सिगानाको ऐतिहासिक कोत मन्दिर : पर्यटकीय गन्तव्य

शि. कविराज क्षेत्री
परिचयः

नेपाल भित्रको नेपाल भनेर चिनिने बागलुङ जिल्ला गण्डकी प्रदेशमा रहेको एक महत्वपूर्ण जिल्ला हो जसलाई झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । बागलुङ जिल्लाभित्र पर्यटकीय गन्तव्यका थुप्रै स्थलहरु रहेका छन् जहाँ आन्तरिक पर्यटकहरु दिनहुँ आउने गर्दछन् । बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम सङ्ग्रालय, एसियाकै लामो र अग्लो झोलुङ्गे पुल आदि पर्यटकलाई आकर्षित गर्ने यस क्षेत्रका प्रख्यात ठाउँहरु हुन् । यसै क्रममा बागलुङ नगरपालिका वडा नं. ८, सिगानामा रहेको ऐतिहासिक कोत मन्दिर अर्को पर्यटकीय स्थल हो जुन प्रचार प्रसारको ओझेलमा रहेको छ । सिगानाको माथिल्लो भागको चुचुरामा अवस्थित कोत मन्दिर, रानी मन्दिर, भूमे मन्दिर, बलामकोट र बौडेचौर प्राकृतिक, धार्मिक, सांस्कृति र ऐतिहासिक महत्वले भरिपूर्ण ठाउँहरु हुन् । विकासका पूर्वाधार अगाडी बढ्न नसक्दा ति ठाउँहरुको पुनसंरचना र संरक्षण हुन सकिरहेको छैन । स्थानीय जनताहरु र स्थानीय सरकारको सिमित बजेटले उक्त क्षेत्रको विकास गर्न सम्भव छैन । राज्यले नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा बोकेका ती क्षेत्रहरुको विकासमा ध्यान दिन सकेमा पर्यटकीय गन्तव्य बन्ने कुरामा दुईमत छैन ।

ऐतिहासिक कोत मन्दिरको महत्वः
बागलुङ जिल्लाको बागलुङ नगरपालिका अन्तर्गत वडा नं. ८ सिगानामा रहेको कोत मन्दिर र त्यसको सेरोफेरोमा रहेको रानी मन्दिर, भूमे मन्दिर, बलामकोट, बौडेचौर आदि ठाउँहरुको महत्व के रहेको छ भन्ने विषयमा यहाँ बेग्लाबेग्लै चर्चा गर्न सकिन्छ ।

ऐतिहासिक कोत मन्दिरः
आजभन्दा झण्डै ८१० बर्ष अगाडि सिागनामा ऐतिहासिक भूने राज्य अस्थित्वमा थियो । लगतभग नौबिस घरधुरी रहेको उक्त भुने राज्य वि.सं. १२७० तिरबाट विभिन्न राजारजौटाहरुले शासन गर्दै आइरहेको पाइन्छ । पूर्वमा साँधखोला, पश्चिममा कादेशखोला, उत्तरमा काठेखोला र दक्षिणमा रग्दीखोला सिमाना रहेको यस भुने राज्य तत्कालीन अवस्थामा शक्तिशाली थियो । समयको कालखण्डमा उक्त राज्य टुक्रिदै जाँदा साविकको सिगाना, तित्याङ, रेश, लेखानी, रायडाँडा, दमेक गा.वि.स.मा विभक्त हुन पुग्यो । नेपालमा संघीयता लागु भए पश्चात हाल उक्त राज्यको भू–भागबाट बागलुङ नगरालिकाका वडा नं. ८,९,११ एवं काठेखोला गाउँपालिकाका वडा नं. ७ र ८ साथै जैमिनी नगरपालिकाको वडा नं. ३ गरी ६ ओटा वडाहरु समेटिएका छन् । वि.सं. १२७० तिर गुरुङ वंशका राजाले शासन गरेको उक्त राज्यमा लगभग ५० बर्ष जति यहाँ राज्य गरेका र दुई पुस्तासम्म उनीहरुको शासन थियो । वि.सं. १३२० तिर मगर वंशका राजाले शक्ति आफ्नो हातमा लिएर ४ पुस्तासम्म शासन सञ्चालन गरेका थिए । १३२० देखि १४२० सम्म झण्डै १०० बर्ष मगर वंशका राजाले शासन गरेका थिए जुन बलामी थरका मगरका पुर्खा थिए । वि.सं. १४२० देखि १५५० सम्म लगभग १३० बर्ष उचै ठकुरी वंशका राजाले पाँच पुस्तासम्म राज्य सञ्चालन गरेको पाइन्छ । वि.सं. १५५० तिर पर्वतको ढोरलठानाका राजा दिलिप बम (डिम्ब) बाट आक्रमणमा परी यहाँका राजा मारिए र यहाँको राज्यसत्ता अन्त्य भयो ।

विभिन्न कालखण्डहरुमा विभिन्न वंशका राजाहरुले राज्य सञ्चालन गरेको ऐतिहासिक ठाउँ इतिहासका विद्यार्थीहरुलाई अध्ययन अवलोकन गर्ने महत्वपूर्ण पुरातात्विक ठाउँ हुन सक्छ । विभिन्न जातजातिहरुका वंशावली तयार गर्न पनि यो ऐतिहासिक ठाउँ एक स्रोत बन्न सक्छ । तत्कालिन राजाहरुको पालामा रहेका दरबारहरु, हातहतियार राख्ने कोत, कैदीहरु राख्ने कठघरा, सैनिक व्यारेक, राजाको प्रशासनिक अड्डा आदिका भग्नावशेषहरु अझै पनि स्रोतका रुपमा रहेका छन् । विभिन्न जातजातिहरुको उद्गम स्थल, उनीहरुको कार्य विभाजन, उक्त क्षेत्रको अलौकिक दैवीशक्ति, प्राकृतिक दृश्यावलोकन आदिले गर्दा पनि यो ठाउँको महत्व ज्यादै नै छ । सिगानाको मौलो मान्ने क्षेत्रका वासिन्दाहरुले आस्था, विश्वास, श्रद्धा र भक्तिले गर्ने पूजा, बडादशैमा लाग्ने मेला, विभिन्न पर्वहरुमा लाग्ने मेला आदि सबैले यस क्षेत्रको महत्व बढी देखिन्छ । ७ बर्षका राजकुमारले सिंह जस्तो भयंकर हिंस्रक जन्तुलाई वाणले हानेर मारेको हुँदा उनै राजकुमारको अद्भूत शक्तिबाट अभिप्रेरित भई “सिंह हाना” को नामाकरण गरिएको र अप्रभंश हुँदै सिंहाना र हाल सिगाना नामाकरण भएको ऐतिहासिक अभिलेखले यस क्षेत्रमा सबैको आस्था रहेको पाइन्छ ।

रानी मन्दिरः
सिगानाका पछिल्ला राजा दधिसिंह ठकुरीले शासन गरिरहेको बेला पर्वतका राजा दिलिप बम (डिम्ब) ले ठूलो फौज लिएर आई हमला गरेका र दुवैतर्फ घमासान युद्ध हुँदा धेरै सैनिकहरु ह्ताहत हुनुको साथै यहाँका राजा पक्रिए । उनलाई शेरा भन्ने स्थानमा लगेर घाँटी रेटेर मारियो । उनकी रानी गर्भवती भएको हुँदा शत्रुबाट मर्नुभन्दा आफै आत्महत्या गर्ने विचारले घाँटी रेटेर देह त्याग गरिन । उनको शवलाई गाडिएको स्थानमा रानीको मन्दिर बनाएर हालसम्म पनि श्रद्धा भक्तिले पूजा गर्दै आइरहेको पाइन्छ ।

भूमेमन्दिरः
राजा शत्रुको कब्जामा परेपछि रानीले अत्महत्या गर्दा रानीको गर्भमा ७ महिनाको शिशु रहेकोमा रानीको भुँडी चिरेर निकाली छुट्टै स्थानमा गाडिएको र रानीको समाधि स्थलबाट शक्ति उत्पन्न भए झै उक्त शिशुलई गाडेको स्थानमा पनि भूमे शक्ति उत्पन्न भई भूमे मन्दिर बनाई श्रद्धा भक्तिले पूजा गर्ने गरिएको पाइन्छ ।

यसरी दरबारमा खड्ग देवता, तिनीहरुको समिपमा ब्रहमा झाँक्री र नाग साथैमा रहेका एवं महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गाले बास गरेको हुँदा कोतमन्दिरमा अलौकिक शक्ति उत्पन्न भएको ठान्ने गरिन्छ । त्यस्तै रानी र भूमे मन्दिरमा विभिन्न कालखण्डमा राजारजौटाहरु र रानीको आत्मा प्रकट भएको कारण त्यहाँ अलौकिक शक्ति रहेको महसुस गरि हालसम्म पनि विधिविधानले पूजा अर्चना गर्ने एवं मेला लाग्ने प्रचलन छ । यसरी सिगानाका कोत मन्दिर, रानी र भूमे मन्दिरको ऐतिहासक, धार्मिक एवं साँस्कृतिक महत्व रही आएको छ ।

बलामकोटः
कोतमन्दिर रहेको क्षेत्रभन्दा केही तल बलामकोट भन्ने स्थान छ जहाँ ऐतिहासिक राजारजौटाहरुको समयमा प्रशासनिक अड्डा एवं सैनिक ब्यारेक रहेको हुनुपर्छ । भौगोलिक रुपमा पहाडको डाँडोमा सम्म परेको ठाउँ रहेको र त्यहाँ उत्खनन् गर्दा तत्कालीन अवस्थाका भग्ग्नावशेषहरु पाउन सकिन्छ । ऐतिहासिक महत्वको मात्र नभई बलामकोट प्राकृतिक रुपमा पनि अत्यन्त सुन्दर रमणीय ठाउँ हो । यहाँ घुम्न र पिकनिक खान आउनेहरुको घुइँचो लाग्छ । यो ठाउँबाट बागलुङ जिल्लाको धेरै स्थानीय तह एवं वडाहरु लगायत बागलुङ बजार, पर्वत र म्यग्दी जिल्लाा दृश्यहरु पनि देख्न सकिन्छ । उक्तरतर्फ थुप्रै हिमालहरु देख्न पाइने यो ठाउँबाट गाजा, चित्रे, घुम्टे, ताराखोलाको डाँडा, घोडाबाँधे, बिहुँकोट, धम्जा देउराली लगायत थुप्रै ठाउँहरु हेर्न पाइन्छ । प्रकृतिको सुन्दर ठाउँको रुपमा परिचित तत्कालीन समयमा बलामी मगर राजा बस्ने हुनाले बलामकोट नाउँ रहेको र राजाका मन्त्री रुमे कार्की सहयोगी हुँदा विर्ता वापत केही जग्गा कार्कीहरुले पाएको र हाल पनि उक्त क्षेत्र कार्कीहरुका स्वामित्वमा रहेको पाइन्छ ।

बौडेचौरः
बागलुङ बजारदेखि दक्षिणतर्फ बरेङ गाउँपालिका सम्म र गुल्मीको शान्तिपुरसम्म जाने मोटरबाटो यही बौडेचौर भएर गएको छ । यो ठाउँ प्राकृतिक रुपले सुन्दर हुनुको साथै मन्दिरै मन्दिरले घेरिएको धार्मिक एवं ऐतिहासिक ठाउँ पनि हो । टाढाटाढादेखि यात्रा गर्ने क्रममा यो ठाउँमा रोकिएर आनन्द लिने र खाजा खाने गर्दा यहाँको बजारको सम्भावना पनि निकै छ । स्थानीय बासिन्दाहरु फुर्सद मिलेसम्म आनन्द लिन यस बौडेचौरमा पुग्ने गर्दछन् । त्यसैले बौडेचौरको महत्व धार्मिक, साँस्कृतिक, ऐतिहासिकको साथै प्राकृतिक रुपमा अझै बढी छ ।

हाल भइरहेका विकासका पूर्वाधारहरुः
ऐतिहासिक कोतमन्दिरलाई कलात्मक ढङ्गबाट निर्माण गर्ने कार्य भइरहेको छ । स्थानीय नागरिक र स्थानीय सरकारका सक्रियतामा उक्त कार्य भए पनि रकम अभावले पुर्ण हुन सकेको छैन । रानीमन्दिर र भूमेमन्दिर पनि स्थानीय नागरिकहरुको आर्थिक सहयोगमा निर्माण भएका हुन् । मोटरबाटोको राम्रो पहुँच भए पनि उक्त क्षेत्रमा पानीको समस्या देखिन्छ । सूचना सञ्चारको सुविधा भएपनि पर्यटकहरुलाई बास राख्ने होटेल, रेष्टुरेण्टहरु नहुँदा समस्या भएको छ ।

पर्यटमकीय गन्तव्यका लागि गर्नुपर्ने कार्यहरुः
सिगानाको ऐतिहासिक कोत मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गर्नुपर्ने कार्यहरु निम्नानुसार छन्ः
१) कोतमन्दिर निर्माणको बाँकी कार्य पूरा गर्ने ।
२) कोतमन्दिरसम्म पक्की बाटो पु¥याउने ।
३) कोतमन्दिर परिसमार शौचालय, स्नानघर, सत्तलको व्यवस्था गर्ने ।
४) स्थानीय वासिन्दाको नाउँमा रहेको जग्गा खरिद गर्ने ।
५) मन्दिर परिसरमा ठाडो बाटो सिँढी बनाउने ।
६) मन्दिर परिसरमा तारवार गर्ने ।
७) प्रवेशद्वार निर्माण गर्ने ।
८) फूलबारी र बगैचा तयार गर्ने ।
९) नियमित पूजा अर्चना गर्ने गरी कोषको व्यवस्था गर्ने ।
१०) बलामकोटमा तारवार, भ्युटावर, खानेपानी, बालउद्यान निर्माण गर्ने ।
११) पिकनिक स्पट तयार गर्ने ।
१२) बौडेचौरमा रहेको फुटबल खेलमैदानलाई विकास गर्ने ।
१३) होमस्टेको रुपमा बौडेचौरलाई विकास गर्ने ।
१४) बौडेचौैरमा ऐतिहासिक सङ्ग्राहालय निर्माण गर्ने ।
१५) ऐतिहासिक कोत मन्दिरको प्रचार प्रसार गर्दै बौडेचौरलाई फिलिम सुटिङ स्थलको रुपमा विकास गर्ने ।

निचोडः
सिगानाको कोतमन्दिरको साथसाथै रानीमन्दिर, भूमेमन्दिर, बलामकोट, बौडेचौर यस क्षेत्रका ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं प्राकृतिक रुपले सामारिक महत्वका स्थलहरु हुन् । प्रचार प्रसारको कमी र विकासका पूर्वाधार नहुँदा ओझेलमा रहेका यी ठाउँहरु संरक्षण एवं विकासको पर्खाइमा रहेका छन् । स्थानीय नागरिकहरु, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको संयुक्त प्रयासबाट मात्र उक्त ठाउँको विकास गर्न सकिन्छ । उक्त क्षेत्रको विकासले स्थानीयहरुको पेसा, व्यवसायमा टेवा पुग्नुको साथै पर्यटकीय गन्तव्यको रुपमा अघि बढन सक्ने देखिन्छ ।
धन्यवाद !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *