कानुन, न्याय र प्रतिरक्षा

शुभेच्छा पन्त
कानुन मानव, समाज, राष्ट्र र विश्वलाई शान्त, व्यवस्थित एवं गतिशील बनाउने संहिता हो । मानविय व्यवहारलाई व्यवस्थित र अनुशासित बनाउदै समाजको संरचनालाई आदर्शमुखी बनाउने संयन्त्र नै कानुन हो । कानुनको पालना नगरे दण्ड समेत पाउने हुन्छ । दण्डका सम्बन्धमा आ–आफ्नै प्रकारका दृष्टिकोणहरू विकसित भएका छन् र ती दृष्टिकोण अन्तर्गत पनि विभिन्न सिद्धान्तहरू विकसित भएका छन् । अपराध नियन्त्रणका लागि अपराधीलाई दण्ड दिने पद्धति सर्वाधिक प्रयोगमा छ ।

समाजमा अमनचयन, शान्ति, सुव्यवस्था एवम् राज्यमा निष्पक्ष न्याय प्रणाली स्थापनाका लागि राज्यको प्रभुसत्ता सम्पन्न व्यक्ति समूह वा राज्यले नै बहुसंख्यक जनताको हितमा बनाइने नियम वा सिद्धान्तहरूको सभ्य सार्थक अभिव्यक्तिलाई कानुन भनिन्छ । स्वच्छ सुनुवाइको साथमा अपराध गर्नेलाई दण्ड र पीडितलाई न्याय दिनुपर्छ । स्वच्छ सुनुवाइका सिद्धान्त प्राकृतिक न्यायसँग सम्बन्धित रहेको छ । कुनै पनि मुद्दाको कारवाहीको सिलसिलामा अवलम्बन गरिने कार्यविधिमा निष्पक्षता र स्पष्टता रहनु पर्दछ । सामाजिक न्यायले सबै पक्षमा समान न्यायको खोजी गर्ने र समाजका प्रत्येक सदस्यहरू प्रति सम्मानपूर्वक तथा अविभेदपूर्वक समान व्यवहार गरी सहकार्य र सहयोगको माध्यमबाट सहिष्णुता कायम गर्दै न्याय र नैतिकतामा आधारित पहूँचयोग्य समानताको प्रवद्र्धन गर्ने कुरामा जोड दिन्छ ।

सामाजिक न्याय प्रत्येक सभ्य समाजका लागि नभई नहुने विषय हो । समाजमा मूलधारमा आउन नसकेका व्यक्तिहरू एवम् आफ्नो आवश्यकता आफै पूरा गर्न नसक्ने व्यक्तिहरूलाई सामाजिक सुरक्षा र सामाजिक न्याय जरुरी हुन्छ । जसले समाजका सबै पक्षमा समान न्यायको वकालत गर्दछ एवं समाजका प्रत्येक सदस्यहरू प्रति सम्मान र मर्यादापूर्वक तथा विभेदपूर्ण समान व्यवहार, सद्भाव एवं सहिष्णुता कायम गरी न्याय र नैतिकतामा आधारित पहुँचयोग्य समानताको प्रवर्द्धन गर्ने एवं विना भेदभाव स्रोतसाधन, लाभ र अवसरहरूको समान वितरण गर्ने तथा न्यायपूर्ण समाजको निर्माण गर्ने कुरामा जोड दिन्छ ।

सामाजिक न्याय र सामाजिक सुरक्षाको माध्यमबाट राज्यले समावेशी राज्य निर्माण गर्ने र नागरिकहरू प्रति समान व्यवहारको सुनिश्चितता कायम गर्ने आफ्नो दायित्व पूरा गर्न सक्दछ । न्याय एक महत्वपूर्ण कानुनी शब्द हो । कुनै पनि मुद्धा, मामिलामा वकिलहरुले पेश गरेका सबै प्रमाण बुझिवादी वा प्रतिवादी कुनै एक अन्याय गर्ने व्यक्तिलाई न्यायधीशले न्यायालयमा बसि दण्ड, सजायको भागीदार बनाउने र अन्यायमा परेको व्यक्तिलाई न्याय दिनुपर्छ । मानिसलाई अहिंसा, शोषण, भोकमरीबाट स्वतन्त्र बनाउनु, मानव कल्याण र सुरक्षा दिनु नै न्याय हो । समानता, एकरुपता र समन्वयलाई नै न्याय भनिन्छ । आफ्नो श्रम राम्रोसँग गर्ने र अर्काको श्रममा हस्तक्षेप नगर्नु पनि न्याय हो । न्याय ठिक र अनुचित निर्धारण गर्ने एक वस्तुनिष्ठ मापदण्ड हो ।

देशको सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रता र अखण्डता सुनिश्चित गरी आन्तरिक अस्थिरता र बाह्य खतराबाट देश र जनताको रक्षा गर्न रक्षा मन्त्रालयको स्थापना भएको थियो । कुनै अवस्थामा अपराध भएता पनि प्रतिरक्षा लिन पाउने व्यवस्था छ । प्रतिरक्षा भन्नाले कसैको आक्रमणबाट आफ्नो रक्ष ागर्ने काम वा व्यवस्था, लगाइएको अभियोगबाट आफ्नो बचाउ गर्ने वा निर्दोषिता देखाउने प्रयत्नलाई बुझिन्छ । सामान्य प्रतिरक्षा भन्नाले फौजदारी कानूनले निर्धारण गरेका ;क्षमताको अभाव रहेको व्यक्ति वा त्यस्ता अवस्था वा प्ररिस्थितिलाई सम्झनु पर्दछ । प्रतिरक्षा प्राप्त गर्नको लागि बल प्रयोग गर्नु पर्ने अन्तिम विकल्प भएको हुनु पर्दछ, जुलुमीको नियन्त्रण वा पन्जाबाट उम्कन नसक्ने अवस्था सिर्जना भएको हुनुपर्ने, गुहार मागी सहयोग प्राप्त गर्न वा प्रहरीलाई सम्पर्क गर्न सक्ने अवस्था नभएमा, प्रतिरक्षाको लागि तत्काल बल प्रयोग गर्नु पर्नेछ, जुलुमीले प्रयोग गरेकोभन्दा बढि शक्ति प्रयोग गर्नु हुदैन् ।

कसैबाट भएको कुनै कार्य प्रथम दृष्टिमा अपराध भएपनि उक्त कार्यको लागि दण्ड नहुने अवस्था विद्यमान छ भनी प्रतिरक्षा गरिन्छ भने यस्तो प्रतिरक्षा सामान्य प्रतिरक्षाको सिद्धान्त अन्तर्गत पर्दछ । प्रत्येक सभ्य समाजले अत्याधिक अपरिपक्वतामा आधारित आपराधिक असक्षमतालाई मान्यता दिएकै हुनुपर्छ । नाबालकपन, पागलपन, नशासेवन, भूल क्षमायोग्य प्रतिरक्षा अन्तर्गत पर्दछ । हरेक व्यक्तिको समस्याको प्रकृति, गम्भीरता र जटिलता अनुसार सुहाउँदो उपचार पद्धति अबलम्बन गर्दा फलदायी हुने गर्छ । प्रतिरक्षाको सुविधा निरन्तरताको अवस्थामा भएको कार्यलाई मात्र सुविधा प्राप्त हुन्छ । प्रतिरक्षामा जर्बरजस्ती करणी गर्न खोजेमा नीजको ज्यान लिएमा पनि कसुर हुदैन । यसरी हामीले विभिन्न विषय अन्तर्गत रहि प्रतिरक्षा पाउन सक्दछौँ ।

प्रमाण संकलन गरेपछि सो प्रमाण हेरी अदालतका न्यायधिशले मुद्धाको किनारा अथवा फैसला गर्दछन् । प्रमाण भएमा मुद्दाको किनारा लगाउन पनि सहज पर्छ । सवोत्तम प्रमाण भनेको जीतको सुनिश्चित हो । प्रमाण हेर्दा कुनै व्यक्तिले आफ्नो रक्षा, सम्पत्तिको रक्षा गर्नका लागि कसैले अपराध गरेको थाहा पाएमा अथवा आफू नै पीडित भएको अवस्थामा अपराध गर्न लागेको व्यक्तिलाई केही गरी आफ्नो वा आफ्नो सम्पत्तिको रक्षा गर्न गरेको रहेछ भने उसलाई प्रतिरक्षाको सिद्धान्त अनुसार सजायमा केही मात्रमा छुट हुन्छ । प्रमाण विना कुनैपनि मुद्दाको तथ्य बुझ्न सकिदैन् । प्रमाण भनेको मुद्दामा के भएको थियो भनेर पुष्टि गर्ने आधार हो ।

कुनैपनि अपराध हुनको लागि दोषी मनोभावना हुनुपर्दछ । दोषी मनोभावना भएर गरेको अपराधमा पीडितले आफ्नो ज्यान जोगाउन कुनै कार्य गर्छ भने उसले प्रतिरक्षा लिन सक्दछ । तर फौजदारी कानून वा देवानी कानून जुनसुकै भए तापनि कानून नबुझेर गल्ती गरे भनेर कानूनी प्रतिरक्षा लिन सकिदैन् । कानून स्पष्ट, निश्चित हुन्छ, त्यसैले आफूसँग सम्बन्धित र आफ्नो क्षेत्रसँग सम्बन्धित कानूनको जानकारी राख्नु सबै व्यक्तिको कर्तव्य हो । त्यसैले कानुनी मूल्य, मान्यता, व्यवस्था, दण्ड सजायको व्यवस्थाको बारेमा बुभ्नु सबै नागरिकको कर्तव्य हुन्छ । त्यसैले सबै नागरिकमा कानूनको सामान्य ज्ञान हुन जरुरी हुन्छ । सबै क्षेत्रमा काम गर्ने व्यक्तिले कानूनलाई प्राथमिकतामा राखेर बुझेको हुनु पर्दछ र सबैको कानूनमा पहुँच पनि पुगेको हुनु पर्दछ ।

यो पनि पढ्नुहोस्