सन्दर्भ इमेज सहकारी : ‘देव कुमार नेपाली ज्यू भाग्नु समस्याको समाधान होइन’


प्रतिमान पौडेल
यतिबेला बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत फिर्ता गर्न नसकेको र संस्थापक अध्यक्ष देव कुमार नेपालीसहित उनको परिवार सम्पर्क विहिन भएपछि त्यो सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताहरु आफ्नो पैसा डुब्ने हो कि ? भन्ने चिन्तामा छन् । देव कुमार नेपालीज्यू, तपाई सम्पर्क बिहिन भएर होइन, बचतकर्ताहरुको बीचमा आएर समस्या समाधान गर्न लाग्नु पर्छ र सबैले सहयोग गर्नु पर्छ । उनले यसो गरेनन् भने सरकारले जहाँ भएपनि खोजेर कार्वाही गर्नु पर्छ, बचत रकम फिर्ता गराउनु पर्छ ।

यो सहकारीमा समस्या आएपछि सतहमा देखिएका र सुनिएका केही कुरापछि मेरो व्यक्तिगत धारणा यस्तो छ ।

१. सहकारीले गैर शेयर सदस्यसंग कारोबार गर्नु हुदैन भन्ने कुरा यसमा लागु भएन, नियम विपरित गैर शेयर सदस्यसंग कारोबार गरेको देखियो ।

२. संस्थामा ठुलो ठुलो बचत कारोबार भएको सुन्नमा आएको छ । सहकारीले बचत भनेर संकलन गरेको रकम सदस्यहरुलाई ऋण लगानी मात्र गर्न पाउने व्यवस्था छ तर यो संस्थाले बचत संकलन गरेको रकमलाई ऋण लगानी नगरी देव कुमार र उनको परिवारको नाममा जग्गा खरिद गर्ने काम भएको देखियो, सुनियो ।

३. सहकारी सदस्य केन्द्रीत हुनु पर्ने, सदस्यको बीचबाट सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन हुनु पर्नेमा सञ्चालक समिति नाम मात्रको र सम्पूर्ण जिम्मेवारी एकजना व्यक्तिमा देखियो । सञ्चालक समितिका सदस्य चित्र बहादुर भण्डारीले सार्वजनिक गरेको विज्ञप्तीले यस्तो देखाउछ, अरु सञ्चालकहरुको पनि अवस्था यस्तै हुन सक्छ ।

४. संस्थामा नियमसम्मत काम गर्ने भन्दा पनि ब्याज बढी दिने, ३ वर्षमा डब्बल फिर्ता हुन्छ भन्ने अफर गर्ने, दैनिक ब्याज दिने, ठुला ठुला रकमहरुलाई प्राथमिकता दिने गरेको सुन्नमा आएको छ, यो सहकारीको भावना, नीति र सिद्धान्त विपरित छ ।

५. इमेज सहकारी भनेकै देव कुमार नेपाली हुन् भन्ने भाष्य निर्माण गरिएको रहेछ र त्यसैको प्रतिफल यतिबेला देखिदैछ ।

६. बचतकर्ताहरुले सहकारीमा बचत गरेको नभई देव कुमार नेपालीलाई पैसा राख्न दिएको जसरी पैसा जम्मा गरेको देखिन्छ र त्यही अनुसार उनले पनि व्यवहार गरेको पछिल्लो एक महिनामा देखे सुनेको कुराबाट थाहा हुन्छ ।

७. सहकारीमा समस्या आयो भने सञ्चालक समितिले विशेष साधारणसभा बोलाउने र सदस्यहरुको सल्लाह अनुसार अगाडि बढ्नु पर्ने हुन्छ, तर यहाँ देव कुमार नेपालीले के भन्छन्, उनकै सम्पूर्ण भर परेको देखियो । सञ्चालक समिति नामको मात्र रहेछ ।

यो समस्या आउनुमा को को दोषी छन् ?

१. सर्वप्रथम त देव कुमार नेपाली नै यसको प्रमुख दोषी हुन् । उनले सहकारीलाई सहकारीका रुपमा होइन, एउटा निजी पसल जस्तै सञ्चालन गरेका रहेछन् । सहकारीका नाममा व्यापारिक संस्था बनाएका रहेछन् भन्ने कुरा बचतकर्ताहरु लगायतबाट बुझ्न सकिन्छ ।

२. देव कुमारले जे भन्छन् त्यही गर्ने सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति पनि यसलाई समस्या ग्रस्त बनाउनेमा दोषी छन् । साथै कर्मचारीहरु पनि संस्थागत भन्दा व्यक्तिको निर्देशनमा चलेकाले उनीहरु पनि यसका सहयोगी हुन् ।

३. यो संस्था दर्ता गर्ने, नियमन गर्ने, कार्वाही गर्ने निकायको त झन धेरै दोष देखियो, बेला बेलामा अनुगमन नियमन गरेको भए यस्ता समस्या आउने थिएनन् ।

४. अभियानले समयमा सच्याउन पहल नगर्ने कुरा पनि समस्या देखियो ।

५. पैसाको मुख्य पाटोका रुपमा रहेका शेयर सदस्य र बचतकर्ताहरुको पनि धेरै नै त्रुटी भएको छ । आफुले रकम जम्मा गर्ने सहकारीको बारेमा नबुझ्नु, साधारणसभामा संस्थाको अवस्थाका बारेमा भन्दा अन्य विषयमा केन्द्रीत हुनु, सदस्य नबनी रकम जम्मा गर्नु पनि यो सहकारीलाई समस्यामा पार्नु हो ।

६. देव कुमार नेपालीको सम्पत्तीको स्रोत के हो ? भन्ने नखोज्ने, उनीबाट आर्थिक सहयोग लिने संघ संस्था, राजनीतिक दलका नेता, कार्यकर्ता लगायत पनि यसलाई समस्यामा पार्ने सहयोगी हुन् ।

७. नागरिक समाज, सञ्चार क्षेत्र, सरकारी निकाय लगायत आम समुदाय पनि यसमा कुनै न कुनै रुपमा जोडिन्छ, किनकी देव कुमारले जहाँ जान्छन् त्यहाँ पैसा बाडेका खबरमा रमाउने मात्र होइन, आवश्यक परेको बेला सहयोग माग्ने पनि यसका दोषी हुन् ।

इमेजमा समस्या आएपछिको एक महिनामा देखिएका कुरा ।

इमेज सहकारी संस्थामा समस्या आएपछि अवस्था गंभिर बनेको थियो, ७ गते जुन अवस्था थियो, त्यसलाई सहजीकरण गरेर सहज बनाउन जिल्ला सहकारी संघ बागलुङको अगुवाईमा समाधानका लागि भएका प्रयत्नहरु सकारात्मक थिए, देव कुमार नेपालीलाई बागलुङ बजारमा ल्याउने देखि नियमित कार्यालय सञ्चालन गराउन संघको भूमिका प्रभावकारी देखिएको थियो । त्यसपछिको एक महिनामा जे जे हुनु पथ्र्यो त्यो नभएका कारण देवकुमार नेपाली सम्पर्क विहिन भएका छन् ।

१. देव कुमार नेपालीले आफ्नो जग्गा जमिन बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु भन्ने प्रतिवद्धता व्यक्त गरेका थिए, सहकारीमा यस्तो कुरा हुन नपर्ने हो तर यहाँ यस्तो भएको रहेछ । यही कुरालाई कुरालाई कानुनी रुपमा बलियो बनाउनेतर्फ भन्दा पनि बचतकर्ताहरु सहित सबै इमेज डुब्यो, अब पैसा कसरी फिर्ता हुदैन ? भन्नेमा पुगे ।

२. बचतकर्ताहरु सामुहिक रुपमा समस्या समाधानमा लाग्नु पर्नेमा आफ्नो रकम सुरक्षित गर्नका लागि व्यक्तिगत रुपमा विभिन्न दवावमुलक काम गरे, केही बचतकर्ताले बढी मुल्यमा जग्गा किनेको कुरा यसको उदाहरण हो । आफुले नियम विपरित इमेज तथा शिव शिखरमा बचत राख्ने अनि दोष जति अरुलाई लगाउने कुराले पनि समाधान दिदैन । कतिपय बचतकर्ताले त घरमै गएर धम्की दिएका कुरा पनि चर्चामा छन् । पैसा राख्ने समयमा कसैलाई नसोध्ने, ठुलो ठुलो रकम लगेर राख्ने अनि समस्या परेपछि धाकधम्की, अरुलाई दोष लगाउने अवस्था देखिएको छ ।

३. देव कुमार नेपालीले शुरुमै भेला गरेर सबैलाई आश्वस्त पार्ने र समस्या समाधानमा लाग्नु पर्नेमा उनले पनि त्यसो गरेनन्, व्यक्तिगत रुपमा जसले बढी डिलिङ गर्छ उसलाई प्राथमिकता दिए ।

४. उनले जेठ १ गते बचतकर्ताहरुको भेला त गरे तर त्यो समयसम्म उनले समस्या समाधान गर्ने भन्दा पनि उम्कने कसरी भन्ने सोचेका रहेछन् भन्ने उनको व्यवहारले पुष्टी ग¥यो ।
५. नियमनकारी निकायको यो बीचमा कुनै पनि भूमिका देखिएन, मानौ केही भएकै छैन जस्तो देखियो ।

समाधान के हो त ?
१. सबैभन्दा पहिलो कुरा देव कुमार नेपाली बचतकर्ताको बीचमा आउनु पर्छ र उनले फेरी एकपटक प्रतिवद्धता गरेर राज्य, अभियान र प्रहरी प्रशासनको बीचमा बसेर समाधानको उपाय खोजेर बचतकर्ताको पैसा फिर्ता गर्नु पर्छ । त्यसका लागि सबैले सहजीकरण गर्नु पर्छ ।

२. बचतकर्ताहरुले पनि सामुहिक रुपमा प्रतिवद्धता गरेर आफुहरुले ६ महिनाका लागि दिएको समयसिमा बरु थप गर्ने र सहज रुपमा जग्गा जमिन विक्री वितरण गरेर राज्यको रोहवरमा पैसा फिर्ता गराउन सहयोग गर्नु पर्छ ।

३. नियमनकारी निकायको रोहवरमा उनले बचत फिर्ता गर्नका लागि भरपर्दो आधार प्रस्तुत गर्ने र सबैले सहयोग गर्ने प्रतिवद्धता गरेर अगाडि बढ्दा नै समस्याको समाधान हुन्छ ।
४. देव कुमार नेपाली सम्पर्कमा आएनन्, उनले बचतकर्ताको रकम फिर्ता गर्न वास्ता गरेनन् भने राज्यले जहाँबाट पनि खोजेर उनलाई कार्वाही गर्नु पर्छ, उनको जग्गा जमिन विक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्नु पर्छ ।

नोट : यतिबेला शिव शिखर र इमेज सहकारीका कारण सहकारी क्षेत्रमा त्रासको वातावरण छ । अन्य सहकारीहरु जसले सदस्यसंग मात्र कारोबार गरेका छन्, तिनीहरुमा पनि समस्या आउने अवस्था देखिदैछ । सदस्यहरु आफ्नो रकम सुरक्षित गर्नका लागि विभिन्न तरिकाहरु अपनाउने, दवाव दिने गरेका कुरा सुन्नमा आएका छन् ।

पछिल्लो समय सहकारीहरु समस्यामा पर्नुको मुख्य कारण सञ्चालकहरु वा मुख्य एक दुई जनाले संस्थाको रकम अपचलन गरेको पाइयो । सदस्यहरु वा बचतकर्ताहरु आफ्नो रकम सुरक्षित गर्न एकै पटक गएका कारण पनि समस्या देखियो ।

अब अरु सहकारीहरुले के गर्ने त ?
१. सबैभन्दा पहिला सबै सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई सस्थाको अवस्थाका बारेमा यथार्थ जानकारी गराउनका लागि भेला, भेटघाट गर्नु पर्छ ।

२. संस्थाको योजना, कार्यक्रम, अवस्थासंगै सदस्यहरुको रकम सुरक्षित हुने अवस्थाहरुको बारेमा जानकारी गराउनु पर्छ ।

३. संस्थाको ऋण लगेर नतिर्ने सदस्यहरुलाई ताकेता गर्ने, ऋण सुरक्षित भए नभएको एकिन गर्ने, सञ्चालक समितिका पदाधिकारी सदस्यहरुसंग भएको ऋण तत्काल उठाउने र सदस्यहरुलाई ढुक्क बनाउनु पर्छ ।

४. शेयर सदस्यहरुले आफ्नो बचत सुरक्षित गर्नका लागि दवाव दिने भन्दा पनि संस्थालाई सहज बनाउन साथ दिनु परो । इमेजबाट पनि केही सिक्न परो, यदी देव कुमार नेपाली सम्पर्क विहिन नभएर यही रहेको भए जग्गा विक्री गरेर ढिलो चाडो रकम फिर्ता हुन्थ्यो, तर अब सरकारको हातमा सबै कुरा गयो भने धेरै समस्याहरु आउन सक्छन्, जस्तै ठुलो ठुलो रकम राखेका सदस्यहरुको स्रोतको कुराको पनि चर्चा चलेको छ ।

५. सहकारी संस्था चलाउने, बचाउने वा डुबाउने सबै शेयर सदस्यहरुको हातमा छ, सदस्यहरुले आफुलाई अप्ठेरो पर्दा संस्थाबाट फाइदा लिने, संस्थामा समस्या पर्दा दवाव दिने होइन, संस्थामा आफ्नो रकम सुरक्षित भए नभएको एकिन गर्ने र अप्ठेरोमा सबैले सहयोग गर्नु पर्छ ।

६. हाम्रो चलन केही कुराको अभाव हुदैछ भन्ने भएपछि बढी संकलन गर्न तर्फ लाग्छौ, ग्यास अभाव हुने सूचना पाएपछि धेरै जम्मा गर्न लाग्छौ, पेट्रोल अभाव हुदैछ भने आफुसंग भएपनि लाइनमा लाग्छौ, सहकारीमा पनि त्यस्तै देखियो, सहकारी संकटमा पर्न लागेको छ भन्ने हल्ला सुनेपछि संस्थामा जाने, बचत फिर्ताका लागि दवाव दिने, हो हल्ला गर्ने, संस्था डुब्यो भनेर भन्दै हिड्ने । यस्तो कार्यले संस्थाका शेयर सदस्यहरुलाई नै क्षति हुन्छ । हामीले देखेका छौ, ओरेण्टियल सहकारी समस्यामा परेको १२ वर्ष भन्दा बढी भयो, अहिलेसम्म बचतकर्ताले रकम पाएका छैनन्, सुधिर बस्नेतले पटक पटक जग्गा बेचेर तिर्छु भनेका छन् तर पैसा फिर्ता भएको छैन ।

७. बागलुङमा दुई वटा सहकारीले बचतकर्ताको करिव ३ अरव रकम जोखिममा पारेका छन्, अब अरु सहकारीलाई पनि यस्तै बनाउने कसैको धन्दा होला, तर बुझ्नु पर्ने शेयर सदस्यहरुले हो, अरुलाई केही फरक पर्दैन, भनिदिन्छन् । सहकारीमा पैसा राखेकोले भन्दा बढी चर्चा पैसा नभएकाले गरिरहेका छन । सहकारीमा समस्या आउनुमा कारण जे जस्ता भएपनि संस्था समस्यामा परेपछि दुख पाउने शेयर सदस्यहरुले नै हो ।

८. सहकारीबाट ऋण लगेका र लामो समय ऋण नतिरेकाहरु यतिबेला सहकारी बन्द भए ऋण तिर्न पर्ने थिएन कि ? भनेर लागेको पनि देखिन्छ । सहकारी समस्यामा परो भने नियमनकारी निकायले सञ्चालक र ऋणीहरुको एकाघरको जग्गा रोक्का राख्नु पर्छ । यो कुरा ऋणिहरुले बुझेनन्, यस्तो बेलामा सहकारीमा गएर ब्याज मिलान गर्ने, बरु समय अवधी थप गराउनेतर्फ लाग्नु पर्नेमा ऋणीहरु संस्था विग्रिए ऋण तिर्न पर्ने थिएन भनेर लाग्नु उनीहरुकै लागि घातक हुन्छ, संस्था सञ्चालन हुदा पो संस्थाको कुरा हुन्छ, संस्था समस्यामा परे पछि त सरकारको हातमा जान्छ, सरकारले के के गर्छ भन्ने बुझन् जरुरी छ ।

९. सदस्यसंग मात्र कारोबार गरेका, सदस्यहरुलाई लगानी गरेका संस्थाहरुमा समस्या आयो भने देव कुमारले जस्तो व्यक्तिगत जग्गा बेचेर पैसा फिर्ता गर्छु भन्ने हुदैन, किनकी अन्य संस्थाका सञ्चालकहरुले त्यसरी घर जग्गा खरिद नगरेका हुन सक्छन्, उनीहरुले ऋणीसंग उठाएर बचत फिर्ता गर्ने हो । त्यसो गर्दा आखिर समस्यामा पर्ने ऋणी सदस्य नै हो भन्ने कुरा ऋणीहरुलाई बुझाउन पर्ने देखिन्छ र उनीहरुले बुझ्न पनि जरुरी छ ।

अन्त्यमा
सहकारी सदस्यहरुको हो, सदस्यसंग कारोबार नगरी ग्राहकसंग कारोबार गरेका कारण यतिबेला समस्या आएको हो । सबैजना सचेत हुनुपर्छ । यो संकट सहकारीका कारण मात्र आएको होइन, वित्तीय क्षेत्रको संकटका कारण सहकारी पनि समस्यामा परेका हुन्, अब अरु धेरै क्षेत्र समस्यामा पर्न सक्छन् त्यसैले यस्तो बेलामा सहकारीका सदस्यहरु सचेत बनेर आफ्नो संस्थालाई नियमित सञ्चालन गर्नका लागि सहयोग गर्नु पर्छ । मेरो पैसा सुरक्षित गर्छु भनेर सबै सदस्य एकैपटक संस्थामा आउदा संस्थाले बचत फिर्ता गर्न सक्दैन, बचत फिर्ता नगर्दा संस्था बन्द हुन्छ, बन्द भएपछि सरकारको हातमा जान्छ, सरकारको हातमा गएको संस्थाबाट रकम सहजै पाउने अवस्था देखिएको छैन, ओरेण्टियल लगायतका सहकारीका बचतकर्ताले लामो समयदेखि पैसा फिर्ता गर्नका लागि दवाव दिइरहेका छन्, तर अहिलेसम्म पाएका छैनन् । यसकारण संस्थालाई नियमित सञ्चालनका लागि शेयर सदस्यहरुले सहयोग गर्न आवश्यक छ । अन्यथा सदस्यहरु नै जोखिममा पर्ने कुरा बुझ्न जरुरी छ ।

सहकारीमा समस्या ल्याउने सञ्चालक वा कर्मचारीलाई कार्वाही गर्ने, शेयर सदस्यहरुको बचत रकम सुरक्षित गर्न लगाउने काममा राज्यका निकायहरु, अभियानले समन्वयकारी भूमिका खेल्नु पर्दछ ।
इमेज सहकारीमा आएको समस्या पछिको एक महिनामा देखे सुनेका कुराहरुका आधारमा मैले यति मनको बह लेखेको हुँ । गल्ती भए क्षमा पाउ ।
जय सहकारी
(प्रस्तुत लेख पौडेलको फेसबुकबाट साभार गरिएको हो)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *