बालबालिकाको वृद्धि विकास र खानपानसँगै हेरचाह

कृषिता अधिकारी ( निशा)
हामी सबैलाई थाहै छ कि आमाको गर्भदेखि नै शिशुको वृद्धि विकास सुरु हुन्छ । कारण महिलाको अण्ड र पुरुषको शुक्रकिटको मिलनबाट पाठेघरमा गर्भको विकास हुन थाल्छ । १२ हप्तासम्ममा शिशुको सबै अंग बनिसकेको हुन्छ । जसमा शारीरिक रुपमा शिशुको वृद्धि विकाससँग उसको उमेर अनुसारको तौल, उचाई, टाउकोको गोलाई लगायत शरिरका अंगहरु निर्धारण हुने गर्दछ ।

त्यसैगरी ३७ हप्ता पुरा भएर ४० हप्ताभन्दा माथि नपुगिकन जन्मिएको शिशुलाई स्वस्थ मानिन्छ। जन्मदा एक स्वस्थ शिशुको तौल साढे दुई केजीदेखि चार किलो मुनिसम्म हुनुपर्छ । र, उचाई ५० सेन्टिमिटर (सेमी) हुनुपर्छ । टाउकोको गोलाई ३३ देखि ३५ सेमी हुनुपर्छ भने साढे दुई किलोभन्दा तल र चार किलोभन्दा माथि भएका शिशुलाई स्वस्थ मानिदंैन किनकि बच्चाको कम तौल र धेरै तौल हुनु भनेको अस्वस्थ भएको मानिन्छ । बच्चा कम तौल जस्तै धेरै तौललाई पनि राम्रो मानिदैन । उचाई भने ५० सेन्टिमिटर हुनुपर्छ । २÷३ सेन्टिमिटर तल माथि पर्न सक्छ त्यसैले चिन्ता लिनु पर्दैन किनकि त्यसले खासै फरक पर्दैन ।

त्यसैगरी बच्चामा आउने समस्या भनेको एक सय जना शिशु जन्मिदा १० जना शिशुलाई कुनै न कुनै स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेको छ जस्तैः सास फेर्न गाह्रा हुने, पेटभित्रै दिसा खाने, एमीन्योटिक फ्लुड खाएको, कसैको पोजिसन नमिलेको लगायत समस्या यस अन्तर्गत पर्दछन्। उक्त १० जना शिशुमध्ये पनि एक प्रतिशत शिशुमा गम्भीर खालको श्वासप्रशासको समस्या देखिन्छ । उनीहरु आफैँ सास फेर्न सक्ने अवस्थामा हुँदैनन् । मृत्यु र अपाङ्गता हुने संभावना पनि यही एक प्रतिशत अन्तर्गतका शिशुहरु पर्दछन्। उनीहरुलाई शिशु सघन उपचार कक्ष (एनआइसीयू) को आवश्यकता समेत पर्दछ ।

‘४२ हप्ताभन्दा बढीमा शिशु जन्माए, लामो समयसम्म व्यथा लागे, पेटमा शिशु हुँदा अप्ठ्यारो भयो भने पनि शिशु पेट भित्रै निस्सासिन सक्छ,’ उनले भनिन्, ‘तालिम प्राप्त नर्स र चिकित्सक भएका स्वास्थ्य संस्थामा समयमै लगियो भने उपचार हुन्छ । नभए पेटभित्रै शिशु निस्सासियो भने मस्तिष्कमा अक्सिजन नपुग्दा उसको वृद्धि विकासमा पनि असर गर्छ । र, उपचार भएपनि उसको मुटु, मिर्गौलामा असर गर्न सक्छ ।’

आमाको शरीरमा कुनै किसिमको संक्रमण भए शिशुलाई पनि संक्रमण हुन सक्ने उनले बताइन् । अधिकांश बच्चा निस्सासिने समस्या पनि आमाको पेटभित्रै हुन्छ । यो सँगै शिशु जन्मिएपछि निलो हुने, हात खुट्टा नचलाउने, वान्ता हुने, दूध चुस्न नसक्ने समस्या देखिन्छन्। रक्तचाप, मधुमेह भएका, कलिलो उमेर र धूम्रपान गर्ने महिलाले जन्माएको शिशु अस्वस्थ हुने र विशेषगरी यी महिलाहरुले महिना नपुगी शिशु जन्माउने गरेको पाइएको छ ।

त्यसैले यस अवस्थामा उनीहरूले पाउने पोषण, उत्प्रेरणा, स्वास्थ सेवा, संरक्षण, स्याहार, तथा सिकाइ अवसरले सर्वाङ्गीन विकास हुन्छ । बालविकासका सबै पक्षहरू एक अर्कामा अन्तरसम्बन्धित हुन्छ । एक पक्षमा नकारात्मक असर परेको स्थितिमा अरु पक्षमा पनि असर पर्दछ । यस अर्थमा विभिन्न पक्षको विकासात्मक दक्षताहरू बारे हरेक अभिभावकले जानकारी लिनु आवश्यक हुन्छ ।

सामान्यतया बालबालिका जन्मिएको पहिलो २४ घण्टाभित्र कालो दिसा गर्छन् । केहीलाई भने २÷३ सम्म हुने गर्दछ भने दिसा र पिसाब अडाउने प्रणालीको विकास नभइनसकेको दुई महिनासम्म दूध खाने बित्तिकै दिसा पिसाब हुने गर्छ । दिसामा रगत देखियो, दिसा गर्दा बच्चा धेरै रुने, पानी जस्तै दिसा गरेको छ भने पनि समस्याको रुपमा लिनुपर्छ । त्यसैगरी आमाको दूध शिशुको लागि अमृत समान मानिन्छ । शिशु जन्मिने बित्तिकै छिटोभन्दा छिटो स्तनपान गराउनुपर्छ। जन्मिने बित्तिकै संभव नभए आधा घण्टा वा एक घण्टा भित्र स्तनपान गराउनु नै पर्ने उनले बताइन । बच्चा जन्मिने बित्तिकै कृत्रिम पाउडर दूधभन्दा पनि आमाको दूध नै खुवाउनुपर्ने उनले बताइन् । २ वर्षसम्मको बालबालिकाका लागि स्तनपान अनिवार्य मानिन्छ । किनकि ६ महिनासम्म त एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग अर्थात् आमाको दूध मात्र खुवाउनुपर्छ । दिनमा कम्तीमा ८ र धेरैमा १२ पटक स्तनपान गराउनुपर्छ ।

वास्तवमा भन्ने हो भने आजभोली बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकहरूको लागि निकै चुनौती बनेको अवस्था छ साधारणतया हरेक परिवारको पारिवारिक संरचनामा आएका केही परिवर्तहरुले बालबालिकाको शारीरिक संञ्चालनमा कमी आएको पाइन्छ । कारण कैयौं अभिभावकको कार्य व्यस्तता, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि जस्ता कारणले पनि बालबालिकाको खाना खाने बानीमा निकै परिवर्तन पाईन्छ । हामीले आफुले जे खाना खाइरहेका छौं त्यहि खाना खुवाउने गरेका छौं । किनकि आजभोलिका बालबालिकाले बजार पाइने प्याकेटका खानाहरु मन पराउने, मःम, चाउमिन, कोकाकोला , फ्रुटि ,चाउचाउ आदि जस्ता खानाले पनि बालबालिकामा स्वास्थ्यवर्दक खानाको कमि भइरहेको पाइन्छ ।

त्यसैगरी बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न हामी अभिभावकहरूले पनि त केही भूमिका निभाउनु पर्दछ हैन त ?
सँगै खाना खानेः
परिवारका सदस्यहरू सबैलाई एकैपटक पस्कने र बालबालिकालाई पनि उमेर अनुसार सँगै खान दिने वा खुवाउने गर्नु पर्दछ । यस क्रममा अभिभावकले गरेका खाना प्रतिको आदर सत्कार, संस्कार, संस्कृति बालबालिकाले सिक्छन् । खाना खाँदा खानाको नाम, स्वाद र रङ, पकाउँदाको स्वाद, काँचोको स्वादमा पाईने भिन्नता बारे कुराकानी गर्ने गर्नु पर्दछ । जसले गर्दा बालबालिकामा खानाप्रतिको खोज, अनुसन्धान गर्ने जिज्ञासा अभिवृद्धि हुन जान्छ ।

यदि अभिभावक कामकाजी हुनुहुन्छ भने पनि बालबालिकालाई आफूसँगै खाना खुवाउने व्यवस्था गर्नुपर्छ । उमेर अनुसार आफ्नो र बालबालिकाको दिनभरीको रुटिन बनाउँदा राम्रो हुन्छ, जस्तैः बालबालिका पनि खाना खाएपछि आ–आफ्नो खेलौनाको झोला बोकेर घरमै बनाईएको खेल क्षेत्रमा जाने र रुटिन अनुसार खेल्ने खाजाको समयमा खाजा खाने गर्ने । साँझ अभिभावकले आफूले के के गरियो र खाना, खाजा कतिबेला खाइयो बताउने र बच्चाको पनि सोध्ने वा कुराकानी गर्ने हो भने बालबालिकामा शारीरिक तथा मानसिक तनाव पनि कम हुन्छ ।

अर्कोतर्फ हामीले बालबालिकाको उमेर अनुसार विशेष खाना तयार गर्नु पर्छ । जस्तै गिलो, नरम, नुन वा चिनी कम भएको तर पौष्टिक खानालाई उनीहरूको विशेष भाँडाहरूमा आकर्षक तरिकाले विभिन्न रङहरू, जस्तैः रातो गोलभेडा, हरियो साग तथा सेतो भात, पहेलो दाल आदिले सजाएर खुवाउनु पर्छ किनकि यसले गर्दा खाना खान उत्प्रेरणा जागृत हुन्छ । अनि परिवारको खाना खाने समय निश्चित बनाउनु पर्छ, जस्तैः विहान ९ बजे, दिँउसो २ बजे, साँझ ७ बजे । बालबालिकाको पनि, परिवारको समय भन्दा थप उमेर अनुसारको खानाखाने समय निर्धारण गर्ने गर्नुपर्छ । यसले गर्दा निश्चित समयमा भोकको अनुभव हुन्छ र खानामा रुचि बढ्छ र बालबालिकाको विकासात्मक चरण अनुसार खानाको आवश्यक्ता फरक हुनसक्छ ।

तसर्थ ,जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया शुरु हुन्छ । अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै उनीहरूले सामाजिकीकरणका आधारभूत सीप सिक्दछन् । भविष्यमा यिनै बालबालिकाहरु पारिवारिक तथा सामाजिक विकासको निकै नै महत्त्वपूर्ण भूमिका खेल्न मद्दत पु¥याउने छन । त्यसका लागि त सामाजिक विकासका निम्ति खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरहरु महत्त्वपूर्ण हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *