प्रतिमान पौडेल
मुलुकले वित्तीय संकट व्यहोरीरहेको छ । वित्तीय अवस्था दिन प्रतिदिन असहज हुदै गएको छ । व्यवसाय चल्न गाह्रो भएपछि साना व्यवसायीहरु आफ्नो व्यवसाय छोड्नेको सख्या बढ्दो छ । वित्तीय क्षेत्रमा देखिएको संकटको असर यतिबेला सहकारी क्षेत्रमा अलि बढी देखिएको छ । सहकारीमा एकथरी सदस्यहरुले बचत गरेका छन् । अर्का थरी सदस्यहरुले ऋण लिएका छन् । देशभरका कतिपय सहकारीका सञ्चालकहरु बचत फिर्ता गर्न नसकेका कारण सम्पर्क विहिन भएपछि बचत गरेका शेयर सदस्यहरु यतिबेला सहकारीबाट पैसा निकाल्न बढी गएका छन् । सहकारीमा भएको तरलताको रकमले थेग्न नसक्ने गरि सदस्यहरु बचत फिर्ता गर्न गएपछि धेरै सहकारीहरुमा यतिबेला समस्या सिर्जना भएको छ ।
बजारबाट बचत नआउने, बचत गरेका सदस्यहरु फिर्ता ल्याउन आउने, ऋणको सावा र ब्याज नआउने कारण सहकारीहरुमा असहज परिस्थिति सिर्जना भएको देखिन्छ । सहकारीमा बचत आउने, ऋणको किस्ता र ब्याज आउने गर्दा सञ्चालन प्रक्रिया सहज थियो, बजारमा सहकारीका नकरात्मक विषय धेरै आउन थालेपछि बचतकर्ताहरु पैसा झिकेर अन्यत्र लैजान थालेपछि नियमानुसार तरलता राखेर सञ्चालन भएका सहकारीहरुलाई पनि तरलताको प्रेसर भएको उनीहरुले ऋणी सदस्यहरुलाई ऋण भुक्तान गर्नका लागि सूचना प्रकाशित गरेबाट बुझ्न सकिन्छ ।
सहकारी सदस्यहरुकै सक्रियतामा सञ्चालन हुने व्यवसाय हो । सदस्यहरुले बचत गर्ने, ऋण लैजाने र समयमा ब्याज र किस्ता तिर्दा संस्था सञ्चालनमा समस्या हुदैन, तर यतिबेला संस्थाबाट जाने बढी आउने कम भएका कारण धेरै नै समस्या देखिएको छ । यस्तो बेलामा ऋणी सदस्यहरुले संस्थालाई साथ दिनु पर्ने हो । धेरै संस्थामा धेरै सदस्यहरुले ब्याज र ऋणको निश्चित प्रतिशत भुक्तान गरिदिएका कारण सहजता भएको पनि देख्न, सुन्न पाइन्छ । तर कतिपय संस्थामा ऋण भुक्तान नगरेको भन्दै सार्वजनिक सूचना प्रकाशित भएका धेरै समाचारहरु आइरहेका छन् । सहकारीबाट ऋण लगेर भुक्तान नगर्नेहरु सामान्य मान्छेहरु मात्रै छैनन्, पैसा भएका, पहुँच भएकाहरु पनि छन् भन्ने कुरा यतिबेला सहकारीहरुले प्रकाशन गर्ने सूचनाहरु, सहकारीका सञ्चालक कर्मचारीहरुसंगको कुराकानीबाट जानकारी पाउन सकिन्छ । यसमध्ये अलि बढी चर्चामा हुनेहरु यस्ता छन् ।
१. कतिपय पूर्व तथा वर्तमान जनप्रतिनिधिहरु (केही विधि बनाउने तहका माननीय तथा पूर्व माननीयहरु, पालिकाका प्रमुख उपप्रमुख पूर्व प्रमुख उपप्रमुख, वडा अध्यक्षहरु त धेरै नै छन भन्ने देखियो)
२. राजनीतिक दलका कतिपय नेताहरु पैसा तिर्न निकै कठिन मान्दा रहेछन् ।
३. कतिपय ठुला व्यापारीहरु, डिलरवालाहरु पनि सहकारीको ऋण तिर्दा रहेन्छन् ।
४. कतिपय सहकारीका सञ्चालकहरुको पनि बदमासी देखियो, सञ्चालकले लगेको ऋण नै भुक्तान नभएका कारण सहकारी समस्यामा छ, सञ्चालकले मात्रै ऋण तिरिदिए, सहकारी राम्रोसंग चल्छ भन्छन् कर्मचारीहरु ।
५. एउटा सहकारीको अध्यक्ष तथा पदाधिकारी छ, अर्को सहकारीबाट ऋण लिएर तिर्दैन यो पनि समस्या रहेछ । यि पनि सहकारीका विरोधी मान्छेहरु हुन् ।
६. अन्य सामाजिक क्षेत्रमा पहिचान बनाएका व्यक्तिहरु मध्ये पनि कतिपयले ऋण लगेर नतिर्ने गरेको पाइयो ।
७. सहकारीबाट ऋण लिएर विदेश गयो, विदेश गएपछि फेसबुक आइडी परिवर्तन गर्नेहरु पनि धेरै रहेको पाइयो ।
८. कतिपय अनुगमन निकायमा बसेका अनुगमन कर्ताहरुले पनि सहकारीको ऋण लिएर तिर्दा रहेन्छन् ।
यस्तै अन्य धेरै क्षेत्रका कतिपय मानिसहरुका कारण सहकारीको ऋण समयमा उठ्न सकिरहेको छैन । जसका कारण सहकारीका कर्मचारी र सञ्चालकहरुलाई तनाव छ । यतिबेला सहकारीहरु समस्यामा छन् । केही सहकारीहरुले गरेको बद्मासीका कारण आम सहकारीप्रति विश्वासको संकट बढेको छ । यस्तो अवस्थामा जसले आफ्ना सदस्यहरुलाई ऋण लगानी गरेका छन्, ति संस्थाहरुलाई पनि सञ्चालन गर्न धौ धौ परिरहेको छ ।
यस्तो बेलामा सहकारीबाट ऋण लगेका शेयर सदस्यहरुले ब्याज र साँवाको केही प्रतिशत मात्रै रकम भुक्तान गरिदिदा सदस्य केन्द्रीत भएर कारोबार गरेका सहकारीहरु सहजै सञ्चालन हुन सक्छन् तर यस्तै यस्तै केही ठालुहरुले ऋण नतिरिदिएका कारण सहकारीहरु समस्यामा परेका छन् । सबै सहकारीहरुले अब यस्ता खाले ठालुहरुको विवरण सार्वजनिक गर्नु पर्छ, सदस्यहरुले दुख गरेको बचत रकम ऋणका रुपमा लगेर फिर्ता नगर्नेहरु सहकारीका विरोधी मात्रै होइनन्, सदस्यहरुका समेत विरोधी हुन् ।
सहकारीमा बचत संकलन भएको रकम आफ्नो निजी घरजग्गा, व्यवसाय सञ्चालन गर्न लगाउने केही बद्मास सहकारीहरुका सञ्चालक र कर्मचारी जस्तै सहकारीमा जम्मा भएको बचतबाट ऋण लगेर नतिर्नेहरुलाई पनि राज्यले कार्वाहीको दायरामा ल्याउनु पर्छ । यदी सहकारीहरुलाई सुधार गर्ने हो भने सबै भन्दा पहिला सहकारीको बचत रकम आफ्नो निजी व्यवसायमा लगाउनेहरुलाई कार्वाही गरी सबै बचतकर्ताको रकम फिर्ता गराउनु पर्छ । सहकारीहरुले लगानी गरेको ऋण तिर्दिन भन्नेहरुलाई राज्यका सेवा सुविधा, सिफारिस बन्द गराउन सक्नु पर्छ । यति गर्न सकेपछि सहकारीको धेरै समस्या समाधान हुन्छ ।
सहकारीबाट ऋण लिएर विदेश गएका कतिपय मानिसहरुका लागि राज्यका निकायले सम्बन्धित देशको दूतावासमा पत्र लेखेर यस्ता वद्मासहरुलाई ऋण तिराउने विकल्प अगाडि बढाउनु पर्छ । सहकारीबाट ऋण लगेर नतिर्ने जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, ठुला व्यवसायीहरु, ठेकेदारहरु, सहकारीका सञ्चालकहरु, कर्मचारी र विदेश बस्नेहरुलाई पहिलो चरणमा ऋण तिराउन लगाउनु पर्छ, तिरेनन् भने तिनीहरुबाट कार्वाही प्रक्रिया अगाडि बढाउनु पर्छ ।