सरोजराज पन्त
आमा शब्द मानवदेखि जनावरसम्म उत्तिकै प्रिय छ । बालक जन्मिएपछि जब तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द आमा हो । हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने पहिलो शब्द आमा हो । कुनै समस्या आइपरेको समयमा लौन आमा के गर्ने भनी ठूलो स्वरले नचिच्याएका मानिस कम हुन्छन । कसैसँग कुनै झैझगडा भएमा मेरी आमाले मलाई जन्माएकै हैन भनी ध्वांश दिने गरेका छौं । बालक कालमा कसैसँग झैझगडा हुँदा मेरी आमालाई ल्याउँछु भनेर ताकत पनि देखाएकै हुन्छौँ । केही कसम खादा आमासँग जोडने चलन पनि छ । यसरी हाम्रो दैनिक जीवनमा पनि आमालाई उच्च मान्यता दिइ आएको पाइन्छ ।
आमा शब्द मानवसँग मात्र सम्बन्धित छैन । पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध छ । कुनै पशुले बच्चा जन्माएपछि आमालाई सङ्केत गरी बोलाएको हुन्छ । चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरी आमालाई बोलाएको हुन्छ । अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप र तरिकाबाट खोजेकै हुन्छन् । प्रथम सृष्टिकर्ता एवम् पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुईबीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो । आमा भन्ने शब्द यो संसारमा सबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ । तर आज सबै आमाहरु किन समान छैनन र व्यवहार पनि समान छैन ? यो गहन बिषयको अहिले आमाले चुसाउने दूधबाट स्पष्ट हुन्छ ।
स्तनपान गराउने प्रचलन संसारमा स्तनधारीहरूको विकाससँगै भएको पाइन्छ । यो ज्यादै पुरानो तर वैज्ञानिक चलन हो । शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ र हुनु पर्दछ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पनि पर्दछ । तर आजका बालबालिकाले बिभिन्न बहानाका कारण यो अधिकारबाट बिमुख भएका छन । शिक्षित महिला स्तनपानको महत्व थाहा छ तर पनि पर्याप्त स्तनपान गराउँदैनन् । कामको बाध्यता हुनुमात्र होइन अहिलेको युवा पुस्तामा यसबारे ठूलो भ्रम रहेको छ स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउँछ, शरीरको तौल घट्छ, यौन क्षमतामा कमि आउँछ, स्तनको आकार बिग्रन्छ, कम स्वतन्त्रता हुन्छ भन्ने सोचाइले बच्चालाई सकेसम्म स्तनपान गराउँदैनन्, गराए पनि थोरै समय गराउँछन् र ल्याक्टोजिन, सेरलेक्स, पाउडर दूध खुवाउनमा व्यस्त छन् ।
देशको भविश्य, सबैको चासो, चिन्ता र सरोकारको विषय स्तनपानको महत्वलाई गा्रमीण कम साक्षर महिलाहरुले भन्दा शहरिया शिक्षित महिला पुस्ताले ओझेलमा पार्दै गएको विभिन्न अध्ययनले स्पष्ट पारेका छन् । अहिले पूर्ण स्तनपान गराउने महिलाको संख्या ६६ बाट घटेर ६२ प्रतिशतमा झरेको छ । शिशु जन्मेदेखि एक महिनासम्म आमाको दुध मात्र खुवाउनेको संख्या ८० प्रतिशत रहेको छ । शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दुध मात्र खुवाउनेको संख्या घटेर ७२ प्रतिशत रहेको छ । उमेर बढ्दै जाँदा यो दर झन् घट्दै गएको छ । पूर्ण स्तनपानको दर घट्दै जानुका पछाडि स्वास्थ्य सेवा प्रदायकले दिने परामर्श र सेवा, आमसमुदायमा भएका विविध भ्रम, आधुनिकताको असर, यौनिक सवाल, शारीरिक सौन्र्दयताको सवाल, कतै सचेतनाको अभाव र बाध्यता, कतै बढी सचेतना र बढी स्वतन्त्रताको नकरात्मक प्रभाव, फर्मुला दुध, बट्टाका दुधको बढ्दो आकर्षक विज्ञापन र महिला रोजगार, कामकाजी आमाका बाध्यताहरु मुख्य कारणहरु रहेका र यिनै सवालसँगै बच्चाको नैर्सर्गिक अधिकारमाथि अङकुस लगाउने काम भए गरेका छन् ।
कानुनी रुपले हेर्दा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ ले स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमन गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न दिशानिर्देशन गरेको छ । यस ऐन अनुसार आमाको दूधको विकल्पमा अनाधिकृत रुपमा अन्य दूध बेचविखन गर्न नपाइने भएकोले अनिवार्य रुपमा आमाको दुध नै खुवाउनु पर्दछ । सुत्केरी आमाले हरेक दिनको खानामा गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, पशुपंक्षीजन्य खानेकुराहरु खानु पर्दछ । सुत्केरीले धुम्रपान तथा मद्यपान नगरी शिशुलाई हरेक २४ घण्टामा ८ देखि १२ पटक स्तनपान गराउनु पर्दछ । आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरूका साथै शिशुलाई पुग्ने पानीको मात्रा पनि हुने भएकोले पानी खुवाउनुपर्दैन ।
बच्चा कम्तिमा दुई वर्ष नपुगेसम्म नियमित रुपमा अन्य खानाको साथै आमाको दूध खुवाउनु पर्दछ । सुत्केरी आमाले ज्वानो (अजवाइन) को झोलसहित थप पोसिलो खाना खानु पर्दछ, जस्तैः दाल, गेडागुडी, दूध र अन्य तरल खाने, सुत्केरी भएको ४२ दिन भित्र भिटामिन ए क्याप्सुल खाने, सुत्केरी भएको ४५ दिनसम्म नियमित रुपमा आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खाने तथा नियमित रुपमा शिशुलाई दूध खुवाउनु पर्दछ । शिशु जन्मिएको एक घण्टाभित्र आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनुपर्दछ । पहेँलो दूधले खोप सरह शिशुलाई रोगबाट बचाउँछ । रोगसँग लड्न सक्ने क्षमता बढाउँछ । यसमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट र क्याल्सियम सहित बच्चालाई चाहिने पोषक तत्वहरू हुन्छन । आमाको दूधले प्राकृतिक एन्टिबडीहरू प्रदान गर्दछ र बच्चालाई संक्रमण झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने र विभिन्न रोगहरूको प्रतिरोध गर्न मद्दत गर्दछ । आमाको दूधले बच्चालाई बिरामी हुनबाट जोगाउनका लागि “पहिलो खोप“ प्रदान गर्दछ ।
अध्ययनले आमाको दूधले अधिक तौल हुने, र दम, एलर्जी, मधुमेह, उच्च कोलेस्ट्रोल, हडकिन्स रोग, ल्युकेमिया र लिम्फोमा विकास गर्ने जोखिमलाई कम गर्ने गरेको, यसले एलर्जी विरुद्ध, प्रतिरोधात्मक क्षमता, तत्वले बालबालिकाको आन्द्राको रक्षा, गिजा र दाँतको विकास गर्न सहयोग गर्दछ र दूध चुसाइले अनुहारको मांशपेशिकाको विकासमा सहयोग पुग्दछ । बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न सहयोग गर्दछ । स्तनपान आमाहरूलाई स्तन क्यान्सर, मधुमेह, मुटु रोग, ओस्टियोपोरोसिस र पाठेघरको क्यान्सरको जोखिम कम हुने गरेको पाइन्छ । महिनाबारी नफर्किएको अवस्था बालबालिका जन्मेको ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको काम गर्ने गरेको पाइन्छ । जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ । बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ । परिवारमा आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम कम हुन्छ । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिने,। सफा, पोषिलो र ठीक तापक्रमको र कम खर्चिलो हुन्छ ।
हरेक वर्ष १ देखि ७ अगष्टसम्म विश्व स्तनपान सप्ताह मनाइरहेका छौँ । स्तनपानको महत्व, शिशुको ज्यान बचाउन आमाको दुध अमृत समान हुन्छ भन्ने थाह हुँदा हुदै र स्तनपानबाट बालबालिका तथा आमालाई धेरै फाइदा पुग्दछ । तर पनि अहिले पाउडर दूध खुवाउने चलन बढेको छ । स्तनपान किन निराशाजनक तरिकाले घटिरहेको छ ? यो गहन अध्ययनको विषय बनेको छ । नेपालमा विश्वव्यापीकरण र बढ्दो शहरीकरणसँगै बोतल–पानको दर बढिरहेको छ । सन् २०१६ मा १२ प्रतिशत रहेको बोतल–पानको दर रहेकोमा २०१९ मा २३ प्रतिशत पुगेको अबस्था छ । यसरी बट्टाको दुध वा फर्मुला खुवाउनेको अनुपात शिक्षित परिवारका आमा र बच्चामा बढी रहेको छ । यस्ता आमाका कतिपयका बाध्यता रहेका र कतिपय अवस्थामा बेवास्ता गरेर स्तनपान नगराएको अबस्था छ । पूर्ण स्तनपान गराउनमा आमा, बुवा र परिवारका अन्य सदस्यहरुको ठूलो भूमिका हुन्छ यद्यपि कार्यालयमा काम गर्ने आमाहरुले अहिले चाहेर पनि शिशुलाई पूर्ण स्तनपान गराउन नसकेको अवस्था छ ।
घरबाट नजिकै कार्यालय हुने र परिवारका सदस्यले सहयोग गरेमा स्तनपान गराउन सकेको र अरुले नसकेको अबस्था छ । कतिपयले बच्चालाई दुध खुवाउन जागिर र अन्य काम छोड्नु पर्ने बाध्यता पनि छ । कतिपय कार्यालयमा महिलाहरुलाई दिइने यो सुविधालाई लिएर गिज्याएर, होच्याएर हेर्ने र काम ठग्ने बहाना बनाएको भन्ने गरेको गुनासो पनि पाइन्छ । अहिले कतिपय महिलाले स्तनपान गराउँदा शरीरको सौर्दयता गुम्ने, स्वतन्त्रता नहुने, यौन आनन्द नहुने, यौनमा ध्यान नजाने, तनाव हुने, दुःख हुने, दिक्क लाग्ने गरेकोले दूध नखुवाउने गरेको पाइन्छ ।
स्तनपानबारे आम सचेतना अभिवृद्धि गर्ने, प्रसूति बिदा सबै संघ सस्थामा बढीमा दुई पटकसम्म कम्तिमा ६ महिना अनिवार्य दिने, आमाको दुधलाई प्रतिस्थापन गर्ने पाउडर दुध, दुधदानी आदिको कडा नियमन गर्ने, स्वास्थ्यकर्मीले अन्तिम विकल्पका रुपमा मात्र बट्टाको दुध दिने गरेमा मात्र स्तनपानको दर बढ्दै जानेछ । अन्यथा हरेक वर्ष स्तनपान सप्ताह मनाएर करोडौँ बजेट खर्चेर केही अर्थ देखिदैन । अहिले पूर्ण स्तनपानमा सहयोग गर्न ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ को दफा १३ मा सरकारी, गैरसरकारी तथा निजी संघ संस्थामा कार्यरत महिलाहरुलाई कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा तथा चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्मको बेतलबी बिदाको व्यवस्था रहेको छ । यद्यपि अझै पनि यो प्रावधान पूर्ण रुपमा सबै संघ सस्थामा कार्यान्वयन हुन सकेको छैन । सरकारी सेवामा स्थायी जागिर गर्नेले यो सुविधा पाए पनि निजी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने आमाहरुले नियमानुसार सुत्केरी बिदा पाउन गाह्रो अबस्था छ । गर्भवती र प्रसूति अवस्थामा दिइने बिदा र सुविधा महिलाहरुको लागि मात्र दिने सुविधा होइन, यो भावी सन्ततिको स्वास्थ्य र देशको भविश्यसँग जोडिएको विषय हो । पूर्ण स्तनपानले १३ प्रतिशतसम्म बाल मृत्युदर घटाउने, स्तनपान गराएका शिशुहरुको दिमागको विकास राम्रो हुने, स्वस्थ हुने भएकोले गर्भवती र प्रसूति अवस्थामा दिइने बिदा तथा सुविधा राज्यको विकासको एक महत्वपूर्ण आयाम बन्नु पर्दछ । पूर्ण स्तनपान गराउने अवधिभर सबै सरकारी, गैरसरकारी तथा निजी संघ संस्थामा कार्यरत महिलाहरुलाई प्रसूति बिदा दिन र बच्चालाई दूध पिलाउने वातावरण सृजना गर्न गराउन आवश्यक छ ।