शिवशरण ज्ञवाली
‘पढ पढ बाबु पण्डित हाैँला’ जमानाको मान्छे ऊ । के पढ उसलाई थाहा थिएन ? के सुन त्यो पनि थाहा थिएन ? के लेख त्यो त झनै थाहा थिएन ? के बोल जान्ने कुरै भएन ? आक्कलझुक्कल सुन्ने त रेडियो मात्रै थियो, त्यो पनि सुन्नका लागि बजाइएको होइन । संयोगले सुनिने हो । जेठ महिनाको एक साँझ घर नजिकैको कफीको बोटमुनि बसेर रेडियोमा साँझको समाचार सुन्दा निकै आनन्द लागेको थियो, उसलाई । साँझ सात बजेको समाचार उसले पहिलोपटक त्यही रेडियोबाट सुन्यो । पक्क परेर रेडियो सुन्दा निकै छक्क पनि प¥यो, ऊ । उसले कथा पनि सुन्यो, जापनीज रेडियो हो रे ! तर रेडियोले त सुरुमै भन्यो, ‘यो रेडियो नेपाल
हो !’
रेडियोको एकादेशको रोचक कथा पनि कसैले सुनाइदियो । कथा यस्तो थियो । एकजना लाहुरेले जापनीज कम्पनी पानासोनिकको रेडियो लाहुरबाट महंगो मूल्यमा किनेर ल्यायो रे ! सबैले त्यसलाई पानासोनिक रेडियो भन्दा रहेछन् । किन्दा एकजोर ब्याट्री पनि त्यसै पाएको पनि रहेछ । घर ल्याए पछि निकै राम्रोसँग बजेछ, त्यो रेडियो । रेडियोले गीत गाएछ, कथा पढेछ, नाटक अभिनय पनि गरेछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म त्यो रेडियोले बिहान साढे छ बजे श्री स्वास्थानी व्रतकथामा आधारित नाटकको शाब्दिक अभिनय बडो रोचक पाराले गर्दो रहेछ । बुढाबुढी र छोराछोरीले आनन्दपूर्वक रेडियो सुन्दा रहेछन् । आबै नाति दुवै नाटकका पारखी रहेछन् । आबैलाई स्वास्थानी नाटक नातिलाई शनिबारे साढे एक बजेको नाटक । छत्यौरा भाइ बहिनीलाई साथीसँग मनका कुरा र टीका भण्डारीको पत्रमित्रता । उनीहरु सास रोकेर लवका कुरा सुन्दा रहेछन् । नवराज लम्सालको मधुवनले मधुर रातमा कैयौं युगल जोडीहरुलाई आफ्नो धन्दा रोक्न विवश बनाउँदो रहेछ । कोमल वलीको स्वरमा त ऊ भुतुक्कै रहेछ । जदौ भन्दै आउने साहित्यिक कार्यक्रमको अलग्गै छाप दाहाल यज्ञनिधिले छाडेका थिए । संस्कृत, अङ्ग्रेजी, हिन्दी, नेवारी आदिआदि भाषाका समाचारले अपनत्वको आभाष गराउने सबैलाई । उसलाई पनि गराएको रे ।
लाहुरेलाई समाचार मन पर्दो रहेछ । एक साँझ उसले दाउरा चिर्दै रेडियो सुन्दै गरेको रहेछ । त्यति नै बेला उसले रेडियोले ‘यो रेडियो नेपाल हो’ भनेको सुनेछ । झयाप्प उसका कानमा त्यो कुरा परेछ । भन्न त रेडियोले अरु दिन पनि भनेको थियो होला तर त्यसदिन उसले सुन्यो । अचानक उसको कानले त्यस्तो सुन्यो । सोझो दिमागले गम खायो । जापनीज भनेर किनेर ल्याएको रेडियोले ‘यो रेडियो नेपाल हो’ भनेपछि उसलाई भाउन्न भयो । ऊ रिसले मुर्मुरुदै दाउरा चिर्दै गरेका बन्चरो त्यही रेडियोमाथि बजारेछ, जापनीज भनेर किनेर ल्याएको नेपाल पो भन्छ भन्दै । झरामझुरुम रेडियो धुलोपिठो भएछ । बज्दै गरेको रेडियाको आवाज बन्द भयो । उसले रिसाउँदै श्रीमतीलाई रेडियो चिरेको कथा सुनायो । अनपढ श्रीमतलीले उसलाई गवार भन्दै भनिन्, ‘रिस खा आफू बुद्धि खा आफू । अब सुन्यौँ रेडियो ?’ । रेडियोको रोचक कथाको अन्त्य यसरी पो भएछ । सोझोलाई नजिस्काउनु त्यसै भनिएको होइन होला ।
पछि उसको घरमै रेडियो आयोे । रेडियो उसको जनै बन्यो । लाहुरेको रेडियो कथाले ऊ सचेत थियो । रेडियोलाई जनै बनाएकोमा उसले पनि त मूल्य चुकाउन प¥यो नि । ए ! रेडियो नसुन पढाइ बिग्रन्छ भनेर गाली पनि उसले खुब खायो । सुन्नु पनि पढ्नु हो, हिड्नु पनि पढ्नु हो, भेट्नु पनि पढ्नु हो, नाच्नु पनि पढ्नु, गाउनु पनि पढ्नु हो, घाँस काट्नु पनि पढ्नु हो, खेल्नु पनि पढ्नु हो, हाँस्नु पनि पढ्नु हो भनेर भनिदिने को ? भारतका गोविन्दा कति हाँसे, भैरव अर्यालले कतिलाई हँसाए, हरिवंश हाँसेर हरिबहादुर भए । मदनकृष्ण हाँसेरै मदनबहादुर बने ।
त्यतिबेला उसले जहाँ जाँदा पनि रेडियो लिएर हिडेको भन्दै खप्की खायो । ब्याट्रीको जमाना थियो । ब्याट्री जोगाएर बजाउनुपथ्र्यो । ब्याट्री सकिएपछि घाममा सुकाएर रिचार्ज पनि हुन्थ्यो, केही क्षणलाई । मुखले टोकेर पनि ब्याट्रीको शक्ति पनि निकाल्यो कहिलेकाही, उसले । ऊ रेडियाको कुलती भएको थियो । उसलाई रेडियो नसुनी भएन, रेडियोलाई ब्याट्री नभई भएन । उसले अनेकतिर जोरजाम गरेर ब्याट्री किन्थ्यो । राति अबेरसम्म र बिहान झिसमिसेमै रेडियो खोल्थ्यो । रेडियोको धुन आयो भने ऊ अब मख्ख पथ्र्यो । बिबिसी सुन्नेहरु जनसेवाका देखिए । जनसेवा कि मनसेवा घोकिन्ती शैलीले निर्धारण हुँदैन ? उसले त सुनेर पो पुरस्कार पायो ।
जमाना बदलियो । टिभी रेडियोमाथि सौता लाग्दै आयो । रेडियोको जवानी सकियो । रेडियाको ठाउँ टिभीले लियो भनेर मानिसहरु हौसिए । तर होइन रहदाबस्दा जगल्टा नाश टिभीकै भएछ । अब त टिभी त विश्वकपमा पनि नचाहिने भएछ । फेसबुक, टिकटक, ट्वीटर के के हो के के ले हस्तक्षेप गरेछ । ऊ पनि तिनमा भुल्यो । हरायो । दिनरात बराबर भयो । राति नसुुत्दा पनि उसको स्वास्थ्य बिग्रेन । मति बिग्रेन । श्रीमतीसँग सम्बन्ध पनि बिग्रेन । छोराछोरीको पढाइ पनि बिग्रेन । घरको काम पनि बिग्रेन । कल्पना र भावना पनि उडेन । आइरह्यो । ऊ त काँचको संसारमा भुल्यो । सबै कुरा त्यही भेटियो । लाइभ अलाइभ सबै भेट्यो । जीवनको हतारो पनि मेटियो । चिया खाएर होइन देखेर नै सन्तुष्ट भयो ।
एकदिन अलाइभमा थियो ऊ । झल्याँस त्यही रेडियो सम्झियो । बिहानै बज्ने धुन सम्झियो । काम गर्दा पनि सुन्न मिल्ने त्यो भाँडो सम्झियो । रेडियो नेपालका ठाउँमा आएका पाल्पाली रेडियोहरु सम्झयो । श्रीनगर, मुक्तिनाथ, पश्चिमाञ्चले आफ्नै घरको समाचार भनेको सम्झियो । गाउँघरका साथीहरुले त्यो रेडियोमा कार्यक्रम चलाएको सुनेझैं मान्यो । फोनइन कानमा गुन्जियो । देख्छ त फेरि एकातिर श्रीमती लाइभमा अर्कोतिर छोराछोरी कार्टुनमा । आफैलाई पनि हे¥यो । अलाइभमा त ऊ पनि छ नि । गाली गर्नु नैतिक संकट । माया गर्नु सुरक्षित अवतरण । तापनि मायाले श्रीमतीलाई भन्यो, ‘तिमीलाई जाडो भएको छैन ?’ श्रीमतीले मायालु स्वरमा जवाफ दिइन्, ‘जाडो त भएको छ तर म लाइभमा छु नि ।’ त्यति नै बेला सुनेर पनि नपढिने आफ्नो जमाना सम्झियो । लाइभमा मस्त श्रीमतीलाई जाडो भएको पनि थाहा भएनछ भन्दै मायाले ब्याल्ङ्केट ल्याएर टाढैबाट ओढाइदियो । नजिकै जाओस् भने आफू पनि लाइभमा देखिन्छ । श्रीमतीको शरीर त पुषको जाडोमा लोभलाग्दो त देखिएको थियो तर त्यो लोभलाग्दो शरीरलाई ‘हेर्न चाहि पाइन्छ, छुनलाई होइन’ भन्ने सम्झियो । डिस्टर्व गरेको भन्दै श्रीमती झर्किदा मध्यरातको ‘आकाशे चुम्बन’ फकाईदियो । छोराछोरीलाई फकाएर सुतायो । अनि आफू पनि सुत्यो । श्रीमती कतिखेर सुतिन् उसलाई पत्तो भएन ।
भोलिपल्ट अलिक छिटै खाना खायो । सदरमुकाम पुगेर एउटा रेडियो किन्यो । त्यो रेडियोमा दूरको रेडियो नेपाल पनि बज्ने आफ्नै गाउँघरका एफ. एम नि बज्ने । एकातिर देउराली अर्कोतिर रेसुङ्गा । रुरु पनि बज्ने । अलि पर ‘यो रेडियो नेपाल हो’ पनि बज्थ्यो । अर्घाखाँची, गुल्मी र बागलुङको जनताहरुको अन्तरसम्बन्धले जेलिएको बाकस रहेछ, त्यो । गुल्मेली अर्घाखाँचीतिर बागलुङे गुल्मीतिर । अरे बा ! भर्तृहरिको नाटकको कथाजस्तै, उसले उसलाई उसले उसलाई प्रेम गरेजस्तै । बागलुङेले गुल्मेलीलाई प्रेम गुल्मेलीले अर्घाखाँचेलीलाई प्रेम, अर्घाखाँचेलीले प्युठानेलाई प्रेम । उसले फोनइनमा मान्छेहरु आएको पायो । रेडियो सुन्न छाडेकोमा उसलाई पछुतो भयो । उसले आमालाई भन्यो, ‘आमा ! रेडियो बजिराखोस् है । छोराछोरीले यो सुन्नु पनि पढ्नु हो ।’ आमाले पनि भनिन्, ‘रेडियो सुन्दै काम गर्दा त काम गरेको पनि पत्तो पाइदो रहेनछ ।’ उसलाई मनमनमा लाग्यो, रेडियोको दिन फिरेछन् । असली त यही पो रहेछ ।
सञ्जालको जञ्जालले सारालाई भुलाइ रहेछ तर यो रेडियोले त कसैलाई पनि भुलाउँदो रहेनछ । खाना खान पनि पाइने र ढिकी कुट्न पनि पाइने । केटाकेटीले नसुने पनि सुन्ने । तोरी माड्न पनि पाइने । घाँस काट्न नि पाइने । पढ्न लेख्न नि पाइने । आहा ! उसले एउटा किलो ठाकेर भित्तामा रेडियो झुन्डाइदियो । घुम्दै फिर्दै रुम्जाटार । रेडियोबाट टिभी, फेसबुक, ट्वीटर, इन्स्टा, टिकटक, ह्वाटसअप आदिको फन्को लगाउँदै फेरि उही रेडियो । सञ्जालको जञ्जालबाट थोरै भए पनि मुक्ति पो पाइन्छ, उसले मनमनै गुन्यो । दुई दशकपछि उसका घरमा फेरि रेडियो आइपुग्यो । जय नेपाल !