कृषिता अधिकारी (निशा)
सुन्दा अनौठो र अचम्म लाग्ने तर हामी मानिसहरुलाई धेरै फाइदा दिने नेपालमा पनि केही यस्ता जडिबुटीहरु छन् जसलाई कमै मानिसहरूले मात्र चिनेका हुन्छन ।
इतिहासको कुरा गर्ने हो भने पहिला ऋषिमुनिहरुले विभिन्न आयुर्वेद बनाउने गर्थे रे । गाउँघरमा कोही बालबालिका बिरामी हुँदा वैद्य कहाँ जाने गर्दथे । हिजो तिनै आयुवर्देले निको भएका हाम्रा बाजेबजैले अझै पनि परम्परागत रुपमा मानिदै आएका जडिबुटीहरु प्रयोग गर्दछन ।
कतिपय अवस्थामा भन्ने हो भने डाक्टरले दिएको औषधिले भन्दा हाम्रै जंगल पाखा पखेरा अथवा खेतवारिमा पाइने जडिबुटीले निको हुने गर्दछ । हुन त समय परिवर्तन भइसक्यो आजको डक्टरी युगमा पनि पुराना जडिबुटीले के काम गर्ला र भन्ने लाग्ला तर कतिपय अवस्थामा औषधिले निको नहुने बिरामीहरु विभिन्न जडिबुटीले पनि निको भएका छन ।
सुन्दा अचम्म र अनौठो लाग्ने जडिबुटीहरु के कस्ता खालका हुन्छन् त नेपालमा कस्ता कस्ता खालका जडिबुटीहरु पाइन्छन र तिनले के–के कुरामा फाइदा दिन्छन् ती सबै अबका पुस्ताहरुले पनि जान्नु अति आवश्यक छ ।
वास्तवमा भन्ने हो भने आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालमा वैदिक आयुर्वेदलाई मान्ने चलन थियो । जसमा गाउँ घरमा जान्नेमान्ने मानिसलाई वैद्य व्यवस्था गरिएको हुन्थ्यो । तिनै वैद्यहरुले आयुर्वेदिक उपचार विधि अनुसार बिरामीको अवस्था हेरेर विभिन्न जडिबुटी खुवाउने चलन थियोे ।
विषेशगरी गाउँघरमा कसैलाई कुनै किसिमको रोग लागेको खण्डमा आफ्नै खेतबारी, जंगल र पहाडमा पाइने जडीबुटीहरूको प्रयोग गरी उपचार गर्ने परम्परा रहेको थियोे अर्कोतिर गाउँको कसैलाई गानो गोला, ज्वरो, जण्डिस, अरूची, ग्यास्ट्रिक र हातगोडा सुन्निएका बिरामीहरुले यही विधिबाट उपचार गर्दै आएका छन् ।
किनकि त्यतिबेलाको समयमा हाम्रो समाज विकसित भएको थिएन र अहिले जस्तो अस्पतालहरु पनि थिएन । त्यसैले जडीबुटीहरुको उपलब्धता, प्रयोग र मात्राका सम्बन्धमा हाम्रो गाउँघरमा हाम्रा बाजेबजैलाई परम्परागत ज्ञान भएको पाइन्छ ।
नेपालमा पाइने सबै प्रकारका जडिबुटी मध्ये शिकारीलहरो पनि एक हो । यो लहरो विशेषगरी गरि सड्के मड्केको तथा फुटेका चर्केका हड्डीहरुलाई जोड्ने विशेषता रहेको शिकारीलहरो खासगरी मध्येपहाडी भेगको १००० मी. उचाइको सेरोफेरोमा भेटीने गरेको पाइन्छ ।
निकै अप्ठ्यारा पहरामा बिरलै भेटिने यो लहरा रातो खैरो रङ्गको हुन्छ । पात फराकिलो हल्का लाम्चो आकारको बाक्लो र हरियो हुन्छ, पात देखि काण्डको भाग गाढा रातो हुन्छ, र यसको प्रयोग गर्दा राम्रोसँग सुकाई पिसेर धुलो पारि उक्त धुलो नौनिघिउ या दुधसँग लगातार १ हप्ता सम्म खानाले भाचिँएका हड्डी वा च्यातिएका मासुहरू जोडिने गरेको हाम्रा बाजेबजैको भनाइ रहेको छ ।
कुनै समयमा अस्पताल नहुँदा रुख तथा भिरबाट खसेका, हात खुट्टा भाँचियका सबैलाई बिरामीलाई यहि लहरो खुवाए पछि जस्ताको तस्तै हुन्थे रे त्यस्तै वस्तुभाउले खुट्टा भाँचे भने पनि यो लहरो खोजि खोजि खुवाउने चलन थियो रे र यो चलन हाम्रो गाउँघरमा अझैपनि छ । किनकि हाम्रो पूरानो पुस्ता हाम्रा हजुरबुबा हजुरआमाले अझैपनि दुर्घटना भएका आफन्त भेट्न आउदा यो लहरो सके सम्म ल्याउने चलन छ र यो शिकारी लहरो सेवन गर्न सल्लाह पनि दिने गरेको पाइन्छ ।
यो सँग हार्डचुर्ण मिसाई खाँदा अझै प्रभाकारी हुने गर्दछ । साच्चै नै यति महत्त्वपूर्ण जडिबुटी नेपालमै पाप्त गर्न सकिन्छ तर कतिपय आम मानिस तथा नयाँ पुस्तालाई यसको बारेमा थाहै छैन र मलाई पनि थाहा थिएन यो जडिबुटीको नाम सुन्दा मलाई पनि अचम्म लाग्यो र यसको बारेमा अध्ययन गर्न थाले वास्तवमा भन्ने हो भने हामी सबैले नेपालमा पाइने जडिबुटीको बारेमा जानकारी राख्नु जरुरि हुन्छ ।
त्यसैगरी शिकारी लहरा र त्यसको जरा टाउको दुखेको उपचारको लागि प्रयोग गरिन्छ । हड्डी भाचिएमा र मर्किएमा यसको लहरालाई घाममा सुकाउने र सुकेको लहरालाई ढिकीमा कुटेर पीठो बनाई चामलको पीठोसँग मिसाएर पुवा वा रोटी बनाएर खाने गरिन्छ ।
अर्कोतिर अहिलेको समयमा भन्ने हो भने यी र यस्ता नेपालमा पाईने जडिबुटीहरु जस्तै ः– रुदिलो, डाडुझार (ठूलो खाले), गन्धेझार, वासुकी, गुर्झो, बिरालेको लहरा, पुरानेको लहरा, हडचुर, शिकारी लहरा, थिर्चो, कन्धने लहरा, हरचुल, आकाशबेली झार, गाइखुरे, सुनगाभा÷झ्याउ फूल, जटामसी, भोल्टाप्रा जस्ता जडिबुटीहरु हराउँदै गएका छन ।
तसर्थ, विश्वमा प्रचलित विभिन्न चिकित्सा पद्धतिहरु मध्ये आयुर्वेद चिकित्सा पद्धति सबैभन्दा पुरानो र भरपर्दो चिकित्सा पद्धति हो, जुन शाश्वत, अनन्त र अनादिकाल सम्म रहन्छ ।
किनकि रोग लागेको ब्यक्तिको रोग र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने बहुआयमिक सिद्धान्तको उद्घोष गर्दै पूर्वीय सभ्यताको प्रादुर्भाव सँगै विकसित भएको अवस्था छ किनकि विश्वमा दिन प्रतिदिन बढ्दै गइरहेको नयाँ–नयाँ रोगहरुको निवारणको लागि र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षाको लागि केवल एउटा चिकित्सा पद्धतिबाट मात्र सम्भव नहुने कुरा विश्व स्वास्थ्य संगठनले समेत स्वीकारी सकेको यस पनि परिप्रेक्ष्यमा आयुर्वेद चिकित्सा पद्धतिको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको अवस्था छ ।
तर समयपरिवेश संगै अधिकांश मानिसहरुको भनाइ के रहेको छ भने आयुर्वेद चिकित्सक पद्धति परपूर्वकालमा थियोे आधुनिक समयको सुरुवात भएसंगै हामीले आयुर्वेद भन्दा पनि डक्टरि औषधि प्रयोग गर्नुपर्छ । त्यसैले पनि अहिलेको परिवेशमा आयुर्वेद पद्धतिलाई खासै ध्यान दिएको पाइदैन ।
वास्तवमा गहिरो अध्ययन अनुसन्धान पश्चात् आयुर्वेद जीवनसँग सम्बन्धित एउटा विज्ञान हो । जसमा हाम्रो जीवनको संरक्षण संवद्र्धन सम्बन्धी सम्पुर्ण ज्ञानहरु उल्लेख गर्दछ भने आयुर्वेद पद्धतिले हाम्रो जीवनको संरक्षण संवद्र्धन पनि गर्दछ । जहाँ चिन्तन–मनन, अध्ययन र अनुसन्धानको प्रक्तिया योग्यता र आवश्यकता अनुरुप चल्दै आएको छ । आयुर्वेद सम्बन्धि ग्रन्थहरुको रचना, दुर्लभ ग्रन्थहरुको संरक्षण, अनुवादन, लेखन र अनुसन्धानको क्रम मन्द गतिले भएपनी चलेको पाईन्छ ।
साच्चै नै हामीले चिन्न सक्ने हो भने हाम्रै खेतवारि वन पाखामा प्रशस्त मात्रामा जडिबुटी प्राप्त गर्न सकिन्छ यसका लागि आयुर्वेद चिकित्सा पद्धतिलाई प्रभावकारी बनाउनु पर्दछ ।
अर्कोतिर यदि हामीले आयुर्वेद पद्धतिलाई प्रोत्साहन गर्ने हो भने विदेशबाट आयातित गर्नै पर्दैन पुरानो परम्परागत विधि कुनै समयमा प्रचलनमा थियोे तर त्यसलाई विस्तार गरि आज आयुर्वेद चिकित्सा अस्पताल बनेको अवस्था तर आम मानिसको बुझाइमा निकै फरकपन पाउन सकिन्छ त्यसैले उपचार चाहे जुन पद्धतिको होस चाहे विश्वास होस वा नहोस तर हाम्रो नेपालमा पाइने यी र यस्ता जडिबुटीहरुको बारेमा अध्ययन अवलोकन हुनु जरुरि छ अबका पुस्ताहरुले पनि खोज्ने वेला आइसकेको छ ।