राष्ट्रिय सहकारी महासम्मेलन : सहभागिता र अनुभूति

अम्बिका जि.सी.
तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन २०७९ चैत २३ देखि २५ गतेसम्म काठमाडौंको होटल याक एण्ड यतिमा हुन गैरहेको थियो । संयोगवश मलाई त्यस कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । त्यसै क्रममा चैत २२ गते म लगायत राष्ट्रिय सहकारी महासंघका सञ्चालक, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष दिदी हुमा कुमारी जि.सी.(अञ्जु), जिल्ला सहकारी संघका प्रबन्धक बहिनी सिर्जना शर्मा र सञ्चार सहकारी सस्थाका प्रबन्धक दिपकराज सापकोटा काठमाडौंतर्फ प्रस्थान ग¥यौ ।

यसै क्रममा चैत २२ गते कै दिन राष्ट्रिय सहकारी बैंकले काठमाडौंमा Current Trends,  Prospects and Challenges to Climente-Resilient Cooperative Sector सम्बन्धी Workshop आयोजना गरेको रहेछ । हामीहरु काठमाडौं पुगेपछि राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक दाई राम बहादुर जिसीलाई भेट्न गएका थियौ, उहाँले कार्यक्रम राम्रो छ बस्दा हुन्छ भन्नुभयो । अनि हामीहरु त्यो कार्यक्रममा सहभागी भयौ । नेडाक र बैंकको संयुक्त आयोजना रहेको कार्यक्रममा स्वदेशी विदेशी सहकारीका विज्ञ व्यक्तित्व सहित सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । हामी पुग्दा वातावरण परिवर्तन सम्बन्धी प्रस्तुतीकरण सकिएको र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले सहकारीका समस्या बारेमा सहजीकरण गरिरहनु भएको थियो । उहाँले समग्र वित्तीय क्षेत्र र सहकारीमा समेत परेको समस्या, समाधानका उपाय लगायतका विषयमा जानकारी गराउनु भएको थियो । सहकारीमा के के जोखिम छ त भन्दै उहाँले ४ वटा विषयमा समस्या रहेको सहित विस्तृतमा कुरा राख्नु भयो । क्रेडिटमा समस्या छ, मार्केटमा समस्या छ, तरलतामा र व्यवस्थापनमा सुधार गर्न उहाँले सहकारीकर्मीहरुलाई सुझाव दिनु भएको थियो । कोभिडदेखि कै समस्याका कारण यतिबेला वित्तीय बजारमा समस्या देखिएको चर्चा गदैै उहाँले समस्या समाधान गर्न सकिने तहमै रहेकोले सबै सचेत भएर लाग्न सुझाव दिनु भएको थियो ।

दुई वटा कार्यपत्र प्रस्तुत भएपछि कार्यक्रमका सहभागीहरुबीच छलफल भएको थियो । त्यस कार्यक्रमबाट केही सिक्ने अवसर मिल्यो, जस्तै ः सहकारीमा कर्जा लगानीका लागि ध्यान दिनु पर्ने विषयहरु, सहकारीमा ब्याजदरको अवस्था र यसको प्रभाव, सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सञ्चालकहरुको सक्रियता र क्षमता, कर्मचारीहरुको दक्षता तथा सदस्यहरुको सक्रियताका विषयमा धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । हामी काठमाडौं गएको मुख्य विषय तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ गते बिहीवारदेखि शुरु भयो ।

पहिलो दिन :
पहिलो दिन साढे १२ बजे हामी कार्यक्रम स्थल होटल याक एण्ड यति पुगेका थियौ, कार्यक्रमका लागि आवश्यक प्रक्रिया पुरा गरेपछि हामी हलमा प्रवेश गरेका थियौ । ३ बजेसम्म सहभागीहरु आउने, बस्ने भइरहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हुनुहुन्थ्यो । उहाँबाट कार्यक्रमको उदघाटन भयो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारी अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको बताउनु भएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद खतिवडा, आइसीय एपीका अध्यक्ष चन्द्रपाल सिंह, भारतीय सहकारी महासंघका अध्यक्ष दिलिप सिंघानी, नेडाकका अध्यक्ष पंकज कुमार बंसल लगायत विभिन्न देशबाट आउनु भएका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उद्घाटन लगत्तै नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा भएको पहिलो प्लेनरी शेसनमा पूर्व अर्थसचिव रामेश्वर खनालले Effective Democratic  Governance Model for Cooperative विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि त्रिभुवन विश्व विद्यालयका डिन डा.डिल्लीराज शर्मा र राष्ट्रिय सहकारी महासंघका लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा सहकारी ऐन २०७४ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र, सहकारी ब्याजदर, सहकारीमा लोकतान्त्रिक सुशासनका लागि आवश्यक तत्वहरु, कार्यक्षमता तथा कार्यकुशलता आदि विषयमा छलफल भएको थियो । साच्चिकै कार्यक्रममा उपस्थित विदेशी पाहुनाहरु नेपाली भाषा नबुझ्दा पनि कार्यक्रमको अन्तसम्म कति शान्तपूर्वक बसेको देख्दा हामी नेपालीहरुले पनि उहाँहरुबाट केही सिक्न पाए साच्चिकै हाम्रो देश पनि कति शान्त अनि सुन्दर हुने थियो, भन्ने लायो । सहकारीलाई अगाडि बढाउन पहिले त आफुलाई नै शिक्षित बनाउने पर्दो रहेछ । (Educated is Self) भन्ने कुराको ज्ञान भयो ।

दोस्रो दिन :
चैत २४ गते दोस्रो दिनको कार्यक्रममा विभिन्न ५ वटा विषयमा कार्यपत्र प्रस्तुत भए, ५ जनाले प्लेनरी सेशनको अध्यक्षता गर्नु भयो, १२ जनाले टिप्पणी गर्नु भयो र करिव ५० जनाले जिज्ञासा र सुझाव राख्नु भयो । सहकारीलाई सुशासनयुक्त बनाउदै स्वनियमन प्रवद्र्धन, प्रविधिको अधिकतम उपयोग, एकीकरण, तरलता व्यवस्थापन, महिला र युवाको सहभागिताका विषयमा भएका प्रस्तुती, छलफल र टिप्पणीबाट आर्थिक संभावना र सामाजिक उत्तरदायित्व, युवा र महिलामा सहकारीको आकर्षण कसरी बनाउने, सहकारीका छाता संगठनका साथीहरुको भूमिका कस्तो हुनु पर्दछ, सरकारी या निजी कम्पनी र सहकारी कसरी छुट्याउने ? सहकारी किन चाहिन्छ र यसको आवश्यताको बारेमा धेरै कुरा बुझ्ना पाएँ । साच्चिकै भन्ने हो भने जो संग धेरै पैसा छैन, जो गरिव छन्, शिक्षित छैनन्, उनीहरुलाई सहकारीका बारेमा धेरै कुराहरु बुझाउनु पर्ने रहेछ । देशमा सहकारीको भूमिका कस्तो हुनुपर्छ, वचत तथा ऋण किन जरुरी छ भन्ने देखि लिएर सहकारीलाई व्यावसायिक हिसावले कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी पाइयो । खराव ऋणी र राम्रा ऋणीको अवस्था कस्तो छ भन्ने बारेमा पनि बुझ्न जरुरी रहेछ सहकारीका सञ्चालक र कर्मचारीहरुले भन्ने बुझियो ।

अन्तिम दिन :
चैत २५ गते अन्तिम दिनको पहिलो प्रस्तुती बैंकर अनिल केशरी शाहको थियो । तिमलाई कसरी मोटिभेट गर्न सकिन्छ भन्ने बारेमा सारै रोचक र प्रभावकारी थियो प्रस्तुती । उहाँका हरेक भनाईहरु सारै उत्साहजनक र सुनिरहुँ जस्ता थिए । मलाई सबै थाहा छ, म पूर्ण छु भन्ने कसैले सोच्छ भने त्यसले जीवनमा प्रगति गर्न सक्दैन, सदैव सिक्ने सोच राख्ने मान्छेले मात्रै धेरै कुरामा परिवर्तन गर्न सक्छ भन्ने उहाको भनाइले धेरै मन छोयो । परिवर्तन स्थायी कुरा हो यसलाई स्वीकार गर्न सक्नु पर्छ । साच्चिकै अनिल शाहको प्रस्तुतीबाट कार्यक्रमका सहभागीहरु धेरै उत्साहित भएको मैले पाएको थिए । अन्तिम दिनको कार्यक्रममा दिगो विकास लक्ष्यमा सहकारीको भूमिका, कृषि सहकारीमा वातावरणको प्रभाव सहित प्यानल डिस्कसनहरु भएका थिए ।

राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङले Cooperative Movement in Nepal Vision–२०३० प्रस्तुत गर्नु भएको थियो । सन २०३० सम्म सहकारीलाई कस्तो बनाउने भन्ने विषयमा धेरै नै छलफल भएका थिए । महासम्मेलनका तर्फबाट ११ बुदे काठमाडौ घोषणापत्र–२०७९ जारी गरिएको थियो । समृद्ध सहकारी : सन्तुष्ट सदस्य भन्ने परिकल्पनाका साथ जारी गरिएको घोषणापत्रमा सहकारीका विभिन्न पक्षका बारेमा उल्लेख गरिएको छ । कार्यक्रम समापनका अवसरमा प्रमुख अतिथिका रुपमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली आउनु भएको थियो । प्रमुख अतिथिले सहकारीका विषयमा व्यक्त गरेका भनाईहरु पनि सहकारीको विकासका लागि धेरै महत्वपूर्ण रहेका थिए ।

अन्तमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेनबाट सहकारीका बारेमा धेरै कुराहरु सिक्ने मौका पाए । अझ एउटा महत्वपूर्ण कुरा त जुन हामीहरुले मायाको चिनो भन्दै विभिन्न प्रकारका सामानहरु दिदै आइरहेका छौ, त्यहाँ छुट्टै प्रकारको राखिएको थियो । यसले मलाई सारै प्रभाव पारेका थियो । त्यहाँ त्यस्तो कुनै सजावटको सामान नभएर जो घरको कुनै कुनामा लगेर थन्काउन नपरोस भन्ने उद्देश्यले नेपालमै उत्पादन भएको इलामको चिया र तोरीको तेल थियो । यिनी चिजले मेरो मन सारै छुन पुग्यो । कतै हामीले पनि यस्तै सामान दिन पाए छिट्टै प्रयोगमा आउने थियो । अनि अर्काे महत्वपूर्ण कुरा त्यस मञ्चमा प्रधानमन्त्रीदेखि लिएर देश विदेशका विशिष्ठ व्यक्तिहरुको आसग ग्रहण भएको थियो । त्यहाँ खादाको प्रयोग भएको थिएन । जुन केही क्षणपछि कुनामा नथन्कियोस हामीले पनि यस्ता राम्रा कुराको सिको गर्न पाए हुने थियो भन्ने लागेको छ । जुन हामीले प्रयोग गर्ने खादाको होलसेल मूल्य ४५ रुपैया पर्न जान्छ कम से कम त्यो पैसा त वचत हुन सक्छ । यस्ता कुराहरु हामीले सिक्न अनि सिकाउन जरुरी छ र मलाई कार्यक्रममा धेरै कुराहरु सिक्नका लागि अवसर दिनु भएकोमा राष्ट्रिय सहकारी महासंघ र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङलाई धेरै धेरै धन्यवाद साथै कृतज्ञता व्यक्त गर्न चाहन्छु । विशेष गरी संस्थाका अध्यक्ष आदरणीय दिदी हुमा कुमारी जिसी (अञ्जु) लाई ह्ृदयदेखि नै धन्यवाद दिन चाहन्छु । आगामी दिन पनि अझै बढी साथ सपोर्ट र माया पाउने छु । जसले गर्दा मलाई काम गर्नका लागि थप हौसला प्रदान होस भन्न चाहन्छु ।
जय आदर्श सञ्चार
जय सहकारी ।
(लेखक आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङकाे सञ्चालक र शिक्षा, तालिम तथा सम्मान उप–समिति संयोजक हुनुहुन्छ)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *