रुपक देवी थापा मगर
जन्म र गाउँको परिवेश
शिक्षाका लागि मानिसले विदेशबाट आयात गरेको प्रणाली अवम्लवन गर्न खोजेको पाउन सकिन्छ । विश्व व्यापी मान्यतामा आधारित शिक्षा हासिल गर्नु अहिलेको मानिसहरुको इच्छा र चाहना रहेको हुन्छ । मैले वि.स.२०३८ साल असार २ गते बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डे एकपातमा आमा गम्भीरा मर्गनी र बाबा मतिलाल थापा मगरको माइली छोरीको रुपमा जन्म लिए पछि प्रारम्भीक शिक्षा माछापुच्छ्रे प्राथमिक विद्यालय लामिडाडा लिन पुगे । बाबा आमाको चाहना छोरीलाई पढाइमा लगाउनु पर्छ भन्दा पनि बढी घरायसी काममा लगाउन खोज्नु हुन्थ्यो । हामी साथीहरु केटाकेटीमा जम्मा भई गुन्द्री बोकी खरी समेत संकलन गरी विद्यालयमा जान्थ्यौ । विद्यालयमा पढने साथीहरुको सख्या धेरै हुन्थ्यो । विद्यालयमा म सामान्य विद्यार्थीको रुपमा गणना हुन्थे । एस एल सी पास पुरकमा भएपछि जिरी दोलखा जिल्लामा कृषि व्यवसायिक विषय पढन्का लागि फर्म लगाउन गएपनि सो विषय पढनका लागि आत्मबाटै स्वीकार नभएकोले असफल प्रयास भयो ।
गाउँ घरमा मगर जातिको बाहुल्य भएकोले घर परिवारमा छिटो विवाह गर्ने चलन र विवाह गर्ने प्रस्ताव आए पनि अध्ययन गर्ने हो भन्दै प्रस्तावलाई अस्वीकार गरि दिन्थे । खासमा सानो उमेरमा विवाह गर्ने मलाई अन्तर आत्माले मान्दैन्थ्यो । थुप्रै मेरा सहपाठीहरु अध्ययन गर्दागर्दै विवाह गरि गृहिणीसमेत बनेका थिए । गाउँ घरमा उच्च शिक्षा पढेका छिमेकीहरु अत्यन्तै कम मात्रामा थिए । पढे पछि शिक्षक नै हुने मान्यताको विकास भएको थियो । तर मैले एस एल सी पास पछि बागलुङ शिक्षा प्राविधिक शिक्षालयमा अहेव पदको शिक्षाको लागि अध्ययन गरे । अहेव पढाइको अन्त तिर मैले महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा मानविकी संकायमा समेत भर्ना भए । मानविकी संकायको प्रविणता प्रमाण पत्र पास पछि स्नातक तह पढाइ केही वर्ष रोके । मैले लोक सेवा आयोगमा अहेव पदका लागि परिक्षा दिन थाले । पटक पटकको परिक्षामा मेरा सहकर्मी साथीहरु स्थायी जागीरका लागि सिफारिस भए तर म असफल हुन पुगे ।
विवाहपछि अध्ययन
वि.स.२०५९ साल माघ १३ गते मेरो लभ एरेन्ज प्रणालीमा विवाह गर्न पुगे । विवाह पछि शुरुका वर्षमा सामाजिक सस्कार र चाल चलन अनुसार अभ्यस्त हुन बहुत गाह्रो भयो । मेरो जेठी छोरी निलम रुयासा थापा मगरको जन्म हुुनु ,मेरो श्रीमानको सहकारीमा सामान्य नोकरी हुनु साथै विद्यार्थी राजनीति र नेपाल मगर विद्यार्थी संघको राजनीतिमा व्यस्त हुनु आर्थिक अभावको सामना बहुत हुन्थ्यो । तैपनि मैले केही समय माछा पुच्छ्रे प्राथमिक विद्यालयमा निजी श्रोतबाट अध्यापन गरे पनि लामो समय शिक्षण गर्न सकेन । साथै एक सहकारीमा व्यवस्थापकको काम गरेपनि छोरा हिम्मत थापा मगरको जन्म भए पश्चात निरन्तरता दिन सकिन । विवाह पछि श्रीमान याम बहादुर थापाले महेन्द्र बहुमुखी क्याम्पसमा वि.एड.मा ऋण धन गरी पहिलो पटक भर्ना गरिदिनु भो । केही पुस्तक पनि खरिद गरी ल्याइदिनु भो । तर मगर समाजमा बुहारी मान्छेले क्याम्पस अध्ययन गर्नु पर्छ भन्ने सस्कारको विकास नभएको र भो अब केटाकेटीहरुलाई हुर्काउने र पढाउने साथै मैले स्थायी रुपमा लोक सेवा आयोगमा अहेवको परिक्षा पास गर्ने संकल्प र अठोट थियो । साथीहरुले पनि उत्प्रेरणा दिने काम गर्थे । बुढेकालमा पनि के को क्याम्पस पढने भन्दै वि एड मा भर्ना भएपनि परिक्षा फर्म नभरी अलपत्र छोडे । प्रविणता प्रमाण तह पास पछि अस्थायी र स्थायी शिक्षक लाइसेन्स परिक्षा समेत पास गरी बसेको थिए ।
भकुण्डे अर्वाउदीमा सामान्य निजी क्लिनिक समेत चलाउने प्रयास भयो तर निरन्तर रुपमा चलाउन असर्मथ भए । छोरी निलम रुयासा थापा मगर र छोरा हिम्मत थापा मगरको बढ्दो बालापन सँगै केटाकेटीलाई स्याहार सुसार गर्न पर्ने जिम्मेवारी थियो । साथै लोक सेवा आयोगमा परीक्षा पनि दिदै आइरहेको थिए । फेरी अर्को कान्छी छोरी यमुना थापा मगरको समेत जन्म भयो । जन्म पश्चात पनि श्रीमानले वि एड अध्ययन लागि भर्ना गरिदिन्छु भन्दा मैले भो पर्दैन भन्दै अस्वीकार गरिदिन्थे । तर मलाई रोजगारीको बहुत खाँचो थियो । मेरो तिव्र इच्छा विपरित पनि फेरी दोश्रो पटक वि एड प्रथम वर्षमा श्रीमानले भर्ना गरिदिनु भयो । साना साना केटाकेटीहरुको स्याहार गरी हुर्काउनु पर्ने जिम्मेवारी फेरी क्याम्पसमा स्नातक तह नियमित रुपमा भर्ना भए पनि प्राइभेट जस्तो तरिकाले परिक्षामा सहभागी भै अध्ययन गर्नुपर्ने बाध्यता थियो । त्यसै समयमा माछापुच्छ्रे प्राथमिक विद्यालय भकुण्डेमा राहत प्राथमिक शिक्षकमा खोलेको विज्ञापनमा सफलता मिल्यो । श्रीमान याम बहादुर थापा कहिले तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी यूनियनको सचिवको नाताले बैठक र सभामा सहभागी हुनुपर्ने, कहिले अनेरास्ववीयुको जिल्ला सदस्य तथा पछि उपाध्यक्ष समेत भएकोले कार्यक्रममा जानुपर्ने, कहिले नेपाल मगर विद्यार्थी संघको क्याम्पस समितिको सचिव र पछि अध्यक्ष हुदै केन्द्रिय समितिको महासचिव भएकोले विभिन्न जिल्लाको क्याम्पस समितिहरुका कार्यक्रममा सहभागी हुनु पर्ने, कहिले प्रेस चौतारी नेपालको जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य भएकोले विभिन्न कार्यक्रम सहभागी हुनुपर्ने, कहिले नेपाल पत्रकार महासंघ बागलुङको दुई कार्यकाल केन्द्रिय सभासद भएकोले साधारण सभा लगायत विभिन्न कार्यक्रममा सहभागी हुन जानुपर्ने साथै राष्ट्रिय युवा संघ नेपाल बागलुङको जिल्ला उपाध्यक्ष छोटो समयको सहभागीतामा समेत काम गर्नु भयो । नेकपा एमालेको इलाका नं. एकको सचिवको समेत जिम्मेवारीमा रहनु भएको थियो । क्याम्पसमा वि एड भर्ना भएपनि नियमित कक्षामा अध्ययनका लागि सहभागी नहुदा सहपाठीहरुलाई कम मात्रामा चिनेको थिए ।
माछापुच्छ्रे प्राथमिक विद्यालय भकुण्डेबाट जिल्ला शिक्षा कार्यालय बागलुङले श्रोत केन्द्र स्तरमा संचालन गरेको टिपिडि तालिममा सहभागी हुने मौका पाएपछि सो तालिमले वि एड को पाठयक्रम बुझन र अध्ययन गर्न सजिलो बनायो । परिक्षा फर्म भरिसके पछि परिक्षाको समय भन्दा केही दिन अगाडि छोटो बिदा लिइ आंशिक रुपमा परिक्षा दिई आशिक रुपमा नै गान्धी श्रेणीमा बहुत दुख र कष्टका साथ परिक्षा पास गरे । वि एड तहको लागि स्थायी अध्यापन अनुमति पत्रका लागि भने परिक्षा दिने हुटहुटी लागेन । श्रीमान याम बहादुर थापा र साथीहरुेले लाइसेन्सको परिक्षा दिन पटक पटक अनुरोध गरेपनि प्रयास गर्न असर्मथ भए । साथै एम एड मा भो मैले पढने काम गर्दैन बुढाबुढी भइयो भन्दा भन्दै पनि धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा उहाँको इच्छा र चाहनाले भर्ना गरिदिनु भई एम एड पास गरेको साथीसँगबाट पुस्तक समेत ल्याइदिनु भयो । मैले एम एड प्रथम वर्षको केही विषयको परिक्षा समेत दिए । तर दोश्रो वर्षमा जादा भर्ना समेत भइन । स्नातकोत्तर तह पास गर्नुपर्छ भन्ने श्रीमानको चाहनामा तुषारापात भयो । मैले शिक्षण पेशा छोडछु र पढछु भन्दा श्रीमान नमान्ने । शिक्षण सँगै अध्ययन गर्न मैले नसक्ने अल्छी लाग्ने भयो । माछापुच्छ्रे प्राथमिक विद्यालय भकुण्डेमा विद्यार्थीहरु कम भएपछि मर्जरको नीति बमोजिम राहत प्राथमिक शिक्षकको रुपमा काजमा हाल चौतारेडाडा माध्यमिक विद्यालय भकुण्डेमा कार्यरत रहेको छु ।
भ्रमणको सिलसिलामा घुमाई
चौतारे डाडा माध्यमिक विद्यालय भकुण्डेले राखेको वार्षिक शैक्षिक भ्रमण कार्यक्रममा सहभागी हुन असर्मथ भए । विद्यार्थी कालमा कम्प्युटर प्रशिक्षण केन्द्रबाट चितवनको सौराहामा भ्रमण गर्ने अवसर प्राप्त भएको थियो । तर घुम्न र भ्रमण गर्न आर्थिक पक्ष सबल भए त राम्रो हुन्थ्यो । तैपनि मेरो परिवारले जिल्ला शिक्षा कार्यालय म्याग्दीमा कार्यरत हुदा मुस्ताङ जिल्लाको टुकुचे, जोमसोम बजार,मुक्तिनाथ,कागबेनी, अन्ध गल्छी, रुप्से झरना लगायतको भ्रमण छोटो र हतारमा गर्ने अवसर वि.स.२०६९ साल मिल्यो । त्यसै गरी कोष तथा नियन्त्रक कार्यालय म्याग्दीमा कार्यरत श्रीमानको साथी गणेश गौतम ( हाल कारागार व्यवस्थापन विभाग काठमाडौमा शाखा अधिकृत ) को संयोजन र सहकार्यमा पारिवारीक भ्रमण म्याग्दीको धवलागिरी गाउँपालिकाको घोरेपानी, पुन हिल, घान्द्रुक कास्कीको भ्रमण पैदल मार्ग मार्फत बहुत मनोरञ्जन र वैदेशिक पर्यटकहरुको चिनजानका साथ सम्पन्न गरेका थियौ ।
मेरो भर्खर विवाह वि.स.२०५९ सालमा भएको थियो । विवाह भएको केही दिनमा नै श्रीमानको नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको महासचिवमा निर्वाचित भएकोले काठमाडौ बैठक छ भनी जानु भएको थियो । विवाह भए सँगै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको महेन्द्र बहुमुखी क्याम्पस इलाममा बैठक थियो । इलाममा बैठकमा जानुपर्ने खबरले म पनि जान्छु भने पछि पैसाको समस्या परयो । सुदुर पुर्वको यात्रा थियो । जसो तसो जोहो पछि हामी इलाम जिल्लाको यात्रामा निस्क्यौ । इलामको चिया बगान अवलोकन सँगै केन्द्रिय समितिको बैठक सम्पन्न पश्चात नजिकै भारतको दार्जलिङ यात्रा गर्ने योजना बनायौ तर पैसाको व्यवस्था थोरै थियो । कन्जुस गरी दार्जलिङमा रहेको चिया बगान, टाइगर हिल, गोर्खा स्मारक, चिडियाखाना लगायत क्लाइबिङ रक लगायत स्थानहरुको छोटो समयमा अवलोकन गरी बागलुङ फर्कियौ ।
गौतम बुद्धको जन्म स्थल लुम्बिनी भ्रमण योजना जुधेको थिएन । भारतको सुनौली , दिल्लीमा पारिवारीक कामले गएपनि एक पटक लुम्बिनी जाने कार्यक्रम मिलाउनु थियो । अष्ट्रेलियामा रहेको दिदीको छोरी पार्वती ( प्रवाह)थापा परिवार सहित नेपालमा आएको समयमा बाबा आमा लगायत सासु ससुरालाई लुम्बिनी घुमाउने योजना रहेको थाहा पाएपछि मलाई समेत भ्रमण कार्यक्रममा सहभागी गराउने प्रस्ताव आएपछि समय मिलाएर लुम्बिनी ,बुटवल, पाल्पाको श्रीनगर लगायत स्थानहरु भ्रमण गर्ने मौका मिल्यो ।
नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष बागलुङमा पर्ने जानकारी थियो तर भ्रमण गर्ने मौका मिलेको थिएन । मेरो श्रीमानले तमानखोला गाउँपालिका बोगादोभान बागलुङ कामकाज गर्दा बोगादोभान, तमान गाउँ, शोले डाडा, लाम्मेला गाउँ लगायत रमणीय स्थल भ्रमण गर्दै तमानखोला गाउँपालिकाका कर्मचारी साथीहरुसँग ढोरपाटन घुम्न जाने मौका मिल्यो । ढोरपाटन बुर्तिवाङ बजार देखि अधिकारी चौर बोबाङ , देउराली डाडा र रुद्रताल भ्रमण गर्दै सामुदायिक लज ढोरपाटनमा बास बस्ने काम भयो । ढोरपाटनमा उत्तरगंगाको कलकल आवाज, एयरपोर्ट, छेन्तुङ गुम्बा, ढोरपाटन शिकार आरक्षको कार्यालय, ढोर बराही मन्दिर, नम्वी, भुजी गाउँ र निशील ढोरको रमणीय स्थानको अवलोकन गरी रमाइलो यात्राको संस्मरण बुन्ने काम भयो । जुन यात्राका समयमा खिचिएका तस्वीरहरु पेजबुक पेजमा सुरक्षित रहेका छन ।
विदेश यात्राको अनुभव लिन इच्छुक थिए तर यात्राको क्रममा गाडी लाग्ने बानीले गर्दा सकभर वसको यात्रा गर्नु नपरे हुन्थ्यो जस्तो लाग्दछ । तैपनि म बागलुङ बजारमा गएको समयमा ल अब राहदानी बनाउ है थाइल्याण्ड भ्रमण जाउला भन्दा मलाई विश्वास लागेको थिएन । ताओ एशोसियशन नेपालको सदस्य बनी हरेक वषर््ामा दुई पटक शाकाहारी भोजनको महत्व साथै आध्यात्मिक चिन्तन प्रचार प्रसारमा लैजाने जानकारी पाएपछि बल्ल बल्ल मन नलाइ नलाई पार्सपोट बनाउन फोटो खिचियो । राहदानी बनेपछि पोखरा कास्कीमा रहेको ताओ एशोशियसन नेपालको कार्यालयमा हामी दुई जनाको राहदानी लगी पेश्की स्वरुप रकम बुझाइ आएपछि लगभग थाइल्याण्ड जाने पक्का जस्तै भयो । थाइल्याण्डको भिसा लागे पछि खरा, तनँहु, स्याङजा, काठमाडौ, चितवन लगायतका साथीहरु सहित हामी राती ११ बजे को समयमा हवाइजहाज चढी यात्रा प्रारम्भ गरयौ । थाइल्याण्डको १५ दिने भ्रमणमा ३ दिन सम्म सेमिनार हलमा बहुत आध्यात्मिक चिन्तनका कार्यक्रमहरुमा सहभागी भयौ । थाइल्याण्डका फुकेट टापु, समुन्द्री तट, पार्क लगायत थुप्रै रमणीय स्थलहरुको भ्रमण गरी आउने काम भयो । सोही थाइल्याण्डको यात्राको क्रममा तनहुँका याम प्रसाद श्रेष्ठका छोरा इन्जिनियर राज कुमार श्रेष्ठसँग बाबाको प्रस्तावमा श्रीमान याम बहादुरले मित लगाउने काम समेत भयो ।
भ्रमण गर्ने नेपालीको संस्कृति विस्तारै विकास हुँदै गएको छ । दोश्रो पटक इण्डोनेशियाको बालीमा जाने सरसल्लाह भो । इन्डोनेशिया बालीमा हामी प्राइभेट तरिकाले ट्राल्भलस एजेन्सीको फेसबुक पेजबाट सम्पर्क र समन्वय गरी गएका थियौ । मलेशियाको एयरर्पोटमा ट्रान्जीट गरी इन्डोनेशिया बालीमा जाने रहेछ । बालीमा भएका रमणीय स्थलहरुको भ्रमण र अवलोकनमा हामी अत्यन्तै रमायौ । बालीमा विश्व भरीमा मानिसहरुको भ्रमणको केन्द्र रहेछ । समुन्द्री किराना, धार्मिक स्थल , कछुवाको संग्रालय, समुन्द्रमा डुगा सयर लगायतका स्थलहरुबाट अदभुत आनन्द लियौ र नेपाल फर्कन सफल भयौ । फेरी पैसा भएमा सिगापुर,मलेशिया,कतार,भियतनाम लगायत युरोपका मुलुकहरुमा भ्रमण गर्ने सपना बुनी रहन मन लाग्दछ । पुगेर आउदैन ।
गण्डकी प्रदेश सरकारले कर्मचारीहरुका एक महिने पर्यटन काज भ्रमण खर्च सहित दिने कार्यक्रम बमोजिम पर्यटन तथा उद्योग कार्यालय बागलुङमा कार्यरत श्रीमान याम बहादुर थापाको पर्यटन काज स्वीकृत पश्चात नवलपुर जिल्लाको थारु सामुदायिक होमस्टे, वन्यजन्तु र्पाक र कास्की जिल्ला मादी गाउँपालिकामा अवस्थीत सिक्लेस गुरुङ गाउँको भ्रमण पछिल्लो समयमा गर्न सफल भएका छौ । सिक्लेस गाँउको बाक्लो बस्ती, पार्क, भ्यु टावर, संग्राहलय लगायतका स्थानहरु घुम्न सफल भयौ । काठमाडौमा रहेका पशुपति नाथ मन्दिर, बौद्ध स्तुप ,महाबौद्ध, चिडियाखाना, धरहरा, विशाल बजार, सिंहदरवार लगायत स्थानहरुको अवलोकन समेत गर्न सफल भयौ । समय मिलाएर आफनो औकात अनुसार समय समयमा आन्तरीक तथा बाह्रय भ्रमण गर्नु पर्ने रहेछ भन्ने शिक्षा प्राप्त भएको छ
सामाजिक संघ सस्थामा आबद्धता
नेपाल रेडक्रस सोसाइटी भकुण्डेको उपशाखा स्थापना काल देखि आजीवन सदस्य भै पाँचौ कार्यकाल सम्म कोषाध्यक्ष पदाधिकारीमा निरन्तर रुपमा कार्यरत रहेको छु । शिक्षक वचत तथा ऋण सहकारी संस्था लगायत साना किसान कृषि सहकारी भकुण्डे, महिला वचत तथा ऋण सहकारी संस्था भकुण्डे लगायतका विभिन्न सहकारीमा शेयर सदस्यको रुपमा आबद्ध रहेको छु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको सामुदायिक परियोजना इकाईको सदस्यको रुपमा कामकाज गरेको थिए । गाउँघरमा छिमेकी विद्यालय भैरव माध्यमिक विद्यालयको वार्षिक समारोहमा सहभागीता हुने गरेको छु । राहत शिक्षक संघर्ष समिति बागलुङको साधारण सदस्य रहेको छु । नेपाल राष्ट्रिय शिक्षक संगठनको साधारण सदस्य जस्तै शुभचिन्तकको रुपमा रहेको छु । स्वास्थ्य चौकी भकुण्डे बागलुङको व्यवस्थापन समितिको सदस्यको रुपमा एक कार्यकाल प्रतिनिधित्व समेत गरेको छु ।
विविध अनुभवका विषय वस्तुहरु
घरमा भएका पुस्तकहरु फुर्सद मिलाएर पढनको लागि बारम्बार परिवारबाट सुझाव आएपनि पुस्तक अतिरिक्त ज्ञानका लागि अध्ययन गर्न सकेको छैन । आफुलाई मन परेका छिटफुट पुस्तक शिलशिला नमिलाईकन अध्ययन गरेको छु । दैनिक रुपमा बिहान धौलागिरी हालचाल, कायाकैरन र साँझ पखको नेपाल दर्पण , विविसी नेपाली सेवाका समाचारहरु दैनिक रुपमा सुन्ने प्रयास गर्दछु । कहिलेकाही बसाइ यताउता हुँदा नियमित रुपमा अपडेट हुन सकेको छैन । भकुण्डे अर्वाउदी घरबाट पर्वत, म्याग्दी पोखरा कास्की लगायत विभिन्न स्थानका एफ एम सजिलै सुन्न सकिन्छ तर आवश्यकता अनुसार बेला मौकामा सुन्ने गरेको छु । गोरखापत्र,कान्तिपुर, नागरिक दैनिक, नयाँपत्रिका,अन्नपुर्णपोष्ट लगायत विभिन्न समाचारमुलक वेवसाइट हेर्नुपर्दछ भन्ने थाहा छ तर खाली फेसबुकमा शेयर गरेका चर्चित सामाग्रीहरु मात्र अध्ययन गर्दछु । विभिन्न शिक्षामुलक वेवसाइट, फेसबुक पेज,युटुव च्यानलको बारेमा जानकारी लिन नसकेको अवस्था छ । मगर जातिको परम्परागत व्यवसाय, चालचलन पुर्ण रुपमा अलग भै कामकाज गर्दै आएको र जानी नजानी बौद्ध धर्म परम्परालाई अवलम्बन गर्दै आएको छु ।
विद्यार्थी भाइ बहिनीहरुले विद्यार्थी कालमा नै बहुत परिश्रमका साथ अध्ययन गर्न र समाज भित्र रहेका कुरीति,कुसस्कार,कुचलन, कुप्रथा हटाउनका लागि शिक्षाले महत्वपुर्ण काम गर्दछ भन्ने लाग्दछ । विद्यालयको शैक्षिक गतिविधिका साथमा समाज समेत शिक्षालाई महत्व दिने कार्यक्रम हुनु पर्दछ । जिल्लाको सदरमुकाम देखि नजिक भएको भुगोल भएपनि शिक्षामा पछाडी परेको हो कि भन्ने अनुभव हुन्छ । अब हामीले हाते मालो गरी भकुण्डेको मुहारलाई उज्यालो बनाउनमा एकजुट हुनु बाहेक अर्को विकल्प छैन ।
आफना छोरा छोरीमा सकारात्मक भावनाको विकास र विस्तार होस तथा समाजका अगाडि गरी खान सक्ने होउन भन्ने चाहना भएपनि शिक्षकका नाताहरु थुप्रै विद्यार्थीहरु सफलतामा पुगेपछिको समाचारले बहुत सन्तोष र आनन्द लाग्दछ । मेरा आफन्त, इष्टिमित्र, विद्यार्थी संगी साथीहरुले आलेखको अध्ययन गरी ज्ञानबद्र्धक शिक्षा लिई उर्जाशिल र सकारात्मक सोच विकासमा आधा आकाश धान्ने महिला,नारीहरुलाई धर्ती माता, भगवान रुपी सिता,पार्वती, विद्याको प्रतिक सरस्वती, धनको प्रतिक लक्ष्मी, शक्तिको प्रतिक भवानी दुर्गा देवीको रुपमा समाजमा स्थापित हुन निरन्तर अभिप्रेरित रहुन । लेखन कलाको शैलीमा निरन्तरतासँगै अध्ययन संस्कृतीको विकासमा टेवा पुगोस ।पठन संस्कृतिको संस्कार विकास गर्न सबैभन्दा पहिला सोच वा दृटिकोणको आवश्यकता पहिचान होस । विद्यालय क्षेत्रमा आधुनिक सुचना प्रविधियुक्त पुस्तकालय निर्माण होस । ज्ञानको सृजना र अभिवृद्धि गर्ने केन्द्र विद्यालय, सामुदायिक संघ संस्था बन्न सकोस भन्ने चाहान्छु । कृषि, पशु, स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत, सडक, वन, अपाङगता, दलित, महिला, जनजाति, ब्राहम्मण, क्षेत्री लगायतको विविधताको चौतर्फी विकास गर्ने अब्बल नागरिक निर्माण गर्ने साझा सम्पत्ति विद्यालय बनोस भन्न चाहान्छु ।
जानी नजानी लेख्ने काम भएको छ । थुप्रै छुटेका अनुभवहरु हुन सक्दछन । भविष्यमा थप सकारात्मक सल्लाह र सुझाव पाएमा थप परिमार्जन सहित लेख्ने नै छु । जसले अध्ययन गर्नु हुन्छ ती पाठकका लागि लेख्ने जाँगर सृजना होस भन्दै मेरो हाल सम्मको सिकाइ र भोगाइ सहित संघर्षका कथाहरुलाई सुझाव पाउने आशा सहित अन्त गर्दछु ।