शिवशरण ज्ञवाली
काठमाडौँको हुलमुलमा म पहिचानविहीन छु । घुमिफिरी रुम्जाटार भनेजस्तै म तेर चौध वर्षपछि काठमाडौं आइपुगेको छु । रहरले परिवारसहित बागलुङ पुगेको म कहरले फेरि एक्लै काठमाडौं आइपुगेको छु । आमाले भन्नु भो, ’ के पाइस् र तैले त्यहाँ ? गुमाएर फर्कदा पनि मन बलियो बनाउनु ।’ असंवेदनशीलहरुलाई शुभकामना ! काठमाडौं पुरानो शहर मात्रै होइन, नयाँ पनि हो । म पनि पुरानो नयाँ दुवै हुँ । त्यही भर म कहिले बस चढ्छु । कहिले लुखुरलुखुर हिड्छु । कहिले स्कुटर चढ्छु । आजकाल मलाई साइकलको रहर छ ।
झापाली भिनाजुसँग हिँड्नुको मजा छुट्टै छ । बेलाबेला हाँसीमजाक गरि रहनु हुन्छ । हाँसीमजाको फाइदा म जस्तो अभिघात परेकालाई मात्र होइन, सबैलाई छ । मानस रोगको बिरामीलाई मेरो सल्लाह छ : हाँस्नुस । स्वास्थ्य लाभ गर्नुस् । हस्याइला फिल्म, किताब उपयोगी हुनसक्छन्, तपाईंलाई । नेपालीमा भैरव अर्यालका किताब, मह जोडीका फिल्म टेलिफिल्म । हिन्दीमा गोविन्दा, प्रवर राव लगायतका फिल्म टेलिफिल्म उपयोगी !
कहाँको गुल्मी बागलुङको शान्त ठाउँ कहाँको काठमाडौंको हुलमुल । तुलना नै गर्न सकिन्न । भूपी शेरचनको कवितामा भनेजस्तै यहाँ के छैन सबथोक छ । हंस सरजस्तै मलाई पनि सबथोक छ भन्ने था छ है । अरुलाई पनि छ । था छैन भने जमाना अनुसार गुगल गर्नु न । अर्कालाई सोधेर आफ्नो इज्जत धरापमा नपार्नु होला । यो जमाना गुगलको हो, मान्छेको होइन । यो जमाना अनलाइनको हो प्रेमको होइन । यो जमाना चिप्लो थुतुनोको हो संवेदनाको होइन । यो जमाना कालो पर्दाको हो, ऐनाको होइन । यो जमाना देखावटीको हो वास्तविकता हो । सारमा भर्चुअल हो, यथार्थ होइन ।
भिनाजु पुरानो म नयाँ । के पुरानो नयाँ नसोध्नुस् । भूपालको कामरेडको अभिव्यक्तिको संयमता कम्तीमा मैले बुझ्न थालेको छु ।जगन्नाथ गुरू भन्नु हुन्थ्यो, ’शरीरम् व्याधि मन्दिरम् !’ संस्कृतको क्षमता कुनै दिन लेख्नेछु । त्यसमा जगन्नाथ गुरू जोडिनु हुनेछ । उहाँप्रतिको मेरो विश्वास यस पटक अलि कमजोर भको छ । केपी ओलीको सफलताको कथा जोडिनेछ । रेसुङ्गा क्याम्पसको सौन्दर्य तानिनेछ ।
रोगको घर शरीरका पेचकिला खुस्किए पनि अन्तिमसम्म ’म ठीक छु’ भन्न र नडराउन सिकाएर उनी परलोक भइन् । त्यसैले म कम्तीमा चौरासी पूजाको आकांक्षामा छु । ठमेल लैनचौर लाजिम्पाट बालुवाटार धुम्बाराही भिनाजु र म डे वाकमा थियौं । बाटो बिराउँदै र भैटाउँदै थियौँ हामी । हामी बाटो बिराएकोमा खासै दण्डित हुनु पर्दैनथ्यो । यो मुलुकमा दण्डित हुने त विद्यार्थी मात्रै न हो । उनीहरूले बिराउनु हुँदैन । त्रुटि विश्लेषणको सिंचन सबैतिर छरिएको छैन । शिक्षालाई नगन्ने मास्टर आफू पढ्छन् विद्यार्थी पढाउदैनन् । शिक्षा नपढे पनि पढाउन पाउनुको काइदाको फाइदा नेपालीलाई जति यो संसारको अरु कसैलाई था होला र ? तर पनि भएनवादीहरुले बुझे हुन्छ, बीस बर्ष अगाडि र आजको शिक्षामा ठूलो अन्तर आइसकेको छ । शिक्षक विद्यार्थीलाई दण्डित गर्दा गर्व महसुस गर्छ । ग्लानी महसुस गर्दैन ।शिक्षकले मैले पढाउन जानिन भन्दैन विद्यार्थी जानेन भन्छ । छाडोस् यो मानसिकता!
बिराउँदै भेटाउँदै हामी बालुवाटार चोकमा पुग्यो । पेटका मुसाले मुख बाउन थाल्दा बेमौसमी मकैको खुस्बु नाकमा ठोकिन्न आइपुग्यो । महङ्गो काठमाडौं शहरमा पैंतीसको मकैलाई तीस रूपैयाँमा माग्दै हामी पाँच रुपैयाँको बार्गेनिङ गर्दै थियौं । एकजना अनचिनारु राजनीति पण्डित प्वाक्क बोले, ’ चितवनमा कसले जित्छ ।’ म पनि बोलिहाले, ’कुकर ब्याए पो के स्वाद तुहिए पो के स्वाद !’
यसो भन्दै गर्दा मलाई रिपाहा बाको सम्झना भयो । यो उखान उहाँको दान हो । जीवनका अनेक दुःख भोगेर रिपाहा बा जानु भो । ’ए शिवे ! मुखमा आगो लगाउनु परो । सलाई ले’ भन्ने शब्द आज पनि कानमा गुन्जिरहन्छ । कहिलेकाही बालाई भन्नु हुन्थ्यो, ए पण्डित! तैले त बारी लेखिछस् त ।’ बा गलल्ल हाँस्दै भन्नु हुन्थ्यो, ’दाई ! किनेका गोरू र किनेको हलीले गोडा चार सिगा लेखेँ ।’ उहाँहरुको हाँसीमजाकले घर गुन्जिन्थ्यो । रिपाहा बाको उखान मैले अचिनारू राजनीतिक पण्डितलाई व्यङ्ग्य गर्न प्रयोग गरेँ । उनी खिस्रिक परेपछि म बोले, ’म क्षमा चाहन्छु । अनावश्यक राजनीतिक चासो मलाई मन पर्दैन ।’
दिल्लीको व्यस्त शहरमा किसन दाइको व्यवासयिक उचाइ लोभलाग्दो थियो । सबैले उहाँलाई हाइहाइ गर्थे । भन्नु हुन्थ्यो, ’भाइ ! म अल इन्डिया घुम्छ ।’ राति दश एघार बजे घर आउँदा पनि उहाँ अफिसकै काममा फोनमा बोलिरहनु हुन्थ्यो । बिहान उठ्दा पनि फोनमा अफिसकै काम । फोन र कम्प्युटर बराबर पनि चल्थे । दाइको इमान्दारितामा शंका थिएन । परिवारभित्रै उहाँका समर्थक र विरोधी पाएँ, मैले । कृष्णले मलाई जागिरबाट हटाइदियो भन्थे हाम्रै आफन्त । दाइलाई मैले यो जिज्ञासा राखें । दाइले भन्नु भो, ’भाइ तिमी घरमा पो भाइ हो । कार्यालयमा त मैले काम हेर्ने हो । काम राम्रो नहुँदा बिदा त गर्नै परो ।’ दाइको भनाइ अनुकरणीय लाग्यो, मलाई ।
हामी दिल्लीमा भका बेला दिल्ली विधान सभाको चुनाव थियो । केजरीवालले शिक्षा, स्वास्थ्य, यातायात, पानी, बिजुलीका मुद्दा उठाइरहेका थिएँ । सरकारी स्कुलको मुहार फेरिएको सुनिन्थ्यो । अमेरिकी प्रथम महिलालाई उनले स्कुलमा स्वागत गरेका थिए । त्यही भर होला उनले दिल्ली बिधान सभामा वर्चस्व कायम राखेका थिएँ । मैले एकदिन कृष्ण दााइलाई सोधेँ, ’दाई दिल्लीको चुनाव केछ ?’
दाइले जवाफ दिनु भयो, ’खै भाइ ! फुर्सद नै छैन । म दिललीमै भएँ भने केजरीवाललाई भोट दिन्छु । त्यसले मेरो कोठाको पानी बिजुली निशुल्क गरिदिएको छ ।’ नभन्दै चुनावका बेला दाइ दिल्ली बाहिर जानु भो । दिल्लीमा चुनाव भो । दाइ आएपछि न मैले चुनावको कुरा उठाएँ न त दाइले नै केही भन्नु भो । केजरीवाल पुनः सत्तारोहण गरे । हाम्रो लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात!तर नेपालमा हामी सबै राजनीतिक पण्डित । घरमा, बसमा, पाहुना लाग्दा, अस्पतालमा, साथीभाइ सबैतिर राजनीति । सन्चो बिसन्चो छैन । उही राजनीति । राजनीति बाहेक अरु केही छैन ?
अर्थतन्त्र धरापमा छ । चिन्ता छैन केही ! नेपालको शिक्षा संसारमा कति पछि छ । चिन्ता छैन केही । अस्पतालमा उपचारको पालो बर्षौपछि आउँछ । चिन्ता छैन केही । काठमाडौंको बाटोसमेत बाटोजस्तो छैन । चिन्ता छैन केही । महंगीले बाँच्न हम्मे परेको छ । चिन्ता छैन केही । युवाहरु उर्जा पोख्न विदेशिएका छन् । चिन्ता छैन केही । परीक्षाको रिजल्ट वर्षभरिमा आउँछ । चिन्ता छैन केही । समाज आशे र अल्छी बन्दैछ । चिन्ता छैन केही ।
फगत उपनिर्वाचन नामको राजनीतिको मात्रै चिन्ता छ । के त्यसतो परिवर्तन आउँछ, त्यसले । जनजीवन परिवर्तन रातारात सम्भव छैन । नफुर्के हुन्छ । चुनावको जित हार मात्रै सफलता असफलता होइन । तर हामीले ताइ न तुइको चिन्ता छाड्नु पर्ने छ । हामीले हाम्रो चिन्ता कहिले गर्ने ? आफ्नो जीवनको चिन्तन कहिले गर्ने ? हाम्रो चिन्ता गर्न थालेका दिन मुलुकको अनुहार फरक देखिएला कि ? योग दर्शनमा भनिएजस्तो आफूले आफूलाई कहिले हेर्ने ? आफ्नो आँगन कहिले हेर्ने ? आफूलाई हेर्न थालेका दिन मुलुक फरक हुन्थ्यो कि ?