शिवशरण ज्ञवाली
लेख्ने अनगिन्ती विषय छाडेँर म आफ्नै घर फर्किएँ । धेरै दिन भइसकेको छ, मेरो कम्प्युटर झोलामा बन्द भको । थोत्रो मोबाइलले धेरै कुरा थेग्दैन । शरीरमा जाँगर भए पनि मन ओइलाएको छ । तर पनि आफ्नै अनुभवका कुरा लेखौँ, मन भन्छ । तन पनि जानेकै कुरामा लहसिन्छ । तनमन मिलेपछि अरु के चाहियो ? धवलागिरि क्याम्पस बाग्लुङ्मा तेर वर्ष पढाएँ । बिदाइ भाषणमा मैले भनेथें, ‘तेह्र वर्ष पढाएँ पनि म मेरो शिक्षणप्रति सन्तुष्ट छैन ।’ सन्तुष्ट नहुनाको कारण अरु केही होइन । मैले दिलबाट पढाउन सकिन । क्याम्पसमा विद्यार्थी र शिक्षकको विरलै भेट हुने । त्यो पनि करिब तीन चार महिना मात्रै । रिजल्ट निकाल्न त्यति दिन प्रशस्त थिएनन् । पेपर पेन्सिल टेस्टको पढाइ लेखाइमा शिक्षक विद्यार्थी सम्बन्ध त्यहाँ अगाडि जादैनथ्यो । एक वर्ष पढाएको विद्यार्थी अर्को वर्ष भेट हुने कुरै थिएन । एकपटक गल्कोटमा एक मित्रले सोधेँ, ‘तपाईंको शिक्षणको सबल पक्ष के हो ?’ मैले आफैलाई छामेर खोजे खासै केही पाइन । जवाफमा भनेँ, ‘मैले हरेक विद्यार्थीलाई नामले बोलाउन सक्छु ।’
त्यसभन्दा अरु के छ त्यो त विद्यार्थीहरुले बताउलान् । भाइ प्रकाशसँग वीर अस्पतालमा भेट भयो । कुरा गर्दै जाँदा शिक्षाको कुरा आयो । म शिक्षक चासो नलाग्ने कुरै भएन । मैले भाइलाई प्रश्न गरें, ‘नेपालमा सरकारी स्कुल कहाँ छ ? मलाई देखाइदेऊ भाइ ?’ भाइले प्रतिप्रश्न गरे, के सरकारी स्कुल छैनन् र ?’ मैले भने, ‘सरकारी स्कुल छैनन् । सरकारी स्कुलमा त आम जनताका छोराछोरीले निःशुल्क पढ्न लेख्न पाउनु पर्ने हो । तर नेपालका धेरैजसो सरकारी स्कुलले निशुल्क भर्ना गर्दैनन् । पैसा तिर्नु पर्छ । एकातिर सबैका लागि शिक्षा भन्छ सरकार अर्कोतिर सरकारी स्कुलमा भर्ना र पढ्नका लागि पैसा तिर्नु पर्छ । अनि कहाँ छन् त सरकारी विद्यालय ?’ भाइ ‘होर’ भन्दै चुपचाप लागे ।
वीर अस्पतालकै छेउमै दरबार स्कुल छ । यो स्कुलले भर्ना गर्दा पैसा लिदो होला कि नाइ भन्ने प्रश्न मेरो मनमा जन्मियो । शहरमा त अझ विद्यार्थी भर्नामा प्रवेश परीक्षा पो चल्दो रहेछ । मित्रले छोराछोरीको शैक्षिक भविष्य सुरक्षित गर्न यस्तै प्रवेश परीक्षा दिलाएछन् । छोरी फेल छोरा पास । छोरीलाई पनि भर्ना गराउन उनी सोर्सफोर्स खोज्दै थिए । कुन नियम कानुन होला जसले कलिला बालबालिकालाई प्रवेश परीक्षा नामको एउटा गह्रौं भारी बोकाएर थिच्छ ? के त्यसोत परीक्षा होला जसले विद्यार्थीलाई स्कुल प्रवेश गर्नबाट नै रोक्छ ? के यस्तो परीक्षा लिन मिल्छ ? सरकार कहाँ छ ?
सरकार छ (इन) । भको भा नर्सरी एलकेजी जस्ता कक्षा बिना कानुन, बिना पाठ्यक्रम, बिना पाठ्यपुस्तक मनपरी चल्थे रे । सरकारी विद्यालयमा समेत सरकारी पुस्तक विस्थापित भए । कम्पनीका पुस्तक हरेक वर्ष फेरिन्छन् । अभिभावक हरेक वर्ष चर्को मूल्यमा पुस्तक खरिद गर्न बाध्य छन् । पहिला पहिला त सरकारले निशुल्क बाड्थ्यो, पुस्तक । तर आजकाल निःशुल्क पुस्तक पाइने कुरै भएन । जब भर्ना नै सशुल्क छ भने पुस्तकको के कुरा भो र ? आजकाल पुराना पुस्तक साटासाट गर्नु मिल्ने कुरै भएन ।
हामी अभिभावकलाई बालबालिकाको पढाइभन्दा हाम्रो इज्जत प्यारो छ । कहाँ सरकारी स्कुल पढाउनु ? इज्जत जान्छ भन्ने मानसिकता छ । निजीमा पढाएर हाम्रो आर्थिक हैसियत समाजमा स्थापित गर्न लालायित छौं, हामी । बरु फि भार बढी पर्दा निद्रा पर्ने औषधी खाएर सुत्छौ । तर सरकारी विद्यालय पढाउँदैनौ । सरकारीमा राम्रा शिक्षक शिक्षिका आका छन् भन्ने कुरा र बालबालिकाको पढाइसँग कुनै सरोकार छैन । सरकारीमा पढाउँदा हामी हीनताबोध गर्दछौँ । बा आमा नै हीनताबोध गरेपछि बालबालिका त्यसता स्कुलमा जाने कुरै भएन । हामीमा जति धेरै पुस्तक पढायौँ, त्यति धेरै जान्ने हुन्छन् भन्ने मानसिकता छ । पढाइलाई पनि भारी बोकाइसँग तुलना गरौं न । सानो उमेरमा हामी धेरै ठूलो भारी बोक्न सक्छौं र ? सक्दैनौं ।
मेरो छोरालाई आमाले ख¥यानबाट सानो भारी बोकाइदिनु हुन्छ । ऊ खुशी हुँदै बोक्छ । एक दिन हामी तोरी बोक्दै थियौं उसले मैले बोक्न खोजेको भारी बोक्न खोज्यो । नबोक सक्दैनौं बाबु भन्दा रोयो झगडा ग¥यो । मान्दै नमाने पछि हामीले बोक्न त बोक मेरै भारी दियौं तर उसले बोक्न सकेन । एकछिन कोसिस ग¥यो अनि थाकेर आफ्नै सानो भारीमा फर्कियो । तर हामी किताब कति बोकाइरहेका छौं ? होमवर्क कति छ ? किताब पनि धेरै । होमवर्क पनि धेरै । होमवर्क धेरै भयो भने शिक्षक पनि खुशी अभिभावक पनि खुशी । तर उसले गर्ने होमवर्क जीवनमा कहीँकतै धेरै काम लाग्दैन भन्ने कुरा हामीलाई था छैन । मैले एकजना मेडम भेटे, स्वास्थ्य इकाइमा कार्यरत । उहाँले स्कुलमा गएर सर म्याडमलाई आफ्ना बच्चालाई होमवर्क नदिनु भन्नु भएछ । मलाई औधी खुशी लाग्यो उहाँको कुरा सुनेर । मेरो जागिरे जीवनमा होमवर्क नदिनु भनेर स्कुल गएर भन्ने अभिभावक उहाँ नै हो ।
तर देवकोटाले भनेजस्तै हामी वयस्कहरु आफू पनि हाँस्न खेल्न जान्दैनौं । बालबालिका हाँसे खेलेको पनि हामीलाई मन पर्दैन । त्यस कारण हामी बालबालिकालाई किताब र होमवर्कमा जोतिरहन्छौ । अर्को कुरा हामीलाई फुर्सद छैन नि त छोराछोरीलाई समय दिन । त्यसकारण भारी बोकाइदियो । हाइसञ्चो । अभिभावक धेरैको मनमा छ, पैसा तिरेपछि सबै जिम्मा शिक्षालयको हो । तर पैसाले सबै किन्न सके पनि शिक्षा किन्न सकिन्न । त्यही भएर गरिबका छोराले पनि राम्रो पढेको र धनीका छोराले पढ्न नसकेका बल्ग्रेती उदाहरण पाइन्छन् । पैसाले किनिने भको भा गरिबले पढ्नै पाउँदैनथे । भलै, गरिबलाई उँभो उँभो पढ्न मुस्किल छ । गरिबीका कारण कैयौं मुनाहरु कोपिलामै निमोठिएका छन् । तर अभिभावकले बुझ्न पर्ने कुरा उनीहरुको मेहनतबिना बालबालिकाको पढाइ सुधार्न सकिदैन । जति शिक्षकको मेहनत चाहिन्छ त्योभन्दा अझ बढी मेहनत विद्यार्थीको चाहिन्छ । मेरो मामाले त्यही भन्नु भो । दिदी पनि त्यसतै उदाहरण बन्नु भो । नातिनातिनाको पढाइमा छोराबुहारीको मेहनत देखेकी नब्बे वर्षीय हजूर आमाले मलाई लक्षित गर्दै भन्नु भो,’बाबु केटाकेटी
स्कुल पठाउने भनेको त खेल्नका लागि हो । मेहनत त बा आमाले नै गर्नु पर्छ ।’ म बबुरोले कसरी मेहनत गर्न पाउनु ? लोग्नेमान्छेका दुःख पितृसत्तात्मक समाज र आधुनिक नारीवादी समाजमा देखाउनु हुँदैन । मेरो छोरोको जग निर्माणमा उसकी आमाको मेहनत परेको छ । बेतलबी बिदा बसेको बेला घर माइत गर्दै उनले पढाएकी थिइन् । पाहुना बाउले कति हेर्न सक्ला र ? अर्को कुरा विद्यार्थीको जग नै बलियो बनाउन सकियो भने उसको शैक्षिक भविष्य सफल हुँदो रछ । त्यसैले कक्षा चार पाँचसम्म बा आमाको मेहनत चाहिन्छ । त्यसपछि अभिभावकको जिम्मेवारी सकिन्छ भन्दा अतिशयोक्ति हुँदैन । शिक्षणमा म किन सन्तुष्ट छैन ? म भनेको हामी । मैले मुल्याङ्कन नै गर्न सकिन । शिक्षण पेसा क्लर्कले गर्ने टेबल वर्क जस्तो रहेनछ । यो बहुमुखी प्रतिभाको काम रहेछ । नाच्न, हाँस्न, डुल्न, पढ्न, गाउन सबै सबै जान्नु पर्ने पेसा रहेछ । प्रतिभाशाली मान्छे आउनुपर्ने ! तर जीविकामुखी हामी !
फूलको आँखामा फूलै संसार । विद्यार्थी बोलेको, हाँसेको, खेलेको हामीलाई हल्ला लाग्यो । पण्डित र हली उपाधी दिने हामीलाई विद्यार्थीले पनि उपाधी दिन्छन् भन्ने थाहा चाहिँ छ । उपाधि नपाउन हामीले प्रयत्न गरेनौं । हामीले आफ्नो कुरा विद्यार्थीमा लाद्न खोज्यौं कि ? तपाईं सम्बोधनको कृत्रिमतामा पो फस्यौं । तिमी र ममतामा जान सकेनौं । विद्यार्थी हामी बराबर पनि भनेनौं । हामी सर्व जान्ने विद्यार्थी केही नजान्ने । अंहकारले डकारिएका छौं । हास्यौं भने नासिन्छ विद्यार्थी नजिक हुन्छ भन्ने डर छ । जुठो नखाएको नाममा सय लौरी सिप्किनो त मैले नै खाको हुँ । किताब च्यातेको नाममा चुटाइ खाएको अनुभव पनि छ । पढ्दा किताब च्यातिदा रछन् नि । नपढ्नेका किताब च्यादिदैनन् । दराजमा थन्किएका कैयौं किताबहरु तपाईं हाम्रा जस्ताका तस्तै छन् ।
विद्यार्थी पढाउने शैलीमा मलाई पनि समस्या छ । शिकक शिक्षा नपढीकन बन्ने ? कत्रो उदारता ? त्यही भएर त म सन्तुष्ट भइन् । आफूलाई कक्षा कोठाभित्र विद्यार्थीसँग भका बेला बिर्सन सकिन । भुल्न सकिन । समयको हतार भो, शिक्षणमा समस्या भो । विद्यार्थीले जान्दैन भन्ने हाम्रो थेगो छ तर हामीले पढाउन जानेनौं कदापि भन्दैनौं । कमजोरी स्वीकार गर्न नसक्नु मानवीय सीमा नै हो । किन नजान्ने हुन्छ ? हाम्रो खोजी बनेन । मान्छेलाई पनि पिट्नु पर्छ र ? भन्ने आदर्श शिक्षकले त कम्तीमा राख्नु पर्छ । उल्टो हतोत्साहित ? पछिल्लो एक दशकमा धेरै प्रजातान्त्रिक भका छौं शिक्षक । अझै आवश्यक छ । अझै पनि अग्लो आसन त्याग्ने कहिले ? परीक्षालाई हाउगुजी कहिलेसम्म गराउने ? उदाहरण विश्वविद्यालय छन् । खुसुक्क परीक्षा हुन्छन् । हल्लाखल्ला नै छैन । यो सिको स्कुलतिर पनि गर्नु परो ।
विश्वविद्यालयले परीक्षाफल प्रकाशनमा स्कुलको सिको गर्न सक्छ । उदार कक्षा चढाई हामी शिक्षकलाई नै मन परेको छैन। उदारताको अर्थ नपढाउनु त होइन नि ! त्यसकारण शिक्षक ओदानाको दोस्रो खुट्टा हो । यो दोस्रो खुट्टो लुलो नै छ अझै । विद्यार्थीका बारेमा के भनौं खै ? लटरपटर पढाइमा मैले चालिस एकचालिस वर्ष बिताएँ । अझै पनि पढ्दै छु । सरहरु गाली होइन प्रोत्साहन गरिरहनु भको छ । अभिभावक र शिक्षकका चल्ला हुन्, विद्यार्थी त । ढपक्क ढाक्नु परो । पढाइ भनेको पढाइ हो । लेखाइ होइन सुरुमा । सुरु नै राम्रो गर्नु परो ।
हामीले विद्यार्थीका रूचि र क्षमता पहिचान गर्न सकेनौं । उसको सानैदेखि कुनै कुरामा रूचि छ भन्ने कुरा जान्नु परो । त्यो जान्न सकेनौं । शिक्षकले विद्यार्थी नजान्ने भन्नु भएन, मेरो कुरा यत्ति हो । तर हामीले पढाउन सकेनौं भन्दैनौ । अभिभावकले पनि त्यही भन्छौ । जानेनन् वा जान्दैनन् मेरा छोराछोरीले मात्रै भन्छौं । शारीरिक र बौद्धिक रुपमा स्वस्थ बालबालिकाले नसिक्ने कुरै छैन । त्यसकारण विद्यार्थीलाई दोष दिने ठाउँ छैन । वातावरण खोइ ? घरमा बा आमा किताब कति पढ्छौं ? शिक्षक कति पढ्छौं ? कक्षाकोठा, घर र स्कुलमा पुस्तकालय छन् या छैनन् ? त्यो कुरा पनि ख्याल गर्नु पर्छ कि ?
म शिक्षक र अभिभावक दुवै हुँ । आमा कराउनु हुन्छ, ’तँ आएपछि नातिले होमवर्क गर्दै गर्दैन ।’ आमा र मेरो विवाद नै भो होमवर्कका विषयमा । मैले छोराका सर मिसलाई फोन गरेर भनिदिन्छु, ’ बाबु मामाघर गयो, होमवर्क सकेको छैन । त्यसको जिम्मेवार म हुँ है ।’ चाहे शिक्षक चाहे अभिभावक हामी दुवैले जान्नुपर्ने महत्वपूर्ण कुरा के हो भने बालबालिकालाई जति पढाउने हो पाँच कक्षा भित्र नै पढाऊँ । त्यसपछि पढाउन पर्दैन । पढाइको लत लगाइयो भने उनीहरु आफैं पढ्छन् । पढाइको भोक जगाइदिन आवश्यक छ । सानो उमेरमा उनीहरुका बानी निर्माण गर्न पनि सजिलो छ । दाइले त्यही भन्नु भो । मामाले त्यही भन्नु भो । दिदीले त्यही भन्नु भो । ओदानका तीन खुट्टामध्ये सबैभन्दा बढी मेहनत अभिभावक शिक्षकको चाहिदो रछ । आमा पहिलो शिक्षिका त्यसै भनिएको होइन । परिवार पहिलो पाठशालाको अर्थ पनि त्यही होला । परिवार वा अभिभावकको मेहनतबिना बालबालिका पढाउन सक्दै सकिँदैन । त्यसपछि शिक्षक नै हुन् । विद्यार्थी जानेनन् होइन मैले पढाउन जानिन । म सन्तुष्ट हुन सकिन भन्नु पर्ने छ ।
विद्यार्थी वा बालबालिका रिसाउँदा म हाँस्न जानिन । गुल्मीबाट बागलुङ आउँदा चारजना नवनियुक्त प्रावि शिक्षक भेटें । तम्घासदेखि वामीटक्सारसम्म दाङबाट आउनु भका दुई । अक्षतेदेखि बागलुङ बजारसम्म रूपन्देहीबाट आउनु भका दुई । उहाँहरुलाई शुभकामना दिंदै भने, ’हेडसरलाई भन्नु होला । हामी प्रावि नै पढाउछौँ । माथि कक्षामा दुख नदिनुहोला । शिक्षकभन्दा अन्यत्र भविष्य नदेख्नु होला ।’ शिक्षक स्वयंमा सन्तुष्ट छैन । भार बढी भो । सुविधा कम भो । सरकारले कर्मचारी घटाओस् । शिक्षकलाई भाषण दिन कर्मचारी नपठाओस् । शिक्षक बढाओस् लोड कम गरोस् । शिक्षकभित्र निजी सरकारी दुवै । जानी नजानी घरको ओदाने गन्थन गरें । क्षमा चाहन्छु । जय नेपाल !