शिवशरण ज्ञवाली
बोक्रा फेरिकन समयले घाउ सारा पुरिन्छन
मौरी आइ मधुपवनमा सुन्तलामा धुरिन्छन ।
कस्तुरिले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध
हुन्नन कैल्यै कुसुम वनमा प्रीतिका गीत बन्द ।।
राष्ट्रकवि माधव घिमिरेको ‘वैशाख’ कविताबाट
‘भाइ तिमी पछाडि उभिऊ, भित्र बुढाबुढीलाई बसाल्नु परो’ चालक दाइले घुम्टेनेर आए पछि मलाई भन्नुभयो । मैले दाइलाई भने, ‘दाइ ! बाटो धूलो छ । म हिडेर आउँछु । भित्र उहाँहरुलाई राख्नुस् । बालाई चौडाडाँसम्म लैदिनुहोला ।’
मैले त्यसो भने पछि चालक दाइले भन्नुभयो, ‘हुन्छ भाइ ! तिमी हिडेर आऊ । दुःख नमान है ।’ मैले जवाफ दिएँ, ‘दाइ ! दुख मान्ने कुरै हुन्न । ढुक्क भएर जानुस् ।’ हामी बाउछोरा तम्घासबाट फर्कदै थियौँ । घुम्टेबाट पछाडि झुन्डिएर धूलो खानुभन्दा हिडेर जानु बेस लाग्यो र म आधा बाटोमा ओर्लिएर हिड्न थालें । मलाई भिरबारी कान्छी आमा बिरामी हुनुहुन्छ भन्ने थाहा थियो । भेट्न पाइएको थिएन । भिरबारीनेर पुगेपछि म कान्छी आमाको घरतिर लागे । घर पुग्दा आमा आँगनको पिडीमा लौरो छेउमा राखेर बस्नुभएको थियो ।
उहाँ बेउमेरमै पक्षाघातले थलिनुभएको थियो । आमाछोराको निकै लामो भलाकुसारी भयो । हामीलाई खुब माया गर्नुहुन्थ्यो । प्रायशः भोजभतेरमा उहाँले भान्सा सम्हाल्नुहुन्थ्यो । हामी पुग्ने बित्तिकै भन्नुहुन्थ्यो, ‘बाबुहरु आओ भान्सामा । तिमीहरु माछामासु खाँदैनौँ । पहिल्यै तिमीहरुलाई ख्वाउँछु ।’
मैले त्यतिबेला भेट्दा पनि उहाँ हट्टाकट्टा नै देखिनुहुन्थ्यो । छेउमा लौरो थियो । मुख अलिकति बाङ्गो भए पनि उतिकै रातोपिरो थियो । त्यो भेटघाटको त्यस्तै महिना दिनपछि उहाँको स्वर्गे भयो । धन्य ! मैले त्यसदिन उहाँलाई भेटेछु । गाडीमा गएको भए भेट्न पाइदो रहेनछ । त्यसदिन मलाई लाग्यो, ‘गुड्नु व्यक्तिवाद रहेछ, हिड्नु सामाजिक कुरो रहेछ ।’
मङ्सिर नौ गते शुक्रबारको दिन बिहान पौने एघार बजेतिरको कुरा होला । क्याम्पस प्रमुख रामप्रसाद सरले मलाई बोलाउनुभयो, ‘सर ! यता आउनु त यता ।’ कार्यालयतिर हिडेको म सरले बोलाए पछि सर भए तिर लागें । सरले भन्नुभयो, ‘तपाईं एबिसि क्याम्प जानुहुन्छ त ?’ अचानक यस्ता प्रश्न आउँदा म अक्क न बक्क परें । पत्रकारितामा एबिसीको अर्थ हुन्छ, ‘एक्कुरेसी, ब्यालेन्स र क्रेडिबिलिटी ।’ मलाई त्यो बाहेक एबिसीका बारेमा केही थाहा थिएन ।
त्यही भएर सरलाई मैले सोधें, ‘सर ! यो एबिसि क्याम्प भनेको के हो ?’ सरले जवाफ दिनुभयो, ‘अन्नपूर्ण बेस क्याम्प ।’ त्यसपछि सरलाई मैले भने, ‘वैकल्पिक रुपमा म तयार छु । अरु सरहरु कोही जानु भएन भने ठिक छ म जाउँला । जाने भए अरुलाई पठाइदिनुस् ।’
सरले भन्नुभयो, ‘स्ववियु सभापति जानुहुन्छ ।’ मैले भने, ‘ठिक छ उहाँसँग जान मलाई समस्या छैन । सहज नै छ ।’ मनिषजी मेरा लागि रिसाउँदा नै आफ्नै खुशी हुँदा नै आफ्नै जस्तो लाग्थ्यो । शायद उहाँको र मेरो कुनै न कुनै स्वभावमा समानता हुनुपर्छ, त्यसैले होला । एक छिन पछि सरले भन्नुभयो, ‘मैले मनिषजी सँग सल्लाह गरें । तपाईं नै जाने निधो भयो ।’ मैले सरलाई ‘हस्’ भन्ने जवाफ दिएँ । त्यसपछि तत्काल मेरो शैक्षिक भ्रमण तय भयो ।
मैले धेरै वर्षपछि यस्तो भ्रमण तय गरेको थिएँ । मलाई अंकमा त्यति रुचि छैन । त्यसकारण कति वर्ष अगाडि म भ्रमणमा गएको थिएँ, त्यो मलाई सम्झना छैन । तर म विद्या मन्दिर स्कुलमा कार्यरत रहेका बेला याम सर र भरत सर सँगै विद्यार्थीहरु लिएर नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा हुँदै रारा भ्रमणमा गएको थिएँ । त्यो भ्रमणलाई बिदाइ शुभकामना दिदैं विद्या मन्दिरका तत्कालीन प्रधानाध्यापक जगन्नाथ शर्मा सरले भन्नुभएको थियो, ‘हेर्नुस् है सर ! विद्यार्थीहरुलाई बहुत चनाखो भएर ख्याल गर्नुहोला । चन्द्रागिरीमा हिउँ खेल्न गएका विद्यार्थी हराउँदा काठमाडौँमा एक जना प्रधानाध्यापकलाई पुलिसले हत्कडी लगाएको कुरा नर्बिसनुहोला ।’ जगन्नाथ सरले त्यसो भने पनि मैले यात्रालाई अत्यन्त सरल रुपमा लिएँ । त्यतिकै सरल रुपमै त्यो भ्रमण सफल भएको थियो ।
त्यसपछि मैले करिब दुई वर्ष अत्यन्त कहालीलाग्दो र कठोर यात्रा गरें जीवनको र दिल्लीको । त्यो यात्राको वर्णन कुनै दिन पुस्तकाकार कृतिमा आउने नै छ । प्रतीक्षामा रहेको कृतिको नाम छ, ‘चिताको आगो ताप्दा ।’ त्यो दुई वर्ष मेरा लागि शून्य समय बन्यो । विध्वंसकारी समय बन्यो । भाँचिने, लाछिने समय बन्यो । जीवन र मृत्युको समय बन्यो । त्यो यात्रा समयकै भेलमा शून्यता मेरो हातमा थमाएर बगेर गयो । अन्नपूर्ण आधार शिविरको यात्रामा पटकपटक त्यसले मेरो निर्मम भावनामाथि आगो दन्काएर पगाली छाड्यो । मनको घाउ मनमै दुख्यो ।
म भ्रमण प्रिय मान्छे होइन । न त यस्ता भ्रमणलाई मैले गम्भीरतापूर्वक नै लिन्छु । निर्मतताको आरनमा खारिएपछि मलाई जस्तो सुुकै जटिल काम पनि एकदम सामान्य लाग्छन् भने आयोजित प्रायोजित भ्रमणहरु त सामान्य भइहाले ।
म गाउँमा जन्मिएको मान्छे । बागलुङको हाडीखोलाबाट कैयौंपटक दुई दिन हिडेर घर पुगेको छु । फरक यत्ति थियो, बाटोमा मामाघर पथ्र्यो । होटलमा बस्नु पर्दैन थियो । मावल ससुराल हिडेर नै गथ्र्यौ । डाँडाकाँडा, उकाली ओराली, वनपाखा मेरा लागि कहिल्यै नौला कुरा होइनन् । भुँइ घाँस होस् या रुखमा चढेर होस् घाँस काटिएकै छ, आज पनि । फलफूल टिप्न रुख चढ्न अझै पनि गारो लाग्दैन । टिपेर खानुको स्वाद किनेर खाँदा आउँदैन ।
बागलुङ बस्दा पनि म बिहानै उठेर गणेश घुम्ती हुँदै निरय पुगेर दिनहुँ आइरहेकै छु । दुख होस् या सुख होस् म जीवनमा हिडिरहेकै छु । कहिले उकालो कहिले ओरालो । काठमाडौँ स्युचाटार होस् दरवाङको खोच त कहिले दिल्लीका पार्कहरु भेटे जति हिडेको छु । हिड्नु नै सबै कुराको समाधान रहेछ कि ? बिहान हिड्नु मेरो स्वभाव हो । हिड्नु नेपालीपन पनि हो । गुड्नु पाश्चात्य शैली ।
स्युचाटार बस्दा म त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा पढ्थे । एक दिन अँध्यारै उठेर म मर्निङ् वाक जाँदै थिएँ । अचानक कुकुर आइपुग्यो, कताबाट । नयाँ ठाउँ छ । कता जानु ? कुकुरले मलाई लखेट्न थाल्यो । छेउछाउका कुनै घरमा पनि ढोका खुलेका छैनन् । अनि म काठको बिजुलीको पोलमा चढें । म घुमिरहेको ठाउँ जग्गा बिक्रेताले बेच्नका लागि ठिक्क पारेको प्लटिङ क्षेत्र थियो । धेरै बेर बिजुलीको पोलमा अड्न सकिएला जस्तो पनि थिएन । तर म बिजुलीको पोलमा चढे पछि कुकुर फर्किएर गयो । अनि म झरेर अर्को बाटो लुसुकक भागेर घर आएँ । भोलिपल्टदेखि मैले बिहानी यात्राको ठाउँ बदलें ।
तर मलाई रहर पनि छ, घुम्ने । युरोपका शहरहरु घुम्ने । विदेश घुम्ने । विदेशीले नेपाल घुमेजस्तै मैले विदेश घुम्ने । बिहान र बेलुका धवलागिरि हिमालमा सूर्योदय र सूर्यास्त भएको दृश्य त मेरा लागि नौलो होइन । रामरेखाबाट कैयांै पटक देखेको छु । मैले पढेको र आज छोराले पढ्ने मेरै गाउँको स्कुलबाट पनि धवलागिरिमा सूर्योदय भएको दृश्य देखिन्छ । त्यसकारण यो भ्रमणमा म वैकल्पिक उम्मेदवारका रुपमा तयार भएको हुँ ।
सानामा बासँग कहिलेकाही हामी मामाघर, ठुल्लीआमा सानिमाको घर हिडेर जान्थ्यौँ । अहिलेजस्तो गाडीको बाटो खुलिसकेको थिएन । परबाट कोही मान्छे आयो भने बा वरैबाट हेर्दै बिस्तारै हिड्नुहुन्थ्यो । नजिकै पुगेपछि दुवैजनाले एक अर्कालाई हेर्दै सोधनी पुछनी हुन्थ्यो, ‘कहाँ पुग्ने होला ? घर कहाँ परे होला ?’ आउनेले पनि आफ्नो सबै बेबिबिस्तार लगाउँदै सोध्थे, ‘हजूर कहाँ सम्म त ?’ । हामी बालखाहरु पक्क परेर बाहरुका संवाद सुन्थ्याँै ।
त्यही नेपालीपन पदयात्रामा पाइदो रहेछ । विदेशी पर्यटकहरु आँखा जुधें कि भन्दा रहेछन्, ‘नमस्ते ।’ कहिलेकाही काठमाडौँबाट पोखरासम्म पर्यटक बसमा आउँदा मैले यो महसुस गरेका थिएँ । आज एक जना साथीले भन्नु भयो, ‘पर्यटकहरुलाई नेपाली शैलीको प्रशिक्षण दिदा नमस्ते भन्ने सिकाइन्छ ।’
यो छ दिने पदयात्राको वर्णनको पृष्ठभूमिको सुरुवात पनि यही नमस्तेबाट है । नमस्ते !