प्रतिमान पौडेल
वित्तीय क्षेत्रमा देखिएको संकटको असर सबै भन्दा बढी साना व्यवसायी र सहकारी क्षेत्रलाई परेको छ । साना व्यवसायीहरु व्यवसाय बन्द गरेर गाउँ पस्ने कि विदेश लाग्ने भन्ने दोधारमा छन् भने सहकारी क्षेत्र पनि सञ्चालन गर्ने कि बन्द गर्ने अवस्थामा छ । यसको अर्थ सबै साना व्यवसायी र सबै सहकारी यस्तो अवस्थामा छैनन् । जुन व्यवसायीले ऋण लिएर व्यवसाय शुरु गरेका छन्, जसको व्यवसाय राम्रोसंग सञ्चालन हुन सकेको छैन अझ भनौ बैंक र सहकारीको ऋणका कारण व्यवसायी समस्यामा छन् ।
सहकारी पनि सबैमा यस्तो समस्या होइन, संस्थागत सुशासन कायम राखेर सञ्चालन भएका सहकारीमा समस्या छैन तर जहाँ सञ्चालकको एकलौटी निर्णय हुने गरेको छ, जुन सहकारीले सिमित व्यक्तिलाई ठुलो लगानी गरेका छन् तिनीहरुमा र केही वर्तमान वित्तीय संकटको प्रभावका कारण तरलता व्यवस्थापन गर्न नसकेका सहकारी समस्यामा परेका छन, तिनलाई यतिबेला समस्या छ ।
सहकारीको सन्दर्भमा चार थरीका समस्या देखिएका छन् । संकटमा देखिएका सहकारीहरुमा सञ्चालकहरुको मनोमानी देखिएको छ । शेयर सदस्य र बचतकर्ताहरुको समेत रकम संकलन गरेर आफ्नो घर ठुलो बनाउने, महंगो गाडीमा चढ्ने, घरजग्गामा लगानी गरेर प्रशस्त पैसा कमाउने, शेयर बजारमा लगानी गर्ने सहकारीका सञ्चालकहरु भएका पहिलो कोटीका समस्याग्रस्त सहकारीहरु हुन् । यस्ता सहकारीका सञ्चालकहरु मध्ये कति त अहिले वेपत्ता छन्, कतिले जेनतेन संस्था सञ्चालन गरेका छन् । यिनका कारण समग्र सहकारी क्षेत्र बद्नाम भएको छ ।
पहिलो कोटीका समस्याग्रस्त सहकारीका सञ्चालकहरुलाई राज्यले कारबाहीको दायरामा ल्याउदासाथ सहकारीका धेरै समस्या समाधान हुन सक्छन् । आज बचतकर्ताहरुले समयमा पैसा फिर्ता नपाउदा सहकारीप्रति नै नैरास्यता देखिएको छ । यस्तो अवस्थामा बद्मासी गर्ने सञ्चालकहरुलाई पक्राउ गरेर कारबाही गर्ने र उनीहरुको जायजेथा बिक्री वितरण गरेर बचतकर्ताको रकम फिर्ता गर्न पर्छ । यिनलाई कारबाही गरेर बचतकर्ताको रकम फिर्ता गर्न थालेपछि सहकारीमा देखिएको नकरात्मक सोच विस्तारै हट्दै जान्छ ।
दोस्रो तरिकाले समस्या परेका सहकारीहरुको अवस्था अलि फरक छ । यिनले ऋण लगानी त सदस्यहरुलाई नै गरेका छन्, सदस्यहरुले धितो राखेर वा विना धितो प्रक्रिया पुराएर नै ऋण लगेका छन् । तर यिनले एकै व्यक्तिलाई अलि ठुलो लगानी गरेका छन् । थोरै व्यक्तिले धेरै ऋण लगेका कारण यिनलाई समस्या परेको छ । यिनीहरुलाई एउटा समय दिएर सञ्चालक र ऋणीहरुले बचतकर्ताको रकम फिर्ता गराउने ग्यारेण्टी गराउन आवश्यक छ । यिनले सहकारीको नियम मिचेका छन् । यिनको समस्या समाधानसंगै यि संस्थाका सञ्चालकहरुलाई पनि कारबाही गर्नु पर्छ ।
तेस्रो तरिकाले समस्यामा परेका सहकारीको अवस्था अलि फरक छ । यिनले सबै लगानी शेयर सदस्यहरुमै गरेका छन् । यिनले लगानी गर्दा जोखिमलाई ध्यान दिन सकेनन् । व्यवहारिकतालाई प्राथमिकता दिए, अलि बढी सदस्यमैत्री हुन खोजे, तरलताको व्यवस्थापन गर्ने भन्दा पनि सदस्यलाई लगानी गर्दा फाइदा हुने देखे । यिनले व्यवस्थापनमा ध्यान नदिएका कारण समस्या देखियो । यिनीहरुलाई पनि निश्चित समय दिने, सञ्चालकहरुलाई प्रतिवद्ध बनाउने र ऋणीहरुलाई समेत ऋण तिर्नका लागि दवाव पुग्नेगरी सरकारी तवरबाट भूमिका निर्वाह गर्न पर्दछ ।
चौथो तरिकाका सहकारीहरु सबै ठिकठाकै थियो, तरलता पनि राम्रै थियो, सहकारीले सदस्यसंगको सम्बन्ध पनि राम्रै राखेको थियो, तर वित्तीय क्षेत्रमा आएको संकट, केही सहकारीका सञ्चालकहरु वेपत्ता भएका, पैसा फिर्ता नदिएका लगायतका घटनाले गर्दा बचत गर्ने सदस्यहरुले बचत गर्न छोडे, जम्मा भएको पैसा निकाल्न थाले । ऋण लगानी गरेको समयमा उठ्दैन, सदस्यहरुको व्यवसाय चलेको छैन, बचत नआउने, बचत फिर्ता हुने र ऋण नउठ्ने समस्याका कारण तरतला कम भयो र पैसा फिर्ता गर्न समस्या भएको छ । यस्ता सहकारीहरुलाई अलि फरक ढंगले व्यवस्थापन जरुरी छ ।
सहकारीहरुमा समस्या आउनुका धेरै कारण मध्ये ऋण नउठ्नु एउटा महत्वपूर्ण कारण हो । ऋण कसरी लगानी गरे, त्यो एउटा पाटो छ तर यतिबेलाको समस्या समाधानका लागि ऋण उठाउने कुरा नै प्राथमिकता हो र ऋण उठाउनलाई राज्यले भूमिका निर्वाह गरिदिने हो भने सहकारीको अहिलेको समस्या मध्ये धेरै समस्या समाधान भएर जान्छ, बचतकर्ताले बचत फिर्ता पाउछन् र फेरी एकपटक वित्तीय क्षेत्र चलायमान हुन्छ ।
ऋण उठाउन के गर्ने त ?
१. ऋण उठाउनका लागि संस्थाले व्यवस्थित योजना बनाउन आवश्यक छ । सबै सदस्यहरुलाई ब्याज र साँवाको केही प्रतिशत रकम भुक्तानका लागि आव्हान गर्ने, भेटेर यो अवस्थामा संस्था सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नु पर्दछ ।
शेयर सदस्यहरुले पनि यो बेलामा सहकारीको समस्यालाई बुझेर आफुले सकेको सहयोग गर्न जरुरी छ । धेरै जनाले थोरै थोरै ऋण भुक्तान गरिदिदा पनि संस्था सञ्चालनमा सहजता आउछ ।
२. संस्थाबाट ऋण लगेर लामो समय नतिर्ने, अटेर गर्ने, सम्पर्कमा नआउनेहरुका लागि सहकारीहरुले अलि कडा प्रक्रिया अगाडि बढाउनु पर्छ । यसमा सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र पालिकाहरुले सहयोग गर्नु पर्छ ।
३. सहकारीबाट ऋण लगेर पैसा कमाएकाहरु, व्यापार व्यवसाय बढाएकाहरु र सहकारीको आड लागेर विदेश पुगेकाहरुले समेत ऋण नतिर्ने, सम्पर्कमा नआउने, सम्पर्कमा आइहाले पनि तिर्ने कुरा नगर्ने, विदेश छौ के रे ? जस्ता कुरा गर्नेहरुलाई सहकारीको सिफारिसमा पालिका, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र सहकारी विभागले ति ऋणीहरु रहेको देशका दूतावासहरुलाई पत्र पठाएर ऋण तिर्नका लागि दवाव दिनु पर्छ । सहकारीबाट ऋण लगेर विदेश गएकाहरुले पनि पैसा नतिर्ने अनि सहकारीहरुलाई बदनाम गराउने काम गरेको पाइएको छ ।
४. सहकारीबाट कतिपय सहकारीहरुका सञ्चालकहरुले नै ठुलो ऋण लगेको पनि पाइएको छ । यस्ता सहकारीका सञ्चालकहरुलाई तत्काल ऋण तिर्न लगाउने व्यवस्था नियमनकारी निकायले गराउनु पर्छ ।
ऋण तिर्न अटेर गर्नेलाई के गर्ने ?
सहकारी सदस्यहरुको संस्था हो । सदस्यहरु मिलेर संयुक्त रुपमा गरिने व्यवसाय सहकारी हो । तर सहकारीलाई सहकारीकै रुपमा सञ्चालन गर्न नसनेका कारण आज सहकारीमा समस्या देखिएको छ ।
सहकारीका सदस्यहरुले सहकारीलाई समस्या पर्न नदिनु पर्ने हो तर कतिपय सहकारीहरुमा सदस्यहरु पनि नाफा कसरी बढी आउछ, ब्याज कसरी बढी आउछ भन्नेमा लागे । कतिपय सहकारीहरुका सञ्चालकहरुको नियतमा समस्या देखियो, आफुले कसरी कमाउने भन्ने ध्याउन्नमा त्यस्ता सञ्चालकहरु लागे ।
सञ्चालकहरुको बद्मासी भएको संस्थामा सञ्चालकलाई कारबाही गर्नु पर्छ । सदस्यहरु अटेरी भएपछि के गर्ने त ? सहकारीले ऋण लगानी गर्दा ५ वटा सी को विश्लेषण गर्ने भन्ने चलन छ । यद्यपी धेरै सहकारीले यो नगरेका कारण समस्या आएको छ । ऋण लगानी गर्दा विश्लेषण गरिने ५ वटा सी मध्ये एउटा सि क्यारेक्टर हो । सदस्यको क्यारेक्टर अर्थात चरित्र । हिजो लगानी गर्ने समयमा यो विधिलाई पालना गरेका सहकारीहरुमा ऋण उठाउने समस्या छैन तर यसलाई ध्यान नदिएका सहकारीहरुमा यो समस्या छ ।
ऋण लगेर नतिर्ने सदस्यहरुको बारेमा सहकारीको साधारणसभामा प्रस्ताव लैजाने र छलफल गर्नु पर्छ । संस्थाका सबै शेयर सदस्यमार्फत उनीहरुलाई ऋण तिर्नका लागि दवाव सिर्जना गर्नु पर्दछ । सहकारीको ऋण नतिर्ने सदस्य समाजमा एक्लिदै जाने अवस्था यसले सिर्जना गर्दछ ।
ऋण तिर्न अटेर गर्नेहरुलाई पालिका, प्रदेश र संघीय सहकारी विभागले संस्थाको सिफारिसमा खराव ऋणीका रुपमा राज्यबाट दिने सेवा सुविधा रोकिदिने खालको निर्देशन गरिदिने हो भने सहकारीहरुको ऋण उठ्छ र अहिलेको समस्या समाधान सहजै हुन्छ ।
सहकारीबाट ऋण लगेर नतिर्नेहरु समाजका अगुवाहरु नै पनि देखिएका छन् । समाजमा प्रभाव रहेका व्यक्तिहरु मध्ये कतिपय राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, व्यापारीहरु, सहकारीकै अगुवाहरु समेतले ऋण लगेर नतिरेको पाइएको छ । यिनले समग्र राजनीति, जनप्रतिनिधि, व्यापारी र सहकारीमा लागेर राम्रो काम गरेकाहरुलाई पनि बद्नाम गराएका छन् ।
यस्ता खराब स्वभाव भएकाहरुको वास्तविक हैसियत जनताकाबीचमा ल्याउनका लागि सहकारीका साधारणसभा र नियमनकारी निकायको खबरदारी आवश्यक छ । सहकारीको साधारणसभाले सहकारीबाट ऋण लगेर नतिर्नेहरुलाई कारबाहीका लागि सिफारिस गर्ने र नियमनकारी निकायले त्यस्ताहरुलाई पत्र पठाएर सचेत बनाउने हो भने सहकारीको धेरै ऋण उठ्छ र त्यसले सहकारीमा देखिएको हालको धेरै समस्या समाधानमा सहजता ल्याउछ ।
साधारणसभामा के गर्ने ?
सहकारीमा जम्मा भएको बचत शेयर सदस्यहरुको हो । सदस्यहरुले दुख गरेर जम्मा गरेको रकम सहकारीले शेयर सदस्यहरुलाई नै ऋण लगानी गरेको हुन्छ । बढीमा ६ प्रतिशत मार्जिन राखेर सहकारीले ऋण लगानी गरेको हुन्छ । लगानीबाट आउने ब्याजबाट बचत गरेका सदस्यहरुलाई ब्याज दिने र अन्य खर्च गर्नुका साथै नाफा समेत त्यसैबाट दिने हो । सदस्यहरुबाट जम्मा भएको रकमबाट ऋण लगेर तिर्दिन भन्नेहरुलाई आगामी साधारणसभाबाट खराब ऋणी करार गर्ने, सबै शेयर सदस्यहरुलाई ऋणीले ऋण नतिरेको, पटक पटक जानकारी गराउदा पनि वेवास्ता गरेको, फोन अफ गरेको, फोन गर्दा उल्टै गाली गरेको, धम्क्याएको लगायत उसले जे जे गरेको छ सबै कुरा सबै सदस्यहरुलाई जानकारी गराउने र संस्थाको खराव ऋणिका रुपमा चित्रित गरेर कारबाही प्रक्रिया अगाडि बढाउने, सरकारी निकायमा कारबाहीका लागि सिफारिस माग्ने गर्नु पर्दछ । सहकारीको ऋण नतिर्नेहरु पनि सहकारीबाट रकम उठाएर भाग्ने भगौडा जस्तै हुन् । यिनलाई पनि कारबाही गर्नु पर्छ ।