सरोजराज पन्त
अहिले समाज सामाजिक सञ्जालबाट आक्रान्त बन्र्दै गएको छ । अहिलेको समयमा भाइरल बन्ने नाममा भए गरेका हर्कतबाट अनभिज्ञ रहने हामी सायद कमै छौ होला । हामीहरू माझ विभिन्न सामाजिक सञ्जाल मध्ये फेसबुक, युट्युब निकै लोकप्रिय रहेको छ । बच्चादेखि बुढासम्मले निकै सक्रियता देखाउँने सामाजिक सञ्जाल आधुनिक समाजकालागि वरदानमात्र नभई अभिशाप पनि बनेको छ । विज्ञान प्रविधिसँग समयानुकुल परिचित हुनु एकदम राम्रो कुरा हो । बर्तमान सामाजिक सञ्जाल फेसबुक, युट्युबले विश्वका मानिसहरुलाई एकापसमा चिनाउने तथा नजिक बनाएको छ । यसैगरी समाजमा लुकेर रहेका विभिन्न प्रतिभालाई बाहिर ल्याउने कामसँगै विकृति विसङ्गतिहरूलाई सबै सामु उजागर गरेर सम्पूर्ण नागरिकहरूलाई सचेत बनाउने कार्य पनि गरेको छ । तर हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन । सामाजिक सञ्जालका पनि सकरात्मकसँगै नकारात्मक पक्ष पनि उत्तिकै रहेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न अति उत्तम हुने कुरामा सायदै दुई मत हुदैन होला । आजभोलि सामाजिक सञ्जालले मानवीय संवेदनालाई हराउँदै र बिर्सिर्दै गएको देखिन्छ । आफू र आफ्नाहरू माझ रम्न छोडेर मानिसहरू हर समय सामाजिक सञ्जालमै व्यस्त हुन थाल्नुले यसको पुष्टाई गर्दछ । घरदेखि अफिससम्म बाटोदेखि शौचालयमा जाँदा र रहँदासम्म पनि मानिसहरुले आफूलाई यसबाट टाढा राख्न सकेका छैनन् । मानिसहरू वास्तविक जीवनको रमझमबाट पर पर हुँदै सामाजिक सञ्जाल फेसबुकको काल्पनिक दुनियाँसँग नजिकिँदै छन् । दुनियाँ जोड्ने सामाजिक सञ्जालले आजकल धेरैको घर, परिवार, नाता सम्बन्ध तोड्ने काम गरेको छ । पारिवारिक माया मोह, स्नेह र सम्बन्धलाई कमजोर बनाउँदै गएको छ । बाहिरबाट हेर्दा सबै एउटै छानामुनि बसेपनि, एकै परिवार भित्र सबैको छुट्टै छुट्टै सन्सार बनाइ दिएको छ । मानिसहरू सामाजिक सञ्जालमा यतिसम्म आश्रित र लिप्त भएका छन् कि उनीहरूलाई नाता कुटुम्बको त परै जावोस आफ्नो जीवनको समेत प्रवाह गर्न छोडेको छन । बिहान उठेदेखि आधारातसम्म सामाजिक सञ्जालमै तल्लीन हुन थालेका छन ।
अहिले परिवेश फेरिएको छ । पहिले आफन्त भेटघाट हुँदा दुःख सुखका कुरा गरी गन्धन मन्धन गरी रात बित्थ्यो । आजकल घरमा कोही पाहुनाको आगमन सन्चो बिसन्चो हालखबर सोध्नु भन्दा पहिला भन्दा पहिले यहाँ वाइफाइको पासवर्ड छ कि छैन र पासवर्ड के हो भनेर सोध्ने गरिन्छ । वाइफाइमा पासवर्ड जोडेर सामाजिक सञ्जाल फेसबुक भएपछि पाहुना आएको हो कि कुनै शोकसभामा भेला भएको हो छुट्टाउन गाह्रो हुने अबस्था आएको छ । तर हिँड्ने बेला लिइएको तस्बिर जब सामाजिक सञ्जालमा पोष्ट हुन्छ तबमात्र प्रस्ट हुन्छ आफ्नोमा कोही पाहुना आएका रहेछन् ।
अहिले मानिसलाई फेसबुकमा तस्बिर देखाउने हतारो यतिसम्म हुन्छ कि कोही मानिस दुर्घटनामा परेर चिच्याउदै गरेको छ भने त्यहाँ उसको करुणा पुकार सुनेर सहयोग गर्नेभन्दा उसको कारुणिक तस्बिर लिन र पोष्ट गर्न हतारो हुन्छ । कुनै पनि गम्भिर समस्यामा पनि यस्तो लाग्छ तेहा कुनै फिल्मको सुटिङग चलिरहेको छ । कोही मानिसको मृत्यु भयो भने लासको फोटो मिलाई मिलाई खिचेर रिप लेख्दै आफ्नो फेसबुकमा पोस्ट गर्न हतारो गर्दछन् । मृतकको आफन्तले देखे उनीहरूको हृदयमा कस्तो चोट पुग्छ भन्ने पटक्कै हेक्का नराख्ने प्रवृत्ति हावी भएको छ । कोही मानिस बिरामी भेट्न आएमा उनीहरूलाई बिरामीको हालत जे जस्तो भएपनि एउटा सेल्फी लिने हतारो हुन्छ । बुवाआमाको खबरसम्म नसोध्ने छोराछोरीले आमाबुवाको तस्बिर फेसबुकमा पोस्ट गरेर आमा बुवाको मुख हेर्ने दिन मनाइ रहेका हुन्छन् ।
आज मानिसमा मानवीय संवेदना हराउँदै गएको छ । आफूले नदेखेको व्यक्तिसँग सञ्जालमार्फत च्याटमा बोलेको भरमा मान्छे नाङ्गो हुर्दै गएको छ । कतिपय युवायुवतीहरू सामाजिक सञ्जालको माध्यमबाट झुटो विवाह बन्धनमा बाँधिएका छन् । कतिपय लुट, हत्या तथा मानसिक हिंसाको सिकार भएका छन् । लागु औषध, यौन हिंसा, आत्महत्या आदिको समस्यामा परेका छन । सामाजिक सञ्जालले मानिसको सोच्ने शक्तिमा यतिसम्म ह्रास ल्याएको छ । आजकल मान्छेहरू सबै सामु भाइरल हुने चाहमा जे जस्तो कर्म गर्न पनि पछि परेका देखिदैनन । भाइरल हुने नाममा विभिन्न झुटो नाटकहरू गर्नसम्म पछि परेका छैनन् । सामाजिक सञ्जालले मानवीय संवेदना बिस्तारै हराउँदै गएको छ । आधुनिक समाज र यहाँका मानिसहरू मानवताको सबै सीमाहरू पार गर्दै पुरै व्यावसायिक बन्न थालेका र अरुलाई पनि सोही देखासिकीबाट प्रभावित गर्न तत्पर देखिन्छन् । मानिस भएर अर्को मानिसको भावना, संवेदना, दुख पिडाको व्यापार गर्नमा रमाउने नकरात्मक सोचको विकास भएको छ ।
अहिले सामाजिक सञ्जालमा लिप्त भएर कतिपय आमालाई आफ्नो बच्चा स्याहार्ने फुर्सद पनि छैन । कतिले घर परिवारको रेखदेख गर्न नसक्दा वर्वाद भएपछि पश्चताप गर्ने गरेका छन । कतिपय बुवालाई आफ्नो परिवारलाई दिने समय नहँदा छोराछोरीहरू विभिन्न कुलतमा लाग्ने गरेका छन् । कतिसँग आफ्नो पढाईलाई दिने समय छैन । कतिसँग आफ्नो दम्पतीलाई, आफन्त र साथीभाइलाई दिने समय छैन । सामाजिक सञ्जालको अधिक प्रयोगले आजकल मानिसहरू आफ्नाहरूसँग अपरिचित हुने र पराई माझ लोकप्रिय बन्दै गइरहेका छन् । सामाजिक सञ्जालको माध्यमबाट आजकल कतिपय निर्दोष व्यक्तिको चरित्र हत्या हुने गरेको भने यसबाट आत्महत्या जस्ता समस्या बढदै गएका छन । मानिसहरू स्पष्ट कुरा नबुझी गहन अध्ययन नगरी फेसबुक र युट्युबमा अन्य व्यक्तिको बारेमा बोल्छन् र लेख्दछन अनि उसको बारेमा गलत धारण बनाउँछन । मानिसले अलिकति पनि सोच्दैनन् कि त्यसले पीडित व्यक्तिमा कस्तो असर गर्ला ? उसको सामाजिक इज्जत प्रतिष्ठामा कस्तो दाग लाग्ला ? सामाजिक सञ्जालमा घन्टौ बिताउने मानिस फुर्सदमा भने नभएको तर्क गर्दछन । सञ्जालमा घण्टौ कुरा गर्ने मानिस प्रत्यक्ष भेटमा भने चोसो कम गर्दछन् । यसरी सामाजिक सञ्जालको खराब सञ्जालमा आधुनिक मानिसहरु धेरै हदसम्म कैद भैसकेको छन । अब जति चाहे पनि यो बन्धन सजिलैसँग तोड्न सकिने अबस्था छैन ।
पश्चिम संस्कृति अनुरुप मानिसले आफ्नो लागि मात्र सोच्दछ, जीवनमा आफ्नो खुसी मात्र हेर्दछ । तर पूर्वीय संस्कृतिले आफू भन्दा माथि परिवार, समाजलाई सोच्दछ । व्यक्तिले आफ्नो खुसीको आहुति सहजै दिन्छ र अरुको लागि सोच्दछ । तर अहिले सामाजिक सञ्जालको कारण केटाकेटी देखिनै कपोकल्पित काममा अभ्यस्त हुने चलन आएको छ । वास्तवमा खुसी हुन ठुला र महँगा चिजहरूको आवश्यकता पर्दैन । अलिकति सुझबुझ अपनाएर साना साना कुरामा ध्यान दिँएमा खुसी र सुखी भइन्छ । एउटा आदर्श परिवारको परिकल्पना गर्ने परिवारमा साना साना खुसीलाई महत्व दिन सकेमामात्र परिवार सुखी र सम्पन्न हुन्छ भन्ने कुरामा हेक्का राख्न सञ्जाल बाधक बनेको हो वा होइन गहन अध्ययन गर्न अति आवश्यक भएको छ ।
सामाजिक सञ्जालको प्रयोग गर्नु आजको समयको माग हो र उचित रुपमा प्रयोग गर्नु पर्दछ तर यसको अत्यधिक प्रयोगबाट हाम्रो जीवनमा पर्न नकरात्मक असरबारे हामी समयमा सचेत हुन जरुरी छ । आफ्नो मानवीय संवेदना ह्रास हुनेगरी सामाजिक सञ्जालमा रमाउँदा, हराउँदा र लिप्त हुँदा आफनो भविश्य बर्वाद हुने अबस्था आएको थाह नहुने गरी लाग्नु पक्कै पनि कसैका लागि राम्रो हुदैन । सामाजिक सञ्जालको दुरुपयोगले समाजमा हत्याहिंसा, बलात्कार जस्ता जघन्य अपराधको जन्म दिएको कुरा बिर्सनु हुँदैन । सामाजिक सञ्जालको माध्यमबाट जीवन र जगतकालागि सदैव सकारात्मक कुराहरू सिक्ने तर्फ अब हामी अभिप्रेरित हुनै पर्दछ । सञ्जालको काल्पनिकतामा रम्दैं भुलेर वास्तविक जीवनलाई बर्वाद गर्न छाडेर वास्तविकतालाई अँगालेर हिँड्न सकेमा हामी सबैको जीवनले सार्थकता पाउँने हुँदा यसतर्फ ध्यान दिन, समयानुकुल आफु र जगतलाई बुभ्न कहिले बिर्सनु हुँदैन । त्यसैले एक क्षणलाई भाइरल हुनका लागि सधैको लागि नाङिगने प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।