शुभेक्षा पन्त
संसारका विभिन्न कानून प्रणालीले आ––आफ्नै कानूनका स्रोतलाई मान्ने गरेका छन् । अदालतको न्यायिक निर्णायबाट प्रतिपादित कानुन सरह व्यवहारमा उपयोगी सिद्धान्तहरुलाई नजिर भनिन्छ । कमन कानून प्रणाली अपनाएका र सोबाट प्रभावित देश जस्तै बेलायत, अमेरिका, नेपाल, भारत आदिमा नजीरलाई बाध्यात्मक मानिन्छ तर नागरिक कानूनी प्रणाली अवलम्बन गरेका मुलुकहरु जसमा फ्रान्स, इटाली, जर्मनमा भने नजिरलाई बाध्यात्मक मान्दैनन् ।
कानूनी रिक्तता, अस्पस्टता, तथा द्विविधामा सक्षम अदालतले कानुनको व्याख्या गरी प्रतिपादन गरेको सिद्धान्त नै नजिर हो । नजिरले कानूनलाई गतिशील बनाउँछ । न्यायका सिद्धान्तलाई प्रयोगमा ल्याउन सघाउँछ । नेपाल पनि यसै कानुन प्रणालीबाट प्रभावित मुलुक हो । नजिरलाई पूर्वनिर्णय पनि भनिन्छ । नजिर विधायिकाले निर्माण गरेका कानुनहरूलाई समसामयिक व्याख्या गरी समाजमा कानुनको अभाव हुन नदिनको लागि अदालतबाट कानुनको व्याख्या हुँदा स्थपित हुन्छ ।
कानुनको स्वेच्छाचारी व्याख्या गर्नबाट रोक लगाई न्यायिक स्वच्छता कायम गराउन, न्यायिक एकरूपता कायम गराउन, न्याय छिटो छरितो प्रदान गर्न नजिरलाई महत्वपूर्ण मानिन्छ । कानूनको निर्माण गर्ने अधिकार व्यवस्थापिकालाई भए पनि व्याख्याद्धारा कानूनलाई नयाँ रुप दिने अधिकार न्यायपालिकालाई हुन्छ । नजिरको सुरुवात बेलायतबाट भएको हो । नजिरलाई हुवहु लागु गर्न पनि सकिन्छ र त्यस्तो नजिर अध्ययन गरी नयाँ बनाउन पनि सकिन्छ । कुनै नजिर मान्न कर लाग्दछ भने कुनै मान्न कर नलाग्ने किसिमका नजिर पनि हुने गर्दछन् । नजिरलाई पनि विभिन्न भागमा विभाजन गरिएको छ । यसलाई आधिकारिक नजिर, अनुयात्मक नजिर, मौलिक नजिर, घोषात्मक नजिर गरी विभाजन गरिएको छ भने घोषात्मक नजिरलाई पूर्ण र अवस्थामूलक नजिर गरी दुई भागमा विभाजन गरिएको छ । नजिरका तत्वहरु भनेर निर्णयधार र फैसला स्थिरतालाई हेरिन्छ ।
नजिर कानुनको व्याख्यात्मक घोषणाका माध्यमबाट वा नयाँ कानुनी सिद्धान्तको प्रयोग गरी प्रतिपादन भएको हुन सक्छ । न्याय निरुपणमा एकरुपता कायम गर्न माथिल्लो तहको अदालतको निर्णय र समान प्रकृतिको तथ्य भएका मुद्दाहरुमा पनि पूर्व निर्णय अनुसार निर्णय दिनु पर्दछ भन्ने मान्यता नै नजिरको सिद्धान्त हो । प्रकाशित भएको तथ्यमा समानता रहेको र माथिल्लो अदालतको नजिर मात्र लागू हुन्छ । मुद्धा हेर्न र फैसला गर्ने सम्बन्धमा अदालतबाट व्याख्या गर्दा स्थापित भएका कानूनी सिद्धान्त नै नजिर हो । नजिरको अथवा कानूनी सिद्धान्तलाई ऐन, नियम वा निर्णय दिने अदालतले खारेज नगरेसम्म परिपालना अनिवार्य तथा बाध्यात्मक हुन्छ । नजिरको विरुद्धमा निर्णय गर्न पाइदैन र निर्णय भएमा सोही नजिरको आधारमा त्यस्तो निर्णय बदर तथा अमान्य हुन्छ । नजिर सम्बन्धी अवधारण अन्तर्राष्ट्रिय धारण बनिसकेको छ । न्यायिक सिद्धान्त प्रतिपादित भएका विषयलाई मात्र नजिरको रुपमा अगाडि लिइन्छ ।
नेपालको वर्तमान संविधानको धारा १२६ को उपधारा २ र धारा १२८ को उपधारा ४ मा यसको व्यवस्था गरिएको छ । मुद्धा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालन गर्नु पर्नेछ । नेपालमा नजिरको लामो इतिहास छैन । वि.सं २००७ भन्दा पहिला नेपालमा न्यायपालिका स्वतन्त्र नभएकाले नजिर अवधारण विकसित भएको थिएन । वि.सं २००८ मा प्रधान न्यायलयको स्थापनापछि नजिरको सुरुवात भएको थियो । विभिन्न कानूनविद्दले पनि नजिरका विषयमा आ–आफ्ना विचारहरु व्यक्त गरेका छन् । नजिरले व्यवहारमा महसुस भएका कुराहरुलाई समेट्ने भएकाले समाजको आवश्यकता पुरा गर्न र कानुनलाई समयानुकूल प्रगतिशील बनाउन यसको आवश्यकता हुन्छ । कानूनको व्याख्या हुने भएकाले यसको प्रयोग गरी फैसला गर्दा समयको व्यवस्थापन हुन्छ । नजिरका माध्यमबाट भौतिक त्रुटिहरुको पनि समाधान हुन सक्छ ।
यथार्थ र वाद शब्द मिलेर यथार्थवाद बनेको छ । यथार्थवाद सम्प्रदाय त्यस्तो दृष्टिकोणमा केन्द्रित छ । जहाँ नजिरलाई नै कानून मानिन्छ । यस विद्यालयले कानूनको परम्परागत परिभाषालाई अस्वीकार गर्दछ । र कुनै पनि तर्क संगत संरचनालाई बेवास्ता गर्दछ र अदालतले दिएका निर्णयहरूमा पूर्णतया केन्द्रित हुन्छ । २० औँ शताब्दी भन्दा पहिलेबाट नै यो सम्प्रदायको सुरुवात भए तापनि धेरै समय पछि मात्र यो सम्प्रदाय विकसित भएको हो ।
यथार्थवादी कानूनी सम्प्रदायले नजिरलाई प्रमुख मान्दछ । नजिर भनेको कुनै मुद्दामा अदालत÷न्यायलयले दिएको निर्णय नै नजिर हो । मुद्दा हेर्न र फैसला गर्ने सम्बन्धमा अदालतद्वारा व्याख्या गरी स्थापित गरिएको कानूनी सिद्धान्त नै नजिर हो । नजिरको विरुद्धमा निर्णय गर्न पाइदैन र निर्णय भएमा सोही नजिरको आधारमा त्यस्तो निर्णय बदर तथा अमान्य हुन्छ । ‘कमन ल’ अनुसरण गर्ने देशहरुमा नजिर बाध्यात्मक कानूनका रुपमा प्रयोग हुन्छ ।
कमन कानून अपनाएका र सोबाट प्रभावित देश बेलायत, अमेरिका, नेपाल, भारत आदिमा नजिरलाई बाध्यत्मक मानिन्छ । तर, नागरिक कानून अवलम्बन गरेका मुलुकहरु फ्रान्स, इटाली, जर्मनी आदिमा यसलाई बाध्यत्मक मानिदैन । यसैले पनि यर्थाथवादी सम्प्रदायमा कमन कानूनको प्रभाव रहेकाले नजिरलाई प्रमुख मानिएको हो । ‘कमन ल’ भनेको विधायिका निर्मित कानुन होइन । अदालतले मान्यता दिएका प्रथा परम्परा बेलायती अर्थमा ‘कमन ल’ हुन् । नेपालमा नजिर बाध्यात्मक कानुन हो । तैपनि नेपालको कानुन प्रणालीलाई ‘सिभिल ल’ सँग जोडेर हेरिन्छ ।
यर्थाथवादीहरुले न्यायधीश निर्मित कानूनलाई मात्र मौलिक मान्दछन् । यर्थाथवादी सम्प्रदाय समाजशास्त्रीय सम्प्रदायका विचारकहरुको कानूनमा समाजको प्रभाव भन्ने धारणाको विरोधमा भएको हो । अदालत र न्यायाधीशको स्थानलाई स्पष्ट पार्न यर्थाथवादी सम्प्रदायको विकास भएको हो । यस सम्प्रदायलाई अमेरिकन यथार्थवाद र स्कयण्डनेभियन यथार्थवाद गरि दुई शाखामा विभाजन गरिएको छ । तर, यी दुवैको आधारभूत दृष्टिकोण एकै किसिमको छ । यर्थाथवादी कानूनी सम्प्रदायमा मत हाल्ने कानूनविद्हरु होम्स र फ्रेन्क हुन् । होम्सले १८९७ मा प्रकाशित निबन्धबाट अमेरिकी यथार्थवाद वा आधुनिक यर्थाथवादी सम्प्रदायको विजारोपण भएको हो । यस सम्प्रदायले कानूनले कसरी कार्य गर्दछ भन्ने कुरालाई प्रमुख मान्दछ । अदालतले कुनै मुद्दाको निर्णय गर्दा आफ्नो निर्णय तार्किक नभई भावनात्मक आधारमा राख्दछ । यस सम्प्रदाय अनुसार न्यायधीश निर्मित कानून मात्र मौलिक कानून हो । सम्भावित कानून वास्तवमा कानून होइन भनेर यस सम्प्रदायका कानूनविदहरुले भन्ने गर्दछन् ।
कानूनको निर्माण तथा विकासमा सामाजिक तत्वहरुको प्रत्यक्ष प्रभाव परेको हुन्छ । यथार्थवादीहरु न्यायाधीशको भूमिका माथि बढी जोड दिन्छन् ।उनीहरुको अनुसार अदालतका अधिकारी र न्यायधीशहरुको कारवाही नै कानून हो । अदालतले जे गर्छ त्यो कानून हो । कुनै तथ्यको बारेमा जबसम्म अदालतले केही निर्णय दिदँैन । तबसम्म त्यस विषयमा कुनै कानूनको अस्तित्व रहदैन । यथार्थवादी कानूनी सम्प्रदायको सुरुवात कालखण्डतिर यसको बारेमा थुप्रै गलत व्याख्या गरिएको थियो । तर, अहिले एउटा निश्चित धारणाको रुपमा यसको विकास भइरहेको छ ।
कानूनको सिद्धान्त अध्ययन गर्नका लागि विधिशास्त्रको धेरै महत्व छ । विभिन्न विधिशास्त्रीहरुको मत र दृष्टिकोणद्धारा सुरुवात भएको कानूनी सम्प्रदाय भएपनि सबैको साझा उद्देश्य सबै व्यक्तिको न्यायमा पहुँच पुगोस् र सबै व्यक्तिले न्याय पाउन् भन्ने हो । दृष्टिकोण र विचारमा मात्र यी सम्प्रदायहरु छुट्टिएका हुन । हाम्रो समग्र जीवनधारामा रहेका विवेक, कर्तव्य र न्यायशीलतालाई विस्थापित गर्नु हुदैन । मुद्दा मामिलाको समयमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्न आवश्यक छ । न्याय सम्पादन प्रकृयालाई निरन्तरता दिन, निश्चितता कायम राख्न, साथै न्याय प्रणालीलाई अनुशासित र उत्तरदायी बनाउन तथा न्यायिक एकरुपता कायम गर्न र न्यायिक कामकारबाहीलाई समय सापेक्ष बनाउन नजिरको विशेष भूमिका रहेको छ ।