सरोजराज पन्त
नारीहरुको महान पर्व तिज अहिले नारीको हितमा छ वा छैन ? एक गहन बहसको बिषय बनेको छ । हरेक बर्ष भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी वा बुबाको मुख हेर्ने दिन देखि ऋषिपञ्चमीसम्मलाई परम्परादेखि तिजका रूपमा मनाउने प्रचलन रहदै आएको छ । पछिल्लो समय साउने संक्रान्तिबाट तिज मान्ने प्रचलन नेपाली समाजमा बढेको छ । त्यसो त कतिपयले दरखाने दिनदेखि ऋषिपञ्चमीसम्मलाई मात्र तिजका रूपमा मान्ने गरेका छन । दर खाने, व्रत बस्ने र ऋषिपञ्चमी पूजा गर्ने कार्य परम्परागत रुपमा तिजसँग जोडिएका कार्यहरु हुन् ।
अहिले नेपाली समाजमा तिज मनाउने मौलिक परम्परा फेरिएको मात्र छैन । यसको अवधि पनि लम्विएको छ भने घर, मठमन्दिर, चौतारी, चौर, सार्वजनिक स्थलमा महिला दिदी बहिनीहरु जम्मा भई गीतसंगीतका माध्ययमबाट दुःख सुख साटासाट गर्ने, समाजमा व्याप्त सामाजिक विकृति र विसंगतिको उजागर गनर्,े गीत संगीत र नाचगान गरी रमाइलो गर्ने चलनलाई अहिले पाटिप्यालेसमा प्रवेश भयो । मौलिक तिज गीत संगीत भन्दा फरक गीत गीतसंगीतले ठाउँ लिन पुग्यो र महिलाहरू सामूहिक रुपमा जम्मा भई एकापसमा सुखदुःख साट्ने र रमाउने तिजमा आधुनिकताको प्रवेश भयो ।
नेपाली नारीहरूको उत्साह, उमङ्ग र स्वतन्त्रताको आवाजको तिज हो । तिज घरमा गुम्सिएर बसेका भावनाहरू हुरूरूरु प्रस्फुटन गर्ने अवसर हो र पहिले यो कार्य तिजमा हुन्थे । तिज श्रीमानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको लागि निर्जला व्रत बस्ने परम्परा मात्र होइन । तिज शान्ति, आनन्द, धैर्य, साहस, त्याग, समर्पणसँगै सेवाको भावना जागृत गरी जीवन जिउँने कला सिकाउने पर्व हो । तर अहिले त्यस्तो तिज रहेन । सामाजिक, धार्मिक र जातीय एकतासँगै घरको पर्खालभित्र दबिएर बसेका महिलाहरूको आत्मविश्वास जगाउँने पर्व तिज हो । यस्तो विराट क्षेत्रलाई ओगटेको तिजलाई मात्र मनोरञ्जनको आँखिझ्यालबाट हेर्नु डगी डान्समा मनाउँदा कतिको न्यायपूर्ण हुन्छ होला ? यो पर्वको कसरी सम्मान हुन्छ ? अभाव, दुःख र पीडाहरूका बिच निकै हर्सोउल्लासका साथ तिज गीत रचिन्थ्यो । नारीहरूको व्यथाहरूलाई कविता र गीतको माध्यमबाट अभिव्यक्त गर्ने चाड तिज अहिले रहेन ।
त्यसैले हिजोआज तिजका कार्यक्रमहरू आलोचित भइरहेका छन् । तिजको मर्मर भावना बिपरित रमाइलोका लागि मात्र मनाउनाले यस्तो समस्या आएको हो । अल्पज्ञान र छाडा सँस्कृतिले डरलाग्दो रोग भित्राएको मात्र छैन आँखा भएकाहरूलाई पनि अँध्यारोको खाल्डोमा सोझै जाक्दै गएको छ । तिजका विशेषता तिज छाडा नाच, गीत र दरमात्र होइनन् । तर यिनै बिषय हिजोआज निकै विवादित भएका छन् । अस्वस्थ खानपान, अव्यवहारिक प्रतिस्पर्धा, सामाजिक विकृति अनि बेतुकको तडकभड्कलाई प्रोत्साहन दिन घरघरमा कलह मच्चाउने, पर्वको नाम अहिले तिज बनेको छ । आर्थिक बोझले टाउको दुखाउने अनि श्रीमानको लामो आयुको लागि व्रत बसेर तिजको नाममा श्रीमानलाई नै अनावश्यक दवाब र तनाब दिने परम्पराको थालनीले कसरी तिज जिवन मैत्री बन्न सक्दछ ?
विश्वव्यापीकरणसँगै हिजोका दिनमा साँघुरो भएकाले सम्बन्ध आज विश्वभर फैलिएको छ । त्यसैले होला तिज एक महिना लगाएर मनाउँछ । परिवर्तन समाजशास्त्रको आधार हो । संस्कृतिलाई परिस्कृत गर्दै अगाडि बढ्नु उत्तम कार्य हो । यद्यपि मौलिकता मासेर, विकृति निम्त्याएर, सामाजिक मूल्यमान्यता गुमाएर संस्कृतिलाई कलंकित पार्नु घोर अपराध हो । स्वतन्त्रता खोज्ने बहानामा आफैले आफ्नो गुणहरूलाई ध्वस्त पानु, मादक पदार्थ सेवन गर्न मरिहत्ते गरी नशामा लठ्ठिएर आफूलाई नाङ्गेझार बनाउने आधुनिक तिजले अनुशासनहिन र अशान्ति फैलाएको छ । यसले बढी स्वतन्त्रता घातक र विनाशकारी बन्दै गएको छ । स्वतन्त्रता समृद्धिको द्वार भएतापनि पश्चिमीमा मुलुकहरूमा तनाव र आत्महत्याका घटनाहरू बढाउनु पक्कै पनि हानिकारक छ ।
पहिलेै देखि तिज पर्व मीठो मसिनो खानपिन, राम्रो पहिरनमा सिमित नभइ व्रत र शुद्धीकरणसँग पनि यो पर्व जोडिएको छ । नाच र गान गरेर मनोरञ्जन गर्नु यस चाडको अभिन्न अंग बनेको छ । पहिले तिजमा नाच गान गर्ने तिजको नाच गीतको भाव र बोलले गर्दा विशेष हुने गरेको पाइन्छ । तिज बाहेक अरू दिन नाच्ने महिलालाई उत्ताउली भनिए पनि तिजको दिनको नाचलाई समाज र परिवारले सहज रुपमा लिने गर्नुले यसको आफनै मुल्य र परम्परा रहेको स्पष्ट हुन्छ । सुरुमा तिजका गीत दुःख, शोक, रिस, आवेग, कामुकताले भरिएका हुन्थे । पछिल्लो समय खासगरी सन् १९९० को दसकमा र त्यसपछिको राजनीतिक परिवर्तन पछि सचेतना फैलाउन, राजनीतिक विद्रोहको भाषा बोल्न पनि तिजको अवसर प्रयोग भयो । यसले नारीलाई अगाडि बढन सहयोग पुगेको देखिन्छ । यधपि आजभोलि तिजका गीतमा राजनीतिक व्यंग्य, चेतना, विद्रोह भन्दा पश्चिमी गीत संगीतको प्रवेश गरेको पाइन्छ ।
सनातनदेखि मनाउँदै आइएको तिजको प्रभाव नेपाली समाजमा बढ्दै जानु सकरात्मक हो । अर्को तर्फ यो पर्व राष्ट्रियस्वरुप मात्र नभई विदेशी भूमिमा समेत स्थापित हुन पुग्यो । गीत तथा संगीतसँग अति निकट सम्बन्ध रहेको तिज पर्वले मौलिकताको जगेर्ना गर्न सकेमा विदेशी पर्यटकहरुको मन जित्न र चासो बढाउन सक्ने सम्भावना पनि उतिकै छ ।
शास्त्रिय कथन अनुसार तिजलाई हरितालिकाका पनि भनिन्छ । यस बारेमा शास्त्रहरूमा विशद वर्णन गरेको पाइन्छ । हर्षोल्लास र निष्ठाका साथ मनाउने यो पर्वलाई तृतीया तिथिका दिन मनाइने भएकोले आम भाषामा ’तिज’ भनिएको कथन पनि छ । पौराणिक आख्यान र कथन अनुसार प्राचीनकालदेखि नै विवाहिता नारीको ब्रह्मचर्यता र शारीरिक पवित्रा कायम गर्न र अबिबाहितले सवल र सक्षम श्रीमान प्राप्त होस् भनी व्रत बसी यो पर्व मनाउँदै आइएको पाइन्छ । परापूर्वकालदेखि मनाइँदै आएको तिज पर्व माता पार्वतीद्वारा आदिदेव शिवलाई पतिका रुपमा पाउनका लागि गरिएको कडा त्याग, तपस्या र संघर्षसँग सम्बन्धित छ ।
समाजशास्त्रिय दृष्टिले हेर्दा स्वदेश तथा विदेशमा वा सुगम वा दुर्गम स्थानमा रहेका चेलीहरू आपसी सहकार्य, एकता, मित्रताकायम गरी तिज पर्व मनाउने, माइती घर नजिक हुनेहरु आफ्नो जन्मघरमा आउने जाने र रमाइलो गर्नु नारी शक्तिमा खुसियाली ल्याउनु हो । विवाह पछि बर्षौंदेखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गर्नु, टाढिएका परिवारका सदस्यवीचमा र सामाजिक प्रेम प्रदान गर्नु तथा पुनर्मिलन गराउनु, एक आपसमा रमाउन सांगीतिक माहोल बनाउनु, गीतसंगीतका माध्ययमबाट दुःख सुख साटासाट गर्नु समाजमा व्याप्त सामाजिक विकृति र विसंगतिको उजागर गर्नु, गीतसंगीत र नाचगान गरी रमाइलो गर्नु, महिलाहरू माइत आएर विरह पोख्नु, विरहलाई गीतमार्फत अभिव्यक्त गर्नु, महिलाहरू सामूहिक रुपमा जम्मा भई एकापसमा सुखदुःख साट्नु र रमाउनु मातृशक्तिप्रति उच्च सम्मान हो ।
तिज पर्वबारे महिलावादी कोणबाट पनि अध्ययन–अनुसन्धान भएका छन् । अमेरिकी अनुसन्धाता लान बेनेटले नेपाली समाजमा मनाइने तिज र ऋषि पञ्चमी दुवै पर्वको अभ्ययन गरेकी छन । यी दुवै चाडले महिलाहरुको मासिक प्रक्रिया र कामुकतालाई डेन्जरस वाइभ्स एन्ड स्याक्रेड सिस्टर्स शीर्षक दिएर अध्ययन गरेकी छन । यी दुई पर्वमा नारीका गुण र व्यवहारको तुलनात्मक गर्नेमात्र होइन शिव र पार्वतीको झैं अटुट जोडीको नमुना बन्न पाइयोस् भनी अविवाहिता नारीहरु निराहार वा पानी नपिई व्रत बस्दछ भने विवाहित महिलाहरुले पतिको लामो आयुको कामना गरी व्रत गर्ने प्रचलन रहेको पाइन्छ ।
अहिले तिजका नाममा आधुनिकताको प्रवेश भयो । परम्परागत चलनलाई अहिले अस्वस्थ प्रतिष्प्रर्धा गरी पाटिप्यालेसले प्रबेश पायो र मौलिक तिज गीतसंगीत भन्दा फरक गीत गीतसंगीतले ठाउँ लिन पुग्यो । तिजका नाममा फजुल खर्च गर्ने थालियो । महङगा सारी, चोली, चुरा, पोते, आधुनिक आभूषणको प्रयोगले समाजमा विभेद, असमानता, विकृति, विसंगती, अस्वस्थ्य प्रतिष्प्रर्धा कायम हुन पुग्यो । गाउँघर पाइने मकरकाँची, मजेत्रो, हल्दी, तिउरी, दूवो, कपुर, चन्दन आदिको सम्मिश्रणबाट तयार पारिएको मेहन्दीले भन्दा धेरैले आधुनिक रसायनयुक्त मेहन्दीको प्रयोगले विभिन्न खालका चर्मरोग लाग्ने गरेका छन जसले गर्दा अनावश्यक खर्च र परनिर्भरता बढेको छ । परिवारमा एकताभन्दा विचलन, अन्तर हिंसा, द्घन्द्घ, सम्वन्ध बिछेद र आत्महत्याका घटनाहरु बढेका छन ।
महिला आर्थिक हिसाबले सक्षम नभए तिनले आफ्नो परिवारको राम्रोसँग हेरचाह गर्न सक्दैनन् । तिजमा दुई चार दिन स्वतन्त्र रुपमा नाचगान गरेर मात्र पुग्ने अबस्था छैन । यदाकदा गाउँघरमा अहिले पनि बिहे गरेर जाने छोरीले किन पढ्नुप¥यो भन्ने आशय रहेको छ । यसले गर्दा महिलाहरूको समन्यायमा पहुँच कमजोर देखिन्छ । संविधानमा धेरै हकाधिकारको वर्णन भएका भएतापनि यसलाई कानुनमा परिवर्तन गर्न र हुबहु कार्यान्वयन गर्न नसक्दा जटिलताहरु हटन सकेका छैनन । महिलाहरु नेतृत्व तहमा पुगे पनि महिलाको भूमिका निर्णायक हुने र अधिकार स्पष्ट रुपमा पाउन सकेको अबस्था छैन । दिनहुँ महिला हिंसा हुँदा, किसोरीहरु वलात्कृत हुँदा कानुनी उपचार प्राप्त गर्न नसकेको अबस्था छ । तर पनि महिलाले महिलालाई नै हेप्ने वा हिंसा गर्ने समस्या तिज पर्वका नाममा हुने गरेका छन । कस्ता गर गहना लगाएको, मेकअप गरेको, गाडी चढेको, दर खाए खुवाएको आदि विषयमा आफुआफुबीच टिकाटिष्पणी हुने गरेका छन ।
२१ औँ शताब्दीका महिलाहरुका चुनौतीहरूमा शिक्षा, रोजगार, समानता, समन्याय, व्यवहारमा परिवर्तन, स्वास्थ्य, प्रविधिको पहँुच समग्र विकास हुन् । यी चुनौतीको सामना गर्न अव नारीका शत्रु नारी बनेर र अस्वस्थ्य प्रतिष्प्रर्धाबाट होइन समानताको सोच, फरक नेतृत्व आवश्यक छ । चाडपर्वलाई एकता, सदभावसँग जोडेर काम गर्ने शैली र स्वनियन्त्रणमा महिलाहरू लाग्न जरुरी छ । स्वाभाविक रूपमा समानुभूति, करुणा, सुन्ने शक्ति र सहकारिताको जगमा अडेरमात्र परिपक्ताको पहिचान दिन आवश्यक छ ।
तिजका गीतहरुले समग्रमा तारिफयोग्य र अग्रगामी कदमको चर्चा गर्ने काम गरेको हुँदाहुँदै पनि अहिलेसम्म महिला र अन्य सीमान्तकृत वर्गको कुरा, भोगाइमा पुरुषप्रधान समाज र पुरुषलाई दोष दिने गरिन्छ । तर पनि महिलाको शत्रु महिला, अनावश्यक देखासिकी बढेको, महिलाद्घारा महिला हिंसामा परेका विषय गौण बनेका छन । महिलाहरुले आफ्नो शरीरमाथिको हक, महिला स्वतन्त्रता र स्वायत्तता, तथा लैंगिक र यौनिक विषयमा आवाज उठाएपनि जडसम्म बुझेर आपसमा बुझ्न र राम्रो व्यवहार गर्न आवश्यक छ । आधुनिक बन्ने बहानामा आफ्नो आफ्नो पहिचान गुमाएर कसले इतिहास रच्न सकिदैन । समयमा आँखा खोलेमा मात्र नारी सच्चा गृहलक्ष्मी र दुर्गा बन्न सक्ने हुँदा सबैले अहंकार त्याग्न र आफ्नो हैसियतअनुसार तिज मनाउँन जरुरी छ । नेपाली संस्कृति र मूल्य मान्यतालाई बिर्सेर मनोरञ्जनको बाहानामा पश्चिमी नृत्यको सिको गरि कुसंस्कार भित्र्याउने परिपाटीले हाम्रो समाजलाई नकरात्मक सन्देश प्रवाह गरिरहेको छ । तिजको गीतका रुपमा ‘पापाकी परी’बोलको गीतमा के हुन्छ होला है विहेको राति, अँध्यारो कोठामा अञ्जान साथी! सम्झेर गइसक्यो सातो वरी लै’ भन्ने शब्द कसरी परिवारसँग बसेर हेर्न र सुन्न सकिन्छ भन्दै विरोध आएको छ । तिज दिदीबहिनीका भोगाइहरूलाई व्यवहारिक रुपमा बुझ्ने बुझाउने घर माइती मिलन गराउने, बर्खामासमा काम गरेर थाकेको शरीरलाई स्फूर्ति जगाउने मौलिक विशेषता बोकेको सनातन हिन्दूहरूको एक विशेष चाड हो। त्यसैले भड्किलो बनाएर यसको गरिमा घटाउनुभन्दा समाज सुझाउँदा गतिविधि गरेर मौलिकता जोगाउन अब हामी सबै लागौं । अर्काको देखासिखी गरेर घरमा कलह नमच्चाउँने सम्पूर्ण दिदीबहिनीहरुमा तिजको शुभकामना ।