शुभेक्षा पन्त
लोकतन्त्र जनताको शासन हो । जनताले आफूले चुनेका प्रतिनिधिहरू मार्फत शासन गर्छन । लोकतन्त्र समकालीन विश्वमा अनन्त र सर्वव्यापक छ । राजनीतिक सिद्धान्तमा लोकतन्त्रले एउटा निश्चित प्रकारको शासन र सोसँग सम्बन्धित राजनीतिक विचारधारालाई जनाउंदछ । लोकतन्त्र प्रत्येक नागरिकको अधिकार, न्याय, समानता, स्वतन्त्रतामा आधारित राजनीतिक प्रणाली हो ।
लोकतन्त्र शासनको एउटा व्यवस्था हो । लोक र तन्त्र मिलेर लोकतन्त्र बन्छ । यहाँ लोकको अर्थ जनता र तन्त्र भनेको शासन हो । अब्राहम लिङ्कन लोकतन्त्रलाई जनताको, जनताका लागि र जनताद्वारा गरिने शासन हो भन्छन् । लोकतन्त्र समग्र रूपमा एउटा यस्तो मानवीय सभ्यता पनि हो, जसको सामाजिक व्यवस्थाको जग मानवता, समानता, न्याय र स्वतन्त्रताजस्ता मानवतावादी मूल्य मान्यताले बनेको हुन्छ । जनताको निकटस्थ हुने गरी शासन, विकास गर्ने, बहुमतको शासन, अल्पमतको कदर, अधिकारमा आधारित शासन विकास, सामाजिक संवेदनशीलता सहितको जनउत्तरदायी राज्य प्रणालीको विकास गर्ने, अवसरको सिर्जना, न्यायोचित वितरण, समान पहुँचको व्यवस्था मिलाएमा मात्र लोकतान्त्रिक शासन व्यवस्थालाई सफल बनाउन सकिन्छ । लोकतन्त्रलाई जनताबाट टाढा हुन दिनु हुँदैन ।
नेपाल लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरिएको राष्ट्र हो । लोकतन्त्रमा निर्वाचनले नयाँ सरकार मात्र नभई जिम्मेवारी पनि हस्तान्तरण गर्दछ । जनताबाट शासन गरिने शासन व्यवस्थालाई जनताको शासन वा लोकतन्त्र भनिन्छ । निर्वाचन र निर्वाचन प्रणाली नै लोकतान्त्रिक प्रक्रियाको खम्बा हो । निर्वाचनबाट नै लोकतन्त्रमा सरकारले अधिकारले पाएको छ । लोकतन्त्रमा निर्वाचन स्वतन्त्र तथा निष्पक्ष गराउनुपर्छ । निर्वाचन अथवा चुनाव प्रजातन्त्रको आधारभूत जग हो । निर्वाचनमा जनताका प्रतिनिधिहरू छानिन्छन् ।
प्रजातान्त्रिक मुलुकहरुमा राज्यका धेरै निकायहरु जनताद्धारा निर्वाचित हुन्छन् । प्रजातान्त्रिक शासन व्यस्थाको लागि निर्वाचन महत्वपूर्ण आधार हो । निर्वाचन र निर्वाचन प्रणालीको अर्थ लोकतन्त्रलाई प्रतिनिधित्वको रुपमा सुनिश्चित बनाउनको लागि बनाइएको एउटा कानुनी प्रणाली हो । विश्वमा निर्वाचन पद्धतिको विकास ६०० शताब्दी वि.सी देखि अपरिहार्य रुपमा ुहुदैँ आएको पाइन्छ ।
निर्वाचन भन्नाले आफूले चाहेको व्यक्ति, राजनीतिक दल, राजनीतिक प्रणाली वा विचार छान्नका लागि देशका बालिग नागरिकले भोट गर्ने विशिष्ट राजनीतिक प्रणाली भन्ने बुझिन्छ । निर्वाचन भनेको मतलाई सिटमा रुपान्तरण गर्ने विधि अथवा तरिका हो । शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छानेर पठाउने प्रक्रियालाई निर्वाचन भनिन्छ । लोकतन्त्रमा निर्वाचनको अत्यन्तै महत्व छ । निर्वाचनको माध्यमबाट जनताले आफ्ना प्रतिनिधि छनोट गरी शासनव्यवस्थामा सहभागिता तथा वैधानिकता प्रदान गर्दछन् । हाल विश्वमा विभिन्न किसिमका निर्वाचन प्रणाली प्रयोगमा ल्याइएका छन् ।
निर्वाचन सम्बन्धमा नेपालको त्यति लामो इतिहास छैन । वि.सं २०१५ साल फागुन ७ गते भएको निर्वाचन नै नेपालको पहिलो औपचारिक निर्वाचन हो । वर्तमान संविधानले संसद सदस्य तथा स्थानीय तहका पदाधिकारीरुको छनोटका लागि ५ वर्षमा अवधिक निर्वाचन हुने व्यवस्था छ । हाम्रो देशमा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरी दुई किसिमको निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ।
मतदाताहरुले निर्वाचनमा भाग लिइ आफ्ना प्रतिनिधि हरुको निर्वाचन प्रत्यक्ष रुपबाट गर्छ्न भने त्यस्तो निर्वाचन लाई प्रत्यक्ष निर्वाचन भनिन्छ । हरेक देशका तल्लो सदनका निर्वाचनमा यो प्रणाली नै लागू गरिन्छ । बहुमत प्रणाली अनुसार पहिलो हुनेले जित्ने प्रणालीलाई प्रत्यक्ष निर्वाचन भनिन्छ । यो निर्वाचन प्रणालीमा एक क्षेत्रमा एउटा स्थानको लागि निर्वाचन हुन्छ । यो प्रणालीमा प्रत्यक्ष क्षेत्र र जनतासँगै उम्मेदवारको सम्पर्क हुने हुनाले यो जनताप्रति उत्तरदायी भएको निर्वाचन प्रणाली हो । प्रत्यक्ष निर्वाचन प्रणालीका गुणहरुः राजनितिक चेतनामा वृद्धि, मतदान एवं मतगणाना गर्न सजिलो, नागरिक अधिकारको प्रयोग, उत्तरदायित्वको भावना, लोकतान्त्रिक सिद्धान्त अनुकुल, एउटा दलले बहुमत ल्याएमा स्थिर सरकार बन्नसक्ने, स्वतन्त्र उम्मेदवारले पनि भाग लिन पाउने आदि हुन ।
समानुपातिक निर्वाचन प्रणाली भनेको मतदाताहरुले आफ्नो उमेदवारलाई मत नहालेर राजनीतिक दललाई मत हाल्ने गरिन्छ । बिश्वका विभिन्न देशका माथिल्लो सदनका निर्वाचनहरु यसै प्रणालीहरुमा आधारित छ्न । यस प्रणालीमा सम्पूर्ण देशलाई एक क्षेत्र मानी राजनीतिक दललाई मत दिने र सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतको आधारमा निर्वाचन हुने गर्दछ । १९ औँ शताब्दीतिर यो प्रणालीको विकास भएको हो । यो प्रणाली समानुपातिक रुपमा प्रतिनिधित्व गराँउछ । मत कम खेर जाने, राजनीतिक दल बलियो हुने र राज्य तथा प्रदेशको जनसंख्याको बनोट अनुसार महिला, पिछडिएका वर्ग, क्षेत्र, अल्पसंख्यक र जातजातिको प्रतिनिधित्व हुने भएकाले यो निर्वाचन प्रणालीलाई राम्रो मानिन्छ ।
नागरिकलाई राज्यको हरेक राजनीतिक पदमा मत व्यक्त गर्न पाउने हक रहेको छ । राजनीतिक अधिकारले नागरिकलाई राजनीतिक शक्तिमा पहुँचको अवसर प्रदान गर्दछ । निर्वाचनको नियमित सुनिश्चितताले मात्र लोकतन्त्रको संस्थागत विकास, मानव अधिकारको सम्बर्द्धन र कानुनी शासनको स्थापना सम्भव हुन्छ । निर्वाचन प्रणालीले देशमा देखा पर्नसक्ने अस्थिरता, अन्यौलता र अनिश्चयको अन्त्य गर्न मद्दत गर्दछ ।
निर्वाचन प्रणाली प्रजातन्त्रिक मुलुकको लागि अति महत्वपूर्ण भएता पनि विद्यमान नेपाली निर्वाचन प्रणालीलाई भदकिलो, खर्चिलो र अस्वस्थताले पिरलेको पाइन्छ । निर्वाचनको बेला राम्रो मानिस छनोट गर्नुभन्दा हाम्रो मानिस छनोट गर्ने प्रविधि हावी रहेकोले जसरी पनि चुनाव जित्ने अस्वस्थ प्रतिस्पर्धाले गर्दा समस्याहरु सिर्जना भएका छन् । त्यसैले आगामी निर्वाचनमा विगतका कमि कमजोरीहरुलाई हटाएर अगाडी बढ्न अतिआवश्यक छ ।