शिवशरण ज्ञवाली
खा…खा…खा…खाएँ त खाएँ मेरा बाको खाएँ तेरो खाछु र ? ज…ज…ज जड्या भन्छस् । त..त…त.. तैले कसको खाछस् ? जनताको रगत पसिना चुसेर खाने तँ गाली मलाई ? बा हरु नालापानीमा ल…ल…ल… लडेका थिए । किल्ला र काँगडामा लडेका थिएँ । त्यही बहादुरीको ब्याज खाको हुँ । का..का…का…कारिगलमा गोली खाएर पाएको पेन्सन हो । स्वदेशमा बसेर विदेशी पेन्सन खाको हुँ । म..म..म.. मलाई वृद्धभत्ताको लालच छैन । केही ल…ल..ल…ललतिहरुले खाएका छन् । ती मेरा साथीहरु होइनन् । त्यसैले मैले मेरै ब… ब…ब… बाको खाछु । म..म…म…मेरो आफ्नै खाछु । एक रुपैयाँ पनि कसैको खा छैन ।
तँ ने. मु..गम्कन्छस् । तँ क..मु… बम्कन्छस् । तँ शि..मु…पड्कन्छस् । तँ ठे..मु…चड्कन्छस् । तँ व्या…मु…डुक्रन्छस् । तँ बै..मु…झर्कन्छस् । तँ..तँ..डा. मु रन्कन्छस् । तँ ई..मु लड्कन्छस् । सबका सब बिगार्ने तिमीहरु हौँ । मैले के बिगारेको छु । मगन्ते बनायौँ तिमी सालाहरुले ने..ने..ने नेपालीहरुलाई । यो ब..ब..ब..बाटो मेरो हो । यत्रै सित्त यही चौबाटोमा सुत्छु । म राजा हुँ राजा । यो बाटोको राजा । आजको दिनको राजा !
ए…ए..ए..छड् साले न..न..नउचाल । भोट इस् भोट । लोप्पा ख्वाइदिने हो लोप्ला ! त…मुले मलाई खोज्न नपर्ने ? मैले मात्रै तलाई खोज्नपर्ने ? चिल्लो घस्न खुब जानेको छस् । इस् नमस्कार ? मेरो करबाट तलब खाने तिमीहरुलाई उल्टै मैले नमस्कार ! अझ ज्यू र साप रे ? कम्तीमा तिनपानेले नछाड्दासम्म मभित्र देव सवार छ देव । यमराजरुपी डर भागेर पाताल पुगिसको । देवले सबसँग लड्ने गरि बलियो बनाएको छ । मैले गाउँको कुरा गरेको छु र ? तिमीहरुकै काठमाडौँको कुरा गरेको छु । मलाई काठमाडौँमा जस्तो अचिनारु ठाउँमा आर पनि धोक्न मन लाग्यो । धोक्न ! तिमीहरु जस्ता फोहरी र घिनलाग्दाहरुलाई ती जनताहरुले के भन्दा हुन् ? मलाई द..द..द.. दक्षिणकाली देवीले सकेको धोक भनेकी हुन् । धोके मैले के बिराएँ । मेरै धोकें । ती देवीलाई मेरो प्रणाम छ । ती दिनदिनै जिउँदै शहीद भएका जनताहरुलाई प्रणाम छ । टौदहका माछाहरुलाई प्रणाम छ । हरियाली प्रकृतिलाई प..प..प प्रणाम छ । तिमीहरु आऊ त तिमीहरुलाई त इ ! रलिको दर्शन गराइदिन्छु । नजिक आओ त ?
ति…ति…ति… तिमीहरु सब एक हौँ । तँ भन्दा एउटा र तिमीहरु भन्दा धेरै हुने भएकाले मैले तँ लाई तिमी बनाएको हुँ । सम्मान गरेको होइन । मि..मि..मि.. मिलेर खान्छौँ । मिलिभगत ।
म..म…म…मेरो गाउँलाई तिमीहरुले केही दिनुपर्दैन । तिमीहरुलाई गाउँले भोट, शिक्षा, कर, स्वास्थ्य, तरकारी, चामल, बेसार, तलब सबका सब दिनेछ । तिमीहरुले केही दिन्नौँ । दिदिद दिनुपर्दैन । क..क…क.. कमसेकम काठमाडाँै त हेर । तिमीहरु बस्ने त्यो ठाउँ त बनाऊ । त्यहाँको बाटो त बनाऊ । त्यहाँको स्कुल बनाऊँ । त्यहाँको विश्वविद्यालय बनाऊँ । त्यहाँको अस्पताल बनाऊँ । त्यहाँको पसल बनाऊँ । त्यहाँको ढल बनाऊँ । त्यहाँका घर बनाऊँ । अहिले तिमीहरुले बनाएका घर घरै होइनन् ।
क…क..क.. कति शहीद बनाउँछौँ त्यहाँका जनतालाई । कमिसन आए होला है तिमीहरुलाई जनताका विरुद्ध । त्यही भएर मैले बल्खुको चौबाटो रोजें । तिमीहरुलाई लाज लागेर मलाई उठाउँछाँै । जजज जड्याहा सुतेछ भन्छौँ । तर म जड्या होइन तिमीहरु हौँ जड्याहा । एक कप चिया पनि तिमीहरु जनताको करबाट खान्छौँ । सालाको बिहेमा जाँदा गाडी पनि जनताकै लैजान्छौँ । म..म..म..त मेरै खान्छु ।
उ..उ.. उ..उदाहरण ः दक्षिणकाली पुग्ने बाटो । बसपार्क पुग्ने बाटो । त्रिभुवन एयरपोर्ट पुग्ने बाटो । त्रिभुवन विश्वविद्यालय पुग्ने बाटो । तिनकुने पुग्ने बाटो । कंलकी पुग्ने बाटो । आराध्यदेव पशुपतिनाथ जाने बाटो । स्वम्भु जाने बाटो । क…क…क…क… कसले बनाउने त्यो बाटो ? खाखाखा खाल्टो पुर्नुपर्दैन । धुलो हटाउनु पर्दैन । सफा गर्नुपर्दैन । क…क…क… कसरी उक्किन्छ छ महिना नहुँदै पिच । तिमीहरु सबै केही न केही बहानामा देश विदेश सयर त गरेकै छौँ । विदेशका सडक त्यस्तै धुलाम्मे हुन्छन् । त्यहाँका पिच त्यस्तै महिना महिनामा थोत्रिन्छन् । बाटो त एउटा सानो कुरा मात्रै हो । स्कुल हेर । स्कुलमा पढ्ने पाठ्यपुस्तक हेर । पाठ्यक्रम हेर । शिक्षक हेर । कति असन्तुष्ट विचरा । विश्वविद्यालय ! हटाइदेऊ विद्यालय ! विश्व मात्रै राखी हेर त ?.तिमी कुन पातालमा भासिनेछौ । अस्पताल आफै बिरामी । डाक्टर आफै अनसन बस्नुपर्ने ? घर ? वास्तुकलाविहीन । ढलमा बनाए पनि हुने खोलामा बनाए पनि हुने । बालुवाको बनाए पनि हुने बोराको बनाए पनि हुने । के के के जानेको छ तिमीहरु ?
तिमीहरुलाई कानुन नलाग्ने । म धोक्नेलाई कानुन । धोकेर सुत्दाको मोज तिमीहरुलाई के थाहा ? मजाले सुत्छु । पानी आओस् कि घाम लागोस् ? गाडी गुडोस् कि हवाइजहाज उडोस्, ? तिमीहरुले उठाऊ कि सुताऊ । जेलमा लगेर कोच कि सडकको छेउमा फ्याँकिदेऊ । केही फरक पर्दैन । मलाई कसैको पर्वाह छैन । मलाई तिनपाने खान्जेल र यसको रमरम छन्जेल छोराछोरी, बा आमा, श्रीमती कसैको मतलब छैन । गोजीको पैसाको मतलब छैन । तिमीहरु सब मु.. हरुको मतलब छैन ।
विविवि विचरा त्यो ट्राफिक भाइको त के डर ? उनलाई पनि थकाइ लाग्दो हो । उनलाई पनि स्वास्थ्य बिग्रने डर लाग्दो हो । उनलाई पनि तिर्खा लाग्दो हो । त्यो लाइट भन्ने जन्तु राखेर पनि नबोल्ने गराउने तिमीहरु होइनौँ ? घाम त प्रकृतिले दिएकै छ । बिजुली पनि दिएकै छ । बिजुली चोरहरु र बत्ती चोरहरु तिमीहरुका आफ्ना जनता तिमीहरुका पराइ ? इस् तिमीहरुलाई । लोप्पा ख्वाउँदा मजा लाग्छ । कि सडकबत्ती हटाऊ कि ट्राफिक हटाऊ । मलाई थाहा छ, तिमी दुवै हटाउँदैनाँै । त्यही ट्राफिक भाइले मलाई गाली गर्छन् । उनले गरेको गाली मलाई गाली लाग्दैन । आर्शिवाद लाग्छ ।
लजाऊ लजाऊ । म..म..म.. मलाई केही लाज छैन । म कपडा खोलेर यही सुतिदिन पनि सक्छु । खाल्डोमा खसेर खाल्डो पुरिदिन सक्छु । पिसाब फेरिदिएर धुलो हटाउन सक्छु । के..के..के.. के… ठान्या तिमीहरुले ? तिमी सेतो प्लेटमा हँुइकिने बाटो त्यही होइन ? तिमीहरु हिड्ने बाटो बनाऊ भन्न मैले जाँड धोक्न पर्ने ? तिमीहरुका छोरानाति पढ्ने स्कुल बनाऊ भन्न मेरा खुट्टा लर्बराउन पर्ने ? तिमीहरुको विश्वविद्यालय बनाऊ भन्न म मात्नै पर्ने ? तिमीहरुले उपचार गर्ने अस्पताल बनाऊ भन्न म बौलाउनु पर्ने ? लज्जित तिमीहरु माक्स लगाऊ ।
हाइ आयो मलाई । तिनपानेको मजा यही हो । जहाँ पनि हाइ आउँछ । ति…ति…ति… तिमीहरु जनताको करले खै के पाने खान्छौ रे ! म यही जनसाधारणले बनाएको स्वादिलो खान्छु । शहर कहिले बनाउँछौँ ? डेगु कहिले हटाउँछौँ ? शहरलाई गाउँमा कसरी सार्छाै ? अस्पताल कहिले बनाउँछौँ ? स्कुल कहिले बनाएर सक्छौँ ? पाठ्यपुस्तक कहिले बनाउँछौँ ? पाठ्यक्रम छ र ? नभए कहिले बनाउँछौँ ? निजीलाई सरकारीको जिम्मा कहिलेसम्म दिन्छौँ ? बजार कहिले नियन्त्रण गछौँ ? भ्रष्टाचार कहिले हटाउँछौँ ? सही मान्छेलाई गलत र गलत मान्छेलाई सही बनाउन कहिले छाड्छौँ ? जनता ढाँट्न कहिले छाड्छौँ ?
स..स…स.. सक्दैनौँ । मैले रक्सी छाड्न सकुँ न तिमीहरु सत्ताको त्यो नसा छाड्न सक । तापनि मलाई लाज छ । तिमीहरुलाई लाज छैन । तिमीहरु सुकिला मुकिला देखिनुपर्छ । म जस्तो छु त्यस्तै देखिन्छु ।
र…र…र… र…र… रक्सीले नछाडुन्जेल हो गम्कने । मलाई केही चाहिदैन । तिमी बस्ने शहर बनाऊ । प्रदेश बनाऊ । सदरमुकाम बनाऊ । तिमी हिड्ने बाटो बनाऊँ । तिम्ले उपचार गर्ने अस्पताल बनाऊ । म जाबो सिटामोट पनि नपाइने गाउँमा बस्नेलाई केही चाहिदैन । तिम्ले तिमी बस्ने शहर बनायौँ भने गाउँ आफै बन्नेछ । याद राख, तिम्ले नबनाए पनि एक दिन न एक दिन त्यो बन्ने छ । नबनी छाड्ने छैन । त्य..त्य..त्य..त्यतिबेला तिमी श्रद्धाको होइन घृणाको पात्र बन्नेछौँ । समय रोकिने छैन । जय नेपाल !
(नोट : तिजको एक हप्तापछि पाल्पा जाँदा घुम्टेनेरको मूल सडकमा दिउँसो १२ बजे रक्सीले मातेर मज्जाले सुतेका हाम्रै गाउँका एक असी बर्षे वृद्धको कुरा हामीेले करिब आधा धन्टा सुन्यौँ । असी वर्षमा पनि उनको शरीर र बोली लोभलाग्दो थियो । उनका गालीको छेउकुनामा कतै म आफैं पनि भेटिएँ जस्तो लागेपछि मैले गोजीबाट निकालेर माक्स लगाएँ । बृद्धको कुरालाई अभिलेखीकरण गर्दा धेरै कुरा छुटे । सम्झनाले टिपेका केही कुरा मात्रै यहाँ प्रस्तुत गरेको छु । उनलाई आधा घन्टापछि आइपुगेका उनकै दुईजना आफन्तले उचालेर छेउतिर लगेपछि बाटो खुल्यो । काठमाडौँ बल्खु मैले पु¥याएको हुँ ।)