नेतानेती

शिवशरण ज्ञवाली
अहिले नेपालमा नेतानेती उद्योग निकै उर्वर छ । डाक्टर नेतानेती, कलाकार नेतानेती, पत्रकार नेतानेती, शिक्षक नेतानेती, प्राध्यापक नेतानेती, व्यापारी नेतानेती, मजदूर नेतानेती आदिआदि । सबैको लक्ष्य राजनीतिक पद प्राप्ति । सबैको चाहना सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति । नेताको अतिरिक्त सुविधा । दुई डुङ्गामा खुट्टा !

नेतानेती उद्योगमा म कहिल्यै कामयाव भइन् न त मेरो खास कुनै दल नै रह्यो । जो राम्रो त्यो मेरो । मेरो दाबी पनि छ फेरि, म नेता चाहि हुँ । गत मंसीरको चुनावमा पनि मैले मतदान केन्द्रबाहिर बाध्यात्मक सार्वजनिक उद्घोष गर्नुप¥यों, ‘म नेता हुँ तपाईंहरु एजेन्ट ।’ बोल्न नमिल्ने बेला बोल्दा मलाई कतै नेताबाट चिप्लिएँ जस्तो लागेको थिएँ ।

तर मेरो नेता मभित्र नै सङ्कुचित छ । यो बाहिर निस्कन मान्दैन । कहिले यो स्वतन्त्र बाटो खोज्दै दौडन्छ त कहिले दलीय आबद्धतामा मस्कन्छ । दलीय आबद्धतामा मस्किएका बेला आत्मविश्वास गुमाएर यो रन्थनिन पनि पुग्छ । हावामा कावा भने स्वतन्त्र भएकै बेला मात्रै खान्छ । म यही विरोधाभाषमै बाँचिरहेको छु ।

विद्यार्थीकालमा एक जगलमुठे नेता भेटें । लामोलामो कपाल पालेका देख्दै डर लाग्दा थिएँ, उनी । मसँग सामान्य चिनजान थियो । एउटै संगठन भन्ने त थिएन किनकी म संगठनविहीन मान्छे । तर धार एउटै थियो, वाम काङ् भनेजस्तै । त्यसको धेरै पछि म त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा स्वतन्त्र चुनावमा ओर्लिएँ । संगठनमा आबद्ध हुनु बाध्यतात्मक भूल थियो ।

अँ, साँच्चै ती जगलमुठेका कुरा गर्दै थिएँ । मैले मेरा गाउँका साथीहरुलाई वनभोज लैजाँदै थिएँ । उनको संगठन त्यसदिन वनभोज जाँदै रहेछ । उनका संगठनका अर्को साथीले त्यो दिन तिमीहरु नजाऊ हामी जाँदैछाँै भन्दै थिए । मैले भने, ‘तिमीहरु संगठनको जाऊ हामी गाउँको जान्छाँै ।’ उनले थपे, ‘एकै दिन जाँदा बाँडिनुपर्छ । संगठन कमजोर हुन्छ ।’ मैले जवाफ दिदैं भने, ‘हामी मिति सार्न त सक्दैनाँै । महिनाँै अघि तय गरेको हो ।’

मैले यसो भन्दै गर्दा खै कताबाट ती जगलमुठे आएर मेरो कठालो समातिहाले । उनले चेतावनी दिदैं लालसलाम जस्तै मुठी कसेर भने, ‘ए ! तैले नसार्ने । म सारिदिम ।’ म चेतबाबा काशी भइहालें ।

विश्वविद्यालयमा चुनाव लड्दा अर्का नेता आए । अर्कै संगठनका भए पनि स्वतन्त्र चुनाव नलड भनेर उनले मलाई बारम्बार धम्की दिए । मेरो प्यानलका सभापतिलाई अपहरण गरिदिए । महिला साथीको चरित्रहत्या गरिदिए । जुन हर्कत गरेर भए पनि मलाई चुनावबाट लखेट्नु थियो । हामी लखेटियौँ । उनले भोज खाए होलान् ।

गाउँतिर नेतानेती उद्योग सानो हुन्छ । शहरतिर अलि ठूलो हुन्छ । गाउँतिरका नेतानेतीहरु ससाना ठेक्कापट्टा गर्छन् । शहरतिरका ठूला गर्छन्, होला । ती नेतानेतीहरु जनताको भन्दा आफ्नो भलाइ नै सोच्दा रहेछन् । जनतामा जबरजस्ती नै गर्छन् । म पनि त्यस्तो जबरजस्तीमा परेको छु । एकपटक त्यस्तो बेला म कराएँ । चिच्याएँ । अँह उनीहरुले सुनेनन् । धान चँर गरेका जनताका धान मकै भाँचिदिए । स्वार्थ उनीहरुको पूरा गर्नु थियो । हामी रोयाँै मात्रै । ठूला नेतानेतीको आडमा ती साना नेतानेतीले जनतामाथि दाँइ गरे । हामी निरीह
बन्यौँ ।

यी साना नेतानेतीहरु कहिल्यै ठूला हुँदैनन् । चुनावमा धाँधली गर्ने, जनतालाई धम्काउने, जबरजस्ती गर्ने यिनीहरुको मूल चरित्र हो । यिनलाई एजेन्ट भन्दा अझ सुहाँउला । यिनीहरु इमान्दार पनि हुन्छन् । यिनले कहिल्यै पार्टी बदल्दैनन् । कहिलेकाही झुक्किएर कोही कसैको हातबाट सिन्दूर लगाए भने पनि भोट त आफ्नै पार्टीमै हाल्छन्, प्रायले ।

ठूला नेतानेतीका कुरा गरी साध्य छैन । यिनीहरुलाई म खासै चिन्दिन । लडाकु नेतानेती भनेकै साना हुन् । ठूला त साखुल्य बन्दा रछ । कार्यकर्ता लडाउ आफू मिल यिनको सूत्र रछ ।

ठूला नेतानेतीले जनतालाई दुख पर्दा खासै सम्झदैनन् । त्यसका लागि गाउँका भुरे टाकुरे नेतानेती नै काफी छन् । तिनले आफूभन्दा ठूला र गाउँका भुरे टाकुरे नेतानेतीलाई सम्झिए पुग्छ । मर्दापर्दा उनीहरुलाई सम्झिए, पुग्छ । उनीहरुले त भारत वा चीनका नेता, ब्राजिल वा जापानका खेलाडी मर्दा दुख मनाऊ गरे पुग्छ । जनताले उनीलाई भोट भने हालिदिए पुग्छ । उनीहरुका सुखमा हाँसिदिए पुग्छ ।

ठूला नेतानेतीले आफ्नै पार्टीका आफैभन्दा ठूलो नेतानेती र उनका परिवारलाई ज्वरो वा हाच्छिँऊ आउँदा, विवाहको वार्षिक उत्सव आउँदा, जन्मदिन आउँदा, बिरामी पर्दा बिर्सन हुँदैन । पाजी जनतालाई त गाउँकै नेतानेतीले सम्झिहाल्छन् नि ।

ठूलो नेतानेतीको सिको शिक्षक नेतानेती, प्राध्यापक नेतानेती, पत्रकार नेतानेती, कर्मचारी नेतानेती, मजदूर नेतानेतीले नगर्ने कुरै भएन । आफ्नो पेशा जहाँसुकै जाओस् के मतलब । उनीहरुले राजनीति गफ चुटे, नेतानेतीको नजिक भए व्यवासायिक खत माफ भइहाल्छ । के थाहा मन्त्री, प्रधानमन्त्री पो……….

मेरो ठूलो नेतानेतीसँग खासै भेट भएन । न त उनीहरुसँग गाडी चढ्ने अवसर मिल्यो न त चिया खाने नै । तर जिल्लाका नेतानेतीहरुसँग राम्रै हेलमेल भयो । जिल्लाका नेतानेतीले पनि मलाई कहिल्यै खोजेनन् सधैं मैले खोजें । म खोज्दै गए उनीहरु हाजिर नगए बेमतलब ।

तर पनि साथीहरु नेतानेतीसँगका फोटोहरु कसरी राख्छन् ? कसरी खान्छन् सधैं सँगै खाना ? मलाई अचम्म लाग्थ्यो । एकदिन ब्रह्मज्ञान भयो, मलाईजस्तै नेतानेतीले उनीहरुलाई खोजेका रहेनछन् बरु तिनीहरुले नै नेतानेतीका पछि लाग्दा रहेछन । नेतानेतीसँगका फोटा त रवाफको काइदा पो रहेछ । आफू त केन्द्रीय नेतानेती घरै आउँदा समेत फोटो नखिचेर पछि परिएको रहेछ । फोटो र मन छुने स्टाटस नेतानेती बाहेक अरुको राखेर अर्थ छैन ।

जिल्लातिरका नेतानेतीसँग मेरो कहिलेकाही नोकझोक पनि भयो । नेतानेती गैरजिम्मेवार बन्न मिल्ने हामीलाई नमिल्ने । उनीहरुलाई कार्यकर्ता उचाले मात्रै भयो हामीलाई उनीहरुले उचालेकाहरुलाई बसाल्नु पनि पर्ने । उनीहरुलाई विधि नियम मान्नु नपर्ने हामीलाई मान्नुपर्ने ।

एकपटक मलाई ठूला नेताको गाडीमा चढ्ने मौका मिल्यो । बाटो जाम भएका बेला नेता बोलें, ‘साइरन बजाऊ साइरन ।’ म भने आरामदायीमा गाडीमा चढेकाले होला, गाडीमा कहिल्यै ननिदाउने म त्यसदिन भने मज्जाले निदाएको रहेछु । नेताले मलाई गाडीको सबैभन्दा पछिल्लो सिटमा बसाएका थिए । उनले पछाडिको सिट तोकिदिंदा मेरो मन खिन्न भएको थियो । के गर्नु रहर गरिहालियो, नेताको गाडी चढ्ने । जेहोस्, नेताका गाडीमा चढ्न पाउँदाको मेरो रवाफ आफैमा कम थिएन । त्यो गाडी कसरी किने होलान् ती नेताले । ड्राइभर पनि छ । नेताको आवाज मेरो जस्तै ठूलो रहेछ । उनको आवाजले मेरो निद्रा खुल्यो । यसो मुन्टो झुकाएर अगाडि हेर्छु त, गाडीको लामो लाइन पो छ । एम्बुलेन्सको कर्कश आवाजको साइरन पनि थियो । त्यो आफै जाममा फसेको थियो ।

नेताको गाडी भने विपरीत दिशाबाट साइरन बजाउँदै अगाडि बढ्यो । मलाई पनि जाति लाग्यो । यसो गाडी रोकियो भने नेता भनिहाल्थे, ‘साइरन बजाऊ साइरन ।’ बिचरो एम्बुलेन्स साइरन बजाउँदा पनि लाइन छाड्न सकेको छैन । नेतालाई के को नियम ? मलाई ब्रहमज्ञान भयो, ‘नेतानेती हुनुको काइदा यो पो रछ ।’

कहिलेकाही अस्पताल जान्छु, नेतानेतीको गाडी अस्पतालको भित्रैसम्म छ । एउटा नेतानेतीको उपचार गर्न दर्जनाँै सुरक्षाकर्मी छन् । पानी बिजुलीको बिल तिर्न जान्छु नेतानेतीलाई कुनै नियम नलाग्ने । लाइन बस्नु पनि नपर्ने । नागरिकता बनाउन जाँदा पनि उनीहरुलाई कुनै नियम छैन । उनीहरु बसमा हिड्ने कुरा भएन । बाटो खाली उनीहरुका लागि । जहाँ गए पनि बेहुलाजस्ता । फूलमाला अबिरले पुरिएकै छन् । उनीहरु त पूरेतजस्ता । जहाँ पनि अग्लो आसन । अरुको वास्ता उनीहरुले गर्नु नपर्ने उनीहरुको वास्ता अरुले गर्नुपर्ने । भोजभत्तेरमा उनीहरु विशेष मन्चमा । मुलुक घुम्न पाइने भाडा नलाग्ने । काम गर्नु नपर्ने । ध्यू, कोदो गहँु, भाङ्गो उपहार आइहाल्ने ।

नेतानेतीको अर्को गुण भनेको उनीहरु जति जान्ने कोही पनि हुँदैनन् । एकदिन मेरो कोठामा एकजना नेतृ आइन् । चिनजान हुन के बेर उनले मलाई लेक्चर दिन लागिन् । मैले उनलाई रोक्ने कोसिस गरें अँह के को मैले पालो पाउनु । उनको धाराप्रवाहका अगाडि मेरो केही जोर चलेन । नसकेपछि म घरभित्र छिरे ।

उनी त प्रतिनिधि मात्रै हुन् । नेतानेतीजस्तो जान्ने यो मुलुकमा को छ ? एकपटक म एकजना डाक्टर कम नेता बढीकोमा उपचार गर्न पुगें । उनलाई मुलुक बनाउने चिन्ता रछ । उनी रोमान्सेली क्रान्तिको भ्रममा रहेछन् । उपचार गर्लान् भन्दा उनले पनि मलाई कक्षा दिइहाले ।

विपी भन्थे, ‘ठूलो मान्छे होइन असल मान्छे बन्नु ।’ तर आजकाल ठूलो मान्छे बन्ने उद्योग चलिरहेको छ । ठूलो मान्छे किन बन्ने भन्दा अतिरिक्त सुविधा लिन । ठूलो मान्छे को भन्दा नेतानेती । नेतानेती किन बन्ने ? सबैतिर सुविधा छ त । मैले त सकिन हजूर तपाईंहरु नेतानेती बन्नुस् । अतिरिक्त सुविधा लिनुहोस् । मनमन गम खान्छु । यही अतिरिक्त सुविधा वा विशेष सुविधा नै नेतानेती बन्नुको आकर्षण पो रछ । त्यसैले आजकाल नेतानेती उद्योग उर्बर छ । तपाईंहरुलाई पनि नेतानेती बन्ने शुभकामना !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *