कृषिता अधिकारी निशा
नेपाली समाज मौलिक रुपमा पितृसत्तात्मक समाज हो । यहाँ पुरुषको तुलनामा महिलाहरुको अवस्था निकै तल छ । किनकि महिलाहरु अनेकौं अन्याय र शोषणका सिकार भएका छन र छौं पनि । नेपालमा हेर्ने हो भने महिलाहरुको साक्षरता प्रतिशत पुरुषको तुलनामा निकै कम छ । राजनीति, व्यवसाय र पेसामा महिलाहरुको हिस्सा नगन्य मात्रामा रहेको छ भने घरायसी काम र खेतीपातीको काममा समाजले हामी महिलालाई जवरजस्ती टाँसो लगाइरहेका छन् ।
साँच्चै नै हामी महिलाहरुको श्रमको उचित सम्मान छैन । घरपरिवार होस् वा राज्यको नेतृत्व तह होस निर्णय लिने कुरामा महिलाहरुको सहभागीता र पहुँच सहज छैन । पछिल्लो समयमा भन्ने हो भने महिलाहरुको अवस्था निकै कमजोर भएका कारणले पनि विकास प्रक्रिया र जनसंख्या व्यवस्थापनमा निकै नकारात्मक असर परेको छ । खासगरी विकासका लागि आवश्यक जनशक्तिको परिपूर्ती हुन सकेको छैन । त्यसैले हामी सबैले बुझ्नुपर्छ महिलाहरुको सहभागीता विनाको विकास सौहार्द र दिगो बन्नै सक्दैन । किनकि प्रजनन् र परिवार व्यवस्थापनको निर्णयमा महिलाहरुको समान भूमिकाको अभावमा जनसंख्या अझै नियन्त्रणमा आउन सकेको छैन ।
महिलाहरु दाइजो प्रथाका कारण घरेलु हिंसाका सिकार हुनुका साथै बेचिने, ठगिने गरेका छन् । जसमा हाम्रो समाजका अधिकांश मानिसलाई प्रभावित गर्ने र समाजको समग्र विकास तथा सभ्यतालाई अवरुद्ध गर्ने समस्या र विकृतिलाई सामाजिक समस्याका रुपमा लिने गरिन्थ्यो । सामाजिक समस्या र विकृती भन्नाले समाजलाई असर पु¥याउने तथा समाज विपरीतका कु–संस्कार प्रथा आदि पर्दछन । जस्तैः छुवाछूत, दाइजो बालश्रम शोषण, चेलिबेटी बेचविखन, भ्रष्टचार, देउकी प्रथा, कमैया लगायत आदि । अधिकांश कु–प्रथा कु–संस्कार समस्या राज्यले नै उन्मुलन गरेकोे छ तर केही प्रथाहरु भने अझै हट्न सकेको छैन ।
कारण नेपाली जनमानसमा अझै पनि शिक्षाको अभाव रहेको छ । पुरानो जमानाका केही मानिस वा भनौ विकट जिल्लाहरुमा मानिसहरुको विचार, संस्कार र व्यवहार अन्धविश्वासबाटै निर्देशित रहेका छन् । अझै पनि हाम्रा बाबाआमाले छोरिलाई छोरासरह महत्त्व दिने र समान व्यवहार गर्ने गरेका छैनन् । छोरा पाउने आशमा कति महिलाहरुले आफ्नो ज्यान गुमाएका छन् । कति महिलाहरु घरेलुु हिंसामा परेका छन् भने श्रीमानले सौता हालिदिंदा कतिपय महिलाहरु अपहेलना, तिरस्कार र यातनाको सिकार भएका छन् । पूरानो इतिहासको कुरा गर्ने हो भने रजस्वलाको सुरुवात नहुँदै छोरीको विवाह गरिदिए पून्य प्राप्त हुने जनविश्वास कतै कतै अझै कायमै छ ।
अन्धविश्वासकै कारण दाइजो प्रथा, छाउपडी प्रथा, देउकी तथा झुमाप्रथा जस्ता कलंकले नेपाली समाजमा जरा गाडेकै छन् । धार्मिक गतिविधी र चाडपर्व, उत्सव जस्ता सांस्कृतिक पक्षमा पनि अन्धविश्वासको ठूलो प्रभाव रहेको पाइन्छ । उपचार पद्धतिमा पनि अन्धविश्वासले गाँजेको कारण कतिपय बालबालिका तथा अन्य बिरामिहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ । सोहि कारणले पनि परिवार नियोजनलाई अगाँल्न नसकेका कारण जनसंख्या नियन्त्रण हुन सकेको छैन । समग्रमा भन्नुपर्दा यी र यस्ता सामाजिक कुप्रथाहरुले हाम्रो समाज खल्बलाइरहेको छ । पछिल्लो समयमा जल्दोबल्दो प्रथा प्रतिस्पर्धा भनेको दाइजो प्रथा हो । दाइजो प्रथा वा भनौ प्रतिस्पर्धा कै कारण आज हजारौं चेलिहरु मारिन पुगेका छन ।
विशेषगरी विहेमा उपहारका रुपमा सुन, गरगहना, नगद, भाडाकुँडा, मोटरगाडी, जग्गा जमिन आदि धनसम्पत्ति दिइने चलनलाई नै दाइजो प्रथा भनिन्छ । आधुनिक समयमा दाइजो प्रथा दिने चलन नै बनिसकेको छ । सकि नसकी पनि आमाबाबाले आफ्नो छोरीका लागि योग्य वर पाउन ठूलो धनसम्पत्ति दिनुपर्ने बाध्यतामा छन् । आफ्ना चेली योग्य हुँदाहुँदै पनि दाइजो दिन नसक्दा चेलिहरु अयोग्य ठहरिने अवस्था बनेको छ । यो सब हामीले देखिरहेका छौ ।
तराईका अधिकांश समुदायमा दाइजोका लागि खुला रुपमा मोलतोल हुन्छ ।
यसका अतिरिक्त विवाह गरि दिइएका कतिपय नारिहरु अपेक्षित दाइजो ल्याउन नसकेका कारण मानसिक र शारीरिक यातानाको सिकार हुन्छन । लोग्ने सहित घरपरिवारका सबै मिली कुटपिट गर्ने, अंगभंग बनाइदिने जिउदै जलाइ ज्यानै लिने सम्मका कुर्कमहरु गरिरहेको पाइन्छ । पछिल्लो समयमा यो दाईजो लिने दिने प्रथा, चलन प्रतिस्पर्धात्मक बनेको छ । तँ भन्दा म के कम आफ्नो दक्षता भन्दा बढिको दाइजो दिने चलनले हाम्रा चेलिहरुको ज्यान लिने गरेकोे छ । साँच्चै नै दाइजो प्रथा फेसन एकदमै हाबि भएको छ किनकि बाबा आमाले सकि नसकि पढायो योग्य वर खोजेर आफ्नो मुटुको टुक्रा पराइलाई सुम्पियो त्यसमाथि पनि दाइजो दियो भने जस्तो दाईजो नपाए कुटपिट गर्याे मारेर फाल्दियो । हाम्रो समाजमा पछिल्लो समयमा द्वन्द्वको अवस्था सृजना भएको छ । तमाम छोरीहरु र आमाबाबाले सोच्नेबेला आइसकेको छ । अब छोरीलाई दाइजो होइन शिक्षा देउ, छोरीलाई विवाह गर्नको लागि हतार नगर र सक्षम र सबल हुन देउ ।
त्यसैगरी महिला भएकै कारण भोग्नुपरेका विभेद, अन्याय तथा अन्य शारीरिक तथा मनोवैज्ञानिक आघात नै महिला हिंसा हो । कतिपय हिंसाहरू त यस्ता छन्, जुन पीडितले आफूमाथि हिंसा भइरहेको छ भन्नेसमेत भेउ पाएका हुँदैनन् । आफु विरुद्धको हिंसा सम्बन्धि आवाज उठाउन पनि सडक तात्नुपर्ने अवस्था छ साच्चै नै यो कस्तो विडम्बना हाम्रो समाजमा विभिन्नरूपमा महिलामाथि हिंसा भएको देख्न सकिन्छ । पछिल्लो समयमा त झन् महिला हिंसाको घटनाहरू प्रशस्तै हुने गरेका छन् , यसको मुख्य कारण सामाजिक, साँस्कृतिक संरचना र कानुनी दुवै रहेको मान्न सकिन्छ । निशब्द अनि दुःखदायी कुरा त के छ भने, महिलाहरू आफ्नै घर–परिवारबाट सबैभन्दा बढी हिंसाको सिकार बनेका छन् । यस्ता घटनाहरू अज्ञानताका कारण बारम्बार दोहोरिने गरेको पाइन्छ । यसमध्ये बलात्कार पनि ज्वलन्त समस्या र जघन्य अपराधका रूपमा देखा परेको छ । कतिपय महिलाहरू आफ्नै श्रीमानबाट बलात्कृत भइरहेका छन् घरेलु हिंसा सहन बाध्य छन तर ती अधिकांश घटना गुपचुपमै रहन्छन् ।
पछिल्लो समयमा सामाजिक सन्जालमा यत्रतत्र फैलिएको विषय दाईजोको कारणले बुहारी माथि हत्याका प्रकरण बढ्दो अवस्थामा रहेको छ । अस्ति भर्खर यहि दाईजोको कारणले एउटा आमाले सन्तान गुमाउन परेको छ , एउटा दाईले बहिनी गुमाउनु पर्याे एउटा सन्तानले जन्मदिने आमा गुमाउनु पर्याे कति कु्र निर्दय भएको मानवरुपि दानवहरुको यो धर्तिमा जन्म भयो उन्तीस वर्षको कलिलो उमेर जहाँ लाउलाउ खाउ खाउ उमेरमा प्रणाण पखेरु नै चुडाइदियो ।
एउटा बालकको चीत्कार कस्ले सुन्ने किन मौन छ सरकार अझै पनि नेपालमा दाईजोको कारण बारम्बार यस्ता घटना घटिरहेका छन नेपालमा ऐन कानुन त छ तर व्यवहारमा शून्य छ पिडक खुलेआम हिडिरहन्छन् तर पीडित न्यायका लागि आफु कुटिन्छन लछारिन्छन सडक तातािन्छ दुई चार महिना त्यसपछि हराउदै जान्छ । वास्तवमा भन्ने हो भने पुरुषप्रधान संस्कारको अवशेष बाँकी रहेकाले शिक्षित भनिएका पुरुषहरू पनि अन्जानमा महिलामाथि हिंसा थोपरिरहेका छन् । चेतनशील महिला पनि कुनै न कुनै तरिकाबाट विभेदको सिकार हुनुपरेको छ । थुप्रै कानुनी व्यवस्था र चेतनाको विस्तारले पनि विभिन्न स्वरुपमा महिला हिंसा भइरहनु निकै गम्भीर सवाल हो । महिला हिंसा न्यूनीकरण र निर्मूल पार्ने उद्देश्यले विभिन्न संघसंस्था र अधिकारकर्मीहरू पनि सक्रिय छन् । थुप्रै बजेट खर्च गरेर विभिन्न समारोह तथा गोष्ठी पनि हुने गर्छन् ।
तर पनि तिनै अधिकारकर्मीहरू पनि कोही आफै पीडक र कोही पीडित भइरहेको देख्न सकिन्छ साच्चै यस्तै छ हाम्रो देशको हालत तसर्थ , महिला हिंसा रोक्न राज्य र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि चेतना वृद्धि गर्ने, महिलाहरू आफ्ना अधिकारका विषयमा जागरुक बन्नुपर्ने, अन्यायको प्रतिवाद गर्ने, कडा कानुनी प्रबन्ध र त्यसको अक्षरशः कार्यान्वयन गर्ने गर्नुपर्छ । होइन बने यसैगरी हजारौं नारिहरु यसरी नै मारिन्छ अनि जनताको कानुन प्रतिको सम्मान आस्था र विश्वास हराउने छ । तसर्थ हरेक अभिभावकहरुले आफ्ना छोरी मरिसके पछि आन्दोलन गरेर सडक तताउनु भन्दा जिउँदो हुँदैमा आफ्नो छोरी कुन अवस्था मा बाँचिरहेकी छ भनेर चासो दिनु जरुरी छ । किनकि एकचोटि कन्यादान गरिसकेपछि पनि बाबााको घरलाई हकले मेरो घर भन्ने बाताबरण सिर्जना गर्नुपर्छ र छोरिलाई दाईजो होइन शिक्षा दिनुपर्छ विवाह नै ठूलो कुरा होइन घर समाजको इज्जत भन्दा पनि छोरा छोरिको भविष्य ठूलो हो हामी अभिभावकले हर हालतमा तिम्रो साथ छौं भनेर हौसला दिने हो भने भन्ने पनि नारीले आफ्नो ज्यान गुमाउनु आन्तिम उपाय देख्दैनन होला सायद ।