेसका विरुद्ध एकजुट भएका उदाहरणहरु छन् । विशेष गरी बागलुङको सन्दर्भमा सबै बाम एक ठामको नारा पछिल्लो पटक भएको निर्वाचन २०७४ सम्म पनि देखिएकै हो । अव त्यो इतिहास भइसक्यो, अब कांग्रेस गठबन्धनका लागि बामपन्थीको साहरा लिदैछ । यसको अर्थ कांग्रेस एक्लै चुनाव लड्ने शक्ति अब रहेन ।

बागलुङ वामपन्थी जनमत भएको जिल्ला हो । बामपन्थीहरु एकतावद्ध हुदा र नहुदाको अवस्था फरक भएको छ । बहुदल आएपछिको पहिलो निर्वाचन २०४८ मा बामपन्थीहरु मध्ये हालको राष्ट्रिय जनमोर्चाले निर्वाचन बहिष्कार ग¥यो, एमाले र तत्कालिन संयुक्त जनमोर्चा (हालको नेकपा माओवादी केन्द्र) छुट्टा छुट्टै निर्वाचनमा सहभागी भएका थिए । बागलुङका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उमेदवार विजयी भए ।

२०५१ मा एमाले र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भयो । क्षेत्र नं. १ मा एमाले तथा २ र ३ मा राष्ट्रिय जनमोर्चाका उमेदवार विजयी भए । २०५६ मा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल भयो । २ र ३ मा राजमोका उमेदवार विजयी भए, १ मा ४२ मतले एमालेका उमेदवार पराजित भए । एमाले विभाजित थियो, त्यसको असर एमालेलाई प¥यो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा बामपन्थीहरु मध्ये नेकपा एकीकृत र एमाले मिले अरु छुट्टा छुट्टै निर्वाचन लडे । १ मा एमाले र एकीकृृतका साझा उमेदवार रामजी प्रसाद शर्मा र २ नं. क्षेत्रमा राजमोका उमेदवार चित्रबहादुर केसी विजयी भए । ३ मा नेपाली कांग्रेसका निरज पुन विजयी भए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा बामपन्थीहरु छुट्टाछुट्टै निर्वाचनमा गएका थिए । उक्त निर्वाचनमा ३ वटै क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार विजयी भए ।

२०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्यो । बागलुङमा राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा सहभागी भयो । संघका २ वटै र प्रदेशका ४ वटै निर्वाचन क्षेत्रमा बामपन्थी उमेदवारहरु भारी मतले विजयी भए ।

संघ र प्रदेश मात्रै होइन स्थानीय निर्वाचनलाई हेर्दा पनि बागलुङमा वामपन्थीहरु एकताबद्ध हुँदा मात्रै जित्न सफल भएको देखिन्छ । होइन भने कांग्रेसकै उमेदवार विजयी भएका छन् । २०४९ सालको स्थानीय निर्वाचनमा बागलुङका अधिकांश गाविसमा कांग्रेसको नेतृत्व थियो । जिल्ला विकास करिव करिब एकलौटी कांग्रेसको थियो ।

२०५४ को स्थानीय निर्वाचनमा एमाले र राजमोबीच तालमेल हुदा बहुमत गाविस र जिल्ला विकास समितिमा बामपन्थी उमेदवारहरु (सभापति लिला बहादुर थापा र उपसभापति मोहनलाल शर्मा) विजयी भएका थिए ।

२०७४ को स्थानीय निर्वाचनमा पनि राजमो र एमाले मिलेका धेरै ठाउँमा विजय भएका छन् । राजमोले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जितेको एक मात्र बरेङ गाउँपालिका र उपाध्यक्ष जितेको काठेखोला गाउँपालिकामा एमाले र राजमोबीचको सहकार्यका कारण दुवैको जित भएको हो । बामपन्थी गठबन्धनकै कारण जिल्ला समन्वय समिति बागलुङमा पनि यतिबेला राजमोका राजेन्द्र ढुंगाना र एमालेका विष्णु भुषाल प्रमुख र उपप्रमुख छन् ।

यसरी हेर्दा बागलुङको राजनीतिमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको सम्बन्ध हिजोदेखिकै सहकार्यको हो । राजनीतिमा मात्रै होइन, अन्य सामाजिक संघ संस्थाहरु रेडक्रस, पत्रकार महासंघ, जिल्ला सहकारी संघ लगायत धेरै ठाउँमा यी दुई पार्टीमा आवद्ध पेशा व्यवसायीहरुका बीचको सहकार्य रहदै आएको छ, यी दुई शक्ति मिल्दा यिनका उमेदवार विजयी भएका छन्, नमिल्दा पराजय भोग्नु परेको छ ।

यतिबेला मुलुकमा ५ दलीय गठबन्धन छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार विघटन गर्नका लागि बनेको गठबन्धन यतिबेसम्म कायमै छ र यसलाई आगामी संघीय निर्वाचनसम्म लैजान विशेष गरी नेकपा एमालेबाट चोइटिएको नेकपा एकीकृत समाजवादी र राजनीतिक रुपमा संकटमा देखिएको नेकपा माओवादी केन्द्र भरमग्दुर प्रयत्नमा छन् । नेपाली कांग्रेसका नेताहरुले मुटु छिया छिया हुने गरी वचन वाण लगाउदा पनि यिनीहरु कांग्रेसलाई छोड्न तयार छैनन् । किर्नै बनेर टास्सिएका छन् र अझै लामो समय टास्सिने यिनीहरुको चाहना छ ।

गठबन्धनमा रहेका दलहरुले यो भन्दा बाहिरका दलहरुसंग चुनावी सहकार्य गर्न नपाइने निर्णय गर्दै आन्तरिक तयारीमा जुटेका छन् । यद्यपी यिनीहरुले जिल्ला तहमा आवश्यकताका आधारमा एकताको कुरा पनि उठाइरहेका छन् । गठबन्धन विशेष गरी एकीकृत समाजवादी र माओवादी केन्द्रका लागि पहिचानको सवाल बनेको छ भने कांग्रेसका लागि केन्द्रीय सत्ता जोगाउने वाध्यता बनेको छ । गठबन्धनमा रहेका ५ मध्ये ४ दल सरकारमा पनि सहभागी छन् । तर गठबन्धनको किनाराको साक्षीका रुपमा रहेको राष्ट्रिय जनमोर्चालाई गठबन्धनका अन्य दलहरुलाई जस्तो अपरिहार्य र अनिवार्य देखिदैन, तर पनि यो दल गठबन्धनबाट निस्की हाल्न सकेको छैन ।

केपी ओलीले संसद विघटन गरेका कारण बनेको गठबन्धन संसद विघटन भन्दा पनि बढी राष्ट्रियताकै सवालमा कमजोर बन्दा पनि गठबन्धन संग्लै छ । राष्ट्रिय जनमोर्चा गठबन्धनले एमसीसी पारित गर्दा विरोधमा रह्यो तर गठबन्धनबाट छुट्टिन चाहिरहेको छैन ।

केन्द्रमा गठबन्धन गरेको राजमोलाई बागलुङ जिल्लामा भने गठबन्धन घाडो जस्तो देखिन्छ । राजमोका कार्यकर्ता बामपन्थी गठबन्धनको पक्षमा छन्, त्यसमा पनि बागलुङका नेता कार्यकर्ता त कांग्रेससंग मिल्नै हुदैन भन्ने पक्षमा छन् । पार्टीको निर्देशन नमान्न पनि भएन, सारै गारो परेको छ भन्छन् कार्यकर्ताहरु । तर केन्द्रले गठबन्धन बाहेक यताउता नगर्न दिएको निर्देशन कार्यकर्ताका लागि घाडो भएको छ ।

स्थानीय स्तरमा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेससंग गठबन्धन गरेर निर्वाचनमा जाँदा सहज जित त हासिल होला तर हिजो कांग्रेसबाट प्रताडित कार्यकर्ता भड्किए भने के गर्ने ? राजमोलाई पनि चिन्ता छ । त्यतिमात्र होइन, यो निर्वाचन त गठबन्धनबाट लड्ने, यो भन्दा पछि आउने निर्वाचनमा त कांग्रेस नै प्रतिस्पर्धी हुन्छ, त्यतिबेला बामपन्थीसंग कसरी सहकार्य गर्ने ? यो पनि राजमोको चिन्ताको विषय हो ।

माथिबाट थोपरिएको गठबन्धनका उमेदवार र त्यसमा पनि कांग्रेसका उमेदवारलाई राजमो समर्थित जनताले मत दिएनन भने के गर्ने ? कांग्रेसका कारण समस्यामा परेका राजमो समर्थित थुप्रै परिवार अहिले पनि मुद्दा खेप्दैछन् । सवाल मुखै अगाडि छ । त्यति मात्रै होइन, हिजो राजमोका कारण प्रताडित कांग्रेस कार्यकर्ताले गठबन्धनका उमेदवारलाई मत दिएनन् भने के गर्ने ? जनयुद्धको समयमा माओवादीले गाउँबाट लखेटेका कांग्रेस कार्यकर्ताले माओवादी उमेदवारलाई मत दिएनन वा सुराकीको आरोपमा कांग्रेसले दुख दिएका माओवादी कार्यकर्ता र समर्थकले कांग्रेसका उमेदवारलाई मत दिएनन् भने के गर्ने सिंगो गठबन्धनमा समस्या छ ।

माओवादी जनयुद्धमा आफन्त गुमाएका, अंग भंग भएर पनि न्याय नपाएका हाल जिल्ला बाहिर रहेकाहरु कांग्रेसलाई नै मत दिने हो भने किन जिल्ला जाने भन्न थालिसकेका छन् । त्यो भन्दा एमालेलाई मत दिन ठिक भन्दै धेरै त एमाले प्रवेश गरिसके । माओवादीबाट विस्थापित भएका काग्रेस समर्थकहरु माओवादीलाई नै मत दिने हो भने किन जिल्ला जाने भन्दैछन् । यस्तो अवस्थामा गठबन्धनको यात्रा त्यति सहज नहुन सक्छ ।

त्यो भन्दा पनि बढी गठबन्धनबाट उमेदवार छनोट मै समस्या छ । नेपाली कांग्रेस विगतमा बागीको चपेटामा परेको दल हो । अहिले पनि कांग्रेसलाई आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण छ । आफ्नै धोती सम्हाल्न मुश्किल भएको समयमा ५ दललाई मिलाएर लैजान कांग्रेसलाई हम्मे हम्मे पर्ने देखिन्छ । १० पालिका मध्ये प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मिलाउनै यिनीहरुलाई सकस छ । मतभारको आधारमा भन्दा पनि घुर्कि र थर्कीका आधारमा काम गर्नु पर्ने अवस्था गठबन्धनमा छ ।

१० पालिकाका प्रमुख र उपप्रमुख मध्ये ७ वटा त कांग्रेसले एक्लै लड्दा पनि जितेको थियो । राजमोले ३ र माओवादी केन्द्रले २ पद जितेका थिए । अहिले बाँडफाँड गर्दा कांग्रेसले एक्लै जितेको ठाउँमा छोड्नु पर्ने अवस्था छ । यस्तो अवस्थामा पालिका बाँडफाँड र त्यसपछि वडा बाँडफाँडमा गठबन्धन अल्झिनु पर्ने वाध्यतामा छ । बाँडफाडकै समस्याका कारण ५ दलका नेता कार्यकर्ता भड्किने खतरा पनि छ ।

यि सबै समस्याको साक्षीको किनारामा राजमो किन बसी रहेको छ ? बागलुङका बामपन्थी समर्थकहरु अचम्मित छन् । राष्ट्रिय जनमोर्चाका लागि बागलुङमा सबैभन्दा सहज सहयात्री नेकपा एमालेको हो तर केन्द्रले एमालेसंग मिल्ने त परै जावस बोल्न समेत नबोल भन्ने निर्देशन गरेको छ । एमालेसंग राजमोको ३ दशकको सहयात्रा छ, तल्लो तहका कार्यकर्तामा असाध्यै धेरै मिलन छ, सहकार्य छ । यस्तो अवस्थामा गठबन्धनमा राजमो रहदा पनि मत सबै गठबन्धनलाई जान्छ भन्ने निश्चित छैन । चुनिएका प्रतिनिधिले मत दिएका आधारमा गठबन्धनलाई दिन्छन् भन्ने सोच्नु गलत हो । यति बेला जनताले मत दिने हो, जनताका बीचमा त्यो पनि बामपन्थी विचार राख्नेहरुमा कांग्रेसलाई मत दिने संभावना धेरै कम हुन्छ ।

एमालेबाट चोइटिएको एकीकृत समाजवादीलाई जनताले मत दिदैनन, विभाजनको पक्षमा जनता हुदैनन भन्ने कुरा २०५६ सालको निर्वाचनमा नेकपा एमाले र मालेको अवस्थाबाट बुझ्न सकिन्छ । त्यतिबेला नेता जति धेरै मालेमा हुदा पनि एमालेका उमेदवारले मत धेरै पाएको र माले सुन्य बनेको यथार्थ एकीकृत समाजवादीको नेतृत्व र गठबन्धनका अन्य दलले पनि बुझेकै छन् ।

राजमो र एमाले मिल्दा दुवै दललाई फाइदा पनि छ । गठबन्धनबाट पाउने भन्दा बढी राजमोले एमालेसंग सहकार्य गर्दा पाउने अवस्था छ भने जित्ने संभावना पनि प्रवल छ । एमालेसंग सहकार्य गर्दा विगतमा बरेङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा काठेखोलामा उपाध्यक्ष जितेको राजमोले जिल्लाभरमै सहकार्य गर्दा थप जित हासिल गर्न सक्छ ।

एमाले र राजमोबीच सहकार्य हुदा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकामा जित सहज हुन्छ । गलकोट नगरपालिकामा पनि कडा प्रतिस्पर्धा हुने अवस्था छ ।

कांग्रेस र माओवादीसंगको गठबन्धनमा राजमो पिल्सिने अवस्था देखिन्छ । यस्तो अवस्थामा पनि केन्द्रको आदेशका कारण राजमो कार्यकर्ताहरु मौन बसेका छन् । जिल्ला नेतृत्व सहित अधिकांश नेता कार्यकर्ता गठबन्धनको पक्षमा नहुदा नुहदै पनि कांग्रेस र माओवादीको किनाराको साक्षी बस्न राजमोलाई वाध्यता छ ।

राजनीति सधै सिधा बाटोबाट हिड्दैन, यसको यात्रा बाङ्गो टिङ्गो भएर अगाडि बढ्छ, यतिबेला गठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा विशेष गरी बामपन्थी विचार राख्ने नेता कार्यकर्ता अन्यौलमा छन् । बागलुङको सन्दर्भमा एमाले र राजमो समर्थित कार्यकर्ता बढी अन्यौलमा देखिन्छन् ।

उमेदवार दिने समयसम्म यस्तै अवस्था रहन्छ भन्ने नहुन सक्छ । कांग्रेस बामपन्थी मत लिएर प्रमुख दल बन्न खोज्दैछ । बामपन्थीहरु कांग्रेसलाई ठुलो दल बनाउन सहयात्री बनेका छन् र यिनले के पनि बुझेका छन् भने कांग्रेस ठुलो दल भयो भने भोली प्रतिस्पर्धा गर्ने कांग्रेससंगै हो । यस्तो अवस्था बुझेर पनि गठबन्धनको नाममा संगै हिड्नु पर्ने वाध्यतामा गठबन्धन छ । एकीकृत समाजवादी र माओवादी केन्द्रलाई गठबन्धन जति आवश्यक छ, राजमोलाई त्यो बाध्यता छैन, गठबन्धनको फरक धार राजमोको गठबन्धन सहयात्रा त्यति सहज छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *