शिवशरण ज्ञवाली
त्यो मङ्सिर १० गते शनिबारको दिन बिहान म सधैंभन्दा अलि छिटो उठें । त्यो म दिन शैक्षिक भ्रमणमा अन्नपूर्ण बेस क्याम्प जाँदै थिएँ । झोला तयार भएको थिएन । एक जोर लगाएका कपडा र अर्को एक जोर अतिरिक्त कपडा लिएर हिड्ने मेरो योजना थियो । कपडा निकालेर खाटमा राखी म पल्लो कोठामा गएँ । अनि कागती चिया पकाइ भूपाल सर र मैले खान थाल्यौँ । मैले चिया खाँदै श्रीमद् भागवतको प्रथम स्कन्धको अठार अध्याय पढ्दै थिएँ । मैले भागवत पढेको सुनेर संस्कृत विद्यालय पढ्नुभएका मित्र भूपाल भन्नुहुन्छ, ‘कठैबरा ! कनीकनी दुख नगरे हुन्थ्यो । म त संस्कृत स्कुल पढेको हुँ । कम्तीमा लय त सुनेको छु ।’
उहाँले त्यसो भने पनि म निराश नभइकन दिनको एक अध्याय पढ्ने योजनामा प्रतिबद्ध छु । पदयात्रामा हिडेजस्तै बिस्तारै पढ्ने ! हतार गरेर को कहाँ पुगेको छ र ? हामीलाई खरायो होइन निरन्तर घ्रसिरहने कछुवा नै आवश्यक छ । त्यही भएर मैले पनि दिनको एक अध्याय पढ्ने गरेको छु । फोन अर्को कोठामा थियो । त्यही बेला भूपाल सरले भन्नुभयो, ‘अबेर भइसक्यो सर ! भागवत पढ्दै बसेर हुन्छ ? सभापतिको फोन आइसक्यो ।’
सभापति त सभापति प्राध्यापक सङ्घका सभापति भक्तिराम दाइ भनेर मैले फोनमा उही चिरपरिचित आफ्नै शैलीमा भने, ‘ओ दाइ ! जय नेपाल ।’
मलाई यो ‘जय नेपाल’ सिकाउने मित्र सुरेन्द्र ज्ञवाली अहिले बुटबलमा छन् । उनी हामी एम ए पढ्दाको कुरा हो । एउटा विद्यार्थीको चुनावमा म स्वतन्त्रबाट चुनावी मैदानमा थिएँ । त्यहाँ दलका विद्यार्थी संगठनहरुको दबदबा थियो । सुरेन्द्रले आस्था राख्ने विद्यार्थी संगठनका कुनै नेता ‘म नेता हुँ’ भन्दै बिना परिचय पत्र भोट हाल्न गएछन् । सुरेन्द्र आफ्नो विद्यार्थी संगठनको तर्फबाट ‘एजेन्ट’ बसेका रहेछन् । उनले ती नेतालाई भनिदिएछन्, ‘म तपाईंलाई अहिले चिन्दिन । परिचय पत्र ल्याउनुभयो भने भोट हाल्न दिन्छु । होइन भने अरुले दिए पनि मैले भोट हाल्न दिन्न । तपाई खुरुक्क परिचय पत्र लिएर भोट हाल्न आउनुस् ।’
अनि ती नेता लुरुलुरु घर फर्केर परिचय पत्र ल्याई भोट हालेछन् । उम्मेदवारको रुपमा बाहिर डुलिरहेको मलाई सुरेन्द्रले विद्यार्थी नेतालाई फर्काएको कुरा अरु कसैले सुनायो ।
सुरेन्द्र मलाई बेलाबेला भन्थे, “तिमी वामपन्थीहरु सङ्कुचित हुन्छौँ । जय नेपाल भन्न तिमीहरुलाई के ले छेकेको छ ?’ जब सुरेन्द्रको भित्रको व्यवाहर मैले थाहा पाएँ त्यसदिनदेखि मैले जय नेपाल भन्न थालें ।
तर भूपालजीको फोनमा विद्यार्थीका सभापति मनिष हुनुहुँदो रहेछ । उहाँले जय नेपाल भन्दै भन्नुभयो, ‘चाँडै आउनुप¥यो सर ।’
मनिषजीसँग फोनमा बिदा हँुदै मैले भने, ‘ल म आइहालें । पाँचै मिनेटमा ।’
भागवतको त्यो अध्याय आधामा रोकियो । मैले हतारहतार झोला तयार पारें । दाह्री फालें । अनि क्याम्पसतिर लागें । मेरो झोलामा न्यायो दुई जोर कपडाबाहेक अरु केही थिएन । दिनहुँ क्याम्पस लैजाने झोलामा केही किताबहरु पनि परेछन् । दुई किताब मैले जानाजान नै झोलामा राखेको थिएँ । फेरि रामराज सरले फोन गर्नुभयो, ‘सर तयार हुनुभयो ?’ मैले जवाफ दिएँ, ‘म आइहालें सर ।’ म चुकचुक गर्दै हिडें । चुकचुक किन गरें भने मैले मेरा धेरै काम अलपत्र छाडेर हिडेको थिएँ । एक हप्ता दश दिन धक्का लाग्ने भो भनेर मन चुकचुकायो ।
क्याम्पसमा पुग्दा क्याम्पस प्रमुख रामप्रसाद सर, व्यवस्थापन विभागका विभागीय सदस्य रामराजा सर र शिक्षा विभागका विभागीय सदस्य देव सरका साथै अन्नपूर्ण आधार शिविर जाने विद्यार्थीहरु थिएँ । सृष्टिले मलाई आफ्ना साथीहरुसँग चिनाउँदै भनिन्, ‘हामीसँग जाने सर उहाँ नै हो ।’ मैले सबै विद्यार्थीलाई लक्षित गरे अङ्ग्रेजीमा भने, ‘गुड मर्निङ्’ । सबै विद्यार्थीहरुले जवाफ फर्काए, ‘गुड मर्निङ् सर ।’
त्यहाँ मैले पुनः एक कप चिया खाएँ अनि नेपाल बैंकमा पुगेर एटिएमबाट केही पैसा निकालें । केही माक्स र एकाध कपडा पनि बजारमा किनें । अनि म क्याम्पस आइपुगें । मङ्सिर महिनाको बिहानले चिसोको आभाष गराएको थियो ।
करिब आठ बजेतिर हामीहरु (म, स्ववियु सभापति मनबहादुर थापा ‘मनिष’ र बिबिएस चौथो वर्षका चौध विद्यार्थीहरु) लाई क्याम्पस प्रमुख राम सर, रामराजा सर र देव सरले बिदाइ गर्नुभएको थियो ।
यात्राको सुरुवात बसबाट भयो । म बसको सबैभन्दा पछिल्लो सिटमा गएर बसें । चिनेको र मैले पढाएको विद्यार्थी तारा के. सी. मात्रै थिइन् । सागर पनि रहेछन् । उनलाई मैले बिर्सेको थिएँ । पछि उनैले सम्झाएँ । मनिषजी त सहकर्मी जस्तै । साथी जस्तै । उहाँ पनि मेरै विद्यार्थी कुनै दिनको । उहाँकै आडभरोसामा म हिडेको थिएँ । बसले हामीलाई कास्की नयाँ पुल हुँदै सिवाइ लगेर छाडिदियो । सिवाइमा हामीले बिहानको खाना खाएका थियौँ । त्यहाँ हामीलाई व्यवस्थापन विभागका विभागीय प्रमुख याम सरले बिदा गर्नुभयो । मैले खाना खाने होटलमा दुई बोतल पानी, दुई प्याकेट फ्रुटी र चार प्याकेट चाउचाउ झोलामा राखें । याम सरले भन्नुभयो, ‘अगाडि हुदु भन्ने ठाउँ आउँछ । त्यहाँको चियापसलबाट ओरालो लाग्नुहोला है ।’
हुदुमा पुगेर हामीले त्यो चियापसलमा सोध्यौँ, ‘सामरुङ जाने बाटो यही हो ?’
चियापसले आमाले भन्नुभयो, ‘हो यही हो । फर्कदा यहाँ चिया खाने गरी आउनुस् है ।’
हामी ‘हस्’ भन्दै हुदुबाट अगाडि लाग्यौँ । ससाना घर र खेतका गराजस्तै बारीहरु थिए । बारीमा गहुँ हरियो थियो । गन्नेमान्ने भाषामा हामीले त्यहाँबाट ‘टे«किङ’ सुरु ग¥यौँ । खस भाषामा ‘पदयात्रा’ मा लाग्यौँ । हुदुबाट बाटो तेरपायँ तेरपायँ हुँदै अलि पर गएर ओरालो लाग्यो । मोटर बाटो खनेर छाडेजस्तो बाटो पछि गोरेटोमा सीमित भयो । त्यही गोरेटो पछ्याउँदै हामी अगाडि बढ्यौँ । सानो गोरेटो कतिखेर मोदी किनारमा झथ्र्यो त कतिखेर जङ्गलको उकालोमा निस्कन्थ्यो । कतैकतै बाटो सिससार क्षेत्रमा छिथ्र्यो कतै सुख्खा । बीचबीचमा बगेका ठाडा खोलाले भत्काएका बाटोहरु आफै पहिल्याउँदै हिड्नुपथ्र्यो ।
जब पदयात्रा सुरु भयो तब न अपरिचित विद्यार्थीहरुसँग हाइहेलो र गफगाफ सुरु भयो । रमाइलो सुरु भयो । चिनजान सुरु भयो । अब हामी सबै सहयात्री थियौँ । न कोही विद्यार्थी न कोही शिक्षक । ढुंगाको भर माटो माटोको भर ढुंगाजस्तै । साथीसाथी जस्तै । त्यहाँ न पढ्ने पढाउने बोझ थियो न त विद्यार्थी शिक्षकको औपचारिक लक्ष्मण रेखा थियो । थियो त केवल सबैलाई हिड्नको पिरलो । ठूलाठूला झोला बोक्नेहरुलाई झोलाको पिरलो । राम र म जस्तालाई भने झोलाको पिरलो थिएन । विद्यार्थीहरु साथीहरुसँग एक आपसमा झोला साटेर हिडेको पनि देखिन्थ्यो । कोही माथि त कोही तल हुनु यात्राको रमाइलो हो । मैले ड्राइभरटोल बस्दा एउटा गीत सुनेको थिएँ, ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि…।’ त्यस्तै त्यस्तै थियो, यात्रा ।
विद्यार्थीहरुले यात्राको अभिभावक खोजेका रहेछन् । यात्राको अभिभावक नभेटिदा मनिषजी स्वयंले आफूलाई डाक्टर घोषित गर्नुपरेछ, विद्यार्थीहरुलाई विश्वासमा लिनका लागि । उहाँले सृष्टिलाई भन्नुभएछ, ‘भनिदेऊ न डाक्टर मनबहादुर रोका मनिष, एन्थ्रोपोलोजिस्ट, सोसोलोजिष्ट, पोलिटिकल साइन्स ।’
त्यसो भनेपछि विद्यार्थीहरुले सोही नामको प्रोफाइल खोजेको बताउँदा यात्रामा हाँसोको फोहोरा छुट्थ्यो । मैले पनि उहाँलाई त्यही उपाधिले नै सम्बोधन गरे, यात्रा अवधिभर । नेतृत्वकर्ता सृष्टिलाई हम्मेहम्मे त परेकै थियो होला, साथीहरुलाई मनाउन । मनिषको सोझो पाराको वाण हनाइले लक्ष्यभेदन गरेकै रहेछ । त्यसमा अन्ततः म थपिए पछि यात्रा सजिलो भइहाल्यो । विद्यार्थीहरुले चिन्दै नचिनी घरमा ‘शिव सर’ जाँदै हुनुहुन्छ भनेर अभिभावकलाई आश्वस्त पारे होलान् ।
तर म सधैं शिक्षक विद्यार्थीहरुको पछि लाग्नुपर्छ भन्ने मान्यता राख्दिन । विद्यार्थीहरु स्वयं अगाडि लाग्नुपर्छ । यात्रामा मलाई याम पोखरेल सरको शैली मलाई मन पर्छ । यस्तो उस्तो निर्देशन दिने निरकुंश शैली होइन । झापाका काँकडभिट्टा बहुमुखी क्याम्पसका ३९ जना विद्यार्थीहरु बिना शिक्षक आफ्नो अभिभावकत्व आफै ग्रहण गरेर आएको पनि हामीले भेट्यौँ । त्यो मलाई अझै मन प¥यो । स्नातक तहका विद्यार्थीहरु आफ्नो अभिभावक आफै हुन् ।
मैले विद्यार्थी जीवनमा थुप्रै भ्रमण र वनभोज लिएर गएको छु । मैले सरहरुलाई वनभोजमा आमन्त्रण पनि गर्थे । करिब बार एक बजे वनभोजस्थलमा बोलाएर खाना ख्वाए पछि उहाँहरुलाई बिदा गथ्र्यौ हामीले । एक पटक प्राध्यापक डाक्टर कृष्णचन्द्र शर्मालाई त्यस्तै वनभोजमा काठमाडौँको त्रिभुवन पार्कमा बोलायौँ । उहाँ करिब एक बजेतिर आउनुभयो । बिदा हुने बेला उहाँले भन्नुभएको थियो, ‘रमाइलो गरेर आऊ । हामी गए पछि तिमीहरु खुल्न पाउँछौँ । हामी हुँदा तिमीहरु ओसेपमा पर्छौँ ।’
त्यो गोरेटो कतिखेर मोदी किनारमा झथ्र्यो भने कतिखेर सामरुङको खोचमा । सामरुङको त्यही खोचमा हामी केहीले चिया खायौँ । अनि नयाँ झोलुङ्गे पुल तरेर हामी झिनुको टोपी खस्ने उकालो चढेर छामरुङ्को फिस्टेल होटलमा गएर बास बस्यौँ । त्यो उकालोमा हामीले केही स्थानीयसँग कुराकानी ग¥यौँ । करौडाँै लगानीका होटलहरु बन्दै रहेछन् । त्यहाँ म्याग्दीको जस्तै तातोपानी पनि रहेछ । त्यहाँ पर्यटकहरु डुब्न जाँदा रहेछन् ।
हुदुबाट छामरुङ पुग्दासम्म हामीले बाटोमा गुल्मी अर्घाखाँचीबाट आएका चार पाँच जना भाइहरु बाहेक अन्य मानिसहरु भेटेनौँ । ती भाइहरु हुदुबाटै हामी सँगसँगै गएका थिए । अन्य मानिसहरु नभेटिनुको कारण त सामरुङसम्म गाडी पुगिसकेको रहेछ । गाडीको कारणले गर्दा पदयात्रीहरु नभेटिएका रहेछन् । ती भाइहरु पनि त्यस दिन छामरुङमै बास बसे ।
हुदुबाट हिड्न थाले पछि लौरो टेक्न थाले, विद्यार्थीहरु । हामी लौरो नलैजानेहरुले बाटोमा निगालोको लठ्ठी भेट्यौँ । ती लठ्ठी टेकेर हामीले यात्रा तय ग¥यौँ । झापालीहरुले पनि त्यस्तै लौरो टेकेको पाइयो भने गुल्मी अर्घाखाँचीका भाइहरुले पनि बाटोमा लौरो काट्दै थिए । निगालोको लौरो एक सम्भावनाजस्तो लाग्यो ।
पहिलो दिन छामरुङ सबैभन्दा पहिला सागर, सिर्जना, तारा केसी, सुशिला, विनिता र म पुगेका थियौँ । पछि अरु साथीहरु आउनुभयो । त्यसपछिका दिनमा भने हामीलाई तारा थापा, धन र रामले जित्न दिएनन् । फिस्टेल लजका मालिकले हामीलाई स्वागत गरे । सुरुमा हामी कालो चिया खायौँ । अनि पछि खाना खायौँ । साहुले हामीलाई बताए, ‘लोग्ने मान्छेहरुका लागि तल्लो घरमा दुई कोठा भनिदिएको छु । नानीहरुका लागि यही तिन कोठा छन् ।’
हामीले खाना खाने बेला होटलको आँगनमा कसैले ग्याँस बाल्दै थियो । ती कोरियन पर्यटक रहेछन् । उनीहरुले खानाका परिकार आफै ल्याएका रहेछन् । फलफूल र मासु सँगसँगै खाए, उनीहरुले । सन्तोषी र म शाहाकारी परेछौँ । जताजतै मांसाहारीको बीचमा मासुको बास्नालाई छल्दै हामीले खाना खायौँ, सँगै बसेर ।
खाना खाए पछि मनिषजीले हामी सबैलाई एउटा कोठामा जम्मा गर्नुभयो । अनि बल्ल औपचारिक परिचय भयो । मनिषजीले भन्नुभयो, ‘हाम्रो यो भ्रमण उद्देश्यपूर्ण छ । तपाईहरुले यसलाई दबाबका रुपमा लिनु पर्दैन । तर सामाजिक, आर्थिक, व्यवस्थापकीय आदि आदि कुनै एक विषयमा लेख्नुपर्नेछ । त्यो हामी प्रकाशन गर्नेछौँ । सरले के भन्नुहुन्छ कुन्नि ?’
मैले पनि भन्नैपर्ने भयो । मैले विद्यार्थीहरुलाई भने, ‘तपाईहरु धेरै दबाबमा नपरीकन दैनिकी लेख्दै जानुस् । म पनि लेख्दै जाउँला । रमाइलोको भागकै रुपमा लेख्नुस् । पछि लेख्न तपाईलाई सजिलो हुन्छ ।’
त्यसपछि सृष्टि, सुसिला र धनले दोहरी गीत गाए । सबै जसो विद्यार्थीहरु नाचे पनि । निकै मिठो दोहरी गाए उनीहरुले । पछि धनले मलाई बताए, ‘मेरा लोकगीतका दुई एल्बमहरु बजारमा आइसकेका छन् ।’
चिसो र थकाइ बिर्सेर उनीहरु गाउने र नाच्ने गरे । शायद सङ्गीत विधा पढाइ हुने भए ती विद्यार्थीहरुले अरु विधा रोज्ने थिएनन् होला । हामीले आफ्नो क्षमता र दक्षता छाडेर अर्कोतिर जबरजस्त मेहनत गर्नुपर्ने बाध्यता
छ । नेपाली बाध्यता !
हामी जम्मा भएका कोठामा होटलका साहु आए । अनि उनले हामीलाई भोलिपल्टको हिमालयको रोयल होटलको बास र पर्सिपल्टको अन्नपूर्ण आधार शिविरहको पिसफूल होटलको बासको बन्दोबस्त गरिदिए ।
झिनुबाट उकालिएका हामी छामरुङको टुप्पोमा गएर बास बस्यौँ । झिनुको टोपी खस्ने उकालो चढ्दै गर्दा कसैले हामीलाई भनेको थियो, ‘छामरुङको तलतिर गएर बस्नुहोला, तपाईहरुलाई सजिलो हुन्छ ।’
तर हामी आफ्नै मर्जीले अप्पर छामरुङमा पहिलो दिनको बास बस्यौँ । दिनभरको हिडाइले हामी थाकेका थियौँ । हुदु, सामरुङ, झिनु, छामरुङ आफ्नै नाम, आफ्नै गीत र आफ्नै सङ्गीत थिए । त्यहाँसम्म हामीले विदेशीहरु देखेनौँ । खाना खाने बेला कोरियनहरु देख्यौँ । आफ्नोपन हराएका ट्वाइलेटहरु देख्न थालेका थियौँ । हामीले संसार खोज्ने यात्रा तय गर्दै थियौँ । त्यो संसारमा हाम्रो प्रवेश दक्षिण कोरियाबाट भएको थियो । तर हामीलाई आफ्नै ससांर पनि पहिल्याउनु थियो । त्यसदिन भोलि बिहान सात बजे उठ्ने गरी सुत्यौँ ।