शिवशरण ज्ञवाली
मध्यरातमा ऊ मेरो नजिकै आइपुग्यो । म सुतिरहेको बिस्तारामै ! उसले मेरो निद्रालाई अवरोध पार्दै पारेन । घुसुवा ! उसलाई यही नाम दिंदा पनि हुन्छ । ऊ पृथक पृथ्वी हो । ज्ञानको रहस्यमयी भण्डार हो । भविष्यवेत्ता पनि ठान्छन्, कसैकसैले उसलाई । कोही कहिले उसलाई देख्दा डराउँछन् कोही कहिले उसलाई देख्दा रमाउँछन् । डराउने र रमाउने दुवैको उसप्रति आकर्षण विकर्षण चलिरहन्छ । ऊ घुसुवा मात्रै होइन घुमुवा पनि हो । उसलाई दिनभन्दा रात प्रिय लाग्छ । दिनमा पनि आउँदै नआउने भने होइन । मसँग कहिलेकाही आउँछ । म पनि कहिले ऊ आइराखोस् भन्ने चाहन्छु त कहिले ऊ आउँदै नआओस् भन्ने चाहन्छु । नयाँ ज्ञान लिएर आज ऊ फेरि आयो । ऊ मेरो पाठक बनेर आयो, आज ।
ऊ मेरो नियमित पाठक हंस दाइ (संसारमा कतै नभएको साइनो छ हाम्रो दाइ दाइको । बराबरी साइनो पनि हुन्छ कही ?) पनि हुन सक्छन् । रमेटारकी स्मृति म्याडम पनि हुन सक्नुहुन्छ । काठमाडौंकी सिर्जना भाउजू पनि हुन सक्नुहुन्छ । मेरा लेख लुकीलुकी पढ्ने तर पढें नभन्ने अनेक अज्ञात बौद्धिक र सामान्य पाठक दुवै पनि हुन सक्नुहुन्छ । जो भए पनि ऊ घुमुवा हो । ऊ डुलुवा हो । ऊ घुसुवा हो । तर पाठक चाहिं हो है । को पाठक हो पत्ता लगाउने जिम्मा तपाईं आफ्नै !
इस् ! उसले त पहिल्यै लोप्वा पो ख्वाइदियो, मलाई । पढाइस् ! पढाइस् ! तैले नजान्ने लोफर विद्यार्थी पढाइस् । अझ नजान्नेलाई जान्ने गराउँछु रे ! पछिल्लो बेन्चमा बस्नेहरुलाई अघिल्लो बेन्चमा तान्छु रे ! सरकारी र निजी दुवै ठाउँका शिक्षकका दुख तलाई थाहा छैन र ? थाहा नपाएजस्तो गर्छस् । आज म तलार्इं एउटा शिक्षकको कथा बताउँछु । जुन तँ आफै जाने देखेर बिर्सेको हो ।
तैले तेरो साथी मरेसलाई बिर्सिस हैन ? बाबुआमाले उसको नाम पनि उसले पछि गएर नेपालमा गर्ने पेसा जस्तै राखेछन् कि क्या हो ! ऊ एउटा गरिबको छोरा । सुदूरपश्चिमको विकट पहाडी जिल्लाबाट पढ्दैपढ्दै ऊ काठमाडाँै आइपुग्यो । काठमाडौँमा उसले खुब पढ्यो । फस्ट डिभिजनमा डिग्री ग¥यो । डिग्री हात पार्दानपार्दै स्ववियु चुनाव आयो । उसले सबैभन्दा क्रान्तिकारी दल रोजेर त्यो दलको पचास वर्षे युवा विद्यार्थीलाई जिताउन हिडेको थियो, कमान्डोको सदस्य बनेर । त्यही भएर मरेसले स्ववियु चुनावपछि पार्टीले मिलाएको जागिर पायो । ऊ पुनः सुदूर जिल्लाको सरकारी क्याम्पसमा पढाउन थाल्यो । गज्जबको जागिर थियो । जागिर अस्थायी भए पनि क्याम्पस स्थायी ! उसले सुन्यो, ‘क्याम्पसमा छिरेकाहरु कोही पनि रित्तो हात फर्किएका छैनन् ।’
ऊ त्यही आशाको त्यान्द्रोमा झुन्डिदै थियो । स्थायी हुने कसरी हो त्यो उसलाई थाहा थिएन । पैसा नआए पनि मेहनतपूर्वक नै पढाउँदै थियो । कहिलेकाही सोच्थ्यो, ‘त्यही कक्षामा पढाएको अर्को साथीले मासिक हजारौँ रुपैयाँ बुझ्दा म चाहि किन होला महिनाको केही सयमात्रै बुझ्नुपर्ने ?’ यसको चित्तबुझ्दो जवाफ उसले कहिल्यै पाएन । भर्खर जागिर गर्न लागेको त्यस्तै छ महिना त भएको थियो । पार्टीले लगाइदिएको जागिरका कारण ऊ पार्टीप्रति नतमस्तक थियो । मनमनै सोच्थ्यो, ‘मलाई जागिर लगाइदिने को थियो र ? मेरा आफन्त कोही थिएनन् । धन्न यही पार्टी रहेछ र जागिर दियो । यसको गुण त मैले तिर्नै पर्छ ।’
मरेस पार्टटाइम जागिर दिएको क्रृण पार्टीलाई चुक्ता गर्नैपर्ने मुडमा थियो । पार्टी हड्ताल र आन्दोलन गरिरहन्थ्यो । किन हड्ताल भइरहन्थ्यो ? नेताको के कुरा मिल्दैनथ्यो ? उसले चाल पाउने कुरै भएन । उसलाई यति भनिएको थियो कि आफ्नो नेताले भनेको कुरा सबै ठिक छन् । अन्य दलका नेताले भनेका कुरा सबै कुरा बेठीक छन् । त्यसैले आन्दोलनमा लागि रहनु । आन्दोलनमा उसको भूमिका के ? यो प्रश्नको उत्तर जिल्लाका नेताहरुसँग मात्रै थियो । कहाँ ऊ डिग्री गरेको मान्छेसँग यसको उत्तर होस् ? ऊ त पढाइ पो पढ्यो राजनीति त पढेन नि !
एकदिन साँझपख ऊ किताब हेर्दै थियो । भोलि बिहानै छ बजे उसको कक्षा थियो । पढाउन थालेको भर्खर पन्ध्र दिन मात्रै बित्दै थियो । त्यसैले तयारी नगरीकन ऊ कक्षा जानै सक्दैनथ्यो । उसको कमजोरी पनि छ, अगाडि धेरै मान्छेहरु देखेपछि आएको वक्के पनि रोकिन्छ । हात काँप्छन् । बोर्डमा लेख्न खोज्दा अक्षर तलबाट माथि वा माथिबाट तल पुग्छन् । यस्तो देखेर विद्यार्थीहरु गल्लल हाँसे भने ऊ थरथरी काँप्छ । उसको होस हवास नै उड्छ । तापनि अघिल्लो दिन कक्षाबाट निस्केपछि भोलि कक्षा छिर्ने बेला कतिखेर आउला र मेरो हिजोको गल्ती सच्याउँला भन्ने उसलाई हतार हुन्थ्यो । ऊ त्यसदिन पनि त्यस्तै भोलिको हतारमा किताब हेर्दै थियो ।
त्यहीबेला उसको फोन बज्यो । उठायो जिल्लाकै कामरेडको रहेछ । जिल्लाका कामरेडसँगै उसको खासै चिनजान त थिएन तर नम्बर भने मोबाइलमा राखेकै थियो । गारोसारो पर्दा कसलाई भन्ने अरुलाई चिनेकै छैन । कामरेडको आशा भरोसामा नै ऊ बाँचेको थियो । कामरेड ‘सर नमस्कार’ भन्दै बोलें । उसले ‘नमस्कार’ भन्ने भ्याएकै थिएन । उताबाट निर्देशनात्मक सुझाव आइहाल्यो ‘साँझ तलतले चोकमा पार्टीको मसाल जुलुस छ, यो प्रतिगमनकारी सरकारका विरुद्ध ! सर आउनुहोला । अरु कुरा पछि गरौँला ।’ नेता कामरेडले फोन काटिहाले ।
उसले किताब बन्द ग¥यो । घडी हेर्दा साढे पाँच भएको रहेछ । अब त निस्कनै प¥यो किनकी मंसीर महिनामा छ बजे त झमक्क भइसक्छ । नयाँ ठाउँ चिनेको होइन । जागिर त सरकारी क्याम्पसमा खाइएको छ । केही विद्यार्थीहरुले र नेता कामरेडहरुले उसलाई हाम्रो सर भनेका छन् । चिनिनु पर्छ । पहिचान हुनुपर्छ । त्यसैले ऊ निस्कियो ।
तलतले चोकमा जाँदा अरु सरहरु आइसकेका रहेछन् । ऊ ढुक्क भयो । सबै साथीहरु त छन् । पढाउनै जम्मा भएका हुन कि क्यो ? ऊ एकछिन अल्मलियो । अर्को कसैले भन्यो, ‘पढाउनेले सबै जान्नुपर्छ ।’ ‘सरहरुले राजनीति नगरेर कहाँ हुन्छ ?’ एकजना नेता कामरेड बोलिहाले । उसले चुपचाप सुन्यो ।
एकछिनमा एक अँगाला दाउरा ल्याइयो । प्रत्येक दाउराको टुप्पोमा बोराको कपडा बेरिएको थियो । एउटा बाटाँमा मट्टीतेल राखिएको थियो । सबैलाई नेता कामरेडले उर्दी दिए, ‘ल बाँटामा चोप्दै आगोमा सल्काउँदै गर्नुस् । सल्काइ सकेका साथीहरु नारा लगाउँदै दर्गुनुस् । ऊ इमान्दार मान्छे । आगो सल्काएर अगाडि दौडिहाल्यो । अरु बेइमान साथीहरु अँध्यारोमा लुसुक्क पछि पो खिचिएछन् । उसले राँको बोकेर बजार परिक्रमा ग¥यो । …जिन्दावाद….मुर्दावादको नारा पनि लगायो । बजार परिक्रमापछि कोणसभा भयो । नेता कामरेड अग्लो मेचमा उभिएर अनेक भाषण गरे । ‘भाषणको छेउटुप्पो भेटाएको भए मरिजाम्’ उसले मनमनै गुन्यो । कोणसभा सकिदा आठ बजिसकेछ । ऊ घर फर्कियो । फेरि उही किताबको रटान त थियो नै । भोलि बिहानै छ बजे कक्षा छ । पढ्यो लेख्यो । तैपनि दिमाग त खियाउनै पथ्र्यो । तयारी पूरा गरेपछि ऊ बल्ल सुत्यो ।
भोलिपल्ट समयमै ऊ क्याम्पसको कक्षाकोठामा छि¥यो । ‘राँके सर’ विद्यार्थीहरु आपसमा फुसफुसाएको उसले सुन्यो । ऊ मनमनै तर्सियो । तैपनि आँट निकाल्दै बोर्डमा ठूलाठूला अक्षरमा शीर्षक लेख्यो, ‘सिर्जनात्मक लेखन र व्यवाहरिक लेखनमा अन्तर’ ।
लेख्दा नलेख्दै पछाडिबाट प्रश्नको वर्षा भयो । उसले उत्तर दिने कोसिस ग¥यो तर कुनै उत्तरले पनि विद्यार्थीको चित्त बुझेन । ऊ बोल्नै पाएन । प्रश्नमाथि प्रश्नका वर्षा भए । ‘यो सरले जान्दैन’ हाकाहाकी विद्यार्थी कुर्लिएको उसले सुन्यो । ‘नजान्ने सर चाहिदैन, राँको बाल्न पाइदैंन ।’ अब कुरो प्रष्ट भयो । विद्यार्थीको असन्तुष्टि हिजोको राँको बोकाइप्रति रहेछ । चस्माको माथिबाट आँखा तानेर उसले हे¥यो, ‘नारा लगाउने विद्यार्थी त सत्तारुढ दलको विद्यार्थी संगठनको पो रहेछ ।’
विद्यार्थीहरु उठेर ऊ भएतिर आइरहेको उसले देख्यो । ऊ असिनपसिन हुँदै कक्षाकोठाबाट दौडिदैं क्याम्पसको अफिस पुग्यो । ऊ अगाडिअगाडि विद्यार्थीहरु पछाडिपछाडि चिच्याउँदै आइरहेको रमिता क्याम्पस प्रमुख लगायतका सरहरुले हेरिरहेको उसले देख्यो । क्याम्पस प्रमुखले पनि राँको बोकेकोमा असन्तुष्टि जनाउँदै भने, ‘अरुले बोक्न नपर्ने तपाईंले मात्रै राँका बोक्नुपर्ने ?’
उसले केही भन्न खोज्दै थियो । प्रमुख फेरि बोलें, ‘धेरै स्पष्टीकरण नदिनुस्, तपाईंको जागिरको ग्यारेन्टी गर्न त सक्दिन तर म कुल डाउन गर्ने कोसिस गरुला ।’ भोलिपल्ट बिहान मरेस पुनः क्याम्पस गयो । उसको मनमिल्ने साथीसँग उसले एकैसासमा हिजोको कथा सुनाउँदै निष्कर्ष भन्यो, ‘म क्याम्पस पढाउन नसक्ने भएँ । छाडेर जान्छु, काठमाडौँ ।’ तर साथीले क्याम्पस छाडेर नजान सल्लाह दिदैं भन्यो, ‘धैर्य गर्नुस् । तपाईंमाथि राजनीति भा को छ । ठिक हुन्छ । अन्तरदलीय नेताहरुमार्फत सल्टाउनु पर्छ ।’
ऊ थोरै आशावादी भयो किनकी साथीले दोष उसलाई थोपरेन । पर्सि निकपर्सि भयो ऊ कक्षा जानै सकेन । एकदिन दिउँसो क्याम्पस प्रमुख सरले फोन गरेर भने, ‘भोलि बिहानबाट कक्षा लिन आउनुहोला । समस्या समाधान भएको छ ।’ हस् सर धन्यवाद भन्दै उसले फोन राख्यो । उसले पार्टी च्यानलबाट थाहा पायो, ‘सबै पार्टीका जिल्लास्तरीय नेता बसेर यो समस्या समाधान गर्ने निर्णय भएछ ।’ उसको मन कताकता खिन्न भयो । उसले आफ्नो पढाइको अर्थ त बुझेकै रहेनछ । बल्ल बुझ्दै छ ।
यहाँसम्मको कथा भनेर ‘म अर्को दिन आउँछु’ भन्दै घुसुवा हिड्यो । घडी हेर्दा विहानको पाँच बजेको थियो । म भोलिपल्ट बिहानै कक्षा लिन क्याम्पस गएँ । ऊ कक्षामा पढाइरहेको थियो । उसको कक्षामा नाराबाजी गर्ने विद्यार्थीहरु र ऊ निकट राजनीतिक दलका विद्यार्थीहरु ग्राउन्डमा डबलफसल गरिरहेका थिए । पल्लो भवनको भुँइतलाको कोठामा सेतै फुलेका प्रोफेसर लेक्चर दिइरहेका थिए । कस्तो सुन्दर चित्र, एकातिर युवा मरेसले पढाइरहेको छ अर्कोतिर अनुभवले खारिएका प्रोफेसर कक्षा लिइरहेका छन् । सपनाको कुराले मेरो मन खिन्न भयो । तर त्यहाँको सुन्दर दृश्यले मन पुलकित पनि भयो ।