शुभेक्षा पन्त
मानव साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक सबैको धरोहर हो । मानवले नै हिमाली भेगमा सेताम्मे परेका हिरा जस्तै टल्कने हिमालहरु, पहाडमा जडिबुटीको खानी र तराईमा सुन जस्तै धन फल्ने सम्म परेका वस्तीहरुको संरक्षण गर्न सक्दछ । यति हुदाँ–हुदै पनि मानव भित्रको व्यवहार एकरुपता नहुदा कहिले आर्थिक अवस्था, रोजगारीको न्यून अवसर, राजनीतिक अवस्था, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिले गर्दा मानव जीवनमा कष्ट पुर्याेएको छ । यिनै मानिसका क्रियाकलापले मानवका हक, अधिकार, अस्मिता लुटिने र हिंसा बढाउने गरेको पाइन्छ । यी क्रियाकलापबाट यो सुन्दर भूमि नेपाल र हाम्रो गाउँ समाज पनि अछुतो रहन सकेको छैन । मानव बेचविखन दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
संसारको सबै भन्दा सर्वश्रेष्ठ प्राणी मानव हो । प्रकृतिले संघर्ष गरेर बाँच्न सिकाउने मानव एक प्रमुख प्राणी हो । अरु प्राणीहरुलाई जन्मजात सिप र क्षमता प्रदान गर्ने प्रकृतिले मानवलाई सधै भरी सघंर्ष गरेर बाँच्ने शक्ति दिएको छ । त्यही शक्तिलाई पछ्याउदै मानवले अनवरत संघर्ष गरिरहनु पर्दछ । मानव जीवनका हरेक पाइला–पाइलामा संघर्ष अनिवार्य नियम बनेको छ । चाहे त्यो प्राचिन कालदेखि आधुनिक बैज्ञानिक काल सम्म पनि यो निरन्तर चलिरहेको छ । पहिला प्रकृतिसँग लड्न विवश हाम्रा पुर्वजहरु अहिले प्रकृतिसँगै मानव समुदायसँगै विभिन्न समस्या समाधानका लागि लडिरहनु परिरहेको छ । ती समस्याहरु मध्ये मानव बेचबिखन अहिले जल्दोबल्दो समस्याका रुपमा देखिएको छ । मानवले आफ्नो स्वार्थ पूर्तिका लागि अमानवीय ढङ्गले मानव शरिर र विभिन्न मानविय अंगहरु बेचबिखन गर्ने गरेको पाइन्छ । यस विरुद्ध चालिने अभियान नै मानव बेचविखन विरुद्धको अभियान हो ।
मानव बेचबिखन जघन्य अपराध हो । मानव बेचबिखन भनेको कुनै पनि उद्देश्यले मानिसलाई बेच्ने वा किन्ने भन्ने बुझिन्छ । अर्को अर्थमा कुनै पनि व्यक्तिलाई जर्बजस्ती तथा धोका दिएर शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्यलाई नै मानव बेचबिखन तथा ओसार पसार भनिन्छ । मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस धेरै छन् । यस्ता काम हुनुका कारणहरु पदको दुरुपयोग, पैसाको विषयमा चेतनाको कमी, रोजगारीको अवसर कम हुनु आदि हुन् । यसबाट मानिसलाई बेचिने, ठगिने र बिचल्लीमा पारेका छन् । यसबाट अनेक प्राणघातक रोगहरु फैलिएका छन् । र विसङ्गति बढ्दै गएको हुनाले, यसले गर्दा मानिसको शारीरिक तथा मानसिक रोग बढ्ने गरेको र छरछिमेकबाट पनि हेपिनु पर्ने भएको छ । यस्ता क्रियाकलाप कहिले धेरै ठाँउमा फैलिएको छ । त्यसैले यसलाई जल्दोबल्दो विषय पनि भन्ने गरिन्छ । स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । कुनै प्रकारको शासकिय बाधा, रोकावट, बन्धन आदि नभई उचित तथा सङ्गत काम र व्यवहार स्वयम् गर्न पाउने अधिकार वा शक्तिलाई नै स्वतन्त्रता भन्ने गरिन्छ । जस्तैः स्वतन्त्र रचना, स्वतन्त्र मतदान आदि हुन् । अर्को अर्थमा स्वतन्त्रता भनेको अरु कसैको बन्धन, दबाब, अधिन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयम् सोची बुझी काम गर्न सक्ने वा पाउने भन्ने बुझिन्छ । स्वतन्त्रता भनेको मानिसको अभिन्न अङ्ख हो । स्वतन्त्रता विना मानिस सफलता पूर्वक बाच्न सक्दैन् । जुनैसुकै अधिकार चाहे मानव अधिकार होस् वा बाल अधिकार महिला अधिकार होस् वा श्रमको अधिकार यिनीहरु सबैमा स्वतन्त्रताको कुरा आइ नै हाल्छ । मानिसहरु चाहे साँस्कृतिक वातावरणमा हुर्केको होस् वा चाहे राजनीतिक वातावरणमा, उनीहरुलाई जे काम गर्न र गराउनका लागि पनि स्वतन्त्रता चाहिन्छ । मानिसको आशा नै स्वतन्त्रताका आधारभूत कुरा परिपूर्ति हुनु हो । स्वतन्त्रता मानिसलाई आवश्यक छ । तर, अहिले स्वतन्त्रताको निहुँमा दिनँहु मानव बेचविखन, हिंसा बढ्दै गएको छ । मानिसले मैले जे पनि गर्न पाँउछु भन्ने सोच भएकाले प्रति दिन यस्ता क्रियाकलापहरु बढिरहेका छन् । मानिस भएर जन्मेको कारण विश्वको जुनसुकै पनि मानिसलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । मानवलाई न्यूनतम मानविय मर्यादा सहित हुर्कन, बाँच्न र जीवनयापन गर्ने अधिकार सम्पूर्ण मानिसहरुलाई कानूनले नै दिएको हुन्छ ।
मानव बेचबिखन र ओसारपसार राम्रो काम दिने प्रलोभनमा पारेर विदेश लैजाने भनि ढाटेर वा जीवनस्तरमा पनि परिवर्तन आँउछ । र सँधै गरिबीको भुमरीमा नपरी उज्यालो भविष्य बनाइ दिन्छौ भन्ने आदि योजना बनाएर वैदेशिक रोजगारका लागि वा उ भएको ठाँउदेखि टाढा लगेर उनीहरुलाई उहीँ बेच्ने काम अथवा उनीहरुको अस्मिता लुट्ने र उनीहरुको अङ्खहरु बेच्दिने आदि गरेको पाइन्छ । यसरी जाने व्यक्तिहरु कुनै न कुनै रुपबाट मानव बेचबिखन तथा ओसार पसारको शिकार भइरहेका छन् । महिलाहरुले झनै निच काम गर्नुपर्ने, उनीहरुको स्थिति झनै संवेदनशील छ । यस्ता अपराधलाई न्यूनिकरण गर्न हरेक वर्ष जुलाई ३० मा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । महिला र बालबालिका धेरै बेचबिखन र ओसार पसारमा पर्ने भए पनि अहिले पुरुषको संख्या पनि बढ्दै गएको छ । अहिले महिला वा बालबालिका मात्र नभई अब जो–कोही बेचबिखन तथा ओसार पसारको शिकार भइरहेका छन् । मानव बेचबिखन एक अपराध मात्र नभएर, यो मानव अधिकारको हनन तथा मानिसको स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो । मानब बेचबिखन र ओसार पसारबाट भएका पीडितहरुको उद्दार, संरक्षण, सहयोग र समन्वय गर्न आवश्यक छ । मानब बेचबिखन विरुद्द जनचेतनामुलक र सशक्तिकरणका कार्यक्रम संचालन गर्नुपर्छ । विदेशमा बसेर मानव बेचबिखन र अपराध गर्नेहरूलाई समातेर ल्याउन विभिन्न कानुन, सन्धि, वैदेशिक सम्बन्ध लगायतका जटिलताका कारण कठिनाइ छ । बेचबिखनमा परेका व्यक्तिको उद्धारमा पनि स्पष्टता छैन । मानिसको किनबेचमा संलग्नलाई बढीमा बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने व्यवस्था ऐनले गरेको छ । यो कानुनको महत्वपूर्ण पक्ष उजुरीको कुनै हद म्याद तोकिएको छैन र जो सुकैले पनि उजुरी गर्न सक्छ ।
यस्ता कार्यलाई नियन्त्रण गर्ने उपायहरु नेपालमा नै रोजगारीको अवसर दिलाउने, पारिवारिक पुर्नमिलन गराउने, समाजमा समायोजन गराउने, राज्यका संयन्त्रलाई सशक्त बनाउने, सबै सामु शिक्षा र चेतनाका लहरहरु पु¥याउने, शैक्षिक पाठ्यक्रमलाई व्यवसायिक र रोजगारमूलक बनाउने, गरिबी निवारण अभियानमा लाग्ने, सबै एकजुट भएर यस कार्यलाई नियन्त्रणमा लिनु पर्छ । कानूनी प्रावधान बलियो बनाउने र उचित कार्यान्वयन गर्नुपर्छ । यस्ता अपराधलाई नियन्त्रण गर्न परिवारदेखि सामाजिक संघ संस्था, स्थानीय तह, सरकारको सहयोग आवश्यक पर्दछ । यस्ता समस्याबाट मुक्ति दिलाउने संघ संस्था, व्यक्ति आदिलाई समाज तथा राज्यले प्रोत्साहन दिनुपर्दछ । मानव बेचविखन र ओसार पसार तस्कर गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार र कडा सजायको व्यवस्था गर्नुपर्छ । कोही मानिस पनि दलाल व्यक्तिसँग नजिक हुने, ललाई, फकाईमा पर्ने गर्नु हुदैन । सामाजिक, साँस्कृतिक क्रियाकलापमा पनि रवाफ देखाएर अरु माथि हिंसा गर्ने व्यवहारको अन्त्य हुनु पर्दछ । यसैगरी अर्काको देखासिकी गर्ने र भ्रमको खेती गर्नेहरुदेखि सदैव टाढा रहन सक्नु पर्दछ । तबमात्र यस्ता समस्याबाट बच्न सकिन्छ ।