शुभेच्छा पन्त
नेपाल एक बहुभाषी, बहुधार्मिक र बहुजातीय देश हो । यहाँ मनाउने विभिन्न चाडपर्व, मेला, महोत्सवको कारण नेपाललाई महोत्सवहरूको देश पनि भनिन्छ । प्रत्येक दिन एक वा अर्को समुदायको लागि उत्सवको दिन हुन्छ । सबैको राम्रो पक्ष भनेको एकको आफ्नो संस्कृतिमा गर्व हो र अर्कोको लागि सम्मान हो । यही कारणले गर्दा यी असंख्य संस्कृति र चाडपर्वहरु मिलेर मनाउने गरिन्छ । चाडवाड भनेको साधारणतया कुनै समुदायले मनाउने धर्म वा संस्कृतिमा केन्द्रित हुने विषय हो । धेरै प्रकारका चाडहरूले मानिसलाई मनोरञ्जन प्रदान गरेको हुन्छ । प्रत्येक वर्ष नेपालमा ५० भन्दा बढी उत्सवहरू मनाइन्छन् । सामान्यतया राष्ट्रिय चाडहरू केहि निश्चित मितिहरूमा मनाउँदछन् । नेपाल सांस्कृतिक विविधतामा धनी रहेको छ । नेपालमा चाडपर्वहरु धार्मिक पक्षबाट सुरु हुन्छन र आशीर्वाद खुशीको साथमा परिवार तथा आफन्तजनबाट लिइन्छ ।
हामी अहिले विभिन्न चाडपर्वको समयमा छौं । चाडपर्व मनाउनको लागि यात्रामा पनि छौं । यस क्रममा सधैँजसो बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै यसको प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मारमा परिरहेका छौं । यसको लागि मिडियाहरुमा आउने आकर्षक विज्ञापनहरुको भूमिका अहम रहेको छ । हाम्रा चाडपर्वहरुका बेला खाद्यवस्तुको मूल्यवृद्धि देखि कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति पटक पटक दोहोरिन्छ । मिसावट बस्तु तथा व्यापार झनै फस्टाउँछ । विशेष गरी नयाँ वर्ष, आमाबुबाको मुख हेर्ने दिन, दसैँ, तिहार, छठ, माघे सक्रान्ति, क्रिसमस आदि पर्वमा गुणस्तरहीन अखाध्य पदार्थ मिसिएका मिठाइहरु तीव्र गतिमा बिक्रि हुने गर्दछन् । बजारमा वनाउने, ल्याउने र बिक्रि गर्ने सामानहरुमा यस्तो समस्या सधैं रहि रहेका छन ।
नेपालका केही प्रमुख चाडहरू दसैं, तिहार, माघे संक्रान्ति, लोसार, महा शिवरात्री, फागु पूर्णिमा (होली), बुद्ध जयंती र तीज आदि रहेका छन् । नेपाल एक विविधता भित्र अनेकता भएको देश हो जहाँ विविध परिदृश्य, धनी जैव विविधता र त्यहाँ बस्ने मानिसहरूका विविध संस्कृति छन् । प्रत्येक समुदायले उनीहरूको अनौठो संस्कृति र परम्परा राख्छ जुन उनीहरू शताब्दीयौंदेखि पछ्याइरहेका छन् । ती मध्ये प्रत्येकको आफ्नो विश्वास र चाडहरु छन् ।
मानवको रूपमा हामी हाम्रो जीवनयापन र अस्तित्वको लागि हामीले यो समाजमा विभिन्न संस्कृतिहरू, परम्परा, संस्कारहरू, रीतिरिवाजहरू अपनाउदै आएका छौं । सामान्यतया, चाडपर्वलाई ती परम्पराहरू भनिन्छ, जुन हाम्रो महिमा र पहिचानसँग मिल्दोजुल्दो हुन्छ । नेपालको सन्दर्भमा आजको आधुनिक पुस्ताले हाम्रो संस्कृति, परम्परा र चाडपर्वहरूलाई उत्तम नभई असभ्य बनाएको छ । आधुनिकीकरणको कारणले चाडपर्वहरूको मान नकरात्मकतातिर झरेको छ ।
नेपाल मौलिक चाडपर्वले विश्वमा नै धनी मुलुकको रुपमा चिनिने गरेको छ । संरक्षणका अभावमा कतिपय चाडपर्वहरु लोपान्मुख अवस्थामा पुगेका छन् भने धेरै चाडपर्वहरुमा विकृति मिसिएका छन । धार्मिक ग्रन्थमा लेखिएका चाड पर्व मनाउने पद्धति पछिल्लो समय फरक भएको छ । नेपाली मौलिक चाडपर्व तथा सांस्कृतिक पर्वहरु मनाउने शैली फेरिएसँगै यसमा विभिन्न किसिमका विकृति मिसिएका छन् । नेपालमा मुख्य गरि मनाइने पर्वहरुमा दसैँ, तिहार, तीज, जनैपूर्णिमा तथा समुदायमा आधारित साँस्कृतिक मूल्य र मान्यताहरुमा समेत धेरै विकृति फैलिने गरेको छ । हाम्रा साँस्कृतिक पर्वहरुमा भएका कुरितीलाई हटाउँदै सभ्य तरिकाले मनाउनु पर्नेमा पछिल्लो समय झन् विकृति थपिएर जटिल बनाएको छ । अहिले चाडबाड घरमा नमनाएर होटल, पार्टी प्लेसमा मनाउने गतिविधि बढेको छ । मानिसले आफ्नो संस्कृति बिसेर छाडापनसँगै विकृति भित्रिएको छ ।
चाडवाडमा विकृतिसँगै अनावश्यक खर्च गर्ने चलन पनि आएको छ । चाडबाडमा अनावश्यक खर्च गर्नु राम्रो होइन । हामीले सामान्य ढङ्गबाट चाडबाड मनाएर पनि संस्कृति जोगाउन सजिलै सकिन्छ । चाडपर्वका नाममा फजुल खर्च गर्दैमा हाम्रो संस्कृति जोगिदैन् । अरु घोडा चढे भनेर आफू धुरी चढ्नु मुर्खता हो । चाडपर्व हाम्रो संस्कृति हो र यसमा हामीले आफ्नो हैसियत हेरेर खर्च गर्नुपर्छ । मानिसहरु नयाँ लुगा लाउने र मीठो खाने गर्छन् । त्यो गरेर मात्र मानिस ठुलो भइँदैन् । शुद्ध मनले चाडपर्वहरु मनाउनु पर्दछ र घाँटी हेरी हाड निल्ने काम गर्नुपर्छ ।
चाडपर्व मनाउनुपर्छ, त्यो चलिआएको संस्कृति हो तर कतिपय मानिस जुवा, तास र जाँड रक्सीमा अनावश्यक खर्च गर्छन् । त्यो चाहिँ विकृति नै हो । कुनै पनि धर्मले आफ्नो चाडवाडमा धेरै खर्च गर्नु भनेको हुदैन । आफ्नो आर्थिक स्थितिले भ्याएसम्म मात्र हामीले खर्च गर्नुपर्छ । दुई दिन मनोरञ्जन गरेर धेरै क्रृण गर्नुभन्दा जेजस्तो छ, त्यहीँ खानु पर्छ । यदि आफुसँग धेरै पैसा छ,, भने हामीले समाजका रोगी, असहाय, गरिब, बाल–वृद्धालाई सहयोग गरेमा पुण्य कमाउनु पर्छ । चाडपर्व महँगा गहना लगाउने चलन छ र गहनाको निहुँ चोरी, डकैति, अपहरण जस्ता गतिविधि बढेका छन् । यसले गर्दा समाजमा असमानता सिर्जना भएको छ । अहिले भने मानिसहरुको ध्यान चाडपर्व मिलेर मनाउनु, ठुलाबडाको आर्शिवाद लिने भन्दा पनि कसरी तडकभडक देखाउने,अरुको भन्दा राम्रो गहना, महङगा लत्ता कपडा, लुगा लगाउने भन्ने होडबाजी हुने गरेको देखिन्छ ।
प्रत्येक मानिसको जीवनमा चाडपर्वहरूको महत्वपूर्ण भूमिका रहन्छ । चाडपर्वहरूमा परिवारका सबै सदस्यहरू एक ठाउँमा भेट्छन्, उत्सव सँगै मनाउनुहोस् । चाडपर्व गौरवशाली सम्पदा, संस्कृति र परम्परा संरक्षण गर्ने एक महत्वपूर्ण माध्यम हो । चाडबाड भनेको आफन्तजनसँग दुख सुखका कुरा पोख्ने, भेटघाट गर्ने भावनाहरू आनन्दित समय हो । चाडपर्वका दुबै सामाजिक र आर्थिक कोणहरू छन् । चाडपर्वहरूले हामीलाई हाम्रा सबै चिन्ताहरू बिर्सने र जीवनको सकारात्मक पक्षको उत्सव मनाउने अवसर दिन्छन् । चाडपर्वहरूले तनाव कम गर्ने जस्ता कार्य गर्दछ र हाम्रा भावनाहरूमा सन्तुलन राख्न मद्दत गर्दछ ।
अहिले तीजका नाममा आधुनिकताको प्रवेश भयो । परम्परागत चलनलाई अहिले अस्वस्थ प्रतिष्प्रर्धा गरी पाटिप्यालेसले प्रबेश पायो र मौलिक तीज गीतसंगीत भन्दा फरक गीत गीतसंगीतले ठाउँ लिन पुग्यो । तीजका नाममा फजुल खर्च गर्ने थालियो । महङगा सारी, चोली, चुरा, पोते, आधुनिक आभूषणको प्रयोगले समाजमा विभेद, असमानता, विकृति, विसंगती, अस्वस्थ्य प्रतिष्प्रर्धा कायम हुन पुग्यो । गाउँघर पाइने मकरकाँची, मजेत्रो, हल्दी, तिउरी, दूवो, कपुर, चन्दन आदिको सम्मिश्रणबाट तयार पारिएको मेहन्दीले भन्दा धेरैले आधुनिक रसायनयुक्त मेहन्दीको प्रयोगले विभिन्न खालका चर्मरोग लाग्ने गरेका छन जसले गर्दा अनावश्यक खर्च र परनिर्भरता बढेको छ । परिवारमा एकताभन्दा विचलन, अन्तर हिंसा, द्घन्द्घ, सम्वन्ध बिछेद र आत्महत्याका घटनाहरु बढेका छन ।
चाडपर्वमा समुदायहरूको सहभागिताले समुदायमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र वातावरणीय प्रभाव ल्याउँदछ । जबकि केही समुदायहरू घटनाबाट आर्थिक स्रोतहरू प्राप्त गर्न खोजिरहेका छन्, केही अन्यले आफ्नो बाँकी समाजबाट राजनीतिक र सांस्कृतिक मान्यता खोजिरहेका छन् । समाजजे संस्कृति पक्षलाई मान्यता दिन्छ तर मानिसहरु अरुलाई देखाँउन फजुल खर्च गर्छन् । आफ्नो हैसियत वा क्षमता अनुसार चाडपर्व मनाई, संस्कृति जोगाउने तर्फ हामी सबै लाग्न आवश्यक छ ।