सरोजराज पन्त
नेपाली समाजमा विविधता भित्र अनेकता र अनेकता भित्र विविधतामा रहेको छ । आर्थिकरुपमा पनि यस्तै विविधता पाइन्छ । अहिलेपनि झन्डै ३२ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेका छन् । सबैलाई देशको संविधानले व्यवस्था गरेका आधारभूत आवश्यकताहरू अन्तर्गत निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम आज कसैका लागि फलदायी र कसैका लागि समस्याको समाधान नगर्ने र झन्झट थप्ने गरेको पाइन्छ । समाजमा रहेको विद्यमान स्वास्थ्य समस्या समाधान गरी सामाजिक न्याय कायम गर्नका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको सरकारको दाबी रहेपनि यसबाट लाभाम्वित हुने मानिसहरु अघिल्ला वर्षहरुको तुलनामाकम सन्तुष्टी हुनुले यसको प्रभावकारिता माथि प्रश्न उठेको छ ।
वर्तमान समाज जसरी परिवर्तन हुँदै आएको छ त्यसैगरी मानिसका आवश्यकताहरु पनि दिनप्रतिदिन बढ्दै आएका छन् । यसबाट मानव स्वास्थ्य, वातावरण, खानपान जस्ता दैनिक आवश्यकताका वस्तुहरुमा समेत परिवर्तन हुँदै आएकोले छ । यसबाट स्वास्थ्यसंग सम्बन्धित समस्याहरु पनि थपिँदै आएका छन् । अशिक्षा गरिबी, पछौटेपन, रोग,भोक र शोकबाट पिडित नेपालीहरुका लागि प्राकृतिक शारीरिक, अपंगता,पछौटेपन, बेरोजगारी समस्याका कारण उमेरअनुसार विभिन्न रोगले सताउने गरेको देखिन्छ । यस्तो अवस्थामा कुनैपनि व्यक्तिलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने राज्यको दायित्व भएकोले सवैधानिक अधिकारको रूपमा सरकारकोबाट स्वास्थ्य सम्बन्धित सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लागू भएको देखिन्छ । तर पनि शारीरिक, सांस्कृतिक, सामाजिक, आर्थिक रूपमा पछि परेका सम्मानजनक जीवन बिताउन नसकेका अवसर स्रोतसाधन र सुविधाबाट वञ्चित भएका नागरिकका लागि ल्याइएको यो कार्यक्रम भनिएपनि कसैका लागि फाइदाजनक कसैका लागि झन्झटिलो भएको गुनासो सुन्न पाइन्छ ।
नेपालको संविधान २०७२ मा समावेश गरेका ३१ वटा मौलिक हकहरु मध्ये स्वास्थ्यसम्बन्धी हक र सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा राखेर सोही आधारमा कार्यान्वयन गर्ने उद्देश्यले सामाजिक सुरक्षा बीमाको सुरुवात गरेको पाइन्छ ।सामाजिक सुरक्षा बीमाका उद्देश्यहरुमा आधारभुत स्वास्थ्य सेवा सबैलाई बनाउने सामाजिक नयां गर्ने समाजमा रहेका विद्यामान असमानतालाई न्यूनीकरण गर्दै जटिल सामाजिक समस्या समाधान गर्ने तरिकाले सामाजिक सुरक्षा कार्यक्रमहरु अगाडि बढाउने रहेकाछन ।
मानवीय उद्देश्यमा सबै व्यक्तिको उमेर, योग्यता, क्षमता भएका मानिसलाई विभिन्न प्राकृतिक एवं मानवनिर्मित प्रकोपबाट उत्पन्न हुने जोखिम कम गर्न र स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बीमा अघि सारेको देखिन्छ । आर्थिक उद्देश्य अन्तर्गत मानवीय जीवनमा आकस्मिक रुपमा आउने स्वास्थ्य समस्या प्राकृतिक तथा मानवीय कमीकमजोरीबाट आउने समस्याको न्यूनिकरणका लागि तव्यक्ति र परिवारको तर्फबाट वार्षिक ३५०० सय रुपैयाँ पाँच जनासम्मका लागि जम्मा गरी स्वास्थ्य बीमा गरेबापत पछि एक लाखसम्मको स्वास्थ्य उपचार सेवा र औषधी प्राप्त गर्ने व्यवस्था सामाजिक स्वास्थ्यसुरक्षाको काम स्वास्थ्य बीमाले गरेको छ । त्यसैगरी सामाजिक उद्देश्य अन्तर्गत समाजमा रहेका गरी असहाय, उपचार गर्न नसक्ने, कमजोर आर्थिक अवस्था कमजोर भएका व्यक्ति र परिवारलाई एकपटक थोरै रकम बुझाइसकेपछि वर्षाभरि सेवा दिने हेतुले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम अगाडि ल्याएको पाइन्छ । यसबाट सामाजिक रूपमा असमानता, पछौटेपन र धनी र गरिव बीचको असमानता कम भएर जाने विश्वास लिएको छ । यस्तै सामाजिक सहयोग आपसी सरसहयोगको अभिप्राय राखेर पनि स्वास्थ्य बीमा अगाडि सारेको पाइन्छ । आधुनिक समाजमा जनताका लागि जनताद्वारा शासन सञ्चालन गर्ने मान्यताअनुरूप राजनीतिक उद्देश्य पूरा गर्ने र राजनीतिक रूपमा दायित्व पूरा गर्ने तथा नागरिकको मौलिक हकको प्रत्याभूति गराउने उद्देश्यले गर्दा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको देखिन्छ ।
वर्तमान संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक, धारा ४२ मा सामाजिक न्यायको हक र धारा ४३ मा सामाजिक सुरक्षाको हकको व्यवस्था भएबमोजिम सामाजिक सुरक्षा र स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाएको छ । आर्थिकरुपमा विपन्न तथा स्वास्थ्यमा बढ्दो लागत कम गर्नका लागि ल्याइएको यो स्वास्थ्य बीमा कार्यक्रम नेपालको सन्दर्भमा व्यक्तिको स्वास्थ्य बाँच्न पाउने अधिकारबाट जनतालाई सुसूचित गर्ने अभिप्रायले अगाडि ल्याएको देखिन्छ । जनस्वास्थ्यका क्षेत्रमा तुलनात्मकरुपमा लगानी अनुरुप प्रतिफल र उपचारात्मक सेवा प्रभावकारी हुन नसकेको जनगुनासो बढ्दै आएपछि यस्ता गुनासाहरुमा अबिम्ब गर्न सुधार गर्दै जानका लागि यस स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडी बढाएको छ ।
त्यसो त निःशुल्क आधारभूत स्वास्थ्य सेवा सहित गुणस्तरीय सेवा पाउनु नागरिकको मौलिक हक हो । यसमा राज्यले यथेष्ट काम गर्नुपर्दछ भन्ने माग पनि दिनहुँ सुन्दै आएका कुरा हुन् । राष्ट्रिय स्वास्थ्य नीति २०७१ अनुसार कुनै पनि समयमा स्वास्थ्य सम्बन्धी सेवा पाउन सक्ने र विपत् वा अन्य समस्यालाई तत्काल व्यवस्थापन गर्न जेष्ठ नागरिक, शारीरिक, मानसिक रुपमा अपाङ्गता भएका, एकल महिला, सीमान्तकृतवर्ग, जोखिममा रहेका समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको दायित्व हो भन्ने कुरालाई आत्मसात गरी सोहब्ीमोजिम स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको नेपाल सरकारले अहिलेसम्म यसको गुणस्तरमा भने अपेक्षित रुपमा सुधार गर्न सकेको छैन ।ऐनमामा व्यवस्था भएका सम्पूर्ण बिषय बस्तुहरु अहिलेसम्म पनि पूर्णरुपमा कार्यान्वयन हुनसकेका छैनन् जसले गर्दा अपेक्षित रुपमा आम नागरिक सन्तुष्ट हुन सकेको देखिँदैन । संस्थागतरुपमा छिट्टो छरितो सेवा बितरण र उपचार सञ्चालन नभएको दुखेसो रहेको छ ।
समस्या परेको बखत विशेषज्ञ चिकित्सक उपलब्ध नहुने, बीमाको औषधि उपलब्ध नहुने ,लामो लाइनमा बसेर पालो पर्खिनुपर्ने , २४ घण्टे सेवा उपलब्ध नहुने, निश्चित समयमा मात्र नाम लेखाउने र चेकजाँच गर्ने व्यवस्था हुनु, रेफर र उपचारको लागि झन्झटिलो व्यवस्था हुनु आदिले गर्दा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम पहुँचवालाका लागि मात्र प्रभावकारी भएको गरिब दुःखी असाहायका लागि भनेर ल्याइएको कार्यक्रमबाट अपेक्षित रुपमा उपलब्धि हासिल हुन नसकेको जनगुनासो रहेको छ ।
सामाजिक स्वास्थ्य बीमालाई प्रभावकारी ढंगले सञ्चालन गर्नको लागि सदस्य दर्ता गर्न घरघरमा एजेन्ट पठाउने ,चौबिसे घण्टा सेवा दिने अस्पतालको व्यवस्था गर्ने, विशेषज्ञ चिकित्सकको सबै अस्पताल र स्वास्थ्य केन्द्रमा उपलब्ध हुने व्यवस्था मिलाउने, सम्पूर्ण जाँच र परीक्षण समयमा गर्ने र रिपोर्ट दिने व्यवस्था मिलाउनुपर्ने , रेफर कोलागि सहज हुने कार्यक्रम अगाडि ल्याउने सम्पूर्ण आवश्यक पर्ने औषधिहरु निःशुल्क दिने व्यवस्था मिलाउने, गरिब दुःखी असाहाय, एकल महिला, ज्येष्ठ नागरिकको सेवा कालागि स्वास्थ्य बीमालाई प्राथमिकता दिनुपर्ने, बीमा बापत् उपलब्ध गराउने औषधीहरू नियमितरुपमा अस्पताल र स्वास्थ्य केन्द्रमा पठाउने , निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सम्बन्धी जन चेतनामा फैल्याउने, समाजमा रहेका विपन्न, गरिब, असाहाय, अपाङ्ग, एकल महिला, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएर उनीहरुले थप आर्थिक भार नपर्ने व्यवस्था गर्ने, सेवा प्रवाहलाई परिणाममुखी, व्यवस्थित, पारदर्शी ढंगले अगाडि बढाउनुपर्ने ,छिटोछरितो सरल र सहज ढंगले सेवा प्रदान गर्ने आधारलाई नियमित रूपमा अनुगमन गर्नुपर्ने देखिन्छ ।
नेपालले स्वास्थ्यक्षेत्रमा गरेका विगतका पहलहरुलाई हेर्दा अन्तर्राष्ट्रियस्तरमा प्रशंसनीय काम गरेबापत पुरस्कृत भएको देखिन्छ । तर पनि स्वास्थ्य सम्बन्धी स्वास्थ्य बीमा कार्यक्रम भने सबै जनताको भलाइको लागि ल्याएका भएतापनि यसले अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन । स्वास्थ्यको सेवा उपलब्धता र गुणस्तरको अवस्था हेर्दा सन्तोषजनक रहेको देखिँदैन । आएका जनगुनासाहरुको तथ्यलाई आत्मसाथगरीतत्काल आबश्यक सुधार गर्नुपर्ने देखिन्छ । सबै नेपालीको आय श्रोतको हिसाबले हेर्दा स्वास्थ्य उपचार महङ्गो रहेकोले लोककल्याणकारी राज्यव्यवस्थामा संविधानमा नै व्यवस्था गरेका स्वास्थ्य सम्बन्धी मौलिक हकको आत्मसात गरी आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिन सरकार तम्तयार रहनै पर्दछ । धनी पुगिसरी आउने मानिसका लागि स्वास्थ्य सुरक्षा सरकार र व्यक्ति दुबैको दायित्व भएपनि गरीब,दुखी, असाहाय, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला,सुत्केरी अबस्थामा भन्ने सबै स्वास्थ्य केन्द्र अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था भनाई र गराइमाएक रुपता नहुनु गहन समस्या हो । त्यसैले यस तर्फ सरोकारवाला निकायको ध्यान अविलम्व जान जरुरी छ । वर्तमान स्वास्थ्य बीमा नीतिलाई समयसापेक्ष रुपमा परिवर्तन गरी कानूनी रुपमा व्यवस्थित र सशक्त बनाउनुपर्ने देखिन्छ । स्वास्थ्य क्षेत्रमा यथेष्ट बजेट व्यवस्था गरी तत्कालीन सेवा र दीर्घकालीन योजना बनाएर आवश्यक स्रोत, साधन र बजेटका साथ अगाडि बढ्न अब ढिला गर्न हुँदैन ।