शिवशरण ज्ञवाली
०७९ चुनावी वर्ष रह्यो । समय परिवर्तनशील छ तर जब्बर र रुढ राजनीतिक दल तथा तिनको नेतृत्व भने कतै परिवर्तनशील समय रोक्न सकिन्छ कि भन्ने दुस्साहस गर्छ । केन्द्रदेखि स्थानीयमा समेत कालेकाले मिलेर खाम भाले पनि छ । यो चुनावमा पनि बुथ क्याप्चर, फर्जी मत, पैसाको ओहोरदोहोर चलिरह्यो । उसले उसलाई उसले उसलाई दोष लगाइरहे । तर समय ०४८ को छैन । धेरै अगाडि बढिसक्यो ।
क्यान्टिनमा गफको प्रसङ्गमा हरि पाण्डेय सरले भन्नुभयो, ‘हाम्रो एक आफन्त बित्नुभएको तिन चार वर्ष भयो तर उहाँको मतदाता नामावलीमा नाम छ ।’ मैले सरलाई भने, ‘सर ! हेनुर्स त उनको पनि नाम छ कि ?’ प्रविधिमा पोख्त पाण्डेय सरले उत्तिखेर नै मतदाता नामावली हेर्नुभयो । नभन्दै उनको पनि नाम रहेछ । मैले सरलाई भने, ‘उनी बितेको डेढ वर्ष भइसक्यो । तर मतदाता नामावलीमा भने नाम छ नै । म यो नाम काट्नुप¥यो भन्दै फेरि मृत्यु दर्ता बोकेर निर्वाचन आयोग जानुप¥यो ?’ अरु सरहरु मध्ये कसैले सोध्नुभयो, ‘तपाईंले मृत्युदर्ता गर्नुभएन र ?’ मैले जवाफ दिएँ, ‘उनी बितेको डेढ दुई महिनापछि नै मैले मृत्यु दर्ता गरेको छु ।’ अनि हामीले निष्कर्ष निकाल्यौँ, ‘राजनीतिक दलहरुको नेतृत्व यो कुरामा प्रवेश गर्न चाहँदैन । नभए मृत्युदर्ता भए पछि त्यो राज्यका हरेक निकायमा स्वतः पुग्नुपर्छ । यो नेतृत्वले अनदेखा गरेको कुरा हो ।’ हामीले यो कुरा गरेको पन्ध्र दिनमा त स्याङ्जालगायतका ठाउँमा मरेका मानिसहरुले पनि भोट हालेको कुरा आयो । तापनि प्रजातन्त्रको कुरुपता जनताभन्दा मत प्यारो, शुद्धताभन्दा झेली राम्रो । कहिलेकाही साथीहरु भन्नुहुन्छ, ‘चुनाव भनेको निर्वाचनका दिन पाँच बजेभित्र जसले त्यो बाकसमा मत खसाल्न सक्यो उसैले जान्यो । अरु कुरा फजुल हुन् । कसले फर्जी हाल्यो, कसले क्याप्चर ग¥यो, त्यो मतलब हुने कुरा होइन ।’ हो र बाबै ।
लेखको प्रसङ्ग भने अलिक फरक छ । वैशाखमा स्थानीय निकायको चुनाव भयो । सबैभन्दा बढी सुनिए, बालेन र हर्क । यी दुवैले शिक्षाका मुद्दा उठाए । दुवैले राजनीतिमा जबरजस्त शिक्षालाई पनि उठाइरहेका छन् । शिक्षाबिनाको परिवर्तन दिगो हुन सक्दैन भन्ने कुरा बालेन हर्कले राम्रोसँग बुझेका छन् । आज पनि मलाइ्र्र यी दुई प्रति विश्वास छ । बालेनको एउटा अन्तवार्ता पनि पढें, त्यसबेला । उनले त्यो अन्तर्वार्ताको अधिकांश भाग शिक्षा विषयमा खर्चिएका थिए । उनले शिक्षकहरुलाई राजनीतिक दलमा आबद्ध हुनबाट रोक्ने, विद्यार्थीलाई अनवाश्यक गतिविधिमा सहभागी गराउने जस्ता क्रियाक्लापलाई रोक्ने प्रयत्न गरेको देखिन्छ । स्थानीय भाषाको प्रवद्र्धनमा पनि उनले योगदान गरेजस्तो लाग्छ । उता पूर्वतिर हर्कले श्रमशिक्षाको महत्वलाई बेलाबेला जोडतोडले उठाइरहेका छन् । नेता हौँ भने तिमी आफै अगाडि सर भन्ने उनको मत छ । तिमी अगाडि नलागीकन परिवर्तन सम्भव छैन भन्ने सन्देश उनले बारम्बार दिइरहेका छन् । दुव्र्यसनीविरुद्धका अभियान, वृक्षारोपण, श्रमदान जस्ता काम हर्कका उदारणीय काम हुन् । त्यो श्रम दानमा उनले विद्यार्थीलाई पनि जोडेका छन् । दशैंमा विदेशबाट दाइ आउनुभएको थियो । दाइले भन्नुभयो, ‘हर्कको मुख छुद्र छ, काम गराइ ठीक छ । स्थानीय नेतृत्वले गर्ने काममा उनी सफल देखिन्छन् । मैले उनका गतिविधिको ‘फ्लो’ गर्छु तर फेसबुकबाट भने हटाएको छु ।’
एउटा दुर्भाग्यले म भारतको दिल्ली पुगेको थिएँ । म दिल्ली पुगेका बेला दिल्ली विधान सभाको चुनाव थियो । त्यहाँ केजरीवालले चोकचोकमा पोष्टर लगाएका थिए, शिक्षाको मुद्दा उठाएर । बच्चाका भविष्य बदल्नका लागि आमआदमीलाई भोट दिन उनले आह्वान गरेका थिए । चुनाव उनले जिते पनि । अमेरिकाकी प्रथम महिला भारत आउँदा उनले सिधैं सामुदायिक विद्यालयको कक्षाकोठामा पु¥याएको सुनियो । त्यहाँका सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा उनले निकै सुधार गरेको आँकडा आउँछ । रोचक त यो रहेछ कि उनी आए देखि कुनै पनि निजी विद्यालयले आफ्नो मासिक शुल्कमा वृद्धि गर्न पाएको रहेनछ । दिल्लीका मानिसहरु शिक्षामा उनले ल्याएको परिवर्तनको बारेमा सुन्ने होइन अनुभूति गर्ने अवस्थामा रहेछन् ।
बालेन र हर्क बाहेक कुनै पनि राजनीतिक दलका नेताले प्रदेश र संघीय चुनावमा शिक्षाको मुद्दा उठाएको पाइएन । सबैले अमूर्त परिवर्तनको कुरा गरे । बाटोको कुरा गरे । पुलपुलेसाको कुरा गरे । तर महेन्द्रले लगाएको शिक्षा ऐनमा परिवर्तन ल्याउने कुरा कसैले गर्न सकेनन् । नेपालको शैक्षिक भविष्य के हो भन्ने कसैले पनि भन्न सकेनन् । अहिले नेपालको शिक्षा दलाल पुँजीपतिहरुले चलाएका छन् । पाठ्यक्रमबिनाका पुस्तकहरु छापिएका छन् । अवैधानिक कक्षाहरु चलेका छन् । अदालतले भन्छ तर यिनले सुन्दैनन् । राज्यले भन्छ यिनले सुन्दैनन् । अहिले नेपालमा कुनै पनि सामुदायिक विद्यालय छैनन् भन्दा फरक पर्दैन । एकाध बाँकी रहेछन् भने दुई चार वर्षमा ती पनि व्यापारिक केन्द्र बन्नेछन् । धेरैजसो बनिसकेका छन् केही बन्ने प्रक्रियामा छन् । कक्षा एघारदेखि माथि पाँच वटा विषय र ती विषयका पुस्तकहरु हुन्छन् तर सानाबालबालिाका पुस्तकहरु बार तेह्रवटा हुन्छन् । ती पुस्तकको न आकार मिलेको छ न त पाठ्यवस्तु नै संरचित छ । न परीक्षित छन् न त सस्ता नै । सरकारी पुस्तक छाप्नेहरुले त मूल्य नै छाप्न छाडिसकेको थुप्रै वर्ष भइसक्यो । आवरण पृष्ठको पछिल्लो पानामा मूल्य रू मात्रै लेखिएको छ तर पैसा पुस्तक व्यापारीलाई मात्रै थाहा हुन्छ । शिक्षक निर्देशिका पाठ्यक्रम विकास केन्द्रको वेभसाइटमा सीमित छ । शिक्षकहरुका हातमा यो पुग्दैन । अझ विद्यालय तहको शिक्षालाई अलिक व्यवस्थित मानिन्छ ।
विश्वविद्यालयको कुरा गर्ने हो भने आंशिक शिक्षकको मात्रै कुरा गरौँ । अरु कुरा गरेर जोखिम मोल्नु छैन । मैले आंशिक शिक्षक भनेर विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई भनेको होइन । विश्वविद्यालयका पूर्णकालीन शिक्षकलाई भनेको हो । सधैं कक्षाकोठामा ढिलो आउने काठमाडौँका एक पूर्णकालीन शिक्षकले लाज पचाएर भनेछन्, ‘के गर्छौ त्यति तलबले त मलाई खानै पुग्दैन ?’ मलाई एक आफन्त भाइले त्यो कुरा सुनाए । के उनी विश्वविद्यालयले दिने तलब थाहा नपाएर यो क्षेत्रमा आएका हुन् त ? मैले मै हुँ भन्ने नामी प्राध्यापक पनि निजी वा सामुदायिक विद्यालयमा आंशिकका नाममा धकिरहेको पाएको छु । यस्ता आंशिकहरु कामचोर हुँदा रहेछन् । कही काम नभए पनि यी बाहिर चोकमा बरालिएर अनि राजनीतिक गफको डम्फू बजाएर घन्टी बजेको पाँच सात मिनेटपछि मात्रै स्कुलमा पुग्छन् अनि कक्षाकोठाबाट क्याम्पस जाने निहुँ बनाएर पाँच सात मिनेट पहिल्यै निस्किन्छन् । विद्यालयका अन्य शैक्षिक कार्यक्रममा कही पनि सहभागी भएको पाइदंैन । वार्षिक उत्सव हुन्छ यिनीहरु जाँदैनन् । अतिरिक्त क्रियाक्याप यिनको दायित्वमा पर्ने कुरै भएन । विद्यालयमा काम गरिरहेका पूर्णकालीन शिक्षक विचरा यिनीहरुलाई नमस्कार गर्दागर्दै हैरान हुन्छन् । यी क्याम्पसका ठूला मान्छे अरुलाई हात जोड्ने, नमस्कार गर्ने कुरा भएन । स्कुलभित्र यिनको रवाफ पनि हेर्न लायक हुन्छ । कसैलाई यिनले दुई हात जोडेर नमस्कार पनि फर्काउँदैनन् । विश्वविद्यालयले दुई पिरियड बाहिर पढाउन जान अनुमति दिएकै छ । त्यही नाममा यिनीहरुले कैयौं पिरियड बाहिर धकेर हाजिर गर्न (स्मरण रहोस् सबै ठाउँमा क्याम्पसका शिक्षकहरुलाई हाजिर गर्नुपर्दैन ।) क्यान्टिनमा चियाखान, पार्कमा बस्न, साथीभाइलाई फोन गर्न क्याम्पस चौरमा आइपुग्छन् । यस्ता शिक्षकहरुले दुईतिरै बिर्गादछन् । अरु कुरा के गर्नु विश्वविद्यालयका बारेमा ? शिक्षाको नेतृत्वकारी निकायका बारेमा ।
तर परिवर्तन संभव छ । बालेन र हर्कले मात्रै होइन, प्रधानमन्त्री प्रचण्डले समेत संसदमा विश्वासको मत लिंदा शिक्षा र स्वास्थ्यका कुरा उठाए । राज्यको दायित्वभित्र पर्ने कुरा उठाए । विश्वविद्यालयको भद्रगोल क्यालेन्डरको कुरा उठाए । प्रधानमन्त्री प्रचण्डलाई सुविधा पनि छ । उनलाई उनको दलको संगठले यो गर त्यो नगर भनेर दबाब दिने छैन किनभने त्यो कमजोर छ । त्यसकारण उनले शिक्षा क्षेत्रलाई राजनीतिक भागवण्डाको शिकारबाट मुक्त गरिदिए भने त्यो सबैभन्दा ठूलो उपलब्धि हुनेछ । उनी जुन पृष्ठभूमिबाट आए त्यसले यही मार्ग अपनाउन भन्छ । कांग्रेस एमालेभन्दा फरक प्रचण्ड र उनको पार्टी हो भन्ने कुरा पनि यसैबाट पनि पुष्टि हुनेछ । योग्यताको मापदण्ड बनाए पुग्छ । विदेशमा राम्रा विश्वविद्यालय चलाएर बसेका, प्रोफसर भएकाहरु ल्याएर जिम्मा दिए पनि हुन्छ । हाम्रो होइन राम्रो खोजे पुग्छ । क्यालेन्डर त राम्रो आफंै बनाइहाल्छ । कुलमानले विद्युतमा बनाए नि !
मेरो मत छ अब शिक्षालयहरु मतदान केन्द्र बनाउन बन्द गरिनुपर्छ । मतपत्रजस्तै पन्ध्र बीस दिनभित्र पुस्तकरु छापिनु र देशका कुनाकाप्चामा पुग्नुपर्छ । जे भए पनि घनीभूत रुपमा नेतृत्व तहमा शिक्षाका कुरा उठेका कारण यो वर्ष केवल चुनावी वर्षमात्रै रहेन, शैक्षिक वर्ष पनि रह्यो । भलै, त्यो झिल्काझिल्कै रुपमा किन नहोस् । जय नेपाल ।