चुङ्गी गुरूको सम्झनामा

शिवशरण ज्ञवाली
फर्कियो ! फर्कियो ! के फर्कियो भन्नुहोला ? तन होइन मन फर्कियो । उमेर होइन बानी व्यहोरा फर्कियो । निरोगी तन होइन शरीरम् व्याधी मन्दिरम् हुँदा पनि बीस बर्षे जाँगर फर्कियो । खाने बेलामा आँ गर भन्ने मुख भने अब सदाका लागि तर्कियो कि ? उमेर र खानेको मुखका स्वादिला खानेकुरा बाहेक मेरा सबै फर्किए । खेल फर्किए । जोश जाँगर फर्किए । एक्लै चल्नुपर्ने जिन्दगी पहिलोपटक फर्कियो । दाई र ज्वाइहरु नभएको काठमाडाँैमा पहिलो पटक म आफैं अभिभावक बन्नुपरेको यर्थाथले मेरो मनमा तनाब बढाउँछ । डाक्टरले तनाब नलिनु भनेर कहाँ मेरो मनले मान्छ र ? मेरो मनमा आउने तनाबका कारण सम्झँदा म आफै लज्जित हुन्छु ।

तन जति बुढो हुँदै छ मेरो बाध्यतात्मक फर्काइ बाला बन्दैछ । रहर होइन बाध्यताले फर्कियो । सानोमा खेलेको खेल फर्कियो । काठमाडौँ फर्कियो । सुन्दर शान्त ठाउँबाट निस्सासिदो वातावरण भएको ठाउँमा जिन्दगी फर्कियो । मन दोधारमा फसेको छ । लेख्न मन लागेको लेखको शीर्षक छ, ‘प्रोफेसरको कोठा’ । म पनि प्रोफेसर हुँ र ? प्रोफेसर नामको घमण्ड सम्झँदा दिक्क लाग्छ । मैले लिएको कोठाको भित्ताको सिमेन्ट आफै उक्किएर खसेको छ । त्यसैले रमेश सरसँग एकदिन मैले भनेथें, ‘काठमाडौँको कोठे जिन्दगी त अत्यन्त थर्ड क्लास रहेछ ।’ सरले हो मा हो मिलाउनु भयो । बाहिरबाट देखिने ठूलाठूला सुन्दर एक घरमा अनेक परिवार बस्दा रहेछन् । भित्र पसेर हेर्दा न कोठा राम्रो न त ट्वाइलेट नै । असुन्दर !

मेरा विद्यार्थी कालदेखि नै अनेक बानी छन् । ती बानीहरु राम्रा नराम्राका कसीमा अरुले जाँचे पनि म जाँच्दिन किनकी मलाई त्यस्ता बानीहरु राम्रै लाग्छ । त्यसमध्येको एउटा बानी हो, ‘बिहान एक डेढ घन्टा हिड्ने ।’ बागलुङमा हरि सरले एकदिन भन्नुभएको थियो, ‘सर ! तपाईं पानी आउँदा पनि छाता ओढेर मर्निङ वाक हिड्नुहुन्छ । यो बानी मलाई एकदम राम्रो लाग्यो ।’

बागलुङमा पनि काम नभएकाले म लखरलखर हिड्थे । मालढुङ्गादेखि कालीगण्डकीको वारिपारि हुँदै उपल्लाचौरको नयाँ बन्दै गरेको पुलनेर म धेरै चोटि निस्केको छु । तपाई आजकाल उपल्ला चौर निस्कने बाटो नहिडल्नुहोला । बन्दै गरेको पुलले बाटो बिगारेको छ । जोखिम छ त्यहाँ । यो हरि सर र मेरो यात्राले पत्ता लगाएको पछिल्लो कुरो हो । वैशाख एक गतेको कुरो हो, यो । मैले बागलुङ छाड्दाको दिनको कुरा हो । त्यसदिन हिरा दाइले परिवारसहित आथित्यता दिएर गलेश्वर पु¥याउनुभयो । मन्दिर घुमाउनुभयो । साँझमा मलाई बिदा गर्नुभयो । तर पनि त्यसदिनका फोटा फेसबुकमा आएनन् । दाइले खै किन लुकाउनुभयो कुन्नि ?

बागलुङमा बिहान एक डेढ घन्टा हिड्दा शरीर पसिनाले निथु्रक्क भिज्थ्यो । कहिले गणेश मन्दिर हुँदै निरय त कहिले मालढुङगा हुँदै निरय लाम्पाटा धेरैपटक उकालोओरालो गरियो । मजस्तै थुप्रै मानिसहरुले ओरालो झरेर उकालो निस्कनुको मज्जा जान्नु हुन्छ । त्यसरी हिड्नेहरु त्यहाँ धेरै हुनुहुन्छ ।

चैत वैशाखमा बिहानै कालीगण्डकीको छेउमा हिड्दा गण्डकीको पानीले प्रदान गर्ने शीतलता जो कोहीले पनि महसुस गर्दछ । त्यो आनन्द संसारमा अन्यत्र कहाँ पो पाइएला र ? कुनै मूल्यमा पनि पाइदैंन । त्यो कालीगण्डकीका छेउमा बस्नेहरुले मात्रै प्राप्त गर्छन् । त्यसलाई स्थायी आभास बनाउनेहरुले मात्रै त्यस्तो आनन्द उठाउँछ । आहा ! कति आनन्द !

दिनहुँ घाटमा पुग्नुको फाइदा छ । एकछिन भए पनि मृत्यु चिन्तन गर्न बाध्य पनि बनाउँछ, त्यसले । हामी लोभी मान्छेहरुलाई केहीले पुग्दैन तर जनावरलाई सबै पुग्छ । पुग्दैन भनेर काठमाडाँैमा म डराइरहेको छु । दाइ क्यान्डाबाट गाली गरिरहनुभएको छ, डरपोक भन्दै । दाइ पढाइ लेखाइमा जोड दिनुहुन्छ । म व्यवाहरमा फसेको छु । तर गोलचक्करमा चाहिं म पनि छैन है । तर दाइले भन्नुहुन्छ, ‘भाइ एउटा राम्रा फ्ल्याट ले । त्यसमा एउटा कोठामा हाम्रो लागि रिजर्व गरिदे ।’ क्यान्डा भएका दाइलाई काठमाडौँमा कोठा ?

काठमाडौँ आए पछि सबैभन्दा बढी गुमाएँ, बागलुङमा गर्ने बिहानको यात्रा । म घरमा गएका बेला त्यति हिड्दिन । कारण, घरायसी काम नै पर्याप्त हुन्छन् । दाउरा चिर्नुपर्छ । रुख चढ्नुपर्छ । रुख चढ्दा डर लाग्न थालेको थियो तर पोहर साल पोखराढिक कान्छाले मलाई फेरि सिकाइदिए । उनी बाँदरजस्तै एक रुखबाट अर्को रुखमा समेत हाम्फाल्छन् । म बस्ने नजिकै शङ्खपार्क छ । अलि पर पशुपति छ । एकदिन एकजना केटी साथी (गर्लफ्रेन्ड होइन है ।) सँग पशुपति पुगेर आएँ । दिनहुँ बालुवाटारबाट हिडेर क्याम्पस आतेजाते गरिरहेछु । तर ज्यानले पटक्कै थाहा पाउँदैन । कोठे जिन्दगीमा बाहिर कहाँ जानु ? हरि सरले भन्नुहुन्थ्यो, ‘शङ्ख पार्क जानुहोला सर । त्यही घुमे हुन्छ ।’ तर त्यो पार्कमा मेरा खुट्टाले पालै पाएन । भीडभाडमा पाइला चाल्दा विचार पु¥याउनु पथ्र्यो । खर्लप्पै मान्छेहरु घोप्टिएका हुन्छन्, बिहानभरि । कोही योग गर्छन्, कोही दर्गुछन् । कोही डोरी खेल्छन् । कोही दुवोमा हिड्छन् । कोही व्याडमिन्टन खेल्छन् । कोही व्यामशालामा परिश्रम गरिरहेका हुन्छन् । कोही माहिरहरु अनेक प्रकारका शारीरिक व्यायाम गरिरहेका हुन्छन् । कोही चिच्याइरहेका हुन्छन् । कोही अंक गनिरहेका हुन्छन्, एकक, दुईई…। अंक गन्नु पनि यो रहेछ । अंक पढाइदो रहेछ । नेपाली अंक । हिजो वान टु पढेर आएका पनि शङ्खपार्कमा एक दुई पढ्दैछन् । त्यहाँ राष्ट्रगान पनि बज्दछ ।

अल्छीहरु हाम्रा बानी होइनन्, जीवनशैली हुन् । ती जीवनशैलीले राम्रो रिजल्ट दिएको छैन । कृषिप्रधान मुलुकमा कृषि विस्थापित भएको छ । हामीलाई कृषि गर्न मन पर्दैन । काठमाडाँै आए पछि एकदिन थलीमा मैले मज्जाले बारी खने । जीवन भिनाजुसँग ३९ आना जग्गा भएको घर छ । त्यहाँ हामीले मकै रोप्यौँ । तरकारी रोप्यौँ । भूपाल सरलाई यो कुरा सुन्दा अचम्म लाग्ला । म पनि अर्कोले कोदो लगाइदियोस्, अर्कोले मकै रोपिदियोस् । कसैले धान रोपिदियोस् । कसैले गहुँ रोपिदियोस् । अनि म चाहि बसीबसी केही कागजका नोटमा साटेर खाऊँ भन्ने खालको मान्छे हुँ नि ।

मुलुकको अर्थतन्त्रको यो हविगत हुनुमा हाम्रा यस्तै बानी कारण बनेका होलान् । नभए युरोप लडोस् कि अमेरिका हामीलाई के मतलब ? हामी आफ्नै पौरखका बलमा बाँचिनुपथ्र्यो । तर आज के भइरहेछ । भारतमा छिस्रिक्क केही भए नेपाल डामाडोल हुन्छ । रुस र युक्रेन लड्दा काठमाडौँका सटर खाली हुन्छन् । यसमा हामीमा कहाँ चुक्यौँ ? देश चलाउने नेतृत्व फसेको यसपालि सबैले देखेका छन् । तर हामीलाई बिहानमा पसिनाको पीर छ । त्यो पसिना बारीमा पोखिन सकेन । त्यसले बारी सिंचन गर्न सकेन । त्यसले फूलगोभीको जरा भिजेन । बारीमा त यो सजिलै पोखिन्थ्यो नि । तर त्यो पार्कमा पोखिन भने निकै मुस्किल हुँदोरहेछ । दिल्लीको सिको काठमाडौँले गर्दै रहेछ, आजकाल । पार्क खोल्दै रहेछ । पार्कभित्र शौचालयमा अब पैसा नलाग्ने भएछ । पार्क प्रवेश गर्दा लाग्ने पैसा पनि निशुल्क होस् । स्कुलका मैदानहरु शनिबार बालबालिका खेल्नका लागि खुला गरियोस् । यो कुरा अरुका कानमा नपुगे पनि विद्रोही बालेनको कानमा पुगोस् । अझ धेरै सिक्नु छ, दिल्लीबाट नेपालीले । यसो भन्दा कतै अराष्ट्रवादी त भइदैन नि है ? पार्कमा पसिना नपोखिएपछि म आठ नौ वर्षको उमेरमा खेलेको खेलमा फर्किएँ । दिमागले अक्किल लगायो । कसरतको सजिलो मार्ग समायो ।

एक दिन दिउँसो मैले (ज्ञवाली) भान्जी कृतिलाई भनें, ‘कृति ! जाऊ चुङ्गी लिएर आऊ ।’ उनी गएर बीस रुपैयाँको चुङ्गी लिएर आइन् । हाम्रो पालाको कालो चुङ्गी आजकाल गोरो भएछ । हामी घरभित्रै खेल्यौँ, धेरैबेर । भिनाजु, बहिनी, भान्जा भान्जी सबै खेल्यौँ । त्यसमा राजा (आजकाल राजा पनि भन्नुहुन्छ र ? छ्या यो गणतन्त्रमा) कि राष्ट्रपति (?) म । खेल्दाखेल्दै पसिनाले निथु्रक्क भिजेको मैले नै थाहा पाइन ।

मैले छ सात कक्षा पढ्दा चुङ्गी खेल्न सिकेथे, दरबारको स्कुलमा । पहिला एउटा खुट्टाले मात्रै ठेग्थे । त्यसरी ठेक्दा मैले हातले पछाडि हान्दो रहेछु । पछाडि कहाँ नसोध्नुस् है । बुझ्नुस् । फर्सोवातिरकी एकजना श्रेष्ठ थरकी केटीले मलाई जिस्काउँथिन्, त्यसरी पछाडि हान्दा । त्यसपछि मैले पछाडि हान्न छाडेर दुईटा खुट्टाले ठेक्न थालें । दुईटा खुट्टाले सय डेढ सय दुई सयसम्म ठेकेको याद छ । दुई खुट्टाले चुङ्गी खेल्न सिकाउने मेरी गूरु ती दौंतरी सानी केटी हुन् । उसले जिस्काए बाहेक न उनीसँग कहिल्यै बोलचाल भयो न भेटघाट नै ।

ती मलाई जिस्काउने केटी कहाँ होलिन् आजकाल ? केटा र केटी बोल्न हुन्न भन्ने जमानामा पनि मलाई जिस्काउन आँट कहाँबाट आए होला उनलाई ? तिनको नाम समेत मलाई थाहा भएन ? फर्सोवामा श्रेष्ठ छन् कि छैनन् कुन्नि ? बेलपोखरातिरकी पो हुन् कि ? चिलौनीपोखरीकी पो हुन् कि ? तर त्यतिकै हुन् । धेरै श्रेष्ठहरुको बसोबास तल्लो हटियामा हो । तर त्यताकै होइनन् जस्तो लाग्छ । सात आठ कक्षाभन्दा उनले धेरै पढिनन् । चुङ्गी खेल्न थाल्दा मलाई उनको याद आयो । उनी मेरी चुङ्गी गूरु ! दुई खुट्टाले खेल्न सिकाइन्, उनले । अज्ञात उनलाई मेरो कर जोडी नमस्कार छ ।

एकदिन बिहान म त्यही चुङ्गी बोकेर शङ्ख पार्क गएँ । हामी आफूले जानेको कुरा पनि हत्पत्ती प्रर्दशन गर्न सङ्कोच मान्छाँै । हामीलाई कसैले केही भनिहाल्छ कि भन्ने डर लाग्छ । मानवीय यही डरमा कैयौं क्षमताहरु भित्रभित्रै दबिएर हराएका छन् । सुरुमा त मलाई पनि त्यस्तै सङ्कोच लाग्यो, चुङ्गी खेल्न । तर आँट निकालेर म खेलमा उत्रिए । एक्लो खेलाडी । सर्वविजयी । एक छिनमा सङ्कोच हराएर गयो । दृष्टि र ध्यान चुङ्गीको उफ्राइ र खुट्टाको तालमा निमग्न भयो । एकदम सजिलो लाग्यो । काठमाडौँ आएर हराएका पसिना चुङ्गीले निकाली छाड्यो ।

म दुईटै खुट्टाले खेल्न उत्तिकै पोख्त देखिए । चालिस एकचालिस वर्षमा पनि सय पु¥याउन गारो मलाई भएन । शरीर पसिनाले निथु्रक्क भिज्न थाल्यो । अरुभन्दा फरक म चुङ्गी खेलेको थिएँ । म सँग त्यही चुङ्गी खेल्ने क्षमता थियो । मेरो त्यो क्षमताले मानिसहरु मप्रति आकर्षित भएका थिए । एकदिन भिनाजु र म पनि त्यही चुङ्गी खेल्यौँ । भिनाजु सक्नुभएन । हल मिलेन हाम्रो । मान्छेहरु कस्तो राम्रो खेल्नुभएको भन्दै आउँथे । मसँग चुङ्गी खेल्ने कोसिस गर्थे अनि मेरो क्षमताको अगाडि टिक्क नसकेर बाहिरिन्थे । सबैले ओहो ! ओहो ! भन्दै गर्दा बार पन्ध्र जना मेरा साथी भइसके । आउँछन् हेर्छन् अनि जान्छन् । अर्को कुरा हिड्दा मैले सबै अनुहार हेर्छु कोही खुशी छैन । गजक्क फुलेको छ । हाँस्न बिर्सेको छ । ए बाबा ! हाँस्दा के बिरिन्छ ? हामी शिक्षकलाई समेत थाहा छैन भने अरुलाई के थाहा होस् । मुसुक्क विद्यार्थीका अघि एकपटक हाँसीदिनुस् त के हुँदो रहेछ ?

तर चुङ्गीले मलाई मुस्कान पो दियो । त्यो कतिखेर नखस्ने बेला खस्छ । कतिखेर खस्ने बेला पनि उठ्छ । खस्न लागेको चुङ्गी ब्यालेन्समा आउँदाको मजा छुट्दै हुँदो रहेछ । मलाई लाग्यो, हामी हरेकसँग एउटा न एउटा क्षमता हुँदो रहेछ । त्यही क्षमताका आधारमै हो, हामीले अरुलाई आकर्षित गर्ने । हामी बिक्ने । यो सबैसँग छ । कोही फुटबल खेल्छन्, कोही ब्याडमिन्टन । कोही कपर्दी । कोही भलिबल । कोही तेक्वान्दो । त्यही क्षमता नै हाम्रो जीवनको केन्द्रमा हुन्छ । अरुले पनि त्यही क्षमतालाई केन्द्र मानेर हाम्रो मूल्याङ्कन गर्दछन् ।

म शङ्खपार्क सधैं घुम्थे कसैले मलाई चिन्दैनथे । पोहर परार पनि घुम्थे । आजकाल म घुम्दिन त्यही चुङ्गी खेल्छु । एक्लो प्रर्दशन । मलाई सबैले चिन्छन् । मैले नचिनेकाले पनि चिन्छन् । फर्केर हेर्दा म मख्ख । ती मान्छेहरुले मलाई चिनेका होइनन् मेरो क्षमतालाई चिनेका हुन् । चुङ्गीलाई चिनेका हुन् ।

एकदिन बिहान एकजना साथी आउनुभयो, पर्वतको । भन्नुभयो, ‘म पनि खेल्छु है ।’ पैला घोलौं न भन्ने कुरा भयो । उहाँलाई घोल्न दिएँ । खुट्टा नबिसाइकन घोल्न दिएँ । सत्तरी ठेकिदिनुभयो । मैले पहिल्यै हारें । अनि ठेक्न थालेको त पहिलो पटकमै गेम गरिहाल्नुभयो । म त रनभुल्ल । म दुई खुट्टा मात्रै ठेग्थे । उहाँ त बेग स्टाइलले पछाडिबाट पनि ठेक्नु हुँदो रहेछ । मलाई लाग्यो, ‘मलाई माथ गर्ने मान्छे पनि आइपुग्यो, शङ्खपार्कमा ।’ छ सय दुई ठेकेको रेकर्ड रहेछ । उहाँलाई नजिते पनि म प्रतिष्पर्धामा भने गएँ नै । तर उहाँले त्यो आफ्नो क्षमतालाई बिर्सनुभएको थियो । पसिना निकाल्न कुदाकुद गरिरहनुभएको थियो । आफूले जानेको सरल उपाय प्रयोग नगर्दा उहाँ आफैलाई चिन्न सक्नुभएको थियो । मैले चिनाइदिएँ । त्यसकारण उहाँभन्दा चुङ्गीमै पनि म क्षमतावान् । प्रर्दशनमा आत्मविश्वासी ! स्वघोषणा ।

क्षमताले मैले साथी बनाएँ, दश बारजना । एकजना म भन्दा राम्रो खेल्ने खेलाडी आउनुभयो । अन्तिममा हामी हात मिलाएर परिचय ग¥यौँ । दुवैका नाम शिव परेछन् । उहाँ भुसाल म ज्ञवाली । उहाँको घर पर्वत मेरो गुल्मी । चुङ्गी खेलेरै चुङ्गी साथी बनाएँ, मैले ।

चुङ्गी खेल्न थालेपछि मलाई लागिरहेको छ, व्यायाम गर्न अब लामोलामो बाटो हिडिरहनु पर्दैन । यही चुङ्गी नै काफी छ । यो एकदम सरल, सुलभ र सस्तो पछि छ । एक्लै पनि खेल्न सकिन्छ । यो सामाजिक पनि रहेछ । यसले मलाई धेरै साथी बनाउन मद्दत गरिरहेको छ । मैले चुङ्गी साथी भेटें, काठमाडौँको भीडभीडमा पनि । म आफ्नो पुरानो खेलको लयमा फर्किएँ । यसले दिने आनन्द ध्यानीको भन्दा कम छैन । आफ्नो क्षमता प्रर्दशन गर्न हिच्किचाउनेहरु निर्धक्क भए हुन्छ । जे जान्नुहुन्छ, त्यसलाई बाहिर ल्याउनुहोस् । भित्र लुकाउँदा त्यो त्यतिकै हराएर जान्छ । तपाईंले तपाईंलाई चिन्नुहोस् । फेरि पनि मलाई चुङ्गी सिकाउने ती गुरू साथीतिर म फर्किएँ । हामी सबै फर्कनुपर्छ । फेल पास जितहार बराबर बन्नुपर्छ । तछाडमछाडको यो दौडबाट फर्किनुपर्छ । जय नेपाल !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *