सहकारीमा बचत फिर्ताको दबाबसँगै ऋणीलाई तनाव

प्रतिमान पौडेल
वित्तीय क्षेत्र यतिबेला संकटमा छ । हाम्रो देश नेपाल मात्रै होइन, अन्य आर्थिक रुपमा सम्पन्न मुलुकहरु पनि यतिबेला वित्तीय समस्यासंग जुधिरहेका छन् । वित्तीय क्षेत्रमा देखिएको संकटको बाछिटाले नेपालमा सबै भन्दा बढी सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ ।

वित्तीय संकटले सबै क्षेत्रलाई छोएको छ तर बजारमा चर्चा धेरै सहकारीको छ । केही ऐन विपरित चलेका सहकारीहरुका कारण सबै सहकारी एउटै हुन् भन्ने भाष्य निर्माण गरिदैछ ।

सहकारीहरु यसको मर्म अनुसार चल्ने हो भने संसारका जुनसुकै समस्याहरु आउदा पनि सहकारीहरु जोगिनु पर्ने हो । सहकारीलाई सदस्यहरुले बचाउनु पर्ने हो । तर हाम्रोमा विशेष गरी बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारीहरुले सहकारीको मर्म र भावना अनुसार नचलेका कारण सहकारी क्षेत्र पनि समस्यामा देखिएको छ ।

सदस्य केन्द्रीत व्यवसायका रुपमा रहेको सहकारीलाई ग्राहक केन्द्रीत बनाएका कारण, सहकारीहरुलाई उपयोग गरेर निजी सम्पत्ती जोड्नतर्फ कतिपय सहकारीहरु लागेका कारण आज सहकारीमा समस्या देखिएको हो ।

सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा सहकारीको नियमनकारी निकाय सहकारी विभागले तीन निष्कर्ष निकालेर विज्ञप्ती प्रकाशित गरेको छ । विभागले २०८० जेठ १२ गते प्रकाशित गरेको विज्ञप्ती अनुसार अहिले नेपालमा समस्या देखिएका सहकारीहरुमा तीन प्रकारका समस्या औल्याएको छ । सहकारी विभागको निष्कर्षमा सहकारीमा देखिएका ३ प्रकारका समस्या र समाधानका ३ उपाय निम्नानुसार रहेका छन् ।

१. कोभिड पछि विश्वको अर्थतन्त्रमा समस्या देखिदै गयो । रुस र युक्रेन युद्धले पनि वित्तीय क्षेत्रमा असर पु¥यायो । विश्वकै समस्याको असर नेपालमा पनि परेको छ र त्यसले सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ । नेपालमा रहेका करिव ३० हजार सहकारी मध्ये १५ हजार भन्दा बढीले वित्तीय कारोबार गर्छन्, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा यतिबेला तरलताको समस्या देखिएको छ । शुरुमा एक दुईवटा सहकारीले बचत फिर्ता गर्न नसकेको विषय बढ्दै गएका कारण राम्रै तरलता भएका सहकारीमा पनि विस्तारै समस्या देखिन थाल्यो । संस्था विधिसम्मत चलाएका तर पछिल्लो वित्तीय संकटका कारण तरलताको प्रेसरमा परेका सहकारीहरु पहिलो प्रकारले समस्यामा परेका सहकारीहरु हुन् । उनीहरुको वित्तीय अवस्था, सम्पत्ती र दायित्व खराव छैन, स्वस्थ छ, यिनी समस्याग्रस्त भएका होइनन्, यिनलाई वित्तीय संकटसंगै खराव सहकारीको हल्लाको असर परेको हो ।

२. दोस्रो तरिकाका सहकारीमा जम्मा भएको बचत रकम सदस्यहरुलाई लगानी गरिएको छ तर थोरै व्यक्तिलाई धेरै लगानी तथा घरजग्गा, शेयर, सुपरमार्केट लगायतका क्षेत्रमा लगानी गरेका कारण सहकारीहरु समस्यामा देखिएका छन् ।

३. तेस्रो तरिकाका सहकारीहरुमा सञ्चालकहरुको बदनियत देखिएको छ । विभिन्न खालका प्रलोभन देखाएर ठुलो मात्रामा बचत संकलन गर्ने र त्यो रकम यिनले आफ्नो नाममा, आफन्तहरुका नाममा घरजग्गा खरिद गर्ने, कम्पनी खडा गरेर त्यसमा लगानी गरेका छन् ।
यि तिन प्रकारका समस्याको पहिचान पछि यसको समाधान पनि ३ प्रकारले नै गर्र्नु पर्छ भन्ने विभागको निष्कर्ष छ ।

समाधानका उपाय
१. आर्थिक क्षेत्रमा आएको समस्याका कारण समस्या देखिएका सहकारीहरुको दायित्व र सम्पत्तीको अवस्था पहिचान गर्ने, आर्थिक अवस्था स्वस्थ छ, तर तरलताको प्रेसरमा छन् भने त्यस्ता सहकारीहरुलाई सहजता प्रदान गर्नका लागि विभागले शेयर सदस्यहरुलाई अनुरोध गर्न सक्छ । त्यसका लागि सञ्चालकहरुले सदस्यहरुसंंग अन्तरक्रिया गरी समस्याको समाधान निकाल्नु पर्छ । संस्थाका सञ्चालकहरुले संस्थाको सम्पूर्ण अवस्था प्रष्ट हुने र त्यसको जिम्मेवारी पूर्ण रुपमा आफुहरुले लिने गरी श्वेतपत्र जारी गरेपछि वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानसंगै सहज रुपमा संस्था सञ्चालन हुन्छ भन्ने प्रतिवद्धता गरेपछि बचत फिर्ताका लागि समय सिमा तोक्न सक्नेछन् ।

२. दोस्रो तरिकाले समस्यामा परेका सहकारीहरुको हकमा ति सहकारीका सञ्चालकहरुले पनि आफ्नो सम्पूर्ण अवस्था प्रष्ट हुने गरी श्वेतपत्र जारी गर्नु पर्नेछ । संस्थाको दायित्व भुक्तानीका लागि सञ्चालकहरुले व्यक्तिगत तथा सामुहिक तरिकाले कानुनी रुपमा दायित्व ग्रहण गर्ने ग्यारेण्टी गर्नु प¥यो त्यसो गर्दा पनि संस्थाले बचतकर्ताहरुलाई समय सिमा तोक्न सक्नेछन्, त्यसका लागि सहकारी विभाग समन्वय गर्न तयार छ ।

३. तेस्रो प्रकारले समस्यामा परेका सहकारीहरुमा सञ्चालकहरुले गलत तरिकाले लगानी गरेका हुन् । यि सहकारीमा सञ्चालकहरुले आफ्नो निजी व्यवसाय, घर जग्गा जोड्नका लागि लगानी गरेका छन् । यस्ता सहकारीका सञ्चालकहरुलाई कानुनी दायरामा ल्याउने र कार्वाही गर्ने हो । उनीहरुबाट बचतकर्ताको रकम असुली गराउने हो । सम्पूर्ण दायित्व उनीहरुलाई नै लिन लगाउने हो ।

यि तीन प्रकारका समस्या र समाधानका तीन उपायले सदस्यसंग कारोबार गरेका, सदस्यहरुलाई ऋण लगानी गरेका सहकारीहरुलाई यसले सहजता प्रदान गर्न सक्ने देखिएको छ । संस्थाको सबै अवस्था ठिक छ तर संस्थाले नियमित तरलता व्यवस्थापन गर्न सकेन भने उसले आफ्नो अवस्थाका बारेमा सदस्यहरुलाई जानकारी गराएर केही समय माग्ने र ऋण उठाएर बचत फिर्ता गर्न सक्ने गरी विभागले सुझाव दिएको छ । गलत गरेकालाई त उनीहरुको कसुरका आधारमा कार्वाही गर्ने विभागको निर्देशन छ ।

यो निर्देशनले सदस्यसंग मात्रै कारोबार गर्दै आएका सहकारीहरुलाई राहत प्रदान गरेको छ । सदस्यसंग लगानी गरेका सहकारीहरुलाई तरलताको समस्या हुदा उनीहरुले आफ्ना सदस्यहरुलाई संस्थाको अवस्था बारे जानकारी गराएर समय सिमा तोकी ऋण उठाउने र बचतकर्ताको रकम फिर्ता गर्न सक्ने गरी विभागको निर्देशन आएको छ ।

ऋण नतिर्नेलाई कडा कारबाही हुन्छ
सहकारी विभागले सहकारीबाट लिएको ऋण तिर्न पर्दैन भन्नेहरुलाई सरकारले कठोर कानुनी कारवाही गर्ने जनाएको छ । विभागले जारी गरेको प्रेस विज्ञप्तीमा ऋण तिर्न पर्दैन र नतिर्ने भन्ने जस्ता वित्तीय अराजकतालाई नजिकबाट नियालेको भन्दै यस्तो अराजकता नियन्त्रण गर्न जस्तोसुकै कठोर कानुनी कार्वाही गर्ने उल्लेख गरेको छ । ऋण लिएर तिर्न नपर्ने कल्पना गरेको भए त्यो आफैका लागि प्रत्युत्पादक हुने विभागले स्पष्ट पारेको छ ।

के हुन्छ त ऋणीहरुलाई ?
सहकारी विभागले ऋण तिर्दिन भन्नेहरुलाई कठोर कानुनी कार्वाही हुने उल्लेख गरेसंगै सहकारीबाट ऋण लगेर नतिर्नेहरु सतर्क भएका छन् । सहकारीबाट ऋण लगेर नतिर्नु भनेको सदस्यहरुले बचत गरेको रकम फिर्ता नहुनु हो । सदस्यहरुले दुख गरेर जग्मा गरेको रकम सहकारीले सदस्यहरुलाई ऋणका रुपमा लगानी गरेका हुन्छन् ।

सदस्यहरुले जम्मा गरेको रकम सदस्यहरुलाई नै लगानी गरेका संस्थाहरुले बचतको चाप बढ्दै गएपछि ऋणी सदस्यहरुलाई नै गुहार्ने हो । ऋणी सदस्यहरुलाई सहकारीले ऋण भुक्तानका लागि दबाब बढाउदै लैजादा बचतकर्ताहरुले पनि साथ दिने अवस्था आउछ ।

सहकारीले बचत फिर्ता गर्न नसक्नुको कारण ऋण नउठ्नु हो भन्ने जानकारी पाएपछि बचतकर्ताहरु र सहकारीका सञ्चालकहरु जुटेर ऋण उठाउने योजना बनाउन सक्छन् । त्यसका लागि उनीहरुले आवश्यक कानुनी प्रक्रिया त अगाडि बढाउने छन् नै त्यो भन्दा पनि बढी सामाजिक पहिचानको समस्या अगाडि आउन सक्ने देखिन्छ ।

सहकारीका सदस्यहरुले ऋण नतिरेको कुरा अर्थात ऋणी सदस्यले सावा ब्याज भुक्तान नगरेको कुरा नियमनकारी निकायमा पठाउने कामको शुरुवात हुन थालेको छ । नियमनकारी निकाय, आम सञ्चारका माध्यम लगायत सहकारीका सबै सदस्यहरुलाई ऋण लगेर नतिर्ने सदस्यहरुको पहिचान गराउने कार्यले ऋणी सदस्यहरुलाई प्रेसर पर्ने अवस्था विस्तारै बढ्दै गएको छ ।

अहिलेको समय भाइरल हुने समय हो । सहकारीहरुले ऋण नतिर्ने ऋणीहरुको नाम नियमनकारी निकायमा पठाएको वा सार्वजनिक सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दा साथ समाजमा राम्रो पहिचान बनाएका तर सहकारीको ऋण नतिरेका सदस्यहरु खराव ऋणीका रुपमा सामाजिक सञ्जालमा भाइरल हुने अवस्था सिर्जना हुदैछ, यसले उनीहरु दबाबमा पर्ने अवस्था सिर्जना हुन थालेको छ । कतिपय जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, ठुला व्यवसायीहरु, कतिपय त एउटा सहकारीको पदाधिकारी छ, अर्को सहकारीको ऋण नतिरेका कुराहरु समेत बाहिर आउन थालेका छन् । सामाजिक पहिचान बनाएका, सानको जिन्दगी बिताएकाहरुले ऋण नतिरेका कुराहरु पनि बाहिर आउन थालेका छन् ।

सहकारीको रकम एउटै व्यक्ति, निजी कम्पनी वा फार्मलाई लगानी गरेका बाहेक आफ्ना सदस्यहरुमा लगानी गरेका संस्थाहरुले एउटा अभ्यास शुरु गरिसकेका छन्, यो अभ्यासले ऋणी सदस्यहरुलाई दवाब पर्न थालेको छ ।

ऋणी सदस्यहरुले आफुले लगेको ऋणको केही प्रतिशत सावा र ब्याज बुझाई दिँदा पनि संस्थालाई तरलता व्यवस्थापनमा सहजता भएका समाचारहरु पनि आइरहेका छन् । ऋणीहरुले आफ्नो पहिचान खराब ऋणीका रुपमा नदेखाउनका लागि संस्थामा जाने, केही रकम भुक्तान गर्ने र ऋण नविकरण गर्ने काम बढ्दै गएको छ ।

सदस्य केन्द्रीत भएर कारोबार गरेका सहकारीहरुलाई ति ऋणी सदस्यहरुले त सहयोग गर्ने नै भए, ऋण नभएका सदस्यहरुले पनि सानो सानो बचत गरिदिएर संस्था जोगाउने अवस्था सिर्जना भएको छ । यो बेला जोगिने हो, आफु पनि जोगिने र संस्था पनि जोगाउनका लागि सदस्यहरु सचेत बन्नै पर्ने अहिलेको आवश्यकता हो ।

सहकारी सदस्यहरुको हो, शेयर सदस्यहरुले आफ्नो संस्थामा आउन सक्ने समस्यालाई सहज बनाउनका लागि सानो सानो रकम थप गर्ने, ऋणी सदस्यहरुले ब्याज र किस्ता रकम मात्रै सही समयमा बुझाइदिदा संस्थाले तरतला व्यवस्थापन गर्न सक्ने अवस्था रहन्छ ।

कतिपय ऋणी सदस्यहरु सहकारी बन्द भए ऋण तिर्न पर्ने थिएन भन्ने सोचेर सहकारीको बद्नाम गराउदै हिडेको पनि पाइन्छ । तिनलाई भोली सहकारी बन्द हुदा नियमनकारी निकायले ऋणीको घरजग्गा, बैक तथा सहकारीको खाता रोक्नुका साथै सामाजिक रुपमा समेत बदनाम गराइदिन्छ भन्ने चेत नभएर हो वा भएर पनि कसले के गर्छ र ? भन्ने सोचेका हुन भन्न सकिन्न ।

सहकारीबाट ऋण लगेर नतिरेकाहकरुको समुह बनाउने अनि चोक चोकमा मान्छे जम्मा भएको ठाउँमा गएर फलानो सहकारी डुब्दैछ, ढिस्कानो सहकारी डुब्दैछ भनेर प्रचार गर्नेहरुको संख्या बढ्दो छ । सामान्य मान्छेहरुले तिनका कुरा पत्याएर सबै सहकारी खराव हुन भन्न पर्ने अवस्था आउदैछ ।

सहकारीका सदस्यहरुले चोक चोकमा हुने कुरालाई विश्वास गरेर होइन, आफु सदस्य भएको संस्थामा गएर यथार्थ बुझ्न आवश्यक छ अन्यथा यस्तै खराब प्रवृतिका मानिसहरुका कारण सबै सहकारीहरुमा समस्या आउन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *