राम सुवेदी
आज समाजलाई रुपान्तरण गर्ने वा आफूबाट सामाजिक रूपान्तरणको प्रक्रिया सुरु गर्ने भन्ने सवाल चेतनाको भाष्यमा छ । समयको प्रभावसँग चिन्तनलाई गति दिने वा चेतनाको विकासलाई साथसाथ बुझ्ने विषय बहशकै विषय बन्नु पर्दछ । त्यो गतिले सामाजिक चेतनाको निर्माणप्रति लक्षित हुनुपर्छ । समाजको गठन प्रक्रिया निश्चित सामाजिक चेतनाको जगमा उपस्थित छ । स्थापित सामाजिक चेतनाको परिवर्तनबाट मानवीय चिन्तनको विकास सम्भव छ ।
आधारहिन सिद्धान्तमाथि मानिसको चेतन प्रभावले काम गर्दैन । जवसम्म आस्था, अवस्था र अवस्थितिका कारण एक सवाललाई केवल सवालकारुपमा जबर्जस्ती पक्षपोषण गरिरहन्छ, त्यसलेमात्र सामाजिक चेतनामा परिवर्तन हुँदैन, बरु त्यो चिन्तनले चेतनालाई संकीर्ण एवं जडवादी बनाउँदै सामाजिकम जीवनमा प्रभाव पार्छ । जो समाज विकासको हितकर छैन ।
आज हाम्रो समाज उद्धण्डहरुको भिड जस्तो देखिन्छ । मानवीय चेतना र चिन्तनको प्रभावले यस्तो असर देखा परेको हो । नेपाल जस्तै अर्थ, राजनीति र विकासको अल्प प्रभाव रहने मुलुकहरुमा यसखालको विकृति, विसंगति, अराजकता र जडताका बढ्नु स्वभाविक मानिन्छ । शिक्षा र चेतनाको विकास, त्यसको प्रभाव अभ्यासमा नरहेसम्म मानवीय चेतनाको विकास पनि हुँदैन । चेतनाको प्रभाव व्यवहारमा परिणत नहुँदासम्म चिन्तनको विकास नगन्य नै हुन्छ । चिन्तनको व्यवहारिक परिवर्तन स्वयंमा नहुँदासम्म व्यक्तिबाट समाजमा त्यसको स्थानान्तरण हुँदैन । यसले चिन्तनको संस्कृति अन्यन्त कमजोर छ । मानव जीवन र जगतको बुझाईमा हाम्रो समाज आत्मगत भावना वा संवेदनाद्वारा प्रभावित भई विचारको विकास भइरहन्छ ।
जब मानिसका सोंच विचारमा चेतनाको प्रभावसहितको तार्किक, विवेक र भौतिक यथार्थवादी समालोचनात्मक दृष्टिकोणको विकास हुँदैन वा व्यवहारिक प्रभाव पर्दैन । तबसम्म हाम्रो चिन्तनमा दुराभावनाका बाछिटाहरु पलाउँदै जान्छन् । त्यो, वैज्ञानिक चेतनायुक्त दृष्टिकोण होइन । यस्ता प्रवृत्तिहरूकै कारण समाजमा एकलवादी स्वार्थी चिन्तनको प्रभाव बढ्छ । जो आजको राजनैतिक चेतमा छताछुल्ल छ । राजनीतिका चिन्तन र चेतनालाई द्धन्द्धवादी दृष्टिकोणले बुझ्न भनिन्छ । यसको मतलव स्वार्थ मिलाउने परिभाषा अधिक पाईन्छ ।
अर्काेतिर सामाजिक विज्ञानको तार्किक विश्लेषण पद्धतिबाट चिन्तन र चेतनाको अध्ययन गर्दा नेपाली समाजका केही आधारभूत सैद्धान्तिक आधारको विश्लेषणबिना वर्तमान संकटमा गुज्रिरहेको आभास हुन्छ । नेपाली समाजले ग्रहण गरिरहेका त्यस्ता सिद्धान्तहरूको विश्लेषणमा नेपाली बौद्धिक समाजले देखाइरहेको आलस्य, निराशावादी, पलायनवादी, निरुत्साति मानसिकता मुख्य प्रवृत्ति हो । जसले पुराना मान्यताको संरक्षण गरिरहेको हुन्छ । परिवर्तनलाई आत्मसाथ गरिरहेको छैन । भन्दा र बोल्दा परिवर्तनको सम्वाहक भन्नेहरु अहिलेको परिवर्तित नागरिक अभिमतलाई समेत अस्वीकार गरिरहेका देखिन्छन् । यद्यपि उनीहरुको स्वार्थले भने अस्वभाविक ढंगले स्वीकार गरिरहेको छ ।
जब समाजले भौतिक उत्पादकत्व र भौतिक उत्पादनको विकासलाई रूपान्तरण वा परिवर्तनको आधार बनाउँदैन, त्यसले बोकेका मान्यतामा परिवर्तन हुन सक्दैन। तसर्थ समाजको विकासका लागि भौतिक वस्तुको सदुपयोगद्वारा जीवनलाई उन्नत बनाउने चिन्तनको विकास आवश्यक हसन्छ । त्यो वैज्ञानिक चेतनाले निर्माण गर्नेछ । हाम्रो सामाजिक चेतना भौतिक उत्पादनको विकासद्वारा सांस्कृतिक उत्थानको भौतिकवादी, वैज्ञानिक चिन्तनमा होइन, अझैपनि भाग्यवादी रुढीवादी संस्कारमा आधारित छ । चिन्तन र चेतनाको व्यवहारिक प्रभाव एकाकार नहुञ्जेल यस्तै अवस्थाबाट सकरात्मक प्रभाव पार्नसक्नेहरुले सोंच्नस पर्दछ कि परिवर्तन पहिला आफ्नो चेतनाबाट गरौं जो चिन्तन र व्यवहारको समायोजनमा जोड दिन सकौं ।