नेपाली समाजमा ‘लिभिङ टुगेदर’ संस्कृति कि विकृति ?

सरोजराज पन्त
विवाह नगरी विवाह पुर्व अन्तरङ्ग सम्बन्धसहित एकै ठाउँमा मिलिजुली बस्ने परम्परा हो ‘लिभिङ टुगेदर’ । अर्को शव्दमा विवाह पहिले ‘रिलेसनसिप’मा रहेर यौनाचार गर्ने कार्यलार्ई ‘लिभिङ टुगेदर’ भनिन्छ । यो प्रचलन अहिले सहरी जीवनमा दिनहुँ बढिरहेछ । यसलाई फरक फरक दृष्टिले व्याख्या गर्ने गरेको पाइन्छ । कसैले समाजको यौनाचारप्रति रहेको संिक्रण धारणामा आएको आमुल परिवर्तन भन्दछन । कसैले बाह्य असर त कसले बिकृति आएको भन्दै विरोध गर्दछन ।

पश्चिमा समाजमा पछिल्लो समय विकास भएको यो प्रचलन सीमान्त हुँदै अहिले सर्वस्वीकार्यमात्र भएको छैन क्रमश सामान्य बनेको छ । नेपाली समाजमा भने केही बर्षयता यसको प्रभाव देखिन थालेको छ । महिला र पुरुष दुवैथरीले कालान्तरमा पति–पत्नी भएर जीवनयापन गर्ने उद्देश्य राखेर थालनी गर्ने ‘लिभिङ टुगेदर’ संस्कृतिले नेपाली समाजको विवाहकर्मको महत्वलाई निरन्तर चुनौती दिइरहेको छ । यौन आनन्द, बच्चा जन्माउन विवाह गर्ने पर्ने संस्कृतिमा हमला गरेको छ ।

त्यसो त केही नेपाली चेलीले म विवाह नगरी बच्चा जन्माउन चाहन्छु भन्नु, कसैले म आमा बनाउन चाहन्छु तर आमा बनाउँने बन्ने कोही छैन भनेको र त्यसलाई समर्थन गर्ने र बिरोध गर्ने काम सामाजिक सैन्जालमा भइरहेको देखिन्छ । यस्ता कार्यले पनि नेपाली समाजमा यो तातो बिषय बन्ने गर्दछ । विवाह किन र केका लागि भन्ने बिषयलाई अनिश्चिततातर्फ उन्मुख गरिरहेको ‘लिभिङ टुगेदर’ले अहिले आएर विवाह पहिले यी सबथोक खुला भए विवाह के कालागि ? किन ? र के विवाह आवश्यक छ र भन्ने प्रश्नहरु उठाइ दिएको छ ।

विश्वव्यापी रुपमा हेर्दा आजका दिनमा विश्वका तीव्र गतिका धावक लेमन्ट मार्सेल जोकोब्सको पारिवारिक जीवनबारे अध्ययन गर्दा उनी ‘लिभिङ टुगेदर’ मा रहेका छन । आफ्नी प्रेमिकासँग बसिरहेको जोडीबाट दुईवटा सन्तान भइसकेका छन् । हामी नेपालीलाई आश्चर्य लाग्ने कुरा उनकी योभन्दा पहिलाकी प्रेमिकाबाट पनि एक सन्तान जन्मिसकेको अबस्था छ । नेपालमा सबै प्रकारका विवाह पहिले यौनाचार हाम्रो परम्परा, सामाजिक मूल्य–मान्यताभित्र पर्दैन । यद्यपि पश्चिमा समाजमा उमेर पुगेका अविवाहित जोडी ‘लिभिङ टुगेदर’ मा रहेने र वैवाहिक सम्बन्ध कायम नगरी यौनक्रिया एवं प्रजनन गर्नका लागि स्वतन्त्र हुने क्रम बढदै गएको छ ।

त्यहाँको सामाजिक मूल्य र मान्यतामा यसलाई आन्तरिकीकरण गरिसकिएको छ । बेलायतका वर्तमान प्रधानमन्त्रीले पनि ‘लिभिङ टुगेदर’मा रहेकी युवतीसित बच्चा भइसकेपछि हालै मात्र विवाह गरेका छन् । हाम्रो लोकोक्तिको ‘बाउको बिहे देख्नु’ असम्भवप्रायः घटना हो तर बोरिस जोन्सनका छोराछोरीलाई यो अवसर प्राप्त भयो ।

परापुर्वकालमा सिकारी युग थियो जहाँ मातृशक्तिको बाहुल्यता रहेका पाइन्छ । सिकार गरेर जिविको पार्जन गर्ने काम त्यो समय बाध्यात्मक थियो । समय वित्दैजाँदा सिकारको विकल्प आजिन थालियो । त्यसमा कृषिबाट खाद्य समस्याको स्थायी र भरपर्दो समाधान हुने विकल्प स्वरुप समाज कृषि युगमा प्रवेश ग¥यो । कृषिको विस्तारले मानिसलाई सहज जीवन र फूर्सदको क्षण प्राप्त भयो । महिलाले वासस्थान वरिपरि कृषि र वनस्पतिको कर्मबाट जोहो गरेको पाइन्छ । खाद्य सामान पुरुषले सिकारबाट ल्याएर थप गर्थे । सिकार गर्ने काममा खतरा बढी भए तापनि कृषिमा खतरा कम रहेकाले माहलाहरु सहभागी हुने गर्दथे । पुरुषका लागि जमिनको प्राप्ति र प्रजनन शक्ति भएकी नारी आवश्यक बनिन् । यहीँबाट परिवारको सुरुवात भयो । परिवारको विकासका लागि यौन जीवन जरुरी थियो । यसैका लागि विवाह सँस्कृतिको सुरुवात भयो ।

समयानुसार विवाहको नियम आवश्यक ठानियो र सामाजिक संरचनाको सिर्जना भयो । विवाहलाई सामाजिक संरचनामा ठालियो र पितृसत्तात्मकतालाई दह्रिलो बनाउने सामाजिक कानुनको विकास गरियो । विवाह सामाजिक संरचनाले पितृसत्तात्मकतालाई मजबुत बनाउने पद्धति बसायो । त्यो समय पछि महिलाको परतन्त्रताको श्रीगणेश भयो । औद्योगिक क्रान्तिले पछि समाजमा परिवारको संरचनामा यौनको नैतिकतामा अनैको परिवर्तन भए । कालान्तरमा महिलाहरुको निर्भरता पुरुषमा सिमित रहेन । पुरुषसँगको आर्थिक निर्भरता क्रमश घटदै जान थाल्यो ।

शिक्षा सचेतनासँगै महिला शसतिmकरणका नारा गज्रिन थाले । स्वास्थ्यमा आमूल परिवर्तन आए । चिकित्सा विज्ञानको प्रगतिले फडको मार्दे गयो । यौन सम्बन्धमा रहेको परम्परागत सोचमा परिवर्तन भयो । परिवार नियोजनका साधनको प्रयोग बढेर गयो । विवाह नगरी वा विवाहइतर यौन सम्बन्ध राख्नु पापसित दाँजेर हेर्न छाड्यिो । पाश्चात्य सामाजिक संस्कृतिले स्वतन्त्रत जीवन शृङ्खला छनोट गर्न र व्यक्तिगत सम्बन्धका लागि महत्वपूर्ण दिशानिर्देश गर्न थाल्यो । समाज र समूहभन्दा व्यक्तिवादको विकास भयो । विवाह नगरी महिला र पुरुषको चाहनामा उमेर पुगेकासँग यौन सम्बन्ध राख्नु पाप होइन भन्न थालियो । यसै सोचको परिणाम स्वरुप ‘लिभिङ टुगेदर’ सँस्कृति मौलायो ।

‘लिभिङ टुगेदर’को अवधारणले विवाह नगरीकनै दुई जना सँगसँगै बस्ने बन्दोबस्त मिलाइ दियोे । यसैको परिणाम स्वरुप जोडीहरूले दीर्घकालका लागि वा स्थायी रूपकै रसबस वा यौनाचार गर्न यो सम्बन्धलाई रोज्ने चलन बढदै आयो । यौनक्रिया दुई विपरीत लिङ्गीबीच अन्तरङ्ग सम्बन्ध कायम गर्ने र उनीहरूको भावनात्मक क्षमता बुभmनका लागिसमेत महत्वपूर्ण कसि बन्न गयोे । कति पय देशमा अदालती व्याख्यामा नै उमेर पुगेका जोडीले आपसमा राख्ने सम्बन्ध छनोटको अधिकार हो । जीवनको अधिकारको रुपमा ‘लिभिङ टुगेदर’ विश्वव्यापी बन्दै आएको छ ।

‘लिभिङ टुगेदर’ सम्बन्ध राख्नुका विभिन्न कारणहरु रहेका छन् । वैवाहिक सम्बन्धमा असफल भएकाहरुलाई विवाह भयङ्कर डर लाग्दो अवस्था हो भन्दछन् । विवाहपछि सम्बन्धविच्छेद भइरहने हो भने विवाह गर्नु भन्दा ‘लिभिङ टुगेदर’ राम्रो सम्बन्ध हो भन्नेहरु पनि कम छैनन् । एउटै घर–वा कोठामा बसेर, एउटै भान्सा खाना खाने, कामले गर्दा समय नपाउनेहरु ‘लिभिङ टुगेदर’ मा रहेका छन । यसैगरी खर्चपर्च बचाउनेदेखि पढाइ वा नोकरी लगायतका कारणले विवाहमा ढिलाइ भएकाहरु ‘लिभिङ टुगेदर’मा देखिन्छन । आर्थिक लगायतका कठिनाइले विवाह गर्न नसक्दा विवाह नगरी यौनसुख लिन ‘लिभिङ टुगेदर’लाई विकल्पको रुपमा लिनृ गर्दछन । विवाह बिना उत्तरदायित्व नलिई प्रतिबद्धताबिनाको यौन सुख लिनका लागि ‘लिभिङ टुगेदर’मा रहन्छन् ।

इसलाई कतिपयले विवाहकै समानान्तर रूप हो भन्न थालिसकेका छन । विवाहका धेरै विशेषता वा चरित्र यसमा हुन्छन् । तथापि नेपालमा सामाजिक,साँस्कृतिक र कानुनी मान्यताका अनेकौ प्रश्नहरु तेर्सिएका छन । कतिपय यसका जोडीहरू एउटै निवास रोज्नेमात्र नभै आम्दानीलाई साझेदारी गरेर उपभोग गर्छन् । ‘लिभिङ टुगेदर’मा बस्ने जोडीले एक–अर्काप्रतिको दायित्व वा अधिकारका बारेमा सुरुमै छिनोफानो गर्ने र आपसी विश्वासमा कामगर्ने पनि छन । नेपालमा कतिपय अवस्थामा सामाजिक मूल्य र मान्यतालाई छल्न, पारिवारिक तथा आर्थिक कारणले ‘लिभिङ टुगेदर’ रोज्ने गरेको पाइन्छ । समलिङ्गी सम्बन्ध, अन्तरजातिय सम्बन्ध भएको अवस्थामा यसको विकल्प आजेको पाइन्छ । विविध कारणले कसैको दाम्पत्य जीवन अप्रिय वा त्रासदीपूर्ण रुपले टुङ्गिएमा त्यस्ता महिला र पुरुषले वैवाहिक सम्बन्धको पुनः प्रारम्भ गर्न रुचि नदेखाई ‘लिभिङ टुगेदर’ मा रहने गर्दछन ।

अहिले नेपाली समाजमा पश्चिमी विचारको ग्रहण सहज हुने गरेको छ । यहाँ समयसापेक्ष मूल्य–मान्यताको विकास हुने काममा समकालीन विश्वको प्रभाव परेको छ । समाज विकासको गति समानान्तर नभएतापनि परसँस्कृतिको ‘लिभिङ टुगेदर’को असर छिट्टै परेको छ । तथापि सामाजिक मूल्यमान्यताले त्यसलाई टेको दिने वा भत्काउने भन्ने संरचनाको दोसाधमा परम्पराकै बिँडो थामिरहेको अवस्था पनि उत्तिकै छ । अहिले ‘लिभिङ टुगेदर’ यसैको देखासिखी गरेर सहरी समाजमा प्रयोग भै रहेको छ । ‘लिभिङ टुगेदर’ अहिलेको जीवनपद्धति बनेको पश्चिमा देशको नतिजा नेपालमा प्रकाशमा आई सकेको छ । यद्यपि ‘लिभिङ टुगेदर’ कानुनको नियमनभित्र छैन । १८ वर्ष पूरा भएका युवाले यौनसम्बन्ध राख्न र सन्तान जन्माउन पाए तापनि विवाह गर्न पाउँने कानुनी मान्यता छैन् । २० वर्ष पूरा भएपछि पनि विवाह नगरी ‘सँगसँगै बस्न’ र सन्तान जन्माउन कुनै कानुनी अवरोध पनि देखिदैन । वैवाहिक सम्बन्ध नभए तापनि त्यस्ता जोडीबाट जन्मिएको सन्तानको पञ्जिकाधिकारीले जन्मदर्ता गरिदिनुपर्दछ । तर विवाहदर्ताका लागि भने दुवै जना उमेर पुगेका अविवाहित हुन् भन्ने कुरामा पञ्जिकाधिकारी सन्तुष्ट भएपछि मात्र विवाह दर्ता हुनसक्ने व्यवस्था छ ।

यसमा कुनै भेदभाव देखिदैन बरु कुनै अविवाहित जोडीबाट सन्तानको जन्म हुनु स्वतः विवाह हुनु हो । कुनै औपचारिक समारोहमा विवाह गरिरहन पर्दैन । त्यसैले पनि ‘लिभिङ टुगेदर’ले डेरा जमाएको छ । आफ्नो हुनेवाला जीवनसाथीबारे जान्ने र आफ्नो चाहना अनुकूलको छ वा छैन भन्ने जाँच्ने अवसरलाई नयाँ घर किन्नु र विवाह गर्नुसँग तुलना गर्न थालिएको छ । नयाँ पुस्ताले नयाँ घर किन्नुपूर्व जसरी हेरीबुझी आफ्नो आवश्यकताअनुरूप छ वा छैन यकिन गरेर किनिन्छ त्यसैगरी जीवनसाथीको छनोटका लागि पनि पर्याप्त जानकारी प्राप्त गर्नु उत्तिकै जरुरी हुने भएकोले ‘लिभिङ टुगेदर’ रोजिन्छ भनी तर्क दिन्छन । उसको यौन क्षमता, चाहना र प्रवृत्तिबारे थाहै नपाई विवाह गर्दा वैवाहिक सम्बन्ध टुट्ने भएकोले तनावपूर्ण वैवाहिक जीवन बिताउनभन्दा ‘लिभिङ टुगेदर’ कानुन बनाउन जिकिर गर्दछन । ‘लिभिङ टुगेदर’ मा पनि विवाह गर्ने दुवै स्वतन्त्र भएजस्तै सम्बन्धविच्छेद गर्न पनि स्वतन्त्र हुन्छन् ।

नेपाली समाजमा विवाहलाई स्वर्गैदेखि बाँधिएको बन्धन भनी विवाह मण्डपमा सात फन्का घुम्ने चलन छ । यसमा विश्वास गर्ने हाम्रो समाजमा यो सात जुनीसम्म चलिरहन सक्दैन र मन नमिल्दा अदालतमा गएर सम्बन्धविच्छेद गर्न सकिन्छ । यो विधि खर्चिलो, झञ्झटिलो, जटिल र कष्टप्रद हुने भएकाले विवाह स्थायी प्रतिबद्धताकोेनयाँ रुप ‘लिभिङ टुगेदर’ रोज्ने चलन ठिक रहेको तर्क दिने पनि गरिन्छ । यसमा सजिलै सम्बन्ध बन्ने र सम्बन्धलाई तोड्न सकिने तथा थोरै मात्र उत्तरदायित्व लिनुपर्ने अस्थायी सम्बन्ध भएकोले ‘लिभिङ टुगेदर’का जोडीलाई विवाहको तुलनामा बढी स्वतन्त्रता मानिन्छ । एकअर्का जोडीप्रतिको सहयोग र समर्थनको दायित्व न्यूनतम रहने भएकाले ‘लिभिङ टुगेदर’को यौनाचारमा विश्वासको कमी रहनसक्दछ । दुवैलाई अस्थायी सम्बन्ध भन्ने लाग्नाले योभन्दा गतिलो वा राम्रो पाएमा वा लाग्नेबित्तिकै ‘लिभिङ टुगेदर’ टुङ्गिनसक्दछ । यसबाट अनेकौ समस्या आउन सक्दछन ।

नेपाली समाजमा परम्परागत मान्यता अनुरुप ‘लिभिङ टुगेदर’मा महिलाको अवस्था प्रतिकूल हुने गरेको छ । महिलालाई विवाहको प्रलोभन देखाई क्षणिक विश्वासमा पारी पुरुषले यौन सन्तुष्टि लिन यस्तो हर्तक गरी सम्बन्ध राख्ने गरेको पाइएको छ । यौनाचारमा रहेको निकटता र प्रगाढताले एकअर्काप्रति आदर र विश्वासको मार्ग नवनाई यौनलाई प्राथमिकता दिंदासमस्या देखिने गरेका छन । त्यो त सँगै बस्ने मोज गर्ने र चित्त नबुझे बलात्कार भयो भने मुद्धाहाल्ने चलन पनि नेपाली समाजमा बढदै आएका छन । त्यसैले वैवाहिक जीवनमा महिला–पुरुषबीचको सम्बन्धको नैतिकता, गम्भीरता, मार्धुयता, आत्मीयता, घनिष्ठता, चासो र सरोकार ‘लिभिङ टुगेदर’को सम्बन्धमा हुँन सक्दैन । विवाहपछि पति–पत्नीले कानुनी अधिकार सहित पारिवारिक जीवन स्थापना गरेर जीवनयापन गर्छन् । दम्पतिले एकअर्कामा आपसी सहयोग, संरक्षण र सम्मान गर्ने विवाहको रचना गरिएको छ । यी दुईले एकअर्काबाट सिक्ने सिकाउने काम निरत्तर भै रहन्छन् । जसले परिवारमा असल सम्बन्ध र मानसिक तन्दुरुस्ती अन्योन्याश्रित सम्बन्ध राख्न सहज हुन्छ ।

परिवारको सरसल्लाहमा दीगो , असल, निकट र हार्दिकतापूर्ण सम्बन्धले जीवनलाई प्रयोजनमुखी, अर्थपूर्ण र व्यवहारिक बनाउँछ । परिवारमा राम्रो र सहानुभूति देखाउने जोडीले तनावबाट मुक्ति र बेचैनीबाट राहत पाउन सहयोग मिल्छ । तर ‘लिभिङ टुगेदर’ मा यस्ता अवसर कम हुने भएकाले आफूले सच्चा माया गरेकोसित हुने आपसी मेलमिलाप, कुराकानी वा छलफललेमात्र आनन्ददायक र सकारात्मक जीवन अनुभूति गराउने भएकाले यसतर्फ ध्यान दिन आवश्यक छ ।बाहिरी प्रभावमा परी व्यक्ति, साथीसङ्गी र समाजसित असल गुणको सम्बन्ध राख्न नसक्दा सामाजिक संयोजकत्वबाट बाहिर रहदा खुसी र मानसिक रूपमा तन्दुरुस्त हुन कठिन भएको पाइएको छ ।

त्यसैले परिवारबाट अलग भएर एकान्तमा बस्ने मानिसमा धेरै मानसिक समस्या हुने, शारीरिक जटिलता आई स्वास्थ्य कमजोर हुने भएकाले नेपाल समाजमा ‘लिभिङ टुगेदर’ का सकारात्मक भन्दा नकारात्मक असर बढि रहेको पाइन्छ । जीवनलाई खुसी, स्वस्थ्य, सफल बनाउन धन, प्रसिद्धिकालागि कडा मेहनत गर्न असल सम्बन्ध हुन जरुरी रहेकाले ‘लिभिङ टुगेदर’ का परिणामहरुको विश्लेषण गर्न ढिला भै सकेको छ । विवाह नगरी अन्तरङ्ग सम्बन्धसहित एकै ठाउँमा मिलिजुली बस्ने प्रचलनले सहरी जीवनमा पारेका असरले नेपाली समाजलाई कता लैजाला र यौनाचारप्रतिको पश्चिमा समाजको सर्वस्वीकार्यले हाम्रा मूल्यमान्यतामा कस्तो असर पुग्ला वहस हुन आवश्यक भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *