गाँजाको लफडा र प्रहरीको भूमिका

सज्जन कुमार सिंह
संसद देखी सडकसम्म गाँजाको बिषय घनिभूत रूपमा अघि सरेको छ । यसलाई काननी रूुपमा मान्यता दिने कुरामा अभियान नै बनाएर सडक,सधनमा कुरा उठाइएको छ । कानुनले अवैध मानेको कारण यसको प्रयोगमा कडाई गरिदै आएको पनि छ तर गाउँ शहर बजार जताततै गाँजाको प्रयोग खुल्ला रुपमा भैरहेका बारे सबैलाइ ज्ञान छ । अझ शिवरात्रीमा त खुलमखुल्ला भाङ,गाँजा प्रयोग गरिन्छ । त्यो दिन त प्रहरी गाँजा, भाङ खाएका केटोटिको सुरक्षामा नै खटाइन्छ ।

बागलुङ जिल्ला गाँजाको समाचार बढि आउने ठाउँ मध्येको एक हो । बागलुङ आउने प्रहरी प्रमुखको पहिलो काम भाँगोका रुख सखाप पार्ने र घरेलु मधिरा सखाप पार्ने हुन्थ्यो । अहिलेका प्रहरी प्रमुख ज्युले भने त्यो परम्परा तोड्नु भयो ।

बागलुङका सबै भाग तिर भाँगो लगाइन्छ । केहि ठाउँमा अलि बढि नै खेति गरेर गाँजा उत्पादन पनि गरिएका छन् । चट्नी खाना र तरकारीमा पनि भाँगोको प्रयोग अनिवार्य जस्तो हुन्छ । त्यहि भाँगोको पातलाइ गाँजाको रुपमा प्रयोग गर्दा खरिद विक्रि गर्दा वर्षेनी दर्जनौ व्यक्तिले जेलको चिसो छिँडी काट्नु परेको छ ।

गाँजालाइ व्यवसाय नै बनाएर केहि व्यक्ति र गिरोहले राम्रै आम्दानी पनि गर्दै आएका खबर पढ्न सुन्न पाइन्छ । अझ रोचक कुरा त केहि विदेशीहरु समेत गाँजाको अध्ययन,अनुसन्धान भन्दै गाँजा खादै गाउँद्दडुल्ने र नेपाली गाँजाको सेवन गर्न बर्षेनी नेपाल र बागलुङका विभिन्न ठाउँमा आउने गरेका छन् ।

गाँजालाइ सामान्य रुपमा लिने र चिलिममा भरेर आनन्द लिने बुढा पाकाहरुको जमात आज पनि धेरै गाउँतिर भेटिन्छन् । पेट ढुस्स भयोभने एक चिलिम गाँजा तानेर लम्पसार परेपछि सन्चो हुने औषधिका रुपमा बुढापाकाले प्रयोग गर्छन् ।

गाँजाबाट राम्रो आम्दानि गर्नेहरुले गाउँका सोझा ,सिधा महिला,बालबालिका र गरिवहरुलाइ फसाउदै आएका छन् । पैसा दिने र कमाइ हुने ललिपप देखाएर उनिहरुलाइ यसको अ‍ोसार ÷पोसारमा प्रयोग गर्छन् जसको प्रमाण प्रहरीले गरेका अनुसन्धानले नै पुष्टि गर्छ । प्रहरीले गाँजा लिएर हिड्ने उनिहरुलाइ समात्छ तर बास्तविक गिरोहलाइ चाहि पक्रन सक्दैन् । केहि दिन अघि ताराखोलाका एक व्यक्ति पनि गाँजा सहित प्रक्रिएको खबर सुनियो । घरमा सुतिरहेका उनलाइ प्रहरीले ढोका ढकढकाएर उठाएको उनको भनाइ छ ।

एउटा थैलोमा गाँजा र मेसिन देखाउदै ल हेर्नुस तपाइको घरमा गाँजा भेटियो भनेर प्रहरीले उनलाइ प्रक्रियो। उनको घरको चर्पिमाथि गाँजा र पुरानो गाजा पेल्ने मेसिन भेटिएको प्रहरीले जनाएको छ । प्रक्राउ परेको व्यक्ति र परिवारले भने आफुहरुलाइ फसाइएको जिकिर गर्दै आएका छन् ।

यदि कसैले उनको ३५ मिटर टाढाको चर्पिमा गाँजा र मेसिन राखिदिएको हो भने र कसैले फसाएको हो भने यसबारे पनि अलि मसिनो गरि प्रहरीले अध्ययन गर्नेछ । गाँजा तस्कर गिरोहले धेरै सोझा र सिधालाइ यस अघि पनि फसाउदै आएका प्रसस्त उदाहरण छन् । पक्रिएका व्यक्तिको जिकिर अब प्रहरी अनुसन्धानले नै पुष्टि गर्ला ।

गाजा, भांग र चरेसको नियमित र अत्यधिक बानीले शरीरलाई नोक्सान गर्छ नै । यसको प्रयोगलाइ बढुवा दिनु हुँदैन । तर हिन्दु धर्ममा त गाँजा नै भगवान शिवलाई चढाइने मान्यता राखेर धर्मका नाममा गाँजा खाना सिकाइन्छ । यदि कारबाहि गर्ने हो भने सबैभन्दा पहिला शिवजीलाइ पो कारबाहि गर्नु पर्ने भो कि ? गाँजा, भाङ चरेसको अत्याधिक प्रयोग कुनै पनि अर्थमा सहि हुदैन । मानव स्वास्थ्यमा यसको सहि डोज प्रयोग गर्न सके खतरनाक रोगबाट समेत बचाउन सकिने कुरा भने बहसमा आएको छ ।

अंग्रेजीमा गाँजा कैनाबीस, मेरिजुआना, वीड आदि नामले चिनिने गर्दछ । यो नेपाल र भारतमा बढी हुने गरेको पाइन्छ । यो लागु पदार्थको रूपमा लिने गरेको र नेपालमा प्रतिबन्धित बस्तु अन्तर्गत पर्दछ । विभिन्न समयमा गरिएका रिसर्च अनुसार गाँजामा पाइने एक प्रकारको तत्वले एपिलेप्सी भन्ने रोगको ब्ततबअप लाई रोक्छ भनिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गाँजा वा भाङमा औषधीय गुण हुन्छ । विश्वको करिब २.५ प्रतिशत जनसंख्याले गाजा वा भाङ खान्छन् र यसको प्रयोगकर्ता बढ्ने क्रम जारी छ । किनभने यो जहाँतहीँ सजिलै पाइन्छ ।

कोकिन वा अन्य नषालु पदार्थभन्दा तुलनात्मक रुपमा सस्तो र कम हानिकारक पनि हुन्छ । बोटको भाले प्रजातिलाई भाङ र फोथी प्रजातिलाई गाजा भनिन्छ । गाँजामा भाङको तुलनामा टेट्राहाइड्रोकार्बनबिनोल अर्थात टीएचसी बढी हुन्छ । टेट्राहाइड्रोकैनाबिनाल प्रयोग अल्जाइमर रोग निको हुने, क्यान्सरसंग लड्ने क्षमता पनि गाजामा भएको पत्ता लागेको थियो । कैनाबिनाएड्स भन्ने तत्वले क्यानसरका कोसिकालाई मार्न सक्ने क्षमता राख्छ भन्ने अध्ययन ले देखायो । , कीमोथैरेपीको साइड इफेक्टलाई समेत यसले फाल्ने काम गर्दछ । नाकबाट पानी बग्नु, उल्टि हुनु, भोक नलाग्नु जस्ता समस्या देखिने विरामीलाई गाजाको सानो मात्रा दिन मन्जुरी गरिएको थियो । गाँजालाइ अवैध राख्ने हो भने यसलाइ पूर्ण रुपमा निर्मुल पार्नुपर्याे । त्यसका लागि भाँगो उत्पादनलाई पूर्ण रोक लगाउनु पर्याे । भागो खेती नै गर्न नदिएपछि गाँजा उत्पादन हुने कुरै भएन् ।

प्रहरीको भूमिका
कानुन र संविधानको पालाना गराउने जिम्मेवारी प्रहरीको हो । प्रहरीले अवैध मानिएका क्रियाकलाप सञ्चालन गर्न रोक लगाउने र त्यस्ता व्यक्तिलाई कारबाहि गर्न आवश्यक कदम चाल्नुपर्ने नैतिक जिम्मेवारी हो । तर गाँजाको मुद्दामा प्रहरीले सधै आवरणका व्यक्तिलाइ मात्र समात्ने तर वास्तविक तस्करहरु सम्म नपुग्ने गरेको गुनासो सुनिन्छ । कुनै एक व्यक्तिलाई केहि पोका गाँजाका धुलो भेट्याएर गाजा नियन्त्रणमा सफलता भन्ने ठान्नु नै गलत हुन्छ ।

कित गाँजा पूर्ण बन्देजको अवस्थामा हुनुपर्याे नत्र कहिले खुला नै खाना दिने (जस्तोकि शिवरात्री )कहिले फेरि त्यहि गाँजा खाएको,गाजा भेट्याएको भनेर पक्रने ? यस्ता अनेकौ अन्तरविरोधहरुबाट माथि नउठेसम्म र सरकारले यसबारे ठोस खालको निति नबनाए सम्म नत गाँजा नियन्त्रण हुन्छ नत यसको प्रयोग हुन छोड्छ । प्रहरीले पनि आवरणका व्यक्ति भन्दा ठूला र व्यवसायीक तस्करलाई कठघरामा उभ्याउन अलि बढि कसरत गर्नुपर्छ । गाँजा, प्रयोगकर्ता, तस्करी अनि प्रहरीको सम्बन्ध पनि त पिटे जस्तो गर म रोए जस्तो गर्छु नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *