अन्नपूर्ण पुगेर फर्कदा

शिवशरण ज्ञवाली
बिहान ६ बजेर ५९ मिनेटमा सूर्य वेदमा भनिएजस्तै रातो लाली फिजाउँदै घोडा चढेर पूर्वबाट कुद्दै आइरहेको महसुस भयो । अन्नपूर्ण र गंगपूर्ण दुई हिमाल मिलेर सूर्यको स्वागतमा जुम्ले हात गरे । माछापुच्छ«ेले सूर्य आगमनको खुशीमा एक हिउँको ढिका खसालेर थपडी बजाइदियो । सूर्यको त्यो लालीको आभा अन्नपूर्णको छातीभरि पोतिदा मानिसहरुले खुशीले चिच्याए । अन्नपूर्ण लगायतका हिमालहरुका ओठहरु सूर्य चुम्बनको कारण लजाएर सुनौला बन्न पुगें । उनीहरु लजाउँदा मानिसहरु झन् खित्का छाडेर हाँस्दै उफ्रिए । तीन दिन देखिको यात्रा उत्कर्षमा पु¥याउँदै जिज्ञासुहरु सुनौला हिमालहरुलाई आफ्नो क्यामरामा कैद गर्न तछाडमछाड गरिरहेका थिए । कोही झन्डा माग्दै थिए कोही क्यामरा चलाइदिने सहयोग माग्दै थिए । हिमालको फेदमा सबै बराबर थिए । समाजवाद थियो, त्यहाँ ।

म चिसोले डामिएको थिएँ । हिमालको भाउन्नले सिर्जना गरेको घनचक्कर त शान्त भएको थियो तर त्यो डमाइले सिर्जना गरेको कुप्रभाव भने छँदै थियो । त्यसैले होला म बिस्तारैबिस्तारै अन्नपूर्णको छेउमा पुगें । छोइएला जस्तै भित्तोमा अन्नपूर्ण हिमाल सुनौलौ थियो । एउटा छुट्टै संसार थियो, घाम हिमालको सहकार्यको । त्यसमा विद्यार्थीहरु नरमाउने कुरै भएन । अरु मानिसहरु पनि त्यही जम्मा भएका थिए । त्यो ठाउँ आफैमा जति सुन्दर थियो, त्यतिकै डरलाग्दो पनि थियो । मोदीको मुहान त भयङ्करको पहिरोबाट बनेको रहेछ । त्यही पहिरोले छाडेको छेउमा गएर अन्नपूर्ण दर्शन गरिदो रहेछ । हामीले पनि दर्शन ग¥यौँ । थोरै त्रुटि भएमा जीवनले मृत्युुको साक्षात्कार गर्न बेर लगाउँदैनथ्यो । चिसो माइनस डिग्रीमै थियो होला । त्यो धेरै बेर बस्ने ठाउँ रहेनछ । हिमालले जस्तै बिहानै सूर्य नमस्कार गरेर मानिसहरु फर्कि हाल्दा रहेछन् । हामी यस्ता यात्रामा अभ्यस्त नभएकाले त्यो बुझ्ने कुरा भएन ।

एक डेढ घन्टाभित्र नै मानिसहरु हिडिसकेका छन् । अघि फोटो खिच्दै गरेकाहरु ओर्लिसकेका छन् । तर हाम्रा विद्यार्थीहरु भने हिड्ने छाँटकाँटमै छैनन् । बरु उनीहरु त उल्टो हिउँ पो खेलिरहेका छन् । यताउता हेर्दा मानिसहरु कोही पनि देखिदैनन् । अरु मानिसहरु त बाटोमा भएको हिउँ पनि छलेर हिड्छन् तर हाम्रा विद्यार्थीहरु भने त्यही हिउँमा लडिबुडी खेलिरहेका छन् । हामीलाई सकुशल त्यहाँ पुग्नु मात्रै थिएन । सकुशल फिर्ता आइपुग्नुपर्ने पनि थियो । त्यहाँ मैले भनेर मान्ने मुडमा पनि त विद्यार्थीहरु थिएनन् । त्यो उनीहरुको महिनौँको सपनाको प्राप्ति थियो । मेहनत, लगानी, दुख सबैको परिणति थियो । त्यहाँ बोल्न पनि धेरै भा छैन, आफ्नै स्वास्थ्यका कारणले । त्यसकारण म अगाडि लाग्नु नै बेस लाग्यो । मान्छे खेद्ने अगाडिबाट पशु खेद्ने पछाडिबाट भन्छन् नि ! झोला बोकेर अगाडि लागेपछि उनीहरु पनि ओरालो लाग्न करै लाग्यो । अन्नपूर्णको कुप्रभाव त पन्ध्र बिस दिनसम्म सबैले झेले कि जस्तो लाग्छ ।

ओरालोमा मैले ती सुनवालीलाई माथि जाँदै गरेको देखें । हामी हिमालयमा सँगै थियौँ । तर हामी अघिल्लै दिन पुगेर फर्किसकेका थियौँ तर उनी बल्ल उकालो लाग्दै थिइन् । उनले मलाई भनिन्, ‘नाइस् टु मिट यु ।’ मैले पनि भनिदिएँ, ‘आइ एम अल्सो भेरी ह्याप्पी । माइ स्टुडेन्ट अल्सो रिमेमबर यु ।’ निक पनि बल्ल उकालो चढ्दै थिए । भोलि सँगै जाने सल्लाह गरेका उनी पनि हामी बेस क्याम्पबाट फर्कदा बल्ल उकालो लाग्दै थिए, हामीसँग भेट भएको दुई दिन पछि । जति माथि गयो उति बिस्तारै जानुपर्दो रहेछ । त्यसरी जाँदा लेक लाग्ने खतरा कम हुँदो रहेछ ।

उकालोजस्तो ओरालो हुँदैन । ओरालो भनेको ओरालै हो । सजिलो हुन्छ । सफलताको शिखरमा पुगेपछि त्यो सफलता टिकाइराख्नका लागि त्यति धेरै मेहनत पनि गर्नु पदैन । बस्, निरन्तर बाटो नबिराइकन आफ्नो यात्रा जारी राखे पुग्छ । निरन्तर आफ्नो काम गरिराखे पुग्छ । हामीलाई पनि अब आफ्नो यात्रा जारी राखे पुग्थ्यो । गतव्यमा पुगेपछि यात्रा उत्कर्षमा पुग्छ । उत्कर्षबाट ओर्लन के बेर लाग्छ र ? ओरालोमा झापाली दिपेशसँग पनि हाम्रो भेट भयो । उनले भने, ‘सरहरु त फर्किसक्नुभएछ तर के गर्नु हामी त बल्लबल्ल उकालो लाग्दै छौँ ।’

उनीहरु पनि हामीभन्दा दुई दिन ढिलो त्यहाँ पुग्दै थिए । म घामसँग ओरालो लाग्दै थिएँ । हिमालमा परेको घाम तल सर्दै जाँदा म पनि माछापुच्छे« बेसक्याम्पमा आइपुगें । एक भरियाले भने, ‘अब यो खोल्सा फनक्कै नघुम्दासम्म घाम देख्न पाइदैन ।’

मलाई त्यहाँ भेटाउन मात्रै होइन उछिन्न धन, तारा, राम आइपुगे । बाटोमा उनीहरुले मलाई पानी र स्याउ पनि ख्वाए । सागरले पनि ख्वाए । हामीले हिमालयको रोयल होटलमा झरेर खाना खायौँ । अनि बम्बो हुँदै हामी अपर सिन्वा आएर बास बस्यौँ । बाम्बोबाट रातबिरात हामी अप्पर सिन्वा निस्कियौँ । काठमाडौँबाट आएका दुई युवतीहरु त्यो रातमा हामीसँगै मिसिएर सिन्वा आइपुगें । सिन्वा आइपुग्दा त घरै आए जस्तो लाग्यो ।

सिन्वाबाट भोलिपल्ट बिहान हामी त्यस्तै आठ बजेतिर हिड्यौँँ । छुमरुङको फिस्टेल लजमै आएर खाना खाने योजना थियो । फिस्टेलमा खाना खाएर एक बजेतिर हामी झिनुको ओरालो लाग्यौँ । विद्यार्थीहरु पर्यटकसँग घुलमिल हुन थालिसकेका थिए । अगाडि बोल्न डराउनेहरुले पर्यटकहरुसँग गफ गरेर रमाएका थिए । उनीहरुको अङ्ग्रेजी भाषा फरर भइसकेको थियो । स्कुल कलेजमा पढ्दा उनीहरु त्यति अङ्ग्रेजी बोलेनन् होला, त्यहाँ त्यति धेरै बोलें । भाषा सिकाइका लागि वातावरण पनि आवश्यक हुन्छ । हाम्रो वातावरण भनेको त अङ्ग्रेजी पनि नेपालीमा पढाउने छ । अनि कहाँबाट बोलाइ सुनाइ राम्रो बनोस् । पढाइ लेखाइले गति लिओस् । हामी ठान्छौँ किताब धेरै बोकायौँ भने, गृहकार्य नै धेरै गरायौँँ भने, कक्षाकार्यमा उनीहरुलाई जोतायौँ भने विद्यार्थीहरु धेरै जान्ने हुन्छन् । तर हामी यो ठान्दैनौं कि विद्यार्थीहरुलाई धेरै पढाउँदा उनीहरुको पढाइप्रति वितृष्णा सिर्जना हुन्छ । त्यसले भविष्यमा उनीहरु किताबदेखि नै डराउन थाल्छन् । हामीलाई लाग्दैन, ज्ञानको स्रोत किताबबाहेक अरु पनि हुन् । ब्राह्मण समाजमा एउटा उखान प्रचलित छ, ‘पढ पढ बाबु पण्डित हौँला ।’ हामी त्यही रटानमा छौँ । हामीलाई शिक्षामा पनि आजको आजै रिजल्ट चाहिएको छ । त्यो पनि फस्ट, सेकेन्ड आदिआदि ।

त्यसकारण यस्ता भ्रमणहरु विविध खालले उपयोगी हुँदा रहेछन् । हामीले त्यहाँ अष्टे«्लिया, अष्ट्रिया, चेक रिपलब्कि, मलेसिया, दक्षिण कोरिया, भारत, युके, युएस, जर्मन आदि विभिन्न देशहरुबाट आएका पर्यटकहरुलाई भेट्यौँ । एक अष्ट्रलियनका अनुसार उनीहरुका देशमा हिमालहरु त छन् तर २ हजार मिटरभन्दा माथिका हिमालहरु छैनन् । मलेसियन दुई जना पर्यटकहरु सँग विनिता, सुशीला, सिर्जना, सागरको कुराकानी खुबै जम्यो । एक आपसमा खानेकुरा आदानप्रदान गरेर खाए, उनीहरु । फोटो खिचे टिकटक बनाएर रमाए पनि । ती मलेसियनहरुसँग मेरो पनि भलाकुसारी भयो । उनीहरुले हामीलाई सोधें, ‘तिमीहरु मलेसिया जान चाहन्छाँै । तर हामीले चाहदैनौँ भन्ने जवाफ दियौँ । सिर्जनालाई आफ्नो झोलाबाट बिस्कुट झिक्न लगाए । अनि हामी सबैले बाँडेर खायौँ । हाम्रा विद्यार्थीहरुले पनि उनीहरुलाई सुन्तला दिए । यात्राभरमा सबैभन्दा नजिक भए ती पर्यटकहरु । हामीले संसारको विविधतालाई जान्न पायाँै । नेपाली नमस्ते विश्वव्यापी भएको रहेछ, अन्नपूर्णबाट !

सामरुङ झरेर हामीले नयाँ पुलमा चिया खायौँ । त्यहाँबाट हामी घान्द्रुक आउने जिप चढ्न उकालो लाग्यौँ । उकालोमा जगन गुरुङका छोराको पास्नी रहेछ । त्यहाँ उनीहरुले हामीलाई निम्त्याए । नाचगान चल्दै थियो । नाच्न जान्नेहरु जुरुकजुरुक गरिरहेका थिए । हाम्री विद्यार्थी तारा थापाले निकै राम्रो आफ्नो नाच प्रस्तुत गरिन् । स्थानीयले उनलाई सम्मान गरेर दुई माला पनि लगाइदिए । आहा ! कति सुन्दर दृश्य ! जनताले जनतालाई क्षमताको कदर गर्दै लगाइदिएका माला ! ती मालाहरु राजनीतिक तथा व्यवासायिक क्षेत्रमा लगाइने दिमागलाई दिगमिग पार्ने सस्तो खालका माला थिएनन् । अमूल्य माला थिए ।

जिप चढ्ने ठाउँ आइपुग्यो । मन भावुक भइहाल्यो । पाँच दिन निरन्तर पदयात्रा गर्दा हामीलाई त हिड्ने पो बानी लागेछ । सबै एउटै परिवारजस्तो भइएछ । गाडी चढ्नेभन्दा त कसोकसो नरमाइलो पो लाग्यो । १६ जना यात्रीहरु पनि अलगअलग भयौँ । जिप चढेपछि हाम्रा भेटघाट र सिर्जनाहरु सबै बन्द भए । एकाध घन्टामा हामी धान्दु्रक आइपुग्यौँ ।

‘क्याम्प फायर’ कुनै नौलो कुरा होइन । हिन्दू मिथकमा प्रचलित पुतना दहनको सम्झनामा प्रत्येक नेपालीहरुको घरघरमा वर्षको एकदिन मध्यरातमा घस्यौटा झोसेर आगो दुन्काइन्छ । क्याम्प फायर गरिन्छ । धान्द्रुकमा साँझमा त्यस्तै आगो दुन्काएर तापियो । अनि भोलिपल्ट गुरुङ पोशाक पनि लगाइयो । गुरुङ सङ्ग्रालय पनि घुमेर साँझ बागलुङ आइपुगियो । यसरी हाम्रो छ दिने यात्राले एउटा डोरेटो बनाएर छाडेको थियो, जीवनमा ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *