घिरौंला नाके लेखक

शिवशरण ज्ञवाली
कुरा सात आठ वर्ष अघिको हो । मंसीरको उतराद्र्धको कुनै दिन थियो । म कोठा बाहिरको पेटीमा बसेर घाम ताप्दै थिएँ । अगाडिबाट सुवास दुवै हात छाडेर मोटरसाइकल गुडाउँदै मेरै छेउमा पो आइपुगे । ‘आबुइ ! के हो भाइ ? के को रिस पोख्दै मोटरसाइकल कुदाएका छौँ मै माथि नै ल्याउँला झैं गरी ?’ भन्न खोज्दै थिएँ उनैले मलाई उछिन्दै बोले, ‘सर ! हाम्रो पत्रिकामा लेख लेख्नुस् न । हामी लेखकलाई पैसा दिन्छौँ ।’ न कुनै पृष्ठभूमि न कुनै अनुनय । सिधैं विषयप्रवेश । ठ्याक्कै मेरो जस्तै ठाडो शैलीमा उनले आफ्नो कुरा सकें ।

मैले सुवासलाई भने, ‘भाइ ! म पैसाका लागि लेख्दिन । आनन्दका लागि लेख्छु ।’ उनले थपे, ‘जे का लागि लेखे पनि हाम्रो पत्रिकामा लेख्नुस् न । हामी पैसा दिन्छौँ ।’ उनले अगाडि थप्न पनि भ्याए, ‘स्तम्भ लेख्नुस् ।’ म बबुरोले के को स्तम्भ लेख्थें र ? कहिलेकाही कनीकुथी लेख्ने न हो ।

मैले बागलुङका विभिन्न पत्रिकामा लेखिरहेकै थिए । बजारभन्दा बाहिरका पत्रिकामा पनि लेखिरहन्थे । नलेखे पनि आफै लेखिन्थें । साभारमा कहाँ पो कपीराइट लाग्छ र ? शिक्षा विषयमा पनि खुबै लेखियो । लेखको डँडाल्नै भाँचिदिएर छाप्थे, सम्पादक । निशुल्क लेख छपाइमा पनि लेखको डँडाल्नै भाँच्न थाले पछि मैले लेख्नै छाडिदिएँ, शिक्षा विषयमा । काठमाडौँमा मपाईंत्व छ । सबैले त्यसै गर्छन् । लेख गाम्लेका निशुल्क छाप्छन् तर मपाईंत्व देखाउँदै मनपरी कैंची चलाउँछन् । मानौं, मूल्य र मर्म उनीहरु बाहेक कसैले जान्दैनन् । तापनि लेख आएका दिन नाक निकै मुसारियो । आफैले आफैलाई हेरेर खुब दङ्ग परियो । अरुले पढोस् या नपढोस् आफ्नो लेख सबैभन्दा बढी पटक पढियो । अझ लाइक सेयर कमेन्टमा मख्ख प¥यो बस्यो । पढ्दै नपढ्ने पनि सेयर लाइक र कमेन्ट गर्छ भन्ने मलाई के थाहा ? सुर्खेत र जुम्लामा पनि कपी भएको खबर मलाई कसैले सुनायो । म फेरि मख्ख परें । नाक नाप्न मिले पनि तौलन मिल्दो रहेनछ ।

लेख्नका लागि कलमभन्दा पनि दिमागमा विचार चल्नुपथ्र्यो । दिमागमा विचार फुरे कलमको समस्या होइन न त समयकै अभाव हो । म कौनसा फेरि त्यस्तो चर्चित लेखक छु र ? सामान्य सिकारु लेखक न थिएँ । दुई चार अक्षर कोर्ने न हो । कलमको निब तिर्खाने क्षमता मेरो थिएन । सपाट लेखनमै मैले नाक मुर्साथें ।

पोखरामा केन्द्रको एउटा दैनिक पत्रिकाले मोसफलकारिता चलाइरहेको थियो । पूर्व मेची पश्चिम महाकाली चल्थ्यो, उसको मोफसलकारिता । त्यहाँका सम्पादक आनन्दका थिए । नाम पनि आनन्द नै भन्न मिल्ने । लेख चाहियो भने फोन गर्थे । नभए तै चुप मै चुप हुन्थ्यौँ । व्यवसायिक सम्बन्ध थियो । विचरा ! उनी पनि श्रमजीवि थिए । गुल्मीतिर घर बताए पछि हिमचिम बढिहाल्यो । खुब छापिए एकताक त्यो पत्रिकामा मेरा लेखहरु । भन्थे, ‘सर लेख हामी छाप्छौँ । पैसा काठमाडौँ जाँदा उहीबाट लिनुहोला ।’

एकपटक म काठमाडौँ गएका बेला पैसा लिन त्यो पत्रिकाको अफिसमा गएँ । काठमाडौँ अफिसका लेखावालाले भने, ‘नाम भन्नुस् ।’ मैले सगर्व नाम बताएँ । आफ्नो नाम भन्दा संसारका सबैलाई गर्व लाग्छ होला । मलाई पनि त्यस्तै गर्व लागेको थियो । ‘ज्ञवाली’ थर सुनेपछि ती लेखापढी गर्ने पनि हौसिए । तुरुन्तै भनिहालें, ‘कहाँको ज्ञवाली हो तपाईं ?’ मैले पनि झन् जोसिएर भने, ‘ज्ञवाली भने पछि गुल्मी बाहेक अन्यत्र कहाँ हुन्छन् र ?’ उनी झन् जोसिदैं भने, ‘गुल्मी कहाँको होला ?’ जवाफ दिने पालो मेरो थियो । मैले पनि सगर्व सुनाएँ, ‘चारपाला गुल्मी ।’ नाम भन्दा जस्तै आफ्नो गाउँ र जिल्ला भन्दा पनि मेरो नाक घिरौंला जत्रो लामो भयो । मैले जब गाउँ बताए उनी त एक्कासी सरबाट दाइमा ओर्लिहाले ।

उनले भने, ‘ओहो ! दाइ हामी त साखुल्ले दुई भाइ पो रहेछौँ । मेरो पनि उही फर्साेवा हो ।’ मलाई पनि के खोज्छन् …आँखा भनेजस्तै भयो । काठमाडौँको नाम चलेको ठूलो पत्रिकाको लेखावाल आफ्नै भाइ । उनले पनि सम्पादकको जस्तै चुरीफुरी नलगाउने कुरै भएन । म जाबो राजधानी बाहिर बस्ने गवाँर ! त्यहाँको चलन के थाहा ? उनले भनिहाले, ‘दाइ ! पूर्व पश्चिम उत्तर दक्षिण किन लेख्नुहुन्छ ? सिधै यही लेख्नुस् ।’ लेखाइको मामलामा भने मलाई लो प्रोफाइल नै मनपर्छ । हौसिइ हाल्ने चलन छैन । म हौसिन्न । प्रचारको चलन पनि खासै छैन । पाटी साटीमा लेखेर ‘भ्युअर’ बढाउनु पनि छैन । साखुल्ले भाइले आफ्नो तर्फबाट दिनुपर्ने पैसाको आधा पैसो मलाई दिए । बाँकी अर्को पटक दिने बताए । म पनि मख्ख पर्दै प्राप्त पैसालाई के काना ठान्दै फर्किएँ ।

पैसो पाए पछि पोखरामा लेख छाप्ने उत्साह पनि बढेर गयो । गोजी तातो हुन्जेल त लेखि हालिने भयो । ऊँ नमो नारायण भन्दै अर्को एक मित्र नेत्रनारायणलाई पनि लेख लेख्न हौसाएँ । उनको पनि कलम राम्रै चल्दो रहेछ । उनी विचरा सोझो मान्छे । खुरुखुरु लेख लेखे । तर उनले कहिल्यै पैसा पाएनन् । निशुल्क सेवाका लागि उनले मोबाइलको डाटा खर्चिएँ । बिजुलीको बिल बढाए । तापनि अझै पनि उनी आफ्नो लेख छापिएको पत्रिकाको कटिङ्मा भँगेर टाउके शीर्षक हेरेर खिस्स हाँस्न छाड्ेदैनन्
रे ।

खै के काम परेर हो ? म फेरि काठमाडौँ पुगें, केही महिनापछि । आफ्नै गाउँका भाइलाई फोन लगाएँ । फोन उठ्दै उठ्दैन । पटकपटक फोन गरे पछि बल्ल फोन उठ्यो । फोन उठाउँदै भाइले भने, ‘दाइ ! म आज बाहिर छु । भोलि आउनुहोला ।’ हस् भन्नै परो । भोलि भन्ने काइदा भानुभक्त जिजुबाका पालादेखि नै हो । पनाति खनाति पुस्तामा पनि उतिकै लोकप्रिय नै छ । भोलि फेरि फोन गरें । उठ्दै उठ्दैन । अनि म अनुमति नै नलिइकन अफिस पुगें । भाइले म एकछिन बाहिर जान लागेको छु । दशै मिनेट बस्नुस् भन्दै पो बाहिरिए । स्वास्थानीमा विष्णुलाई वृन्दाले कुराए भन्दा यो फरक थियो । म गए दिए उनी बन्धनमुक्त हुन्थे । मैले उनको काइदा बुझें । अनि म आफै बाहिरिएँ । त्यसको केही समयपछि त्यो पूर्व पश्चिमको मोफसलकारिता पनि बन्द भयो । मेरो नाताकारिता पनि सकियो । न रह्यो बाँस न बज्जो बाँसुरी । लिनुपर्ने पैसा पुष महिनाजस्तै फासफुस भयो ।

राणाकालदेखि चलेको सरकारी पत्रिकामा लेख छापिन्छन्, कहिलेकाही । त्यहाँ पनि सिन्डिकेट छ । सिन्डिकेट नचल्ने प्राज्ञिक संस्था कुन होला र खै ? नियमित छापिदैंनन् । नियमित छापिए पो स्वादिलो । कर काटेर पैसा लिनुको मज्जा आउँछ । वर्षमा एउटा लेख छापिएर के को पैसा लिन जानु ? सिन्डिकेटवालाले अरुलाई छिर्न दिए पो ! त्यो पत्रिकामा लेख्ने जाँगर हुने कुरै भएन । अर्को राजधानीको नामी पत्रिकामा पनि मैले जमानामा लेखें । त्यसमा लेख पनि छापिए । दाम पनि पाएँ । तर गाउँघरतिर बसेकालाई त्यो काठमाडौँ धेरै टाढा हो ।

मित्र मधुसुदनले मलाई अनेक थरीमा लेख भनेर हौस्याउँछ । तर उसले पनि लेखाइमा पैसाभन्दा नाममै मख्ख पर्नुपर्ने बाध्यता सुनाएको छ । मलाई लेख्न हौस्याउने भिनाजुले आज आफूलाई वृद्ध भन्दा म आफैलाई कस्तोकस्तो नरमाइलो लाग्यो । हिजोजस्तै लाग्छ, तम्घासमा मलाई लेखाइको प्रेरणा दिनुभएको । लेखाइको सार्वजनिकीकरण मैले ६ कक्षा पढ्दा गरेको थिएँ, दरबार स्कुलमा । आज पनि म दरबार स्कुलमा पुगेको थिएँ । छोरो पनि त्यही स्कुल पढ्दै छ अहिले । हरि कँडेल सरले भन्नुभयो, ‘बाबुलाई मैले पनि पढाउन थालेको छु ।’ आहा ! हामी बाउछोरा दुवैका गुरु हरि सर ! श्रद्धाले मेरो शीर झुक्यो ।

छ कक्षा पढ्दा एउटा वक्तृत्वकला प्रतियोगिता थियो । त्यो प्रतियोगितामा मैले कागज हेरेर आफ्नो मन्तव्य राखें । नियम भत्काउने चलन मैले त्यतिबेलै देखि सिकेको रहेछु । अहिलेको ईश्वरी मन्दिरको अगाडिबाट म वाचन गर्दै थिएँ । बिना सम्बोधनको मेरो शैली आज पनि उस्तैउस्तै छ । साथीहरु तल थिए । माधव सरलाई मात्रै सम्झन्छु म । सर कोरानामा बित्दा म पनि पीडामा थिएँ । माधव सरसँग मेरो निकै घनिष्टता थियो, राजेन्द्र सरसँग जस्तै । माधव सरको पसलमा म घन्टौँ बस्ने कुरा निकै कमलाई मात्रै थाहा थियो होला । तर दुवै सरहरु कोरानाले बित्नुभयो । माधव सरले मलाई त्यतिबेला सान्त्वना पुरस्कार दिनुभएको थियो । म लेखाइमा आज पनि सान्त्वना नै छु ।

तर यी अधिकांश लेखाइहरु निशुल्क नै चले । खुब लेखियो । चाहे त्यो बागलुङमा होस् चाहे काठमाडौँ नै किन नहोस् । यी सबै घिरौला नाके लेखाइ हुन् । घिरौला नाके गराउन पनि लेख्नुपर्छ । लेख्दा शैली विकास हुन्छ । भाषिक परिमार्जन हुन्छ । कल्पना शक्ति बढ्छ । म त सुवासलाई बेलाबेला सल्लाह दिन्छु, ‘तिमी आफै लेख ।’ सुवासले लेख्नुको दोहोरो फाइदा छ । एकातिर उनी लेखक बन्न सक्छन् अर्कोतिर लेखको पारिश्रमिक पाउँछन् । युवराज घिमिरे कान्तिपुरमा सम्पादक भएका बेला उनले यो चलन चलाए, पत्रकारितामा भन्ने सुनेको छु । त्यसबाट श्रमजीवि पत्रकारको पनि उत्थान हुन्छ । पत्रकारले मात्रै होइन, विद्यार्थीले पनि लेख्नुपर्छ । शिक्षकले पनि लेख्नुपर्छ । हामी लेख्न पढ्न सिक्ने सिकाउने अक्षरकर्मीहरुले नै नलेखे कसले लेख्छ ? मैले विरुवा रोप्न त सिकाउँदिन । घर बनाउन पनि सिकाउँदिन । भूपाललाई मैले एक दिन यो भ्रमबाट मुक्त गरिदिएँ । मैले सिकाउने भनेको पढ्न लेख्न नै हो भनेर । धेरै अझ भ्रममा छन्, मैले सिकाउने विषयका बारेमा । भ्रम नरहोस् है । हामी पढ्न लेख्न सिकाउँछौँ । तरकारी खेती गर्न सिकाउँदैनौँँ ।

मैले फेसबुकमा एउटा चेक राखिदिएँ, पैसा ढाकेर । देश विदेशबाट अनेक प्रतिक्रिया आए । त्यो लेखेवापत पत्रिकाले दिएको पारिश्रमिक थियो । बागलुङ जस्तो सानो ठाउँमा लेखकलाई पैसा दिनु आफैमा चानचुन कुरा होइन । लेखक जन्माउन र मानिसहरुलाई सिर्जनशील बनाउन, काल्पनिक बनाउन, सोच्ने तरिका बदल्न यसले अवश्य पनि सहयोग गरेको छ । कतै महिलाहरुले नेतृत्व गरेको संस्था भएर पो यो संभव भएको हो कि ?

लेखकलाई लेखस्व दिने कुराको मूल्य लेखन क्षेत्रकै साथीहरुले मात्रै बुझ्नुहुन्छ । मित्र हरिस् शर्माले भन्नुभएको पनि छ, ‘विचार दिने कुरा त्यति सजिलो छैन । पत्रिकाका पाना भर्नुमात्र लेख्नु होइन । लेख्न वास्तवमै गारो छ । साधना गरेरै लेख्ने हो भने एउटा सामान्य पत्रिकाको लेख लेख्न हप्ता दिनभन्दा बढी लाग्छ । यो कुरा न छाप्नेले बुझ्छन् न पढ्नेले ।…प्राज्ञिक विचारको सम्मान गरेकोमा पत्रिका टिमलाई धन्यवाद ।…अरुले पनि यो कुरा सिक्न जरुरी छ ।’ जुन दिन फेसबुकमा त्यो फोटो राखेथें, त्यही दिन देखि यो लेख्न लेख्नका लागि म सामग्री बटुल्न थालेको थिएँ । जहाँ पुगे पनि दिमाग रन्थनाएकै थियो, यो विषयमा । पत्रकारिताका दुख मलाई थाहा छ । तर व्यवस्थापन अरुबाट पनि सिक्ने कि ? नेपालमा आफूलाई बाहेक अरुलाई राम्रो देख्ने चलन खासै छैन । अरुको शैली सिक्ने कुरा त परको ।

मित्र मधुसुदनको कुरा अगाडि पनि गरे । लेख छाप भन्ने उसको सूत्र मेरो प्रेरणा स्रोत पनि हो । उसले पनि भनेको छ, ‘लेखेर रुप्पे पाउनु पनि ठूलै कुरो हो । पत्रिकाहरु सित्तैमा लेख लिएर बेच्छन् । लेखकहरु नाम छापिएपछि दंग !’ दंग पर्ने लेखकमा ऊ पनि हो । लेखाइका क्षेत्रमा त कहिलेकाही ‘पैसा पाएर लेखेको छु’ भनेर अरुलाई ढाँट्नुपर्ने बाध्यता पनि आउँछ ।

सुवासले मलाई पारिश्रमिक सहितको लेखको प्रस्ताव गरे । श्रमको मूल्यको कुरा आयो । मैले कनीकुथी लेखें । स्तम्भ मैले स्वीकारेको होइन । पैसाको मतलब राखेको पनि होइन । तर पैसा लिन उनैले बोलाउँछन् । कहिलेकाही घरै पनि ल्याइदिन्छन् । त्यसरी घरै ल्याइदिएर छाड्ने पैसाको सुगन्ध मूल्यमा मापन हुन सक्ने छैन । सानो क्षेत्रमा यो वास्तविक पत्रकारिताको राम्रो उदाहरण हो । श्रमजीविको सम्मान हो । लेखाइभन्दा बाहिरका साथीहरुले पैसालाई तलब बुझ्नु स्वभाविक नै हो । तर लेखकको तलब हुन्न है । मख्खै परेर जीवन जिउने हो । लेखस्व अमूल्य हुन्छ । त्यही हो । त्यति नै हो लुकाइएको पैसाको मात्रा । जय नेपाल !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *